२ जेठ, काठमाडौं । भारतको अरुणाञ्चल प्रदेशमा भइरहेको साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत आज सेमिफाइनल खेलहरु हुँदैछ ।
पहिलो सेमिफाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल र बंगलादेशबीचको खेल गोल्डेन जुब्ली स्टेडियम, युपियामा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
बंगलादेश समूह ए को विजेता तथा नेपाल समूह बी को विजेता बन्दै फाइनल प्रवेश गरेका हुन् । माल्दिभ्ससँग बराबरी खेलेको बंगलादेशले भुटानलाई पराजित गरेको थियो ।
यता नेपालले समूहको पहिलो खेलमा श्रीलंकालाई ५-० ले पराजित गरेको थियो । तर भारतसँग ४-० ले पराजित भएपछि समूह बी को उपविजेता बनेको हो ।
आजै भारत र माल्दिभ्सबीच दोस्रो सेमिफाइनल राती ७:४५ बजे हुनेछ ।
नेपाल र बंगलादेशबीच गत वर्ष नेपालमै भएको साफ यू-२० च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला नेपाललाई घरेलु मैदान एन्फा कम्प्लेक्समा पराजित गर्दै बंगलादेशले पहिलो पटक उपाधि जितेको थियो ।
त्यसबेला समूह चरणमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो तर फाइनलमा लय कायम राख्न सकेन । बंगलादेशले पुनरागमन गर्दै नेपाल विरुद्ध जित हात पारेको थियो ।
यू-१८/१९/२० उमेर समूहको साफमा अहिलेसम्म यी दुई टोली ५ पटक भिड्दा नेपाल बंगलादेशसँग एक खेलमा मात्र पराजित भएको छ ।
सन् २०१५ मा भएको पहिलो संस्करणको समूह चरणमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो । यस्तै २०१७ मा भुटानमा भएको दोस्रो संस्करणको लिग चरणमा पनि नेपालले बंगलादेशलाई २-१ ले नै पराजित गरेको थियो ।
सन् २०२२ मा भएको खेलमा नेपाल र बंगलादेशले १-१ को बराबरी खेलेका थिए ।
यस्तै गत संस्करणमा नेपालले बंगलादेशलाई समूह चरणको खेलमा २-१ ले पराजित गरेको थियो । तर फाइनलमा नेपाल बंगलादेशसँग ४-१ ले पराजित भएको थियो ।
उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको नेपाल त्यो हारको बदला लिने लक्ष्यमा छ ।
प्रतिक्रिया 4