+
+
Shares
फोटोकथा :

खप्तड : आत्मासँगको यात्रा

सुशीलराज गिरी सुशीलराज गिरी
२०८२ असार १४ गते ६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले खप्तड यात्राको सपना पूरा गर्न विभिन्न व्यक्तिहरूको साथ र संघर्षको कथा सुनाएका छन्।
  • यात्रा कठिनाइपूर्ण र अविस्मरणीय अनुभव भएको र यसले आत्मिक अनुभूति दिएको बताए।
  • स्रोतले यात्राको संघर्ष, मित्रता र आत्मबलको महत्त्व उजागर गर्दछ।

डोटी, अछाम र सुदूरपश्चिमका उकाली–ओरालीमा म निरन्तर पाइला चाल्दै आएको झण्डै ७ वर्ष पुग्न लाग्यो । यो अवधिमा मैले थुप्रै गाउँ, बस्ती र पहाडी बाटाहरू टेकिसकेको छु । तर एउटा सपना थियो–’खप्तड पुग्ने । अनि, रामारोशन पनि एक पटक घुम्नै पर्ने ठाउँ हो है’ भन्ने कुरा साथी, सहकर्मी र स्थानीयहरूबाट सुन्दै आएको थिएँ । पुग्ने अवसर मिलिरहेको थिएन।

प्रगतिशील युवा समाज, बझाङबाट एक दिन फोन आयो, ‘हामी तपाईंलाई तालिम सहजीकरणका लागि निमन्त्रणा गर्न चाहन्छौँ ।’
त्यो सुनेर मनमनै मुस्काएँ । अब खप्तड जाने सपना पूरा हुने वाला थियो ।

कुल चार वटा तालिम सञ्चालन गर्नु थियो । आयोजकसँग प्रस्ताव गरेँ, सुरुमा दुई वटा तालिम सञ्चालन गर्ने बीचमा २ दिनको ब्रेक राख्ने अनि बाँकी तालिम सञ्चालन गर्ने । सबै कुरा मिल्यो ।

खप्तड पुग्ने सपना अब सपना मात्र रहने थिएन, त्यो यथार्थ बन्ने ढोका खुलेको थियो ।

खप्तड यात्रा मेरो लागि केवल एउटा गन्तव्य पुग्ने कुरा मात्र थिएन, त्यो त एउटा सपना थियो जुन मैले वर्षौंदेखि देख्दै आएको थिएँ । तर हरेक यात्राको आफ्नै कथा हुन्छ, अनि त्यो कथामा पात्र, मोड र सम्झनाहरू मिसिएका हुन्छन् ।

बझाङमा हुने चारवटा तालिमको सहजीकरण गर्न दाङका गणेश पौडेल र धनगढीकी दीपा थापा आउनुभएको थियो । उहाँहरूलाई खप्तड जान आग्रह गरेँ । उहाँहरूको मिलेन अनि बाँकी दुई तालिममा सहजीकरण गर्नका लागि निमन्त्रणा दिइएका हेटौंडाका रामप्रसाद दहाललाई (हामी उहाँलाई संक्षेपमा ’आर.पी.’ भनेर सम्बोधन गर्छौं) तालिम अघि नै बझाङ आइपुगेर खप्तड यात्रामा समेत साथ दिन अनुरोध गरेँ।

मेरो निमन्त्रणालाई आत्मीयताका साथ स्वीकार गर्दै आर.पी. २३ माघका दिन बिहान १० बजे लामो यात्रा तय गरेर बझाङको चैनपुर आइपुगे । उनको आगमनले मेरो योजना मात्र होइन, मन पनि झन् उत्साहित बन्यो । दोस्रो चरणको तालिम २४ माघमा सकिएपछि, तालिमको समापनपछि हामी खप्तडतर्फको बहुप्रतीक्षित यात्रामा निस्कियौं । यात्राका लागि साथी विनोदले मोटरसाइकल तयार पारिदिनुभएको थियो, अनि म र आर.पी. दुवै विनोदकै बाइकमा लिएर तमैल हुँदै अगाडि बढ्यौं ।

हाम्रो यो योजनालाई सम्भव बनाउने र साथ दिने सबैभन्दा महत्वपूर्ण साथी हुनुहुन्थ्यो –मेनका । हामी तीन जना दुईवटा मोटरसाइकलमा यात्रा तय गर्दै खप्तडको सेरोफेरोतर्फ लाग्यौं ।

