+
+
Shares

कर्णाली विकास बैंक घोटाला गर्ने राय पार्टी फेरिरहन्थे, टिकट किनिरहन्थे

१५ वर्षसम्म कर्णाली डेभलपमेन्ट बैंकको अध्यक्ष तथा सीईओ रहेका राजेन्द्रवीर रायले बैंकको करोडौं अपचलन गरेर २०७० यता तमलोपा, राप्रपा, एमाले र नागरिक उन्मुक्ति पार्टीबाट विभिन्न चुनाव लडेका थिए । पैसाको बलमा टिकट आर्जन गरे पनि जनताको मत आर्जन गर्न सकेनन् ।

कृष्ण अधिकारी कृष्ण अधिकारी
२०८२ जेठ १८ गते २२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली विकास बैंकको आर्थिक घोटालामा संलग्न संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई लखनउबाट पक्राउ गर्यो।
  • उनले बैंकको २ अर्ब ६० करोड रुपैयाँभन्दा बढी अनियमितता र अपचलन गरेको आरोप लागेको छ र उनलाई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
  • रायले राजनीतिक करियरमा विभिन्न पार्टीहरूमा सहभागी भएर निर्वाचन लडेका थिए, तर चुनावमा पराजित भए।

१८ जेठ, नेपालगञ्ज । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकमा भएको आर्थिक घोटाला प्रकरण सार्वजनिक भएपछि बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय एकाएक फरार भए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमै कर्णाली बैंकमा २ अर्ब ६० करोड रुपैयाँ बढी अनियमितता भएको पाइएको थियो । र, त्यसमा रायको संलग्नता पनि । त्यसयता उनी प्रहरीको खोजीमा थिए ।

करिब ९ महिनापछि शनिबार उनी प्रहरीको फन्दामा परे । भारतको लखनउमा अपार्टमेन्ट भाडामा लिएर बस्दै गएको सूचना पाएपछि प्रहरीले लखनउ पुगेरै उनलाई पक्राउ गरेर ल्याएको थियो ।

प्रहरीले उनलाई मुख्य अभियुक्तका रुपमा ठगी, संगठित अपराध र बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत बाँकेबाट सात दिनको म्याद थप गरेको छ र हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ ।

२०६० सालमा स्थापना भएको कर्णाली बैंकको करिब ८० प्रतिशत संस्थापक शेयर रायकै छ । बैंकको स्थापनाकालदेखि उनी कार्यकारी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको रूपमा करिब १५ वर्षसम्म कार्यरत थिए । कानुनी रूपमा जिम्मेवारी त्यागेपछि पनि उनी नै हर्ताकर्ता थिए । किनभने, कानुनी प्रक्रिया पूरा गरेको देखाउन मात्र अन्य व्यक्तिलाई उनले अध्यक्ष र सीईओको जिम्मेवारी दिएका थिए ।

५ पुस २०८१ मा बैंक संचालक समितिका अध्यक्ष डा. ओमप्रकाश मिश्राको संयोजकत्वमा गठन गरेको विशेष छानबिन समिति समितिले ८ पुसमै कर्णाली विकास बैंकको अन्य बैंकमा रहेको खाता तथा बैंकको सीबीएसमा रहेको रकम चेक जाँच गर्दा रायले नै करिब १ अर्ब २६ करोड रुपैयाँ अपचलन गरेको फेला पारेको थियो ।

बैंक स्थापना गरेलगत्तै राय राजनीतिमा पनि सक्रिय भएका थिए । सल्यानमा जन्मिएर पछिल्ला २० वर्षदेखि बाँके जिल्लालाई कर्मथलो बनाएका रायले राजनीतिको सुरुवात भने महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीबाट सुरु गरेका थिए । २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा राय बाँकेको क्षेत्र नम्बर १ बाट तमलोपाका उम्मेदबार बनेका थिए ।

चुनावमा निक्कै कम मत आएपछि रायले तमलोपा त्यागे र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरे । त्यसपछि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी सल्यानबाट राप्रपाका उम्मेदवार बने । निर्वाचनमा विजयी नभए पनि रायले सम्मानजनक मत ल्याए । त्यसपछि राप्रपाले उनलाई कर्णाली प्रदेशको इञ्चार्ज र सहमहामन्त्रीको जिम्मेवारी दियो ।

तर, पार्टी परित्यागको सिलसिला रोकिएन । १५ भदौ २०७९ मा उनी राय एमालेमा प्रवेश गरे । पार्टी अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर रायलाई एमालेमा स्वागत गरेका थिए ।

पार्टी प्रवेश गरेलगत्तै ओलीको विश्वास जितेर २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सल्यानबाट पुन उम्मेदवार बने ।

तर, यसपटक पनि प्रतिनिधिसभा प्रवेश गर्ने उनको प्रयास सफल बन्न सकेन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसमेतको गठबन्धनमा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालासँग २२ हजार ६६१ मतको अन्तरले राय पराजित भए ।

निर्वाचनमा नराम्रो पराजय लगत्तै उनले एमाले पनि छाडे र रेशम चौधरी संरक्षक रहेको रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीतिर लागे । २० वर्षभन्दा लामो समय बाँकेलाई कार्यक्षेत्र बनाएर क्रियाशील रहेका रायले २०७९ मा थारु समुदायको बाहुल्यता रहेका जिल्लामा झन्डै एकलौटीजस्तो नतिजा ल्याएका कारण नागरिक उन्मुक्ति पार्टी रोजेका थिए ।

पार्टी प्रवेशपछि उनी ११ माघ २०७९ मा नागरिक उन्मुक्ति पार्टीबाटै राष्ट्रिय सभा सदस्यको उम्मेबार बने । त्यतिबेला रायको उम्मेदवारी दर्ता गराउन पार्टी अध्यक्ष श्रेष्ठ स्वयं निर्वाचन अधिकृतको कार्यालय दाङ पुगेकी थिइन् । रायका लागि राष्ट्रिय सभा पुग्ने बाटो झन् कठिन थियो । त्यसैले उनले नागरिक उन्मुक्ति पनि त्यागे र रोजे नेकपा माओवादी केन्द्र ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जर्नादन शर्माले टीका र खादा लगाएर रायलाई माओवादी पार्टी प्रवेश गराए ।

त्यसयता मुलुकमा आमनिर्वाचन भएको छैन । त्यसैले राय माओवादीबाट भने उम्मेदवार बन्न भ्याइसकेका छैनन् ।

उनलाई नजिकबाट चिन्नेहरू तथा उनी अध्यक्ष रहँदाको कर्णाली विकास बैंकका एक सञ्चालक जसरी पनि सांसद बन्ने लहड पूरा गर्न उनले बैंकको रकम अपचलन गर्दै आएका थिए । बैंकको पैसाकै बलमा दलका शीर्ष नेतालाई प्रभावित पार्ने र सांसद्को टिकट लिने तथा चुनावमा बेहिसाव पैसा खर्च गर्ने गरेका थिए । तर, पैसाकै बलमा पार्टीका शीर्ष नेताको विश्वास जितेर टिकट लिन सफल भए पनि जनताको मत जित्न सकेनन् ।

लेखक
कृष्ण अधिकारी

कृष्ण अधिकारी नेपालगञ्जबाट खोजमूलक स्टोरी लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?