+
+
Shares

गृहमन्त्री लेखकबारे कांग्रेसभित्रै दुईथरी मत

संस्थापन बचाउन, संस्थापनइतर राजीनामाको पक्षमा

तस्करसँगको सेटिङमा दैनिक लाखौं रकम असुलेर अध्यागमन कर्मचारीले भिजिट भिसामा युवाहरू विदेश पठाएको विषय सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकमाथि राजीनामाको दबाब बढेको छ । कांग्रेसभित्र भने दुई धार देखिएको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ जेठ ११ गते २२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियारले अध्यागमन विभागका कर्मचारीमाथि मानव तस्करी र अनियमिततामा अनुसन्धान गरिरहेको छ।
  • गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको भन्दै पार्टीभित्र र सार्वजनिक रुपमा आलोचना भइरहेको छ।
  • संस्थापनपक्षधर बचाउमा देखिँदा इतरपक्षका नेताहरूले राजीनामा दिएर नैतिकता देखाउन लेखकलाई सुझाव दिएका छन्।

११ जेठ, काठमाडौं । केही दिनअघि मानव तस्करहरूसँगको साँठगाँठमा अध्यागमन विभागका कर्मचारीले लाखौं रकम असुलेर भिजिट भिसामा युवाहरू विदेश पठाउने गरेको घटना सार्वजनिक भयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित केही कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइरहेका बेला यो प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत मुछिएका छन् ।

खासगरी, गृहमन्त्री बनेपछि लेखकले नै भट्टराईलाई अध्यागमनको नेतृत्वमा पठाएको तथा मानवतस्करहरूसँगको साँठगाँठमा गृहमन्त्रीकै सचिवालयका सदस्यहरू जोडिएको कारण पनि यो प्रकरणमा उनी मुछिएका हुन् ।

त्यति मात्र होइन, अख्तियारको प्रारम्भिक अनुसन्धानमा सहसचिव भट्टराईले अध्यागमन कार्यालयमा बसेर मानव बेचबिखनको संगठित जालो निर्माणमा भूमिका खेलेको देखिएको सुचनाहरू आइरहेकाले पनि गृहमन्त्री लेखक आरोपित बन्न पुगेका हुन् ।

भिजिट भिसामा जाने युवाहरूसँग चर्को रकम असुलेको सूचनाको आधारमा अख्तियारले केही समयदेखि अध्यागमनका कर्मचारीमाथि निगरानी गरिरहेको थियो । ७ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रण लिई सोधपुछ गरेर छोड्यो भने भोलिपल्टबाटै बोलाएर बयान लिन थाल्यो । पक्राउ परेका अन्य कर्मचारीको बयान पनि चलिरहेको छ । यसबीच थप अन्य कर्मचारी पनि पक्राउ परेका छन् ।

पार्टी स्रोतका अनुसार देउवाले बोलाएको बैठक लेखकले आफ्नो संलग्नता नभएको अति विश्वासका साथ बताएका थिए ।

पार्टीभित्र र सार्वजनिक जीवनमा तुलनात्मक रूपले कम विवादमा परेका लेखक यसपटक भने निकै आलोचित गरेका छन् । आलोचन मात्र होइन, उनले राजीनामा दिनुपर्ने र यो समग्र प्रकरणको निष्पक्ष जाँच हुनुपर्ने आवाज उठेको छ ।

आवाज जनस्तरमा मात्रै होइन, नेपाली कांग्रेसभित्रै पनि उठिरहेको छ । कांग्रेसभित्र मूलतः दुईथरि धारणा आएका छन् । पार्टीको संस्थापन पक्षका नेताहरू कर्मचारीले गरेको कर्मको दोषी गृहमन्त्री लेखक नहुने उल्लेख गर्दै उनको बचाउमा उत्रिएका छन् ।

अर्कोतर्फ, संस्थापनइतका नेताहरू गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनु उपयुक्त हुने सार्वजनिक धारणा राखिरहेका छन् ।

गृहमन्त्री लेखकले आफ्नो संलग्नता नभएको स्पष्टीकरण दिइसकेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महत बताउँछन् । महतले अनलाइखबरसँग भने, ‘विभिन्न कार्यालयमा बदमासी भइरहेको हुन्छ । मन्त्रीलाई सबै थाहा हुन्छ भन्ने छैन ।’

