+
+
Shares

पूर्वराजाको अभिनय गर्दा धम्की आएपछि प्रभात लामा : गलत के भयो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते ११:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हास्यकलाकार प्रभात लामाले ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा पूर्वराजाको भूमिका निभाउँदा धम्की आएको बताएका छन्।
  • उहाँले सामाजिक संजाल फेसबुकमा लेख्दै कार्यक्रम मनोरञ्जनमात्र हो र राजनीतिक उद्देश्य नभएको स्पष्ट गर्नुभयो।
  • उहाँले जातभातको कुरामा ध्यान दिन आग्रह गर्दै, कलाकारितालाई मानमर्दनको रुपमा नहेरिनु आवश्यक बताए।

काठमाडौं । हास्यकलाकार प्रभात लामाले आफूले टिभी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा पूर्वराजाको भूमिकामा अभिनय गर्दा राजावादीबाट धम्की आएको बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको ‘क्यारिकेचर’ गर्दा रिसाएर फोन र म्यासेज आएको उनले बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले पूर्वराजाको क्यारिकेचर गर्दा के कुुरा गलत भयो भनेर प्रश्न पनि गरेका छन् ।

‘तपाईंको राजा नआउदै यस्तो रवाफ देखाउनुहुन्छ भने साँच्चै राजा आएको दिन के गर्नुहुन्छ ? मलाई मेरो काम गर्न दिनुस् तपाई तपाईंको राजा ल्याउदै गर्नुस्’ उनले लेखेका छन् ।

जनजातिले पूर्वराजाको क्यारिकेचर गर्दा जातभातको कुरा गर्नु शोभनीय नभएको लामाले बताएका छन् । उनले अभिनयलाई मानमर्दनको रुपमा बुझ्न नहुने बताएका छन् ।

‘कुनैपनि शैलीको धाक धम्कीको भाषा प्रयोग नगरिदिनुहोला । कार्यक्रम केवल मनोरञ्जनको लागि तयार पारिएको हो’ प्रभातले लेखेका छन्, ‘राजनीतिक अभिष्ट पुरा गर्न, कसैलाई सकाउन वा बनाउन तयार पारिएको कार्यक्रम होइन । हेरेर मज्जाले हाँस्नुहोला । सुझाव चाहिँ दिँदै गर्नुहोला ।’

‘कमेडी नाइट विथ च्याम्पियन्स’को पछिल्लो एपिसोड मंगलबार हिमालय टिभीमा प्रसारण भएको थियो । उक्त एपिसोडमा प्रभातले पूर्वराजा शाहको भूमिकामा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा राप्रपा सांसद ज्ञानबहादुर शाही, नेतृ खुस्बु ओली र कानून व्यवसायी स्वागत नेपाल पाहुना बनेर पुगेका थिए ।

प्रभात लामाले के लेखे ?

‘कमेडी नाइट विथ च्याम्पियन्स’को पछिल्लो अंकमा मैले पूर्वराजा ज्ञानेन्द्रको क्यारिकेचरपछि केही साथीहरू रिसाएर म्यासेज फोन गरिराख्नुभएको छ । म हालको गणतान्त्रिक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीज्यूको पनि गलत कार्यको व्यंग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु भने पूर्वराजाको क्यारिकेचर गर्दा गलत के भयो ?

तपाईंको राजा नआउँदै यस्तो रवाफ देखाउनुहुन्छ भने साँच्चै राजा आएको दिन के गर्नुहुन्छ ? मलाई मेरो काम गर्न दिनुस्, तपाईं तपाईंको राजा ल्याउदै गर्नुस् ।

रह्यो कुरा जनजातीले राजाको क्यारिकेचर गरेकोमा असन्तुष्टी । क्षमता र ल्याकत राख्नुहुन्छ भने तपाईहरु पनि गर्नुस । कलाकारितामा आउनुस् । जातभातको कुरै नगर्नुस् । यो शोभनिय कुरा पनि होइन ।

अर्को बुझ्न पर्ने कुरा, हास्यव्यंव्ग्य कलाकारले जसको क्यारिकेचर गर्दैमा उहाँको मानमर्दन गरिने भन्ने होइन । बरु त्यो पात्रमार्फत धेरै कुरा र विचार, ठट्यौली शैलीमा धेरै कुरा व्यक्त गर्न खोजिएको हुन्छ ।

व्यक्तिगत रुपमा उमेरको हिसाबले हेर्ने हो भने पनि पूर्वराजा हजुरबुवा समान हुनुहुन्छ । उहाँलार्ई गर्नुपर्ने सम्मान र आदर सँधै उस्तै छ । मलाई राम्ररी थाहा छ, उहाँलाई कुन सम्मान दिनुपर्ने हो भनेर । त्यो तपार्इंहरूले सिकाइराख्न परेन । व्यक्तिगत रुपमा उहाालाई उत्तिकै आदररभाव व्यक्त गर्न सक्छु, जति उहाँ सम्मानित र आदरणीय हुनुहुन्छ ।

त्यसैले मलाई कुनै पनि शैलीको धाक धम्कीको भाषा प्रयोग नगरी दिनुहोला । कार्यक्रम केवल मनोरन्जनको लागि तयार पारिएको हो । राजनीतिक अभिष्ट पुरा गर्न, कसैलाई सकाउन वा बनाउन तयार पारिएको कार्यक्रम होइन । हेरेर मज्जाले हाँस्नुहोला । सुझाव चाहिँ दिँदै गर्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?