+
+
Shares
विचार :

सामान्य होइनन्, बलात्कार प्रयासका घटना

महिलामाथि यौनजन्य अपराध हुन शारीरिक आघात नै परेको हुनुपर्छ भन्ने अपराधप्रतिको परम्परागत मान्यता जबसम्म रहन्छ, तबसम्म यस प्रकारका अपराध गम्भीर ठानिंदैनन् ।

शोभा बजगाईं शोभा बजगाईं
२०८२ जेठ १७ गते २२:१०

घटना १– सुनसरी घर भएकी १२ वर्षीया बालिका सपना (परिवर्तित नाम) आफ्नो घरबाट १५ मिनेटको दूरीमा पर्ने समाजका एक प्रतिष्ठित व्यक्तिको घरमा बसेर घरेलु श्रमिकको रूपमा काम गर्छिन् । न्यून आर्थिक अवस्था भएका सपनाका बाबु पनि दिनभर सोही घरमा काम गर्छन् र राति आफ्नो घर जान्छन् ।

सपना उक्त घरमा बस्न थालेको ७ महिना भयो । घरमा ५२ वर्षका घरमालिक छन् । विगत ६ महिनाअघिदेखि घरमालिकले सपनालाई कहिले आफ्नो कोठामा बोलाउने, कहिले उनकै कोठामा गएर संवेदनशील अंगमा छुने, ओठमा चुम्बन गर्ने गर्छन् ।

मालिकबाट ज्यादती हुन थालेपछि केही समय त आफू भागी–भागी हिंडेको तर महिनौंसम्म यस्तो क्रम रोकिएन । जाने ठाउँ कहीं नभएकोले कसैलाई भन्न पनि नसकेको र बाध्य भएर यही घरमा बस्नुपरेको उनको भनाइ छ ।

अन्तिम पटकको घटना, ५ वैशाख २०८१ रातको करिब १२ बजे सपना निदाएको अवस्थामा ती घरमालिक उनकै कोठामा गएर एक्कासि ओठमा चुम्बन गर्न थाले । जसको परिणाम सपनाको ओठ र स्तनमा घाउ समेत भएको छ । योनीमा हात लगाई शरीरमाथि आक्रमण समेत गरेको उनी बताउँछिन् ।

उनले सकसपूर्ण तरिकाले घटनाको प्रतिकार गरी रातको १ बजे हस्याङफस्याङ गर्दै आफ्नो घर गएर आमालाई घटनाबारे सुनाइन् । यस घटनाले सपनामा मानसिक र मनोवैज्ञानिक रूपमा समस्या देखिन थालेको मनोविमर्शको क्रममा पाइएको छ । अन्ततः यो घटना सोही ठाउँको इलाका प्रहरी कार्यालयमा बालबालिका विरुद्धको कसुरमा दर्ता भएको छ ।

घटना २– मोरङ घर भएकी समीक्षा (परिवर्तित नाम) १३ वर्षकी भइन् । कक्षा ७ मा अध्ययनरत छिन् । आमाको १० महिनाअघि क्यान्सरका कारण मृत्यु भएकोले समीक्षा र उनका बाबु मात्र घरमा बस्छन् । उनकी एक दिदी छिन्, जसको विवाह भइसकेको छ ।

आमाको मृत्यु भएको केही महिनापछि नै उनका बाबुले आऊ सँगै सुतौं भने । समीक्षा आफ्नो पीडा सुनाउँछिन्, ‘बाबुले माया गरेर सँगै सुतौं भनेको जस्तो लाग्यो । बेलुकाको खाना म बनाउँछु, तिमी आराम गर भन्नुहुन्थ्यो । खाना जहिल्यै पस्केर दिनुहुन्थ्यो । खाना खाएपछि म कतिबेला दिनाउँथे थाहै पाउँदिनथें । कति–कति बेला झसङ्ग हुँदा शरीर जताततै दुःखेको हुन्थ्यो । छाती दुःखेर लुगा लगाउन नसक्ने हुन्थ्यो । मेरो शरीरमाथि कोही चढेको हुन्थ्यो । यसबाट भाग्न खोजें तर जाने ठाउँ कतै थिएन । कहिले ढोकाको पछाडि लुक्थें, बाबुले देख्न नसकोस् भनेर । कहिलेकाहीं योनीबाट रगत समेत बगेको हुन्थ्यो ।’

घटना ३– मोरङ घर भएकी पिंकी (परिवर्तित नाम) ११ वर्षकी भइन् । बाबु वैदेशिक रोजगारीमा छन् भने आमा घरैमा खेतीपातीको काम गर्छिन् । उनका एक भाइ र एक बहिनी छन् । पिंकी हाल कक्षा ५ मा पढ्छिन् ।

५ जेठ २०८२ मा आमाको टाउको दुःखेर सञ्चो नभएका कारण पिंकी र उनका भाइ–बहिनी कोही पनि विद्यालय गएका थिएनन् । दिउँसो भएपछि आमा समूहको कामको सिलसिलामा गाउँमा जानुभएको थियो । उनी भाइ र बहिनीसँगै घरमा थिइन् ।

