News Summary
Generated by OK AI. Editorially reviewed.- गर्भावस्थाको आठौं महिनामा शारीरिक, मानसिक र स्वास्थ्य सम्बन्धी परिवर्तनहरू हुन्छन् ।
- सामान्य जाँच र सावधानी अपनाएर जटिलता र जोखिमहरू कम गर्न सकिन्छ ।
- परिवारको साथ र सही जानकारीले गर्भवती महिलाको स्वास्थ्य र प्रसव तयारीमा मद्दत पुर्याउँछ ।
जति जति प्रसवको समय नजिकिन्छ । त्यति गर्भवती महिला उत्सुक हुन्छिन् । उत्सकुतासँगै शारीर भने बोझिलो अनुभव हुनसक्छ ।
गर्भावस्थाको आठौं महिना (लगभग ३२ देखि ३६ हप्ता) भनेको करिब-करिब अन्तिम चरण हो । यहाँ पुगिसक्दा शरीर बढेकाले हिँडडुल गर्न, बस्न र सुत्न कठिन हुन्छ ।
पहिलेको भन्दा अलि चनाखो हुनुपर्ने बेला पनि हो यो । किनकि, यो महिनामा शारीरिक परिवर्तनहरू तीव्र हुन्छन् । जटिलता पनि बढ्न सक्छ ।
के कस्ता परिवर्तन देखिन्छ ?
यो समयमा शारीरिक, मानसिक र भावनात्मक परिवर्तनहरूका साथै स्वास्थ्य जटिलताहरूबारे सचेत रहनु आवश्यक छ ।
शारीरिक परिवर्तन
प्रत्येक हप्ता औसतमा ३०० देखि ५०० ग्राम तौल बढ्न सक्छ । आठौं महिनामा आइपुग्दा पाठेघरको उचाइ र चौडाइ फैलिएर छातीको भाग नजिक आइपुग्छ, जसले पेट ठूलो देखिन्छ ।
तौल बढ्दा छाला तन्किएर स्ट्रेच मार्क्स देखिन थाल्छ । विशेषगरी प्रोजेस्टेरोन र इस्ट्रोजेन हर्मोनको स्तर बढ्दा जोर्नीहरू लचिलो हुन्छन्, जसले हिँडडुलमा असहजता उत्पन्न गर्छ । पाठेघर बढ्दै जाँदा र यसले छातीमा दबाब दिँदा सास फेर्न असहज हुन सक्छ ।
पाठेघरसँग जोडिएको मांसपेशी तन्किँदा ढाड दुख्ने समस्या हुन्छ ।
त्यस्तैगरी, पाठेघरले पेटलाई थिच्दा ग्यास्ट्रिकको समस्या वा पेट ढुस्स हुनसक्छ । बच्चाको टाउको तल सर्दै जाने हुँदा पिसाब थैलीलाई थिच्दा पिसाब छिटो-छिटो लाग्न सक्छ । बच्चाको चापले रक्तनलीहरूमा दबाब पर्दा खुट्टा सुन्निन सक्छ ।
हातका औलाहरू बिहान कसिने र दिउँसो फुक्दै आउँछ । स्तनको टुप्पो वरपर गाढा कालो हुँदै जाने र स्तनबाट पहेँलो रङको कोलोस्ट्रम अब (पहिलो दूध) थोरै-थोरै चुहिन थाल्छ ।
मानसिक परिवर्तन
यो समयमा गर्भवती महिलाको मानसिक अवस्था अस्थिर हुन सक्छ, जसलाई ‘इमोसनल रोलर कोस्टरहाइड’ को रूपमा बुझ्न सकिन्छ । यो भनेको कोर्टिसोल र प्रोजेस्टेरोन हर्मोनको स्तरमा वृद्धि, मूड स्विङ्स र तनावको कारण बन्छन्।
कहिले अत्यधिक खुसी, कहिले अत्यास लागेको त कहिले डर, उदासी वा रोइरहन मन लाग्ने खालको भावनात्मक उत्तारचढाव महसुस हुन सक्छ । यो पनि स्वभाविक हर्मोनल प्रतिक्रिया हो ।
दुखाइ वा असहजताले पर्याप्त निद्रा नपुग्दा मानसिक तनाव बढ्छ ।
यदि मनोबल कमजोर भएको महसुस भए, अत्यधिक डराउने वा रोइरहने र बेचैन भएमा प्रिनेटल डिप्रेसन भनिन्छ । यस्तो लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।
प्रसवको समय नजिकिएसँगै बच्चाको बढी कल्पना आउने हुँदा बच्चालाई स्वागत गर्न घर तयार गर्ने, सामान किन्ने इच्छा बढ्छ।
स्वास्थ्य समस्या र सम्भावित जटिलता
आठौं महिनामा केही स्वास्थ्य समस्याहरू र जटिलताहरू देखिन सक्छन ।
प्रि-एक्ल्याम्पसिया वा जेस्टेसनल हाइपरटेन्सन
उच्च रक्तचाप, खुट्टा वा योनी सुन्निनु, टाउको दुख्ने, आँखा धमिलो हुने, छाती दुख्ने जस्ता लक्षणहरू देखिन्छन् । यो ५ महिनादेखि सुरु भएर आठ महिनामा अलि बढी देखिन सक्छ । यस्तो भए तुरुन्त चिकित्सकको सम्पर्क गर्नुपर्छ ।
जेस्टेसनल डायबिटिज
यो समयमा बच्चा बनाउन सालमा धेरै इन्जाइम र हर्मोन बन्ने क्रममा मधुमेहको जोखिम बढ्छ । यो हुँदा बच्चाको तौल अत्यधिक हुन्छ । यो भएमा बच्चाको चालमा ध्यान दिनुपर्छ ।
मधुमेह उच्च भएमा बच्चा नचली मृत्यु हुने सम्भावना हुने हुँदा बच्चाको चालमा ध्यान दिन र खानपान नियन्त्रण गर्न जरुरी हुन्छ ।
रक्तअल्पता
खानपानको कमी र बच्चाको माग बढ्दा रक्तअल्पता हुन सक्छ । यसो भएमा थकान र अनुहार फिक्का देखिन्छ ।
प्री-एक्ल्याम्प्सिया
यो उच्च रक्तचाप र प्रोटिनुरिया (पिसाबमा प्रोटिन) को अवस्था हो । यो अवस्थाले आमा र बच्चा दुवैलाई जोखिममा पार्छ।
पिसाब संक्रमण
बच्चाको टाउकोले पिसाबनली र थौलीलाई थिच्दा पुरा पिसाब आउन नसकेर थोरै थोरै आउँछ । थैलीमै बाँकी रहेर बस्दा किटाणु फैलिएर संक्रमण हुनसक्छ । यदि पिसाब पोल्ने, पटक-पटक आइरहने, छिटो आउने र थाम्न नसक्ने भएमा चिकित्सकलाई भेट्नुपर्छ ।
बच्चामा आउने परिवर्तन
आठौं महिनामा गर्भमा रहेको बच्चाको विकास तीव्र गतिमा हुन्छ । पहिला बच्चाको तौल कम अनि पानी धेरै भएर घुमिरहन्छ । अहिले भने तौल साढे एक केजी देखि साढे दुई केजीसम्म हुनुपर्छ । बच्चा खेल्ने पानी कम भई सुल्टो भइरहने वा उल्टो भइरहने हुनसक्छ ।
बच्चाको मस्तिष्कको विकासले तीव्रता पाउँछ र यो समयमा न्यूरल कनेक्सनहरूका लागि महत्त्वपूर्ण हुन्छ । फोक्सोहरू लगभग पूर्णरूपमा विकसित हुन्छन्, जसले जन्मपछि सास फेर्न सक्षम बनाउँछ। बच्चाको हड्डीहरू बलियो हुँदै जान्छन्, तर खप्परका हड्डीहरू लचिलो रहन्छन्, जुन प्रसवको समयमा सहज हुन्छ ।
बच्चाले यो समयमा नियमित रूपमा हातखुट्टा चलाउँछ, जुन आमाले महसुस गर्छिन् । बच्चाको आँखाले प्रकाश र छायाँ देख्न सक्छ र श्रवण शक्ति पनि विकसित हुन्छ, जसले आमाको आवाज र बाहिरी ध्वनिहरू सुन्न सक्छ ।
यो बेला दुध चुस्न सक्ने भइसक्ने, फोक्सोको विकास भइसकेको हुँदा यो समयमा प्रसब भए पनि बच्चा बाच्न सक्छ ।
परिवारको साथ महत्वपूर्ण
आठौं महिनामा परिवारको भावनात्मक र शारीरिक साथले गर्भवतीमा आत्मविश्वास बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
– सकारात्मक कुराकानी र प्रोत्साहनले मानसिक स्वास्थ्य सुधार गर्छ । रिसाएको छ भने सम्झाउने, रोइरहेको छ भने फकाउने र हामी छौं भन्ने भरोसा दिनुपर्छ ।
– गर्भवती महिलालाई धेरै भारी काम नदिने र आरामका लागि समय दिनुपर्छ ।
– नियमित जाँचमा साथ दिनाले महिलालाई सुरक्षित महसुस हुन्छ ।
– परिवारले सन्तुलित खाना तयार गर्न सहयोग गर्नुपर्छ।
परिवारको सकारात्मक साथले गर्भवती महिलाको कोर्टिसोल स्तर कम गरी जसले प्रसवको समयमा जटिलता कम गर्न मद्दत गर्छ ।
यात्रा गर्न मिल्छ ?
आठौं महिनामा लामो दूरीको यात्राका लागि असहज सवारी साधनमा यात्रा गर्न सिफारिस गरिँदैन । गर्भावस्थामा पहिलाको प्रसव तोकिएको समयभन्दा छिटो भएको वा अहिलेकोमा रक्तचाप र मधुमेह बढेको, साल तल भएको, बच्चा दुईवटा छन् वा अलिअलि रक्तश्राव भइरहेको छ भने यतिबेला त यात्रा निषेध गर्नुपर्छ।
बाँकी रह्यो सामान्य छोटो दूरीको अब आफू बसेकै ठाउँको वरिपरि बाटो राम्रै छ भने चाहिँ अलिअलि यात्रा गर्न मिल्छ । हवाई यात्रा गर्ने नगर्ने भन्ने कुरामा अवस्था के कस्तो छ, त्यो अनुसार चिकित्सकसँग सल्लाह लिन जरुरी हुन्छ ।
गर्भावस्थामा रगतहरु चाहिँ बाक्लिदै गएको हुन्छ । त्यसले गर्दा ‘डिप एन्थ्रोम्बोसिस’ भन्ने समस्या हुन सक्छ । यो भनेको खुट्टामा जमेर कहिलेकाहिँ फोक्सोमा जान सक्ने, एक्कासी सास फेर्न गाह्रो भएर ज्यानै जान सक्ने जोखिम हुन सक्छ ।
यस्तो भएमा गर्भावस्थामा पूरा बेड रेस्ट गरेर केही पनि काम नगरिकन बस्ने भन्दा हल्का हिँडडुल खाना खाइसके पछाडि या बेलुका केही नभए पनि दिनमा आधा घण्टा ४५ मिनेट चाहिँ बिस्तारै-बिस्तारै हिँड्ने प्रयास गर्नुपर्छ ।
के कस्ता परीक्षण, किन ?
आठौं महिनामा केही नियमित जाँचहरू गर्नुपर्छ ।
– रक्तचाप परीक्षण : प्रि–एक्ल्याम्पसियाको जोखिम पत्ता लगाउन हरेक भिजिटमा रक्तचाप नाप्नुपर्छ ।
– पिसाब जाँच : प्रोटिनको मात्रा जाँच्नाले प्रि–एक्ल्याम्पसियाको संकेत पत्ता लाग्छ ।
– हेमोग्लोबिन जाँच : रक्तअल्पता पत्ता लगाउन हेमोग्लोबिन १०.५ भन्दा माथि हुनुपर्छ ।
– ब्लड सुगर जाँच : जेस्टेसनल डायबिटिजको जोखिम पत्ता लगाउन नियमित जाँच गर्नुपर्छ ।
– फिटल मुभमेन्ट मोनिटरिङ : बच्चा दिनमा कम्तीमा १० पटक चल्नुपर्छ । खाना खाएपछि देब्रे कोल्टे परेर एक घण्टामा कम्तीमा ३ पटक बच्चाको चाल महसुस गर्नुपर्छ।
– अल्ट्रासाउन्ड (फिटल ग्रोथ स्क्यान) : ३४–३७ हप्तामा बच्चाको तौल, सालको अवस्था, खेल्ने पानीको मात्रा र बच्चाको अवस्थिति (सुल्टो÷उल्टो) जाँच्न गरिन्छ ।
के खाने ?
– फाइबरयुक्त खाना (गहुँको रोटी, सागसब्जी, फलफूल) र प्रोटिनयुक्त खाना (दाल, गेडागुडी, अण्डा, मासु, माछा, दूध) खानुपर्छ ।
– दिनमा ३–४ लिटर पानी पिउनुपर्छ ।
– आइरनयुक्त खानेकुरा जस्तै पालुङ्गो, शख्खर, छोकडा ।
– क्याल्सियमयुक्त खानेकुरा जस्तै, दूध, चिज, सिमी, तिल ।
– पूर्ण पकाएको खानेकुरा मात्र खानुपर्छ ।
खानेकुरा एकैपटक टन्न खानुहुँदैन । दिनमा ६ पटक जति गरेर मात्रा मिलाएर खान सकिन्छ ।
खान नमिल्ने कुरा
– काँचो मासु वा अण्डा खानु हुँदैन ।
– धूम्रपान र मदिरा : पूर्णरूपमा निषेध गरिन्छ
– चिया/कफी : क्याफिनले बच्चालाई हानि गर्न र चिन्ता बढाउन सक्छ।
– मसालेदार/चिल्लो खाना खानहुँदैन । ग्यास्ट्रिकको समस्या बढाउन सक्छ ।
– काँचो मासु/अण्डा : संक्रमणको जोखिम हुन्छ ।
सावधानी
केही अवस्थामा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।
जस्तो कि,
योक्तस्राव वा रक्तस्राव – यो प्लासेन्टा प्रिविया वा प्रारम्भिक प्रसवको संकेत हुन सक्छ ।
नियमित र दुखाइपूर्ण संकुचन – यो प्रारम्भिक प्रसवको लक्षण हो।
बच्चाको हलचलमा कमी – बच्चाको हलचल कम भएमा तुरुन्त जाँच गर्नुपर्छ । गम्भीर टाउको दुखाइ, चक्कर वा दृष्टिमा समस्या भएमा ।
उच्च ज्वरो वा संक्रमण – यो आम र बच्चा दुवैका लागि खतरनाक हुन्छ ।
यी लक्षणहरूले गम्भीर जटिलताको संकेत गर्न सक्छन् र समयमै उपचारले जोखिम कम गर्न सकिन्छ ।
ध्यान दिनुपर्ने कुरा
– चिकित्सकको सल्लाहमा हिँड्ने, योग वा प्रसवका लागि सास फेर्ने अभ्यास गर्न सकिन्छ ।
– पर्याप्त निद्रा पुर्याउँनुपर्छ । सुत्दा बायाँ सिरानीमा सुत्नाले रक्तसञ्चार सुध्रिन्छ ।
– ध्यान, गहिरो सास फेर्ने वा मनपर्ने गतिविधिमा समय बिताउनाले मानसिक स्वास्थ्य राम्रो हुन्छ ।
-कुनै पनि असामान्य लक्षण देखिए तुरुन्त चिकित्सकलाई सम्पर्क गर्ने ।
– प्रसवको तयारीका लागि अस्पतालको झोला तयार राख्ने, प्रसव योजनाको बारेमा चिकित्सकसँग कुरा गर्ने र परिवारसँग छलफल गर्ने ।
यो समयमा सजगता र सही हेरचाहले आमा र बच्चा दुवैको स्वास्थ्य सुनिश्चित गर्न सकिन्छ । गर्भावस्थाको यो चरणमा वैज्ञानिक आधारमा सही जानकारी र परिवारको साथले स्वस्थ र सुखद प्रसवको सम्भावना बढाउँछ ।
प्रतिक्रिया 4