करीब दुई घण्टा लामो बाइक यात्रापछि दारुगाउँ पुग्यौं । त्यहाँबाट अगाडिको बाटो पैदलबाहेक अर्को विकल्प थिएन । हामी रातको झण्डै ८ बजे खप्तड नजिक आइपुग्यौं, जतिबेला आकाशमा तारा झलमल थिए । चिसो रातमा पनि हाम्रो मन गर्मजोशीले भरिएको थियो ।

दारुगाउँमा बासको व्यवस्थापन मेनका जीले सम्हाल्नुभयो । बासस्थानमा एक आमा र उहाँका छोराले हामीलाई सागसब्जी मिलाएर तातो खाना पकाइदिनुभयो, जसले थकाइ बिर्साइदियो । आगो ताप्दै हामीले उनीहरूसँग कुराकानी गर्यौं, तातो चिया पियौं ।

चिसो बिहान, बाहिर ढपक्क हुस्सु । तातो ओछ्यान छोड्ने आँट गर्नु सजिलो हुँदैन । तर, हाम्रो मनमा निद्रा भन्दा मिठो, ओछ्यानभन्दा आकर्षक लक्ष्य थियो–खप्तड ।

त्यसैले, हामी उठ्यौं, न्यायो ओछ्यान छाडेर । उकालो लाग्यौं, पैदल पथमा पाइला चाल्यौं ।

जानकार साथीहरूले भनेका थिए, ‘आराम गर्दै, रमाउँदै हिँड्दा पनि बढीमा 5 घण्टामा पुगिन्छ ।’ म र आर.पी.प्रत्येक वर्ष कुनै न कुनै पदयात्रा गर्ने हुँदा उकालो, ओरालो, उचाइ र दुर्गम भेगका कठिनाइहरूसँग अभ्यस्त थियौं । चिन्ता थियो मेनकाको ।

उहाँको आँट अकल्पनीय थियो । पदयात्राको पूर्वअनुभव नभएको भए पनि, हामीलाई दिएको साथ र हौसला भने असाधारण थियो । उहाँको पाइलालाई सम्मान गर्दै हामी उहाँकै गतिमा अघि बढ्यौं । यही कारणले गर्दा ५ घण्टा भनिएको यात्रा हामीलाई लगभग दोब्बर समय लाग्यो ।

कहिलेकाहीं मेनका जीको थकाइको उकुसमुकुस बोल्थ्यो–’तपाईंहरू जानुहोस्, म यतै बस्छु । यस्ता वाक्य सुन्दा हामीलाई अलिक खिन्न लाग्थ्यो । हामी उहाँलाई सधैं हौसला दिन्थ्यौं-हामी सबै सँगै गएर सँगै फर्कन्छौं पनि ।

बेलाबेला लाग्थ्यो–उहाँका ती वाक्य केवल हाम्रो धैर्य र मनोबलको परीक्षण त होइन ? साँच्चै भन्नुपर्दा, मेनका जी साहसी, दृढ निश्चयी र उच्च आत्मबल भएको मान्छे हुनुहुन्थ्यो । शायद, उहाँ हामीलाई मात्र होइन, आफूलाई पनि परिक्षण गरिरहनुभएको थियो।

हामीलाई त्यो ढिलाइ बोझ लागेन । बरु, त्यो सुस्तताले प्रकृतिको हरेक छाँयासँग अझ नजिक हुन, हरेक फूल, पात, पन्छी, बतास, बादलसँग बोल्ने अवसर जुरायो ।

यसरी, हाम्रो यात्रा समयले होइन, अनुभूतिले निर्देशित भइरहेको थियो । हिँड्दा पृष्ठभूमिमा देखिने साइपाल हिमालले अझ उर्जा थपिदिएको थियो ।

हामी लोखडा आइपुग्दा दिउँसोको १ बज्न थालिसकेको थियो। बिहानदेखि यात्राले शरीरमा थकान थियो, पेट भोक ।मेनका जीले पहिल्यै फोनमार्फत खाना पकाउन भनिसक्नुभएको थियो । पुग्दा खाना तयार थियो । हामीलाई चाहिने जति स्वाद, न्यानोपन र आत्मीयता सहित ।