प्रवक्ता महत गृहमन्त्री लेखक उक्त प्रकरणमा जोडिएको आधार कसैले प्रस्तुत नगरेको बताउँछन् । ‘उहाँ संलग्न भएको आधार भए बेग्लै कुरा हो । लान्छना लाग्ने बित्तिकै छोड्ने कि नछोड्ने भन्ने कुरा त व्यक्ति स्वयंले निर्णय गर्ने कुरा हो,’ महत भन्छन्, ‘पार्टीको कोणबाट हेर्दा उहाँ यो यो कारणले संलग्न हुनुहुन्छ भन्ने कोही छैनन् । त्यसो हुँदा तपाईंले पद छोड्नुस् भन्न पार्टीले मिल्दैन ।’

देउवासामु लेखकले भने– चोखो छु

पार्टी स्रोतका अनुसार गृहमन्त्री लेखक विवादमा परेपछि सभापति शेरबहादुर देउवाले शीर्ष तहका सीमित नेतालाई शनिबार छलफलका लागि डाकेका थिए । शनिबार साँझ भएको छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र गृहमन्त्री लेखक स्वयं सहभागी थिए ।

बैठकमा गृहमन्त्री लेखकले अध्यागमन विभागभित्र भएको अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरे । पार्टी स्रोतका अनुसार लेखकले आफ्नो संलग्नता नभएको अति विश्वासका साथ बैठकमा कुरा राखेका थिए ।

देउवाले बोलाएको बैठक अघि गृहमन्त्री लेखकले आफ्नो स्पष्टीकरण सार्वजनिक रूपमा दिएका थिए । लेखकले बाहिर जुन रूपमा आफ्नो बचाउमा धारणा राखेका थिए, त्यसै अनुरुप आफू दोषी नरहेको देउवालाई विश्वस्त बनाउने प्रयास गरेका थिए ।

एउटा मात्रै पनि आर्थिक अनियमितता प्रमाणित भए पदबाट मात्रै नभई राजनीतिबाटै राजीनामा दिने उनको भनाइ सार्वजनिक भएको थियो । आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक झुटा प्रचारबाजी भइरहेको उनको दाबी छ ।

‘गृह मन्त्रालय यति ठूलो छ, यहाँ हजारमा होइन, लाखमा कर्मचारी छ,’ लेखकले शनिबार भने, ‘यत्रा कर्मचारीमा कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ । कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदै गर्दा सबै मन्त्रीले राजीनामा दिंदै जाने हो ? त्यही पद्धति बसाउँदै जाने हो ? आजसम्म त्यस्तो भएको छ ?’

यो प्रकरणमा १३ जेठमा संसदमा जवाफ दिने गृहमन्त्री लेखकले जानकारी गराइसकेका छन् ।

पार्टीभित्र संस्थापन पक्षका नेताहरू लेखककै बोली अनुसारको प्रतिक्रिया दिएका छन् । गृहमन्त्री लेखकविरुद्ध कोही कतैबाट उजुरी नपरेको र कर्मचारीले गरेको कर्मका कारणले उनलाई मुछ्न नहुने तर्क संस्थापन पक्षका नेताहरूको धारणा छ ।

अनुसन्धानको घेरामा गृहमन्त्री लेखक पर्ने भए पार्टीले नभई सरकारले नै भन्ने प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बताउँछन् । ‘पार्टी भनेको सरकार होइन । यो बेला पार्टीले गर्ने अनुसन्धानमा सहयोग पुर्‍याउने हो । यो बेला पार्टी तटस्थ बस्ने हो,’ विश्वकर्मा भन्छन्, ‘कसैलाई लखेट्ने पनि होइन । कसैलाई बचाउ गर्ने पनि होइन ।’

अनियमिततामा नेताहरू मुछिँदा कांग्रेस यसअघि पनि बोलेको थिएन । नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नेरनगर्ने पक्षमा चर्को बहस भएपनि पार्टीबाट हटाइएन ।

व्यक्तिले गरेको दोषको भागिदार स्वयं हुनुपर्ने त्यसको भारी पार्टीले नबोक्ने नेताहरूले भन्दै आएका छन् । ‘उहाँ (गृहमन्त्री लेखक) अनियमिततामा नगरेको भए दोषी हुनुहुन्नँ । संलग्न भएको हो भने जोगिनुहुन्नँ,’ नेता विश्वकर्मा भन्छन् ।

संस्थापनइतका नेताहरू गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनु उपयुक्त हुने सार्वजनिक धारणा राखिरहेका छन् ।

