+

दिमागमा सकारात्मक भन्दा नकारात्मक सोच किन धेरै आउँछ ?

२०८२ जेठ  १९ गते १४:१८ २०८२ जेठ १९ गते १४:१८
Shares
दिमागमा सकारात्मक भन्दा नकारात्मक सोच किन धेरै आउँछ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानव मस्तिष्क प्राकृतिक रूपमा नकारात्मक कुरामा बढी संवेदनशील हुन्छ, जसले खतराबाट जोगाउँछ।
  • मनोचिकित्सकले नकारात्मक फिल्टरलाई तोड्ने उपचार र मनोपरामर्शलाई प्राथमिकता दिन्छन्।
  • सामाजिक समर्थन र मानसिक स्वास्थ्य उपचारले नकारात्मक सोचलाई नियन्त्रण गर्न मद्दत गर्दछ।

मानव मस्तिष्क प्राकृतिक रूपमा नकारात्मक कुराहरूप्रति बढी संवेदनशील हुन्छ । यो एक प्रकारको जैविक संवेदनशीलता हामीलाई खतराबाट बचाउन विकसित भएको हो ।

तर मनोचिकित्सकको ओपिडीमा आउने अधिकांश व्यक्ति दिमागमा धेरै कुरा खेल्छ भन्ने गुनासो लिएर आउँछन् । यसबाट कसरी छुटकारा पाउने होला भनेर प्रश्न पनि गर्ने गर्छन् ।

तनाव बढी भएको मान्छेको दिमागमा एउटा नेगेटिभ फिल्टर भन्ने हुन्छ । यो नेगेटिभ फिल्टरले के गर्छ भने यदि दिनमा १० जना मानिसलाई भेटियो भने त्यसमा ९ जनाले राम्रो कुरा गरेका छन् तर एक जना व्यक्तिले नराम्रो कुरा गर्छन् भने ९ जनाले भनेको राम्रो कुरा दिमागमा छिर्दैन, एक जनाले भनेको नराम्रो कुरा मात्र दिमागमा छिर्छ ।

कहिलेकाहीँ यस्तो हुन्छ भने यसैका आधारमा नकारात्मक सोच आयो वा दिमागमा धेरै कुरा खेल्यो भन्न मिल्दैन किनकि नराम्रो विचार हरेक व्यक्तिलाई आउने गर्छ । एक मानसिक रुपमा स्वास्थ्य व्यक्तिको दिमागमा राम्रो कुरा र नराम्रो कुरा दुवै समान रुपमा आउँछ । यसले एक-अर्कालाई सन्तुलन गरिरहेको हुन्छ त्यसैले वास्ता हुँदैन ।

यस्तो व्यक्तिमा नराम्रो सोच आइहाले पनि ह्या केही हुन्न, त्यो विषयमा धेरै सोच्न हुन्न, आफ्नो काममा ध्यान दिनुपर्छ भन्ने लाग्छ ।

दिमागमा धेरै कुरा खेलाउने व्यक्तिले पनि त्यस्तै नै सोच्छन् । तर, नकारात्मक फिल्टरले गर्दा राम्रो कुरा केही पनि दिमागमा आउन पाउँदैन, नराम्रो कुरा मात्र आउँछ  ।

आजको मितिमा केही पनि गतिलो सोच नआएपछि व्यक्तिले पहिलेको राम्रो कुरा सम्झन थाल्छन् । मेरो आजको दिनमा केही राम्रो कुरा नभए पनि पहिले त मैले राम्रो राम्रो काम गरेको थिएँ नि भनेर स्मरण शक्तिबाट त्यसलाई निकाल्न खोज्छन् तर यो फिल्टर पहिलाको मेमोरीमा पनि गइदिन्छ ।

जसले गर्दा जिन्दगीमा आफूले पहिले गरेको राम्रो कुरा कुरा याद आउँदैन जे-जे बिग्रिएको थियो, भत्किएको थियो, नराम्रो भएको थियो त्यस्ता सोचहरू मात्र आउँछन् ।