हामीले बाटो हिँड्दै खान मिल्ने खाना बोकेका थियौँ । बाटोभरि केही स्न्याक्स चपाउँदै आएका थियौं । तर पनि त्यो चिसो मौसममा तातो खाना हेर्नेबित्तिकै भोक दोब्बर भयो । स्वाद यस्तो थियो थकानलाई पनि बिर्साइदियो । खाना सकिएपछि केहीबेर सुस्तायौं । शरीरले पनि विश्राम मागेको थियो ।

करिब एक घण्टा बिताएपछि त्यसपछि पुनः यात्रा सुरु गर्‍यौं । अब भने हामी खप्तड राष्ट्रिय निकुञ्जको औपचारिक प्रवेशद्वारमा थियौं। लोखडा नै थियो सुरुआत खप्तड संरक्षण क्षेत्रको । हामीले पहिलो पटक जंगलको संकेत पायौं–जंगली बँदेलले खोस्रेको बारी, स्थानीयले सुनाएको जनावरको कथा, अनि प्राकृतिक मौनता।

प्रवेश शुल्क प्रतिव्यक्ति १०० रूपैयाँ तिरेर जंगलतर्फ लाग्यौं । बाटो कहिले उकालो, कहिले तेर्सो, कतै पातलो रूख, कतै घना जंगल । कतै हिउँले भरिएका पाटनहरू, त कतै पात पतिङ्गरले छोपिएका दुबोका मैदान। यात्रा केवल पैदल थिएन, त्यो दृष्टि, स्पर्श, अनि आत्मा भरिने अनुभव थियो । ठाउँ-ठाउँका फोटो खिच्यौं–कसैले झुकेर, कसैले कुदेर, कसैले आँखा अड्याएर ।

अन्ततः, हामी गन्तव्यमा पुग्यौं । साँझको उत्तरार्धतिर थियो, अँध्यारो भने भइसकेको थिएन । त्यहाँ खाना र बासको एक मात्र विकल्प थियो–’खप्तड बाबा होटल एण्ड शान्ति लज ।’ हामीबाहेक अन्य चार जना पर्यटक पनि त्यहीँ थिए । तीमध्ये दुईजना त हामीले बाटोमै भेटेका थियौं । त्यतबेलाका अपरिचित अहिले साथी बनिसकेका थिए ।

चिसो निकै थियो, हामीले तातो कालो चिया पियौं । दृश्यावलोकन गर्यौं अनि फोटो लियौं । केही क्षणमै दिनभरको थकान हराएको अनुभूति भयो।

आराम गर्ने कि भनेर आ-आफ्नो कोठातिर लाग्यौं । शरीर आराम खोजे पनि मन चञ्चल भइरह्यो । म बाहिर निस्किएँ, साथीहरू पनि निस्किए । फोनको नेटवर्क नटिप्ने समस्या थियो, नेटवर्क खोज्न उतायता भौतारियौँ । झन् रात पर्दै जाँदा नेटवर्क झन् हराउँदै गयो ।

रातिको खाना खाइसकेपछि मेनका जी सुस्ताउनु गइहाल्नुभयो, हामी बाँकी ६ जना आगो ताप्दै केहीबेर गफियौँ । करिब १० बजेको हुँदो हो, हामी आ-आफ्नो कोठातर्फ लाग्यौं ।

बिहान ५ बजे नै आँखा खुलेछ । निस्कनु भनेको मूर्खता नै हुन्थ्यो–बाहिर अँध्यारो थियो, अनि चिसो झनै गहिरो । तर मनले रोक्न मानेन, बाहिर निस्किएँ । त्यो बिहानको शीतलता, पहाडमाथि ओसिलो हावा, अनि फाटफुट देखिने हिमशृङ्खलाको आभा–उफ्, क्यामेराले त्यो नजारा कति कैद गर्‍यो, कति मनभित्रै भरियो, भन्नै गाह्रो !

त्यसपछि फेरि रुममै फर्किएर ओछ्यानमै पल्टिएँ यात्राको अर्को चरण हाम्रो पर्खाइ थियो ।

चैनपुरबाट प्रस्थान गरेको तेस्रो दिनमाघ २६ गते हाम्रो यात्राको अन्तिम दिन थियो । आज रातिसम्म जसरी पनि फर्कनैपर्ने बाध्यता थियो सीमित समयको अधिकतम उपयोग गर्न प्रतिबद्ध भयौँ ।

मेनका जी भने यसअघि पनि खप्डत पुगिसक्नुभएकाले यसपटक जानुभएन । ‘तपाईंहरू घुमेर आउनु, म यतै हुन्छु’ भन्दै उहाँ होटलमै बस्नुभयो । नास्ता खाएर हामी दुई जना यात्रामा निस्कियौं ।

हाम्रा साथमा थप दुई यात्रु पनि जोडिए-अपूर्व सिंह, भक्तपुरबाट आएका आइटीविज्ञ, जो तालिमका लागि पालिकाबाट निम्त्याइएका थिए । र, महेश खत्री, खप्तडछान्ना गाउँपालिकामा कार्यरत आइटी शाखाका कर्मचारी । महेश स्थानीय भएकोले यात्रा अझ सहज बन्यो।

हाम्रो गन्तव्य थियो-खप्तड बाबा आश्रम, खप्तड त्रिवेणी मन्दिर, केदार ढुङ्गा, सीता पाइला

अनि वरपरका थुप्रै साना-ठूला पाटनहरू।

विहानीपखको मौसम साँच्चै नै मनमोहक थियो–कहीँ बाक्लो हिउँ थियो, त कहीं पातलो। प्रत्येक पाइलामा रमाइलो अनुभव बटुल्दै अघि बढिरह्यौँ ।

रमाउँदै घुम्दै गर्दा समय गएको पत्तो भएन । होटल फर्किंदा १२ बजिसकेको थियो । खाना खाएर फर्कने तयारीमा जुट्यौ । रमाइलो कुरा के रह्यो भने हामी घुम्दै गर्दा कहिले डोटीको भूभागमा पुग्थ्यौँ, त कहिले अछाम, अनि कहिले बाजुरा । एकै दिनमा धेरै जिल्ला टेक्दै हिँडेको अनुभव भयो ।

हाम्रो मनमा एउटा कुरा भने अड्किएको थियो–खापर दह । त्यो पुग्ने हाम्रो विशेष चाहना भए पनि समयको अभावका कारण पुग्न नपाइने देखिन्थ्यो । खापर दह पुगेर फर्कन मात्र ३ घण्टा लाग्ने रहेछ । मेनका जीको त पहिलो भ्रमणमा पनि त्यो दह छुटेको रहेछ । उहाँ अझै खिन्न देखिनुभयो ।

हामीले निस्कने तयारी गर्दै थियौं । यत्तिकैमा नेपाली सेनाको एक टोली आइपुग्यो । कुरा गर्दै जाँदा उहाँहरूले एउटा महत्वपूर्ण जानकारी दिनुभयो–खापर दह हुँदै मतवा गाउँ झर्न सकिन्छ, जुन बाटो छोटो पनि पर्दछ ।

हामी पाँच जनाको मन त खापर दहमै थियो । त्यसैले थप विचार नगरी हामीले त्यतैबाट फर्किने निर्णय गर्यौं । हामी, अपूर्व र महेश मिलेर पाँच जनाको टोली बनायौं । बाँकी दुई जना भने अछामको बाटो हुँदै फर्किने भए ।

खापर दहसम्मको बाटो महेशलाई राम्ररी थाहा रहेछ । हामी उहाँको पछि लाग्यौं । बाटोभरि विशाल पाटनहरू, हिउँका थुप्रा, अनि रमणीय दृश्यले हामीलाई मन्त्रमुग्ध बनाउँदै लगे।

खापर दह पुग्यौँ ।त्यसको सौन्दर्यले हामीलाई केही समय हामीलाई बाँधेर राख्यो । त्यहाँको शान्त वातावरण, स्वच्छ पानीको प्रतिविम्ब, अनि वरिपरिका हिउँले ढाकिएका पाटनहरुले मनलाई तानिरहेका थिए ।

त्यहाँ रमाउने रहर नपुग्दै मनभरि सम्झना बोकेर बाटौ ।अब अगाडिको बाटो सबैका लागि नयाँ थियो । जंगलै जंगल, बाटोका संकेतहरू पनि खासै थिएनन् । एक किसिमको अनिश्चितताले मन हल्का असहज हुन थालेको थियो । केही बेर अघिसम्म हर्षित र उत्साहित रहेको मनमा अब हल्का चिसोपन अनुभव हुन थाल्यो ।

तर आइटी विज्ञ अपूर्व र महेशको आत्मविश्वासले हामीलाई ढाडस दियो । उनीहरू विभिन्न एपहरूको सहयोगमा दिशानिर्देशन हेर्दै अघि बढिरहेका थिए । हामी उनीहरूलाई पछ्याउँदै अगाडि बढ्यौं ।

अपूर्व र महेशको हिँडाइको गति निकै तीव्र थियो । म र आर.पी. पनि गति मिलाएर हिँडिरहेका थियौं, तर हामीले मेनका जीको गतिमा ध्यान दिनुपर्ने थियो ।

जंगलको यात्रा बढ्दै जाँदा थकान थपिन थाल्यो । गन्तव्यको कुनै अत्तोपत्तो थिएन । वरिपरि सुनसान जंगल, झरनाको मधुर आवाज र चराहरूको कराएको आवाज मात्रै सुनिन्थ्यो ।

अन्धकार बिस्तारै गहिरिँदै थियो । अपूर्व र महेशका आफ्नै योजना थिए ।उनीहरूको गन्तव्य फरक थियो त्यसैले हामी दुई समूह भयौँ ।

अब हामी अलिकति अन्योलमा पर्‍यौं । आर.पी.को मोबाइलमा मात्र २% ब्याट्री बाँकी थियो। घरमा लगातार फोन गरिरहने उहाँको बानी भएकाले ब्याट्री सकिनु स्वाभाविक थियो । मेरो मोबाइलमा पनि चार्ज २०% तिर घटिसकेको थियो–फोटो खिच्न धेरै प्रयोग भएकोले । मेनका जीको फोनको अवस्था पनि त्यस्तै थियो ।

अब अपूर्व र महेश हाम्रो नजरबाट हराइसकेका थिए । तर फोन सम्पर्क भने जारी थियो । उनीहरूले बाटो नछुटियोस् भनेर अल्मलिने ठाउँहरूमा संकेतहरू छोडेका थिए–कहीँ ढुंगामा तीरको चिन्ह, कहीँ रूखको छेउमा छाडिएको कागजको टुक्रा। हामी ती संकेतहरू पछ्याउँदै, सुस्त गतिमा भए पनि अघि बढिरहेका थियौं ।

सङ्केतहरूले हामीलाई मार्गदर्शन गरिरहे पनि बिस्तारै डर पैदा हुँदै थियो । नयाँ ठाउँ, नजिकएको रात अनि जंगलको बाटो।

सूर्य अस्ताउँदै थियो, आकाशले रातको कुहिरोसँग मिलेर डर त्रासको छायाँ बुन्दै थियो । जंगलको सन्नाटा बाक्लिँदै गइरहेको थियो, । हाम्रो साथमा न त खानेकुरा बाँकी थियो, न त पर्याप्त उज्यालो । हाम्रो अगाडि एक मात्र विकल्प थियो–तलको गाउँमा झर्नु । तर त्यो दूरी कति हो, बाटो कुन हो, अत्तोपत्तो थिएन ।

हामीसँग दुईवटा टर्च थिए, त्यसको मधुरो थकाइले लखतरान शरीर घिसारिरहेका थियौँ ।

हामीले अगाडिका साथीहरू गएको भन्दा फरक दिशा समातेको शंका गर्न थाल्यौं। कदम–कदममा आशंका थियो, र त्यो आशंका अब डरमा बदलिँदै थियो ।

फोनको स्क्रिनमा चिन्तित आवाज सुनिन्थ्यो—चैनपुरबाट विनोद जी बारम्बार फोन गरिरहनुभएको थियो। ‘नआत्तिनु, भोलिको तालिम सारौंला,’ उहाँ सम्झाइरहनु भएको थियो । कार्यक्रम तय भइसकेको थियो–तालिम सार्ने कुरा हाम्रो लागि विकल्प नै थिएन ।

हामी दृढ थियौं–जसरी भए पनि पुग्नैपर्छ !