संस्थापनइतरका नेताहरू भने गृहमन्त्री लेखकले राजीनामा दिएर नैतिकता प्रदर्शन गर्नुपर्ने विचार राखेका छन् । नेता डा. शेखर कोइराला गृहमन्त्री पदबाट राजीनामा दिनु उपयुक्त हुने धारणा राख्छन् ।

उनी भन्छन्, ‘नैतिकताको हिसाबमा म क्लिन छु । मैले राजीनामा गरें । छानबिन समित बनाउनुस् । गर्नुहोस् तपाईंहरू भने भैहाल्यो नि,’ उनले अघि भने, ‘त्यसले मोरल स्ट्याटस देखिन्छ ।’

गृहमन्त्रीबाट राजीनामा दिएर अनुसन्धान प्रक्रियामा सघाउन रास्वपाले माग गरेको छ ।

गृहमन्त्री लेखकले राजीनामा दिँदा पार्टी र उनी दुबैको हितमा हुने सुझाव आएका छन् । अनुसन्धानको सुई गृहमन्त्री लेखकतर्फ देखिए मात्रै राजीनामा दिएर बाटो खोल्नुपर्ने तर्क नेता विश्वकर्मा गर्छन् ।

‘हजारौं कर्मचारीमध्ये एउटा कर्मचारी दोषी देखिए विभागीय कारबाही गर्ने हक पनि छ नि उहाँलाई,’ विश्वकर्मा भन्छन्, ‘गृह मन्त्रालयकै कर्मचारीमाथि अनुसन्धान भइरहेको बेला मन्त्रीले राजीनामा गर्दै जाने हो भने भोलि कुनै वनपाले घुस खाएको अभियोगमा पक्राउ पर्‍यो भने वनमन्त्रीले राजीनामा दिने ? संलग्नता छ रे भन्दै चल्ने हो भने त सरकार नै चल्दैन ।’

कर्मचारीले गरेको अपराध कर्ममा दोषी गृहमन्त्री नहुने संस्थापन पक्षका नेताहरूको जिकिर छ । नेता कृष्णप्रसाद सिटौला कुनै एक कार्यालयको कर्मचारीको गल्ती गर्दा प्रमुखको राजीनामा माग्न उचित नहुने टिप्पणी गर्छन् ।

‘कुनै पनि अड्डा, कार्यालयको कुनै कर्मचारीले गल्ती गर्छ भने ऊ जिम्मेवार हुन्छ । जवाफदेही हुन्छ, त्यसो हो भने’, आइतबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘त्यस्तो अवस्थामा कार्यालयकै प्रमुखले राजीनामा दिनुपर्छ, छोड्नुपर्छ भन्ने कुरा उठायौं भने राज्य व्यवस्था चल्दैन यसरी ।’

गृहमन्त्री लेखकले अघिल्लो सरकारको समयमा संसद्मा बोलेको विषयले समेत उनी विवादमा परेका छन् । प्रचण्ड नेतृत्वको सरकारको समयका गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै राजीनामा दिनुपर्ने तर्क गरेका थिए । त्यही प्रसंग उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उनको राजीनामा मागेको छ ।

गृहमन्त्रीबाट राजीनामा दिएर अनुसन्धानमा सघाउन रास्वपाले माग गरेको छ । रास्वपाको मागको प्रतिवाद गर्दैै कांग्रेस प्रवक्ता महतले त्यसबेलाका गृहमन्त्री सहकारीको रकम अपचलनमा प्रत्यक्ष जोडिएको तथ्यका आधारमा लेखकले संसदमा बोलेको बताउँछन् ।

‘प्रमाण र आधार देखिएर रवि जी (रास्वपा सभापति तथा तत्कालीन गृहमन्त्री रवि लामिछाने) को कुरा आएको हो नि त । आधार देखायो भने बेग्लै कुरा हो,’ महतले भने ।

गृहमन्त्री लेखकको सचिवालय नै ‘भिजिट भिसा’मार्फत मानव तस्करीमा संलग्न भएको आरोप लागेको छ । कांग्रेस सांसद राजेन्द्र बजगाईं गृहमन्त्री लेखकको सचिवालय नै मानव तस्करी र आप्रवासन दुरुपयोगमा संलग्न देखिएको विषय संवेदनशील भएको बताउँछन् । बजगाईंले मन्त्री लेखकलाई बर्खास्त गर्न माग समेत गरेका छन् ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?