अब पहिलेको मेरो राम्रो याद केही पनि छैन भने मैले भविष्यमा त आफ्नो लागि केही राम्रो गर्न सक्छु नि त भन्ने सोच पनि आउँछ । यदि भविष्य सकारात्मक भए, मैले मेरो जीवनशैलीमा केही परिवर्तन गरे भने राम्रो हुन्छ नि भन्ने सोच आउन सक्छ । तर, यो फिल्टर भविष्यको विचारहरूमा पनि गइदिन्छ ।

जसले गर्दा जीवनमा आफूले गर्न चाहेका वा गर्न सकिने राम्रो कुरा केही याद आउँदैन । जे-जे बिग्रन सक्छ त्यस्ता कुरा मात्र याद आउँछ ।

सुरुवाती चरणमा व्यक्तिले यसलाई केही मात्रामा नियन्त्रण गर्न सक्छन् । तर, नियन्त्रण गर्न नसकेपछि भने आफ्नो कुरा बिस्तारै बाहिर राख्न थाल्छन् । मलाई नकारात्मक सोच बढी आएको छ, धेरै चिन्ता लाग्छ, मन खिन्न हुन्छ, डर लाग्छ भन्न थाल्छन् ।

तर यो समस्या कस्तो हो भनेर हाम्रो समाजले यसबारे बुझेको हुँदैन र उसको कुरालाई बुझ्न सक्दैन ।  यदि कुनै कुरा बुझिएको छैन भने आफूले जे बुझेको छ त्यही आधारमा सल्लाह दिने हो । यस्तोमा व्यक्तिले जति जनालाई भेट्यो उनीहरूले सकारात्मक हुनुपर्छ, नकारात्मक हुनुहुँदैन, चिन्ता लिन हुन्न, धेरै कुरा दिमागमा राख्न हुँदैन भन्ने सल्लाह दिन्छन् । जुन कुरा व्यक्तिलाई थाहा हुँदाहुँदै पनि गर्न सकेको हुँदैन ।

दिमागमा धेरै कुरा खेलेको नै हाम्रो दिमागले नकारात्मक कुराबाट छुटकारा पाउनलाई हाे । यस्तोमा आफूले सल्लाह लिन गएको ठाउँमा सबै सकारात्मक कुरा सुनेपछि व्यक्तिले नकारात्मक सोच मेरै कारणले आएको हो कि, यो फिल्टरको कारणले आएको हो भन्ने कुरा छुट्याउन सक्दैनन् । जसले गर्दा संसारमा सबै जना राम्रो सोच्ने रहेछन्, म मात्र नकारात्मक सोच्ने रहेछु भनेर आफैँलाई दोष दिन थाल्छन् ।

यसको उपचार के छ त ?

यसको उपचार मुख्यतया मनोपरामर्शबाट अथवा औषधिबाट हुन्छ । उपचारमा व्यक्तिको दिमागमा बनेको नकारात्मक फिल्टरलाई ताेड्ने काम गरिन्छ । त्यसपछि पहिले जुन सकारात्मक सोच आउन सकेको थिएन अब बिस्तारै आउन थाल्छ । अनि यस्तो मानसिक स्वास्थ्य अवस्था भएका व्यक्तिहरूले पनि अन्य सामान्य मान्छेहरू जस्तो नै सोच्न थाल्छन् ।

दिमागमा के कारणले धेरै कुरा चलिरहेको छ भन्ने कुरा पत्ता लगाएर त्यो कारणले समाधान गरियो भने दिमागमा धेरै कुरा खेल्न छाड्छ । र, कारक तत्व अनुसार नै यसको उपचार गरिन्छ ।

दिमागमा धेरै कुरा खेल्ने भनेको व्यक्ति राम्रो हुन खोजेको प्रयास हो । यस्तोमा मैले धेरै कुरा सोचें, सोचलाई नियन्त्रणमा राख्न सकिनँ, आफूलाई नियन्त्रण गर्न सकिनँ भनेर आफूप्रति हीनताबोध राख्नु जरुरी हुँदैन।

नकारात्मक सोच
डा. आशिष ढकाल
लेखक
डा. आशिष ढकाल
मानसिक रोग विशेषज्ञ

डा. ढकाल हाल काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत छन् । मानसिक रोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १६९२५ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय