
News Summary
Generated by OK AI. Editorially reviewed.- धनगढी विमानस्थलको बाहिरी लवीमा यात्रु र ट्रक चालकहरूको जीवन यथार्थ र संघर्षको कथा व्यक्त गरिएको छ।
- लेखकले आफ्नो दैनिक यात्रा, सडकको अवस्था, र समाजका बिचौलियाहरूको बृहत् चित्रण गरेका छन्।
- सामाजिक असमानता, यातायातको समस्या र जीवनयात्राका पीडाहरूलाई उजागर गर्दै राष्ट्रिय चिन्तन प्रस्तुत गरिएको छ।
धनगढी विमानस्थलको बाहिरी लवीमा लस्करै राखिएका फलामे कुर्सीमध्ये एउटामा थचक्क बस्छु। वैशाखे गर्मीले तातेको कुर्सीले च्वास्स पोले झैं प्रतीत हुन्छ। छेवैको अर्को कुर्सीमा झोला बिसाउँछु।
चार वर्ष पुरानो एन्ड्रोइड मोबाइलको ब्याट्री सकिएर अचल छ, यो दूरभाष यन्त्र। झोलाबाट चार्जर निकालेर भित्ताको प्लगमा जोड्छु। नेपाली आकाशमा आन्तरिक उडानमा हुने एक/दुई घन्टाको ढिलासुस्तीलाई अब डिले भन्न पनि छोडेको छु मैले। यस्तै छ, हाम्रो वर्षौंयताको दैनन्दिन।
मासिक रूपमा चलिरहेको धनगढी-मसुरिया-धनगढी नित्यकर्मको मेरो सहयात्री भाइ मनोज मलाई एअरपोर्ट ड्रप गरेर घर फर्किसकेको छ। अझै दुई घन्टा कुर्नु छ, चिलगाडीका निम्ति यो गर्मीमा। जसरी नि काठमाडौं पुग्नु पो छ त आज। उफ् ! यो दौडाहा केका निम्ति र कहिलेसम्म ? प्रश्न तेर्सिन्छ आफैंमा।
फर्कंदै गर्दा मनोज भाइले भनेको कुरा झट्ट मनमा आउँछ, ‘सर, आजको चिया खाने अड्डामा सुनिएको संवादलाई उतार्न पाए राम्रो लेख बन्थ्यो होला है!’
सोच्छु- ठिक मौका हो, जहाज पर्खाइको पट्यारलाग्दो समय पनि सहजै व्यतीत हुने अनि म जुन वर्गबाट उठेर यहाँसम्म आइपुगेको छु, सोही वर्गको भुइँसंवाद पनि लिपिबद्ध हुने।
आफैंलाई मनाएँ मनमनै अनि झोलाको चेन खोलेर राइटिङ प्याड निकाली लिपिबद्ध गर्न थालें आज श्रवण गरेको भुईं संवाद- एउटा यायावरको घुम्ती कलमको सहाराले।
मसुरिया, साझा बजार अत्यन्त प्रिय लाग्छ मलाई। झन्डै झन्डै पाँच वर्षदेखि मेरो नित्य मासिक यात्रा हुने गरेको छ, हरेक महिनाको चौथो शनिबारको भोलिपल्ट। थुप्रै अनुभूति छन्, यहाँको माटोसित। पूर्व-पश्चिम राजमार्गमा पर्ने शहरोन्मुख यो सानो बजारसँग बेग्लै सामीप्यता छ।
आजको पेशागत कामको थकान आधाउधि बिट मारिदिन्छ, अनिताको दुग्ध डेरीमा प्राप्त मीठो लस्सी सहितको सत्कारले। बाँकी आधा थकाइ मेटाउनका निम्ति दुई भाइ राजमार्गको चिया अड्डालाई साँचेर पश्चिम दिशातर्फ हुइँकिन्छौं।
लगभग पन्ध्र किलोमिटर यात्रा तय गरे पश्चात् आइपुग्छ, बाटो छेवैको चिया अड्डा जहाँ हरेक महिना कामबाट फर्किंदा थकाइ मेट्ने गरेका छौं- रङ कडा, चिनी कम सहितको दूध चियासँग।
सधैं झैं उही पसल, उही साहुनी, दुई/चार थान बाख्रा-पाठा अनि दश-बाह्र कुखुरा, अविच्छिन्न झरिरहने कल धारो, अनि ट्रक ड्राइभरहरूका मेटिंदै गरेका थकानहरू सदा झैं उही रफ्तारमा वर्षौंदेखि चलिरहेछन्।
आराले काठको मुढो चिरेर बनाइएको फलेकलाई मुढाकै दुइटा दुई फिटे खाँबा माथि तेर्स्याएर बेन्ची र टेबलको आकार दिइएको छ, मुस्किलले तीन जना चिया पारखीहरू अट्ने गरी। यसैगरी सोही बेन्चीलाई एल आकारमा फिट हुने गरी अर्को उस्तै बेन्चीको आकार स्थापित छ।
एउटामा हामी दुई भाइ बसेका छौं भने अर्को बेन्चीमा बस्न आइपुग्छन्, सडक किनारामा आ-आफ्ना ट्रक रोकेर दुई जना चालक। प्रचण्ड गर्मी जो छ; सहज कहाँ हुनु र यात्रा ? एक जना पचास काटेका झैं देखिन्छन्। उनी हाफ सर्ट-पाइन्टमा छन्। टाउकोबाट पछाडि घाँटीसम्म झरेको टुप्पी अनि लामो नाक देख्दा लाग्छ; उनी कुनै ब्राह्मण परिवारबाट प्रतिनिधित्व गर्छन् चालकको दुनियाँमा। पठनपाठनको मौका पाएका भए सायद उनी पनि त ट्रक गुरुभन्दा पण्डितगुरु पो हुन्थे कि!