फोनका ब्याट्री सकिंदै थिए, बाटो हराउँदै थियो, र हामीसँग बाँकी थियो-केवल हिम्मत, टर्चको झिल्को, र एक-अर्कामा रहेको भरोसा।

त्यो जंगल, त्यो अँध्यारो, अन्यौलपूर्ण यात्रा जीवनको एउटा अविस्मरणीय अध्याय बनिरहेका थिए ।

अँध्यारो बाक्लिँदै गयो, अपूर्व र महेशको फोन आउन छाड्यो । उनीहरूसँगको सम्पर्क टुट्न थालेको थियो ।

अचानक, अपरिचित नम्बरबाट फोन आयो । हामी अचम्ममा पर्‍यौं–यस अनजान आवाजले आशा बोकेर आइपुगेको थियो । फोनको अर्को पट्टि थिए–विरेन्द्र जी, तलको गाउँका एक स्थानीय, महेशका पुराना मित्र । उनले भने, ‘नआत्तिनु, म तपाईंहरूलाई ट्र्याक गर्दै छु।’

विरेन्द्रले मेनका जीलाई चिन्दारहेछन । हामी अप्ठ्यारोमा परेको थाहा पाएर उनले मेनका जीलाई फोन गरेछन् । तर फोन नउठेपछि, हाम्रो नम्बर खोजेर हामीलाई फोन गरे । त्यो पल, उनी देवदूतझैं लागे–जसले हाम्रा हरेक अन्धकारलाई चिरेर बाटो देखाइदिन्छ ।

उनले बाटो बुझाउन थाले, हरेक कुवा, झरना र चिह्नहरु सम्झाउँदै गए ।तर, हाम्रो हिँडाइ र उनको भनाइ मिलिरहेको थिएन ।तर उनका फोनले हामीलाई ढाडस दिन छाडेन ।

त्यति बेला हाम्रो वरिपरि केवल जंगलको कुहिरो, छायाँ, र टाढा–टाढा देखिने घरहरूको बत्ति थिए । त्यो बत्ती पनि सितारामका कथा जस्ता–नजिक लाग्ने तर पुग्न नसकिने । लागिरहेको थियो, ’आज हामी रातभर हिँडिरहने छौं।’

त्यो अन्धकारमा आशा तब पयालो जब हामी झरना नजिक पुग्यौं । जसको बारेमा विरेन्द्र जीले बताउनुभएको थियो । बाटो सही नै रहेछ हामी तीनैजनाको मुहार उज्याला भए । पाइला केही तेज भए ।

त्यो झरनाको आवाज र त्यसबाट आएकफो चिसो हावाले आत्मामा पुनः ऊर्जा भरेझैं लाग्यो ।

त्यतिबेला हामीले बुझ्यौँ । हामी अपूर्व, महेश र विरेन्द्र जीको मार्गदर्शनमा पनि धेरै पछाडि परेका रहेछौं । उहाँले फोन गरिरहनुभएको थियो । ‘तपाईंहरू तल फेदीमा आइपुग्नुहोस्, म त्यहीं छु, लिन आउँछु’ विरेन्द्र जीले भन्नुभयो ।

त्यो वाक्य–जसले हामीलाई भोक, थकान, डर सबै भुलाइदियो । हामीले पाइला बढायौं

रातको ठिक ९ बजेको थियो, हामी घिस्रिँदै फेदी पुग्यौं । हाम्रो पुग्ने समयसँगै विरेन्द्र जी पनि बाइक लिएर आइपुग्नु भयो ।

हामीले लामो सास फेर्यौँ ।

विरेन्द्र जीले एकजना साथी लिएर बाइकमा आउनुभएको थियो । मेनका जीको थकित अवस्था देखेर हामीले उहाँलाई बाइकमा पठायौं । हामी दुई जना अर्को साथीको साथमा अघि बढ्यौँ । अब हाम्रो लक्ष्य थियो- विरेन्द्र जीको घर, जुन मतवा गाउँमा भेटिनेछ ।

करिब ४० मिनेटको हिँडाइपछि, हामी पुग्यौं । विरेन्द्र जीको घरमा प्रवेश गर्दा उहाँहरूको आत्मीयता न्यानो कम्बल जस्तो लाग्यो ।
घरको बुबा भान्सामा केही पकाउने तयारी गर्दै हुनुहुन्थ्यो । मनमा चिसो थियो, तर पेटमा आगो भोकको आगो ।

