+

तपाईँ जहिले पनि किन ठुस्स पर्नुहुन्छ?

२०८२ वैशाख  २२ गते १५:०० २०८२ वैशाख २२ गते १५:००
Shares
तपाईँ जहिले पनि किन ठुस्स पर्नुहुन्छ?

सार्वजनिक बसमा आज घर फर्किंदै थिएँ । बस यात्रुहरूले खचाखच भरिएको थियो। म आफ्नो थकानमा गुम्सिएको थिएँ। त्यतिकैमा एउटी आमा र करिब ६ वर्ष जतिको उनको छोरो बस चढे। बच्चा एकदमै जिज्ञासु र अभिव्यक्तिशील थियो। बस्नासाथ उसले कुरा गर्न थाल्यो-कहिले झ्यालबाहिर देखिएको सडकका दृश्यहरू बारेमा भने कहिले आफ्नो झोलाको बारेमा।

थोरै बेरमै बसका अरू यात्रुहरू पनि ऊसँग रमाइलो गर्न थाले। कसैले उसलाई सोध्यो-स्कूल कस्तो छ बाबु ? अरूले थपे, ‘शिक्षकहरू कस्ता हुनुहुन्छ नि ?’

बालकले हाँस्दै उत्तर दियो-सबै कुरा त राम्रै छ । तर एउटा कुरा चाहिँ अलिकति नराम्रो लाग्छ आमातिर फर्कँदै, तपाईं मलाई लिन आउँदा किन सधैँ ठुस्स पर्नुहुन्छ ?

उसले त्यो कुरा यति हास्यपूर्ण शैलीमा भन्यो कि बसभरिका सबै यात्रुहरू हाँसे। म पनि हाँसेँ ।

तर त्यो हाँसोको केही क्षणपछि, म गहिरो मौनतामा हराएँ। ‘एउटा सानो बच्चाले आफ्नो आमाको भावनालाई कत्तिको गहिरो रूपमा महसुस गर्छ !

ती बालकले हाँस्दै भने पनि, उसको चेतनामा आमाको अनुहारमा देखिएको पीडा बसिसकेको थियो ।

मैले तत्काल आफ्नो आठ महिनाको छोराको याद गरें ।

म पनि कतिपटक आफ्ना थकाइ, चिन्ता र निराशालाई बोकेर घर फर्किन्छु होला ? उसले पनि मेरो अनुहारमा केही न केही त पढिरहेको छ होला, हैन र?
यो सोच्दै गर्दा मेरो मुटु भारी भयो।

त्यही क्षण मलाई लाग्यो-आमा हुनु कति कठिन कुरा रहेछ !

शारीरिक रूपमा मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि।

गर्भवती हुँदा शरीरले झेलेका पीडा, बच्चा जन्मिएपछि रातभरको जाग्राम, हरेक सानोतिनो कुरामा चिन्ता गर्नु, यी सबै बाहिरबाट देखिन्छन्। तर भित्र कतिसम्म मनको लडाइँ चलिरहेको हुन्छ भन्ने कुरा थोरैले मात्र बुझ्छन् ।

कहिले बच्चाको सानो रुवाइले मन तर्सिन्छ त, कहिले उसको सानो हाँसोमा पनि सारा पीडा हराउँछ।

कहिले आफैं थकित र भत्किएको महसुस हुन्छ, तर पनि बच्चाको अगाडि मुस्कुराउनुपर्छ। कहिले भविष्यप्रति डर लाग्छ, कहिले वर्तमानलाई सम्हाल्नै गाह्रो हुन्छ ।

तर पनि हामी हाँस्छौं ।

हामी भित्र भूकम्प चले पनि बाहिर शान्तिको आकृति बनाउँछौं — किनभने ती साना आँखाहरूले हामीलाई हेरिरहेका हुन्छन् । हामी जान्दछौं, हाम्रो भावनाले उनीहरूको आत्मा निर्माण गर्छ ।

बालमनोविज्ञानले हामीलाई सिकाउँछ — बच्चाहरू केवल हेरिरहेका हुँदैनन्, उनीहरू महसुस गरिरहेका हुन्छन्। हाम्रो हाँसो, आँसु, मौनता-सबै उनीहरूका साना आँखाले टिपिरहेका हुन्छन् । हामीलाई थाहा नदिई उनीहरूका मनमा ती दृश्यहरू, ती अनुभूतिहरू गहिरो गरी बसिरहन्छन् ।

साना छोराछोरीका लागि संसारको सबैभन्दा ठूलो सुरक्षा भनेको आमाबाबुको अनुहारमा देखिने प्रेम र शान्ति हो। जब हामी थकित, चिन्तित वा रिसाएको अनुहार बोकेर उनीहरूलाई भेट्छौं, उनीहरूको सानो मन असहज हुन्छ। उनीहरू आफूले केही गल्ती गरेजस्तो ठान्न सक्छन्। आत्मविश्वास कमजोर हुन सक्छ ।

आज त्यो निर्दोष बच्चाको सरल वाक्यले मलाई ठूलो पाठ सिकायो-बालकहरूको संसारमा सधैं उज्यालो दिनु भनेको केवल उनीहरूलाई मिठो कुरा खुवाउनु वा राम्रा लुगा लगाइदिनु मात्र होइन त्यो भन्दा ठूलो कुरा हो, उनीहरूलाई हर्षित अनुहार, प्रेमिल आवाज र न्यानो आत्मीयता दिनु ।

मैले झ्यालबाट बाहिर हेरेँ। सडक उस्तै थियो, भीड उस्तै थियो, तर मेरो भित्री संसार फेरिएको थियो। मैले आफैँसँग वाचा गरेँ, ‘म आफ्नो छोराका लागि जति सक्छु, उज्यालो अनुहार, प्रेमिल स्पर्श र सुरक्षित आँगन बनाउने प्रयास गर्नेछु ।’

किनभने साना आँखाले हामीलाई हेर्नु भनेको केवल देख्नु होइन, त्यो त उनीहरूको भविष्य बनाउने पहिलो पाठशाला हो ।

खुसी ठुस्स अनुहार बालबालिका
गृष्मा पनेरु
लेखक
गृष्मा पनेरु
मनोपरामर्शदाता

पनेरु मनोपरामर्शदाता हुन् । उनी हाल काठमाडौंस्थित सर्वमाया हेल्थ केयर र सारथी फाउन्डेसन नेपालमा कार्यरत छिन् । उनले साइकोलोजीमा एमए गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय