+

डा. दीक्षा जोशी, जसले वीर अस्पतालको मुटु उपचारमा थपिन् नयाँ आयाम

२०८२ असार  ४ गते ९:११ २०८२ असार ४ गते ९:११
डा. दीक्षा जोशी, जसले वीर अस्पतालको मुटु उपचारमा थपिन् नयाँ आयाम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. दीक्षा जोशी नेपालकी पहिलो महिला मुटु शल्यचिकित्सक हुन् र वीर अस्पतालमा जटिल सर्जरी गर्छिन्।
  • उनले चीनमा एमबीबीएस र कार्डियाक सर्जरीमा मास्टर्स गरेकी छन् र नेपाल फर्किएर मुटु उपचारमा नयाँ उचाइ ल्याइन्।
  • उनले नेपालको मुटु रोगको उपचार चुनौतीहरू सामना गर्दै, स्वास्थ्य प्रणाली सुधार र नयाँ पुस्ताका चिकित्सकहरूलाई प्रशिक्षण दिने काम गरिरहेकी छन्।

काठमाडौं । वीर अस्पताल, जहाँ देशभरका बिरामीको थामिनसक्नु भीड लाग्छ । त्यहाँका सबैजसो विभाग उत्तिकै भरिभराउ हुने गर्छ । तर, मुटुरोग विभागको शल्यक्रिया सेवा भने यसको अपावाद थियो । वीरमा मुटुरोगको सामान्य उपचार मात्रै हुन्थ्यो । जटिल शल्यक्रियाका लागि बिरामीहरू अन्यत्र रिफर हुन्थे । यो बितेको कुरा भयो । अहिले यहाँको परिदृश्य बद्लिएको छ।

१२ वर्षमा खोलो पनि फर्किन्छ भनेझैं वीरको मुटुरोग विभाग तंग्रिएको छ । नयाँ-नयाँ उपकरण थपिएका छन्, दक्ष चिकित्सक टोली खटिएका छन् । र, त्यसको केन्द्रमा छिन् डा. दीक्षा जोशी ।

‘मुटुरोगका लागि पनि वीर अस्पताल पुग्नुपर्छ’ भन्नेहरूको संख्या बढ्दै गएको छ । विभाग अहिले गतिशिल मात्र छैन उत्तिकै प्रभावकारी पनि छ । अहिले यहाँ हप्तामा सात-आठ जटिल शल्यक्रिया हुन्छन् ।

यहाँसम्म आइपुगेपछि यस विभागको केन्द्रमा रहेकी शल्यचिकित्सक दिक्षाको बारेमा चासो हुन्छ नै । दिक्षा नेपालको पहिलो महिला मुटु शल्यचिकित्सक हुन् । नेपालमा हातमा गन्न सकिने कार्डियाक शल्यचिकित्सक छन् । महिला त जम्मा ६ जना मात्रै ।

शुरुवाती चरणदेखि उनले नेपालको मुटु शल्यचिकित्समा निरन्तर काम गर्दै आएकी छिन् । डा. दिक्षाको काम केवल शल्यक्रिया गर्नुमा सीमित छैन । उनका लागि हरेक मुटु केवल एक अंग होइन, त्यो त बिरामीको जीवन, उनको परिवारको आशा, र उनीहरूको सम्पूर्ण संसारको धड्कन हो ।

‘एब्री हार्ट म्यार्टस- हेर्नेका लागि एउटा मुटु होला, हाम्रोमा आउने हरेक मुटु हाम्रा लागि उत्तिकै महत्वपूर्ण छ’ उनी भन्छिन्, ‘जुन दिन चिकित्सकलाई मुटुले छुँदैन, त्यो दिनदेखि शल्यक्रिया गर्न छाडे हुन्छ ।’

यही भावनाले उनलाई हरेक शल्यक्रियामा पूर्ण समर्पणका साथ लाग्न प्रेरित गर्छ । दिक्षालाई के कुराले चिकित्सक बन्न प्रेरित गर्‍यो ? त्यसमा पनि मुटुरोग नै किन छनौट गरिन् ? हामी उनको विगततर्फ फर्कियौं ।

नृत्य र साइक्लिङमा रुचि

ललितपुरको ठूलो संयुक्त परिवारमा जन्मिएकी दिक्षा एक दाई र चार  दिदीकी कान्छी बहिनी हुन् ।

बाबा अहिलेको रिटायर्ड बैंकर हुन, आमा गृहिणी । घरमा कुनै कुराको रोकतोक थिएन ।

पढाइ उनको सधैं राम्रो थियो । ‘कक्षामा सुनेकैले पुग्थ्यो, घरमा धेरै पढ्नुपर्दैनथ्यो’ उनले भनिन् ।

नृत्य, क्रिकेट, साइक्लिङ, कार्यक्रम हुँदा एमसी गर्ने जस्ता अतिरिक्त क्रियाकलापमा सधै सहभागिता जनाउथिन ।  जोशीको चञ्चल स्वभाव र जोसिलो अन्दाजले कहिल्यै थकान मानेन ।

एसएलसी प्रथम श्रेणीमा पास गरेपछि उनले साइन्स पढ्ने निर्णय गरिन् । त्यतिबेला चिकित्सा क्षेत्रमा जाने निश्चित थिएन, तर कक्षा १२ पछि उनी चीनमा एमबीबीएस पढ्न गइन् ।

परिवारको कम्फर्ट जोन छोडेर चीन पुग्दा दिक्षालाई नयाँ परिवेशमा बानी पार्न निकै गाह्रो भयो ।

एक त भाषा नबुझ्ने, अर्को भनेको परिवारबाट टाढा र नयाँ परिवेश । चीनको थियानजिन मेडिकल युनिभर्सिटीमा उनले एमबीबीएस सुरु गरिन् ।

‘पहिलो वर्ष निकै कठिन थियो । चिनियाँ भाषा सिक्नुपर्ने, नयाँ संस्कृतिमा घुलमिल हुनुपर्ने, र कठिन पाठ्यक्रमले रातभर निद्रा लाग्दैनथ्यो, ‘उनी सम्झिन्छिन् । तर, दृढ संकल्पले उनलाई अगाडि बढायो । एमबीबीएस पढ्दा समेत करियर कता डोहोर्‍याउने उनलाई मेसो थिएन ।

पाँच वर्षको एमबीबीएस र एक वर्षको इन्टर्नशिपपछि उनको मन कार्डियाक सर्जरीतिर आकर्षित भयो ।

इन्टर्नशिपका क्रममा उनले बढी शल्यचिकित्सकहरूसँग घुलमिल हुने मौका पाइन । उनीहरूसँग नजिक हुँदा उनले कार्डियाक सर्जरीको जटिलता र महत्त्व बुझिन् ।

यहीकुराले धेरथोर झकझकाइरहेका बेलामा उनका मेन्टरहरूको प्रेरणाले उनलाई कार्डियाक सर्जरीमा मास्टर्स (एमएस) गर्न प्रेरित गर्‍यो । यो यात्रा सजिलो थिएन ।

कार्डियाक सर्जरीमा पढ्न मात्र होइन, काम पनि जटिल थियो ।

‘सुरुमा तीन महिना अपरेशन थिएटरमा हेर्ने मात्रै काम थियो । खुट्टाको नसा निकाल्ने, सर्जरी खोल्ने–बन्द गर्नेजस्ता साना कामबाट सिकाइ सुरु भयो, ’उनले सुनाइन् ।

यो धैर्यको कठिन समय थियो । बिस्तारै उनले जटिल सर्जरीहरूमा सहायता गर्ने अवसर पाइन् । ‘मेरो मेन्टरहरूले मेरो हात, लगाव र लगनमा विश्वास गरे, ‘उनले गर्वसाथ भनिन् ।

यो मेहनतले उनलाई एक कुशल कार्डियाक सर्जन बनायो ।

स्नातककोत्तर सकिएपछि उनका अगाडि दुई विकल्प थियो । एक अमेरिकाको फेलोशिप र अर्को नेपाल । उनले नेपाल रोजिन । उनलाई सुपरभाइजरले अमेरिकामा फेलोशिपको लागि सुझाएका थिए । त्यो अवसरले उनको करियरलाई नयाँ उचाइ दिन सक्थ्यो ।

तर, पाँच वर्ष परिवारबाट टाढा बसेर उनले सिकेको एउटा कुरा थियो-जीवनमा अवसरभन्दा ठूलो हुन्छ परिवारको साथ ।

उनले मनमनै हिसाब गरिन्, अनि नेपालमै भविष्य खोज्ने निधो गरिन् ।

उमेर, अनुभव, परदेश र भोगाइले उनलाई परिवारको मायाको गहिराइ बुझाएको थियो । ‘अमेरिका अवसरको देश हो, तर मलाई लाग्यो-मेरा बुबा पहिलेजस्तो छिटो हिँड्न सक्नुहुन्न, उहाँको उर्जा बिस्तारै मधुरो हुँदैछ । आमाको उमेर ढल्किँदैछ । उहाँहरू अहिले पनि सक्रिय हुनुहुन्छ, ’उनी भावुक हुँदै सुनाइन्, ‘मैले सोचें, अब म बाँकीको समय मिस गर्दिँन ।’

गंगालालको व्यस्तता र कामको नशा

सन् २०१२ मा नेपाल फर्किएपछि दिक्षाले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लोक सेवा पास गरी मेडिकल अफिसरको रूपमा काम सुरु गरिन् । यहाँ उनको दिनचर्या निकै व्यस्त थियो । २४ घन्टामा कुनै पनि समय मुटुको सर्जरी केस आउने अस्पताल हो, गंगालाल ।

‘बिहान ७ बजे ओटीमा छिर्थें, साँझ ७ बजे निस्कन्थें। बिहान निस्कने समय तय भए पनि बेलुका निस्कने टुंगो हुन्थेन । कहिलेकाहीँ घाम देख्न पनि पाइँदैनथ्यो, ‘उनले हाँस्दै सुनाइन् । दिनमा ६–७ सर्जरीको तालिका त सामान्य थियो ।’

‘यति नगरेको भए आज म यो स्थानमा पनि हुने थिइन’ दिक्षा भन्छिन्, ‘व्यस्त हुनुमा पनि मजा छ, एक किसिमको नशा छ ।’

त्यसैले त नेपालकी पहिलो महिला कार्डियाक सर्जनको रूपमा डा. दिक्षा जोशीले इतिहास रचेकी छिन् । महिला शल्यचिकित्सक हुनुमा कस्तो अनुभव छ ? भनेर सोध्दा-उनको जवाफले सबैलाई सोच्न बाध्य बनाउँछ ।

‘मलाई महिला भएर शल्यचिकित्सक भएँ भनेर गर्व लाग्दैन । मलाई गर्व लाग्छ त मेरो कामले, मेरो क्षमताले र मैले बचाएका मुटुका धड्कनहरूले’ उनी भन्छिन् ।

उनका लागि कार्डियाक सर्जरी केवल पेशा होइन, यो एक चुनौतीपूर्ण कला हो, जसमा लिंगको कुनै अर्थ हुँदैन ।

‘कार्डियाक सर्जरी आफैंमा गाह्रो र चुनौतीपूर्ण विषय हो । यहाँ स्किलले बोल्छ’ उनी भन्छिन्, उनी भन्छिन्, ‘अप्रेसन थिएटरमा प्रवेश गरेपछि कोही पनि केटा वा केटी भनेर हेरिंदैन । ‘त्यहाँ त तपाईंको हातले काम गर्छ, तपाईंको दिमागले निर्णय लिन्छ, र तपाईंको आत्मविश्वासले बिरामीको जीवन बचाउँछ ।’

दिक्षाले कहिल्यै लैंगिक भेदभावको सामना गर्नुपरेन । ‘मेरो मेन्टरहरूले मलाई सधैं सपोर्ट गर्नुभयो—चीनमा पढ्दा होस् वा गंगालालमा काम गर्दा’ उनी सुनाउँछिन्,  ‘यहाँ वीर अस्पतालमा पनि कसैले ‘यो केटी हो, यसले सक्दैन भनेन । सबैले साथबाट यहाँसम्म पुगेँ ।’

उनले गर्भावस्थाको बेला भने केही चुनौती भोगेको सुनाइन ।

‘गर्भावस्था भनेको महिलालाई मात्र हुने अनुभव हो । त्यो समयमा शारीरिक र मानसिक रूपमा तयार रहनु सजिलो थिएन । अप्रेसन थिएटरमा लामो समय खटिनुपर्ने, इमर्जेन्सी केसमा रातभर जाग्नुपर्ने, यी सबै गर्भावस्थामा चुनौतीपूर्ण थिए । तर, मेरो परिवार र टिमको साथले मलाई अगाडि बढायो’ उनले भावुक हुँदै भनिन् ।

गर्भावस्थामा पनि उनले आफ्नो पेशाप्रतिको समर्पणलाई कमजोर हुन दिइनन् । यही समयमा उनको पहिलो सन्तान जन्मियो । तर, कामको व्यस्तताले उनले छोरीको पहिलो शब्द र हिँडाइजस्ता अमूल्य पलहरू छुटाइन् ।

‘मैले विवाह, बर्थ डे, गेट टुगेदर भनेको समयमा एटेन्ड गर्न मेसो नमिल्दा कति छुटे । तर, सबैभन्दा बढी मलाई लाग्छ, मैले छोरीको बाल्यकाल धेरै मिस गरें, ‘उनी फेरि भावुक भइन् ।

पेशाले इन्जिनियर उनका  श्रीमान् सबैभन्दा ठूलो सहारा बने । ‘उनको साथ नभए यो सबै सम्भव हुँदैनथ्यो’ उनले कृतज्ञतापूर्वक भनिन् ।

वीर अस्पतालमा सफलता

सात वर्ष गंगालालमा बिताएपछि दिक्षा लोकसेवा पास गरेर वीर अस्पतालमा कार्डियोथोरासिक सर्जनको रूपमा जोडिइन् ।यहाँको मुटु शल्यक्रिया कक्ष १२ वर्षदेखि निस्क्रिय थियो ।

‘जब म आएँ, यहाँ मुटुको सर्जरी हुनुपर्ने जसरी भइरहेको थिएन । हामीले सबै स्क्र्याचबाट सुरु गर्‍यौं’ उनले त्यो समय सम्झिइन् ।

उनी सहितको सक्रिय टिमको मेहेनतका कारण विभागले नयाँ गति लियो । अहिले वीर अस्पतालमा १५ वर्षमुनिका र ७५ वर्षमाथिका बिरामीको सर्जरी निःशुल्क छ ।

डोनेसनबाट प्राप्त महँगा भल्भहरू पनि बिरामीलाई निःशुल्क दिइन्छ । दिक्षाले मुटु मात्र होइन, थोरासिक र भास्कुलर सर्जरीमा पनि अनुभव बटुलिन् ।

नेपालमा कार्डियाक सर्जनको संख्या जम्मा ३० छ र बिरामीको संख्या दिनदिनै बढ्दैछ । स्रोतसाधनको अभाव र पुरानो प्रविधिले चुनौती थप्छ, तर दिक्षाले यो सबैलाई अवसर बनाइन । ‘हाम्रो स्रोत कम छ, तर जोश र टिमवर्कले धेरै सम्भव बनाएको छ, ‘उनले भनिन् ।

तितामिठा अनुभव

डा. दिक्षाले धेरै केसहरू सम्हालेकी छिन्, तर कतिपय कथाहरूले उनको मनमा गहिरो छाप छाडेका छन् । कोरोना कालमा एउटा बिरामीले डयुटी सकेर जाने बेलामा हात समातेर बचाउनुहोस् भनेको अहिले पनि उनी सम्झिन्छिन् ।

‘मैले केही हुँदैन, नआत्तिनुहोस् भनेर आश्वासन दिएको थिएँ । स्वास्थ्यमा सुधार पनि भइरहेको थियो । भोलिपल्ट जाँदा उहाँ रहनुभएन’ उनले सुनाइन् ।

अर्को पत्याउन सकिने केस जहा केही भन्न नसकिने अवस्थामा चमत्कार भयो ।

एक २९ वर्षीय युवक  मोटरसाइकल दुर्घटना परी आएका थिए । उनको  मुख्य धमनी (एओर्टा) ट्रान्सफेक्ट भएको सर्जरी अविस्मरणीय छ । ‘यो प्राविधिक रूपमा जटिल सर्जरी थियो । हामीले ६ घण्टा लगातार काम गर्‍यौं । टिमको सहयोग र मेरो अनुभवले बिरामी बचायौं’ दिक्षाले भनिन् ।

अर्को क्षण थियो, ७ वर्षीया बालिकाको जन्मजात मुटु रोगको निःशुल्क सर्जरी । ‘उनको परिवारसँग पैसा थिएन । ‘जब ती बालिका हाँस्दै घर गइन्, मलाई मेरो पेशाको सार्थकता महसुस भयो’ त्यो क्षणको सम्झनाले उनलाई निकै खुसी तुल्याउँछ ।   यस्ता क्षणहरूले उनलाई हरेक दिन अगाडि बढ्न प्रेरित गर्छ ।