दिउँसोको ४ः३० बजेको समयमा छिमेकको बंगुर फार्ममा काम गर्ने मान्छे लिची खान दिने बहानामा पिंकीको कोठाभित्र छिर्‍यो र उनको स्तन र गुप्ताङ्गमा हात लगाई सुम्सुम्यायो । अर्को कोठामा लैजान बल प्रयोग गर्‍यो । तर बल गरेर तान्दा उनी त्यो व्यक्तिकोे हात छुटाएर भाग्न सफल भइन् । हाल यो घटना बालयौन दुव्र्यवहारमा दर्ता भएको छ ।

यी तीनवटै घटना प्रतिनिधिमूलक मात्रै हुन् । विभिन्न अध्ययनले हाम्रो समाजमा महिला तथा किशोरीमाथि हुने गरेका हिंसा तथा दुव्र्यवहारका घटनाहरू बाहिर आउन सक्ने अवस्था छैन भन्ने देखाएको छ । आए पनि अनुसन्धान प्रक्रिया, न्यायिक निकायमा हुने गरेको ढिलासुस्ती, प्रभावित/पीडित मैत्री वातावरणको अभाव, घरपरिवार, समाजले पीडित/प्रभावितलाई थप पीडा दिने भय र त्रास, उल्टै पीडितलाई नै आरोप लाउने लगायत कारण उनीहरू घटना लुकाउन बाध्य हुन्छन् ।

ममाथि भएको घटना बाहिर ल्याएँ भने मलाई सहयोग गर्ने संयन्त्र, व्यक्ति तथा परिवार त छ मेरो साथमा भन्ने विश्वास जबसम्म पीडित/प्रभावितले गर्दैनन्, तबसम्म जति नै बल गरे पनि घटना बाहिर आउन सक्दैन । आएका घटना पनि होस्टायल (पछि सर्ने) हुने सम्भावना रहन्छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार (आव २०७५/७६ देखि २०७९/८० सम्म) लैंगिक हिंसा र यौनजन्य दुव्र्यवहारका घटनामा उजुरी परेका करिब १८ हजारदेखि २४ हजार हाराहारी मुद्दामध्ये करिब १० देखि १२ प्रतिशत घटना जबरजस्ती करणी सम्बन्धी भएको पाइन्छ । यी जबरजस्ती करणीको घटनामा तीन चौथाइ भन्दा बढी चिनजानका पीडक रहेको देखिन्छ ।

त्यसैगरी, प्रहरीमा जाहेरी भएको विवरण अनुसार ७९ देखि ८८ प्रतिशत यौनजन्य हिंसा र जबरजस्ती करणीका घटनाका पीडक पीडितको चिनजानका व्यक्ति रहेको देखिन्छ । ३८ देखि ४८ प्रतिशत सामान्य चिनजान, २६ देखि ३३ प्रतिशत छिमेकी, ७ देखि १२ प्रतिशत पति र परिवारका सदस्य देखिएको प्रहरीको तथ्यांक रहेको छ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार जम्मा १ हजार ३९३ वटा महिला तथा किशोरीमाथि भएका हिंसाका घटना अभिलेख भएका छन् । जसमा, बलात्कारका घटना र यसको स्वरुपलाई हेर्दा अभिलेख भएका कुल घटनामध्ये १८५ बलात्कारका घटना रहेका छन् । यसमा ७२ प्र्रतिशत अर्थात् (१३४) जनामाथि बलात्कार भएको पाइएको छ ।

सामूहिक बलात्कार ६ प्रतिशत (११ जना) र वैवाहिक बलात्कार ९ प्रतिशत अर्थात् (१६ जना) महिलामाथि भएको पाइएको छ । त्यस्तै, बलात्कारको प्रयास १३ प्रतिशत (२४ जना) महिला तथा बालिकामाथि भएको छ ।

कानून कार्यान्वयन गर्ने निकायबाटै कानूनी व्यवस्थाप्रति अनदेखा गर्नुले मानवअधिकार र सम्मानपूर्वक बाँच्न पाउने हक कुण्ठित गर्छ ।

यही तथ्यांकलाई नातासम्बन्धको आधारमा हेर्दा, २२ प्रतिशत (४० जना) महिला श्रीमान्बाट, १९ प्रतिशत (३५ जना) छिमेकीबाट, १४ प्रतिशत (२६ जना) परिवारका सदस्य जस्तै आफ्नै बाबु, काका, मामा, ससुरा, देवरबाट; ९ प्रतिशत (१७ जना) प्रभावित आफूले आत्मीय ठानेका साथी अर्थात् प्रेमीबाट, ४ प्रतिशत (८ जना) साथीबाट, पाँच प्रतिशत (१० जना) सेवा प्रदायक संस्थाका अधिकारीबाट, ७ प्रतिशत (१३ जना) समुदायका सदस्यबाट, ३ प्रतिशत (६ जना) कानूनी एवं सामाजिक परम्परा अनुरूप विवाह नगरेका तर विवाहित सरह सँगै बसेकाबाट, एक प्रतिशत (१ जना) शिक्षकबाट, १६ प्रतिशत (२९ जना) अपरिचित व्यक्तिबाट, बलात्कृत भएको तथ्याङ्क रहेको छ ।