उनका दौंतरी अर्का चालक काला वर्णका छन्। अन्दाजी तीस/पैंतीस झैं देखिने यिनी भने कसिलो ज्यानमा टिमिक्क मिलेको कालो रङको हाफ टिसर्ट अनि कालै हाफ पाइन्टमा छन्। दाहिने हातको पाखुरीमा शिवजीको ट्याटु खोपेका उनको कलामाथि साहुनीको नजर खुसुक्क पर्छ अनि रक्तिम आभासँगै मस्केर स्वागत गरेको देखिन्छ। ट्रक र ट्राफिक, लामखुट्टे, उपियाँ अनि रुपियाँ समेतले टोकेका भित्री अनि बाहिरी डाम कन्याएर पुनर्ताजगी हुँदै थुचुक्क फलेकमा बस्छन् र कुरा सुरु गर्छन्।
काले चालक भाइ- दाजु आज त काटिगो नि मोराले।
सेते चालक दाइ- के काटो तेसले ? चिट काट्यो ?
काले- हो त काट्यो नि दाजै। झन् आजकाल त तीन/तीन किलोमिटरको दुरीमै पो छन् त हो बानहरू।
-किन काट्यो त तेल्ले ?
– बुझ्नै सकिनँ पहिले त !
– अनि ?
– यता आऊ त भाइ भनेर ओराल्यो, यसो मिलाऊ त भन्यो। मैले सोधें- किन ? के गल्ती छ र मेरो ? उसले संकेत गर्दै सय रुप्पेको बार्गेनिङ गर्यो। मलाई केले छोप्यो कुन्नि ?
– मेरो गल्ती छैन, दिन्नँ आज भनें। थपक्क खल्तीबाट निकालिगो त चिट। काटी हाल्यो पाँच सयको जुर्माना। तेसका बाजे।
– अनि ?
– अनि भन्यो- गाडीमा स्टिकर किन टाँसिस् ? खुट्टामा जुत्ता खै तेरो ? गर्मीले गर्दा चप्पल क्याबिनमै छोडेर झरेको थिएँ। सय रुप्पेले पुग्नेमा बित्थामा पाँच सय चुना लाग्यो। आज पुलिसको भान्सा रन्किने भो मेरो पैसाले।
गहभरि आँसु पारेर आफ्नो पाको दौंतरीसित मन माझ्यो आज काले ड्राइभरले। नदेखिने गरी मैले पनि दुई थोपा आँसु खसालें।
कति किलोमिटर गुडाउनुपर्ने हो आज ? घरमा उसका पनि त छोराछोरी कुरिरहेकै होलान् मेरा जस्तै। दिनभरिको कमाइको जरिवाना बुझाउनुपर्दाको पीडा उसले घरकीलाई सुनाउन सक्ला कि नाइँ ? उफ्..! उसको निम्ति चिट काटियो। मेरो लागि मुटु। सडकभरि आज कति जनाको चिट काटियो होला ? कति असुली गरे होलान्, ड्युटीमा खटिएका नीला रङहरूले ? तिनै नीलाहरूकै पनि घरमा जहान-छोराछोरी होलान् र त गर्दैछन् यस्ता कार्य !