हामीलाई अझै चढ्नुपर्ने थियो–दारु गाउँसम्म, बाइक लिन । त्यो बाटो पैदल डेढ–दुई घण्टा लाग्ने अनुमान थियो । त्यहाँबाट बल्ल चैनपुर, जहाँ बिहान तालिम थियो ।

हामीले खानाको प्रस्ताव स्वीकार गर्न सकेर्नौं, तर घरका सबै–विरेन्द्र जी, उहाँका बुबा, साथीहरू–हामीलाई भोलिसम्म बस्न आग्रह गर्दै थिए । ‘बिहान सबेरै हिँड्नु नै बेस, रातमा फेरि जंगल हिँड्नु ठिक होइन,’ उनीहरूका शब्दले पनि तातो माया पोखिरहेका थिए ।

मेनका जी त पहिल्यै थाकेर ‘बस्ने’ निर्णयमा पुगिसक्नुभएको थियो । हामी दुई, अझै जाने अडानमा थियौं ।

त्यतिबेला विरेन्द्र जीका बुबाले सोध्नुभयो,

‘अलि अघि बनाएको कोदोको रोटी छ, मह र मुलाको अचार पनि, खानुहुन्छ ?’

त्यो प्रस्तावले हामी फुरुङ्ग भयौं ।

र, त्यो रात–कोदोको रोटी, चिसो मह र पिरो मुलाको अचार, त्यो भोजन निकै सम्झनलायक रह्यो । त्यो भोक, त्यो समय, त्यो आतिथ्यतासँगै त्यो खाना अमृतझैं लाग्यो ।

फेरि चुनौती थियो–बाइक लिन दारु गाउँसम्मको रातको यात्रा ।

‘पख्नुस् कुनै गाडी पाइन्छ कि ?’ हामीलाई आश्वासन दिँदै विरेन्द्र जी फोन घुमाउन थाल्नुभयो ।

भाग्यले साथ दियो–एक बोलेरो गाडीको व्यवस्था भयो । फेरि एक सास गहिरो फेर्‍यौँ ।

केही बेरमै त्यो बोलेरो गाडी आयो । विरेन्द्र जी कृतज्ञता प्रकट गर्दै मेनका जीलाई भोलिपल्ट चैनपुरमै भेट्ने वाचा गरी बिदा भयौं ।

रातले अझ गहिरिँदै गयो । हामी गाडीमा चुपचाप, थकाइ र सन्तुष्टि मिसिएको मौनतामा लपेटिएर चैनपुरतर्फ अघि बढ्यौं ।

रातको झण्डै १२ बजेको थियो, जब हामी होटल के.पी. प्लाजाको प्राङ्गणमा ओर्लियौं । त्यो होटल, त्यो क्षण, त्यो थकाइ–सबैले एकैपटक हामीलाई अँगालो हाल्यो ।

हामी आउनु भन्दा पहिले नै लोकल कुखुराको झोल सहितको खाना तयार भइसेको थियो ।

हामीले त्यो खाना यात्रा, चुनौती र विजयको स्वादसँगै लियौँ ।

धन्यवाद दिएर, ढिलोसम्म कुराइदिएकोमा क्षमायाचना गर्दै, हामी कोठातिर लाग्यौं ।

भोलि तालिम थियो–आफ्नै विषय भए पनि नयाँ तरिकाले, नयाँ सोचले प्रस्तुत गर्न चाहन्थ्यौं । त्यसैले, नुहाएर फ्रेस भएर, हामी योजनामा जुट्यौं ।

मनमा एउटा कुरा अझै गाँसिएर बसेको थियो–दारु गाउँमा छाडिएको हाम्रो बाइक ।

तर जुनसुकै तनावभन्दा पनि, त्यो रात हामी होटल आइपुग्न सफल भयौं भन्ने खुसी अझै विशाल थियो ।

रातको २ बजिसकेको थियो । शरीर थाकिसकेको थियो, तर मन यात्राका फ्रेमहरू घुमाइरहेको थियो–बढारिएको बाटो, अँध्यारो जंगल, कोदोको रोटी, विरेन्द्र जीको हाँसो, मेनका जीको मौनता, बोलेरोको आवाज…।

र, म एउटा निष्कर्षमा पुगें–

‘यो यात्रा केवल गन्तव्यमा पुग्ने कथा थिएन, यो आत्मासँगको यात्रा थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?