माथिका दुवै स्रोतका तथ्यांकलाई हेर्दा, महिला तथा किशोरीमाथि हुने यौनजन्य हिंसाको सग्लो चित्र देख्न सकिन्छ । साथै, महिला तथा किशोरीहरूलाई घरपरिवार र चिनजानका व्यक्तिहरूबाटै असुरक्षा हुने गरेको समेत यस तथ्यांकबाट स्पष्ट हुन्छ ।

यसै सन्दर्भमा, पीडित/प्रभावितको न्यायको लडाइँमा अहिले भइरहेको हाम्रो अभ्यास हेर्दा, जबरजस्ती करणीको उद्योगमा मुद्दा दर्ता गर्न विशेषतः घटनास्थल तोडफोड भएको, माडिएको हुनुपर्छ । पीडितले घटनाको प्रतिवाद गर्दा उनको शरीरमा घाउ, चोट/दाग अनिवार्य जस्तै गरी खोजिन्छ वा लागेको हुनुपर्छ ।

यौन सम्पर्क गर्नै आँट्दा, केही भएर अवरोध भएको, लुगा कपडा खोलिएको आदि अवस्था मात्रै करणीको उद्योग हो भन्ने सूचक हाम्रा अनुसन्धान गर्ने निकाय तथा न्यायिक संयन्त्रले खोज्छन् । महिलामाथि यौनजन्य अपराध हुन शारीरिक आघात नै परेको हुनुपर्छ भन्ने अपराधप्रतिको परम्परागत मान्यता जबसम्म रहन्छ, जबसम्म मानसिक आघात शारीरिक आघातभन्दा सामान्य हो भनेर सामान्यीकरण गरिन्छ, तबसम्म यस प्रकारका अपराध गम्भीर ठानिंदैनन् ।

माथि उल्लेख भएका तीन वटा घटनामा प्रभावितको बयान, प्रभावितको संवेदनशील अंगमा लागेका घाउचोट (जो फोटोमा स्पष्ट छैन), घटनाको प्रकृति, अभिभावकको भनाइ र घटनापछिको प्रभावितको अवस्था र मानसिक आघात विश्लेषण गर्दा यो घटना जबर्जस्ती करणीको प्रयास हो भन्नेमा द्विविधा छैन । तथापि, हाम्रा कानूनी जटिलता, न्याय सम्पादन तथा अनुसन्धान गर्ने निकायमा दक्ष मनोविमर्शकर्ताको अभाव र घटनालाई महिलामैत्री कोणबाट हेरी सहजीकरण गर्ने संवेदनशीलताको अभावका कारण जबर्जस्ती करणीको उद्योगमा पनि दर्ता हुनसक्ने घटना बाल यौन दुर्व्यवहार र बालबालिका विरुद्धको कसुरमा दर्ता भएका छन् ।

एकातिर हाम्रा न्यायिक संयन्त्रले पीडित/प्रभावितको बयानलाई प्रधानताको साथ प्रमाणको रूपमा ग्रहण गर्दछ भने अर्कोतिर, मुलुकी अपराध संहिता २०७४ को दफा ३४ ले कसुर गर्ने उद्योग गर्न नहुने, उपदफा (३) मा, कसुर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरको लागि तोकिएको सजायको आधा सजाय हुनेछ । यसैगरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा २५ (ङ) मा स्वच्छ न्याय र (ज) मा बालमैत्री वातावरणमा अनुसन्धान, अभियोजन तथा सुनुवाइ बालमैत्री वातावरणमा हुने व्यवस्था रहेको छ ।

कानून छ । तर, यस प्रकारका घटना जबर्जस्ती करणीको उद्योगमा दर्ता नहुनुले, कसुरको गाम्भीर्यलाई कमजोर त बनाउँछ नै, साथै आरोपितलाई हुनसक्ने कानून बमोजिमको सजायमा समेत प्रत्यक्ष प्रभाव पार्ने आकलन गर्न सकिन्छ । साथै अनुसन्धान गर्ने निकायमाथि निष्पक्ष न्याय सम्पादनको प्रश्न पनि उब्जाउँछ ।

यसरी, कानून कार्यान्वयन गर्ने निकायबाटै कानूनी व्यवस्थाको अनदेखा गर्नुले मानवअधिकार र सम्मानपूर्वक बाँच्न पाउने हक कुण्ठित गर्छ । बालिका पीडित भएका घटनामा प्रभावितको अधिकतम न्यायको लागि गर्नुपर्ने पहलप्रति संवेदनाहीनताको अवस्था पनि देखाउँछ ।

(बजगाईं महिला अधिकारकर्मी/अधिवक्ता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?