बिचराहरूको महिनावारी तलब त महिनापारिसम्म कहाँ रहन्छ र ? अलिअलि उठाउन सके सडकबाट उठेको रकमको दश प्रतिशतले पनि केही गर्जो टर्ने त थियो भन्ने सोचेर नै सायद लुप होलहरू प्रयोग हुने गर्छन्।
मभित्र निहित सरकारी कर्मचारीको आत्माले एउटा धारणा बनाइहाल्यो।
पाको देखिने सेते चालकले आफ्नो बढोत्तरी गर्दै संवाद पस्किन थाल्यो।
– म त यो मामिलामा अलि बाठो छु र प्राय: सय रुप्पेमै काम फत्ते गर्छु। चेकजाँच भन्दा सय/पचास मिटर अगाडि नै सचेत हुन्छु। नीलो लुगा र टोपी टाढैबाट चाल पाउने गर्छु।
पटक-पटकको उम्कने जुक्ति बेलीबिस्तार लगाउँदै एक पटकको भने यसरी सुनायो आफ्नो अनुज पेशाकर्मीलाई।
– पूर्वतर्फको कुनै सफरमा छड्के चेकमा परें। सवारीबाट मुस्कानका साथ झरें अनि पुरानो चिनजान झैं पस्कें पालिसे मन, ‘ए हजुर, नमस्कार छ है। सन्चै हुनुहुन्छ ?’ खल्लो हाँसो हाँस्दै उसले भन्यो, ‘के छ गुरु ? कन्डिसनमा छ नि सब ?’ भनें, ‘छ नि !’
– तेसो भए जुम् भित्र एकछिन् !
– किन र सर ?
– ह्या तपाइँ पनि, सधैं यही बाटो हिंड्ने गुरु नि रेला गर्नुहुन्छ। बुझ्नु न कुरो, ड्युटीमा छु क्या।’
– उसको अनुहारको भाषा बुझेर खुरुक्क हरियो नोट निकालेर देखाएँ। सासैले टिपो सय रुप्पे अनि बिदा दियो, ‘छिटो जानू गुरु रात पर्न आँट्यो।’
– यस्ता इस्ट त बाटैभरि छन् मेरा भाइ।
आफूले सयमा काम फत्ते नगरेकोमा भाइ ड्राइभर चुक्चुकायो।
सधैं सिस्टमको वकालत गरेर नथाक्ने सरकारी कर्मचारी म मौनतासँगै लाचार सुनिरहें, भुईं मान्छेले भुईं मान्छेलाई नै लुटेका भुइँका यी कहानीहरू।
यत्तिकैमा झुपडीको आँगन छेउमा बाँधिएको खसी बेस्सरी करायो। भएछ के भने, गाडामाथि राखेको स्याउला खाने कोशिश गर्दागर्दै किलामा बाँधेको डोरी गाडाको चक्का र खसीको खुट्टामा फनफनी बेरिएछ ! अघोरै कष्ट भएछ अबोध प्राणीलाई। अँगेनामा उम्लनै लागेको हाम्रो फर्माइस चिनी कम, रङ कडावाला चिया छोडेर साहुनी डोरी फुकाउनतिर लागिन्, यता चिया उम्लेर अँगेनाभरि।
– यो जिद्दी खसीले नि कहिल्यै सुख नदिने भो बा ! उम्लिगो नि चिया।
आफ्नो ढंग बिग्रेको दोष निर्दोष खसीतिर पन्छाउँदै फेरि उमालिन् रङ कडावाला चिया र पेश गरिन्, शहरबाट आएका हामी सुकिला भनाउँदा सरहरूलाई।
गुरुद्वयको संवाद अब खसीतिर सोझियो। डोरी फुकाएपछिको स्वतन्त्र खसी र अर्की पाठी प्राणीसुलभ गुणसँगै उफ्रिंदै हाम्रो छेउ आए। ठूला गुरुले हामीलाई सजग गराउँदै नमागेको सल्लाह अर्पण गरे, ‘होस् गर्नुस् है सर, चियामा त झ्याप्पै मुख हाल्छ खसी-बाख्राले। फेरि यसको रौं खाइयो भने त पेटको रोगी भइन्छ जुनीभरि।’
साना गुरुले सल्लाह थपिहाले, ‘अझ कुकुरको रौं पर्यो भने त क्यान्सर लाग्यो-लाग्यो ग्यारेन्टी।’
सम्झें, हामी सुकिलाहरू दिन-दिनै कति खाँदा हौंला, खसीको लाखौं रौंका जरा बोकेका छालावाला मटन सेकुवा। कतिले सुताउँछौं होला, प्रिय पप्पीलाई आफ्नै ओछ्यानमा।
अनि किसानलाई थोपर्छौं दोष, शहरमा शुद्ध खान नपाइने भो अब। केमिकल नराखी फलेको साग-सब्जी र पाकेको फलफूल खान नपाइने भो अब। अनि केको रोग नलागोस्।
प्रसङ्गमा खसीको चल्तीको भाउ पनि थाहा पाउने अवसर मिली त हाल्यो।
ठूलो गुरुले साहुनीलाई सोधे, ‘यो कति उमेरको भो, भन भन। अन्दाजी ३० किलोको त होला है।’
साहुनीको जवाफ थियो, ‘हुन लाग्यो बर्सीको। अलि बढी वजन होला र दशैं खर्च उतार्ला भन्या, हामीलाई खास मोल दिंदैनन्। बिचौलियाले कुम्ल्याउँछन्। सोलोडोलो किलोको पाँच सय पाए भाग्य।’
मेरो देशको गरिखाने वर्गको बिग्रँदो अवस्था अनि खसीसिटीदेखि इलेक्ट्रीसिटीसम्मका बिचौलियाहरूको ताण्डवबारे घोत्लिंदै बाटाहुँदी चिया पसलको दुईखुट्टे बेन्चीमा मनमनै राष्ट्रिय चिन्तन गरिरहन्छौं।
कुराका थुप्रै प्रसङ्ग निस्किए गुरुद्वयका मुखारविन्दबाट।
‘पचास रुप्पेको दुई कप चिया’ पिउँदा नपिउँदै लाखौंको ज्ञान पाइयो। मिनरल वाटरको खाली बोतलको भाउ किलोको पचासबाट झरेर पैंतीस पुगेपछिको पीडा साना गुरुबाट सुनियो भने एक गाडी कार्टुन धनगढीबाट राजधानी पुर्याउनु भनेको तीस हजार रुप्पे साहुलाई कमाइदिनु हो भन्ने गूढ ज्ञान पनि प्राप्त भो यो शहरिया मनुवालाई।
अन्यमनस्क छु, उफ् ! दाउन्नेको खण्डहर सडकमा घन्टौंको जाम, चाउचाउको भरमा रात-रात गाडीको बास, समयमा मलमूत्र त्याग गर्न नपाउँदा निम्तिएको स्वास्थ्य समस्या।
आफ्नो गाडीमा रोड किङ लेखेर आत्मरति लिने यी पीडित मनुवालाई जीवनको क्षतिपूर्ति कसले देला है। मजदुरका नेताहरूले कि, यिनका नाममा दिनमा जनवादी बिहेमा सशक्त मुट्ठीको लालसलाम उचाल्ने, रातिराति तारे रिसोर्टमा मस्त निदाउने सर्वहाराका नायकहरूले ?
उत्तिनै खेर पुन:स्मरण हुन्छ, सडकमा ड्युटीमा खटिएका महिनावारीले अपुग जीवन बेतनका निम्ति रु.१०० मा आफ्नो अनि बर्दीको स्वाभिमान निहुर्याउन बाध्य राष्ट्रसेवकको बाध्यता, आफूमा आश्रित जहान-छोराछोरीको जीवन रक्षार्थ अनुहारमा पसिना चुहाउँदै आफू जस्तै निमुखाहरूका अघि याचना गर्न बाध्य आत्मग्लानिले भिजेका हातहरू।
फेददेखि टुप्पासम्मै झाङ्गिएको देशको बेथितिमा घोत्लिंदा-घोत्लिंदै, साहुनीको आवाज आउँछ कानैमा, ‘हेर न साल्दाइ, दिउँसो येस्सो सुत्ने बानी आफ्नो ! आज नपाएकोले जीउ नै रनन्न भैरा’को पो छ। आराम अर्न पाएको भए हुने। मोरीहरू आइदेनन्।
साहुनीको संकेत सायद छोरीहरूतिर थियो।
थसुल्लो शरीर, घुर्मैलो कुर्ता-सुरुवाल, धुलो जमेको हात्तीछाप चप्पल अनि कालो लेबेन्टुले कपाल बाँधेकी साहुनी फनक्क घुम्छिन्, टुप्पीवाला गुरु मुसुक्क मुस्काउँछ।
सानो गुरु भन्दैछ, ‘आएनन् मोरीहरू आज। नदेख्या नि निकैपल्ट पो भो त। कि बिरामी परे ? स्कूल त छोडिसके हैन ?’
सायद साहुनीको लोग्ने छैन वा विदेश छ।
छोरीहरूको पढाइ धान्न मुस्किल छ।
सडकको, आफ्नो अनि चियाको व्यापारले ज्यान ज्युँदो राख्नु परेको छ दिन-दिन। यस्तै त छ भुइँ मान्छेहरूको जिन्दगी, समाजवाद उन्मुख संविधान बोकेर प्रगतिमा लम्किरहेको मेरो देशको।
आकाशमा ठूलो आवाज आउँछ।
सायद प्लेन आइपुग्यो।
जुरुक्क उठेर कापी झोलामा राख्छु। अघि बढिहाल्छु बोर्डिङ पास लिन। भरे जसरी भए पनि काठमाडौं पुग्नु पो छ। उतातिर मेरा पनि त बुढा बाआमा, छोरी अनि श्रीमती पर्खाइमै छन् नि मेरो आगमनको, सडकमा भेटिएका ट्रकका चालकद्वय जीवन यथार्थका गुरुज्यूहरूका जस्तै।
प्रतिक्रिया 4