नेपालमा मुटु उपचारका चुनौती

नेपालमा मुटु रोगको उपचार चुनौतीपूर्ण छ । जन्मजात मुटु रोग, रियुमेटिक हृदय रोग र कोर्नरी आर्टरी रोगको प्रकोप बढ्दो छ ।

विकसित देशमा रियुमेटिक हृदय रोग लगभग निर्मूल भइसकेको छ, तर नेपालमा यो अझै प्रमुख समस्या हो । स्रोतसाधनको अभाव, सीमित जनशक्ति र पुरानो प्रविधिले उपचार जटिल बनाउँछ । ‘हामीले जति सकिन्छ, बिरामीको लागि उत्कृष्ट गर्नुपर्छ’  दिक्षाले जोड दिइन् ।

वीर अस्पतालमा उनको टिमले दिनमा २–३ जटिल सर्जरी सम्पन्न गर्छ । इमर्जेन्सी केसमा राति अबेरसम्म काम गर्नुपर्छ । ‘हरेक सेकेन्ड महत्त्वपूर्ण हुन्छ। हामीले छिटो र गुणस्तरीय काम गर्नुपर्छ ‘ उनले भनिन्।

नेपालकी पहिलो महिला कार्डियाक सर्जनको रूपमा दिक्षाले सयौं बिरामीको जीवन बचाएकी छिन् । उनको नेतृत्वमा वीर अस्पतालको मुटु शल्यक्रिया कक्षले नयाँ उचाइ प्राप्त गरेको छ ।

उनले नयाँ पुस्ताका चिकित्सकहरूलाई प्रशिक्षण दिइरहेकी छिन् ।

उनको सपना छ-नेपालमा यस्तो स्वास्थ्य प्रणाली बनोस्, जहाँ कुनै बिरामी पैसाको अभावमा उपचारबाट वञ्चित नहोस्। ‘हरेक मुटुको धड्कन महत्त्वपूर्ण छ’ उनको यो विश्वासले उनलाई हरेक दिन अगाडि बढाउँछ ।

इमर्जेन्सीका लागि २४ घण्टै तयार

दिक्षाको दिन बिहान ५ बजे योगा र मेडिटेसनबाट सुरु हुन्छ । ‘योग र ध्यान गरिन भने उर्जा नै हुँदैन । ‘म अहोरात्र खटिनसक्नुको तागत यही हो’ उनी भन्छिन् ।

छोरीलाई स्कूल पठाउने, दुई वर्षको छोरालाई खुवाउने र अस्पतालमा राउन्ड, ओटी र इमर्जेन्सी केसहरूमा व्यस्त रहने उनको दैनिकी हो ।

‘कहिलेकाहीँ २४ घण्टा पनि पर्याप्त लाग्दैन, ‘उनले हाँस्दै भनिन् । बेलुका परिवारसँग समय बिताउने प्रयास गर्छिन्, तर इमर्जेन्सीका लागि सधैं तयार रहनुपर्छ ।

तस्वीर : शंकर गिरी 

दिक्षा जोशी मुटुरोग वीर अस्पताल
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

निद्राले बालबालिकाको उचाइमा पनि  प्रभाव पार्छ, यी दुईबीच के छ सम्बन्ध ?

निद्राले बालबालिकाको उचाइमा पनि  प्रभाव पार्छ, यी दुईबीच के छ सम्बन्ध ?

मासु खान हतार नगर्नुहोस्, मृत्युको कारण बन्न सक्छ

मासु खान हतार नगर्नुहोस्, मृत्युको कारण बन्न सक्छ

डा. दीक्षा जोशी, जसले वीर अस्पतालको मुटु उपचारमा थपिन् नयाँ आयाम

डा. दीक्षा जोशी, जसले वीर अस्पतालको मुटु उपचारमा थपिन् नयाँ आयाम

बच्चाको पढाइ घट्दै छ ? हुन सक्छ दृष्टिसम्बन्धी समस्या

बच्चाको पढाइ घट्दै छ ? हुन सक्छ दृष्टिसम्बन्धी समस्या

जतिबेला पनि निद्रा लाग्छ, के-के कारण हुनसक्छ ?

जतिबेला पनि निद्रा लाग्छ, के-के कारण हुनसक्छ ?

के शिलाजित जसले पनि खान मिल्छ ?

के शिलाजित जसले पनि खान मिल्छ ?