+
+
Shares

विश्वभरका युवाको मन जितिरहेका को हुन् यी ३६ वर्षीय राष्ट्रपति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अहिलेको अफ्रिकी भू-राजनीतिमा बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरेले सत्ता सत्तामा पुगेका छन्।
  • उनले २०२२ को सेप्टेम्बरमा सैनिक 'कू' मार्फत सत्ता कब्जा गरेपछि देशको सुरक्षा र आर्थिक नीति परिवर्तन गरे।
  • तर, उनका नेतृत्वले जिहादी विद्रोह, मानवीय संकट र पश्चिमी प्रभावको चुनौतीहरू सामना गरिरहेको छ।

अहिलेको अफ्रिकी भू-राजनीतिमा यदि कसैले तरङ्ग उत्पन्न गरिरहेको छ भने ती हुन् क्याप्टेन इब्राहिम ट्राओरे । उनी बुर्किना फासो नामक देशका अन्तरिम राष्ट्रपति हुन् ।

सन् २०२२ को सेप्टेम्बरमा भएको सैन्य ‘कू’ पछि सत्तामा पुगेका उनी विश्वका कान्छा राष्ट्रप्रमुखमध्येका एक हुन् । अहिले ३७ वर्षमा हिँडिरहेका उनको उदय भने देशको बढ्दो सुरक्षा संकट र पश्चिमी प्रभावप्रतिको व्यापक असन्तुष्टिको पृष्ठभूमिमा भएको हो ।

उनै इब्राहिम यतिबेला सामाजिक सञ्जालमा व्याप्त छन् । देशलाई स्वतन्त्रता, आत्मनिर्भरता र गरिमातर्फ डोर्‍याइरहेका युवा नेता भनेर उनको चर्चा भइरहेको छ । कतिपयले भने देशमा उनी जस्तै व्यक्ति चाहिने भनेर पनि प्रशंसा गरिरहेका छन् ।

फ्रान्स विरोधी हुनु, रुससँगको सम्बन्ध राम्रो हुँदै जानु, देशको आर्थिक उन्नतिमा जोड दिनु, युवा नेतृत्व हुनु आदि उनको चर्चाको कारण हो ।

को हुन् इब्राहिम ट्राओरे ?

उनको जन्म १४ मार्च १९८८ मा बुर्किना फासोको बोन्डोकुय, केरा नामक ठाउँमा भएको थियो । प्राथमिक शिक्षा त्यहीँ प्राप्त गरेपछि उनी देशको दोस्रो ठूलो शहर बोबो डिउलासोमा पढ्न गए । त्यहाँ उनलाई शान्त र प्रतिभाशाली व्यक्ति भनेर चिनिने गरिन्थ्यो ।

सन् २००६ मा उनी औगाडुगु विश्वविद्यालयमा भू-विज्ञान अध्ययन गर्न भर्ना भए । खासमा राजनीतिक उनको त्यहीँदेखि नै सुरु भएको थियो । विश्वविद्यालयमा हुँदा मुस्लिम विद्यार्थी संघ र मार्क्सवादी राष्ट्रिय विद्यार्थी संघका उनी सदस्य थिए ।

त्यसपछि सन् २००९ मा बुर्किना फासोको सेनामा भर्ना भए । सेवाप्रवेशको पाँच वर्षपछि सन् २०१४ मा उनी लेफ्टिनेन्टमा पदोन्नति भए । र, शान्ति सेना भएर माली युद्धमा सेवा पनि गरे ।

मालीबाट फर्केपछि भने उनले देशको उत्तरी क्षेत्रमा बढ्दो जिहादी विद्रोह (इस्लामको नाममा आतंक फैलाउने अतिवादी समूहहरूको सशस्त्र आक्रमण) विरुद्धको अभियानमा भाग लिए । सन् २०२० सम्ममा त्यस अभियानको उनी क्याप्टेन भइसकेका थिए भने एउटा तोपखाना युनिटको नेतृत्व गर्न थालिसकेका थिए ।

कसरी सत्तामा आए ?

इब्राहिम ट्रओरेको सत्ता आरोहण नाटकीय लाग्छ । किनकि उनी सत्तामा पुग्न हिँडेका थिएनन् । तर समय त्यस्तो बनिदियो कि अचानक उनी सत्तामा पुगे ।

२०२२ को जनवरीमा लेफ्टिनेन्ट कर्नल पल हेनरी सान्डाओगो डामिबाले राष्ट्रपति रोच मार्क क्रिश्चियन काबोरेको सरकारलाई कू मार्फत अपदस्थ गरेका थिए । सो कदमको ट्रओरेले समर्थन गरेका थिए ।

तर डामिबाले पनि देशमा बढ्दो जिहादी विद्रोह नियन्त्रण गर्न नसकेको भन्दै नागरिकबाट ठूलो असन्तुष्टि आइरहेको थियो । यता डामिबाका सैनिकहरूले पनि उचित तलब तथा सुविधा नपाएको गुनासो बढाइरहेका थिए ।

त्यस्तैमा इब्राहिमले असन्तुष्ट सैनिक अधिकारीहरूको एउटा समूहलाई नेतृत्व गरे । र, २०२२ सेप्टेम्बर ३० मा उनले डामिबा सरकार विरुद्ध नै ‘कू’ को घोषणा गरे ।

त्यसक्रममा उनले ९ बजेदेखि ५ बजेसम्म कर्फ्यू लगाए । सबै राजनीतिक र नागरिक समाजका गतिविधिहरू निलम्बन गरे । हवाई र भूमि सीमानाहरू बन्द गरे । त्यसमा सैन्य पृष्ठभूमि र जिहादी विरुद्धको लडाईंमा पाएको अनुभवले सैनिक र सर्वसाधारण दुवैको विश्वास जित्न इब्राहिमलाई सजिलो भयो । जसले उनको कूलाई वैधता पनि प्रदान गर्‍यो।

त्यसको केही दिनपछि दामिबा पद छोड्न बाध्य भए । यसरी उनी अक्टोबर २०२२ मा अन्तरिम राष्ट्रपतिको रूपमा सत्तामा आए ।

उनले के गरे ?

सत्तामा आएपछि इब्राहिमले देशको नीतिगत, कूटनीतिक र सुरक्षा क्षेत्रमा नाटकीय परिवर्तन ल्याए । सबैभन्दा पहिले देशको सार्वभौमिकता र उपनिवेशवादविरुद्धको अडानलाई व्यवहारमा उतारे ।

त्यसका लागि फ्रान्ससँगको सैनिक सम्झौता तोडे । अनि फ्रान्सेली सेनालाई देशबाट निष्कासन समेत गरे । उनको यो काम बुर्किना फासोलाई पश्चिमी प्रभावबाट मुक्त गराउने अभियानको थालनी थियो ।

त्यस्तै उनले पश्चिमी राष्ट्र तथा विश्व बैंक जस्ता संस्थाहरूको सर्तमा आधारित सहयोग र ऋण नलिने घोषणा गरे । बरु आर्थिक आत्मनिर्भरताको बाटो अँगाले । त्यसका लागि खनिज स्रोतमा विदेशी नियन्त्रण घटाउन दुईवटा सुन खानीलाई राष्ट्रियकरण गरे । राष्ट्रिय सुन प्रशोधन केन्द्र स्थापना गरे । र, प्रशोधन नभएका सुनलाई युरोप निर्यातमा रोक लगाए ।

त्यसैगरी कृषि सम्बन्धीका मेसिनरी वितरण, ग्रामीण सडक निर्माण, नयाँ एयरपोर्ट निर्माणका परियोजना सुरु गरे । सुरक्षाको क्षेत्रमा पनि उनले त्यस्तै आकर्षक तरिकाले काम गरे । उनले देशमा बढ्दो जिहादी विद्रोहलाई नियन्त्रण गर्न नागरिकहरू समावेश हुने गरी ‘देशको रक्षाका लागि स्वयंसेवक’ अभियान थाले । अहिले यसमा ५० हजार बढी युवाहरू परिचालित रहेको बताइन्छ ।

यसबाहेक उनले सैन्य उपकरण बढाउने, सरकारी अधिकारीहरूको खर्च कटौती गर्ने र आफूले राष्ट्रपतिको हैसियतमा कुनै तलब नलिने निर्णय गरे । त्यस्तै उनले बुर्किना फासो, माली र नाइजरबीच क्षेत्रीय गठबन्धन स्थापना गरे ।

उनका यी यस्ता कामले राष्ट्रवादीको छवि बनायो । र उनी विशेषतः अफ्रिकी युवापुस्तामाझ लोकप्रिय भए । त्यसको प्रचार हुँदा उनको चर्चा विश्वव्यापी हुन गयो ।
यद्यपि उनको नेतृत्वले जिहादी विद्रोह, मानवीय संकट, कमजोर सुशासन, आर्थिक अस्थिरता, पश्चिमी शक्तिहरूसँगको तनाव जस्ता चुनौतीहरू पनि व्यहोरिरहेका छन् ।

बुर्किना फासो आज पनि आतंकवादबाट प्रभावित देशमध्येमै पर्छ । देशको ठूलो हिस्सा अझै पनि जिहादी समूहहरूको नियन्त्रणमा छ । हजारौं विद्यालय र स्वास्थ्य चौकी बन्द छन् । अहिलेसम्म करिब २० लाख बढी नागरिक विस्थापित भइसकेका छन् । सैन्य सरकार भएकाले शान्ति भन्दा अस्थिरता बढाएको आरोप पनि छ ।

त्यस्तै इब्राहिमले मानवअधिकारकर्मी र विपक्षी आवाजहरूलाई दबाउन खोजिरहेको आरोप पनि लाग्न थालिसकेको छ । देशको राजनीतिक स्थायित्व र लोकतान्त्रिक सङ्क्रमणको स्पष्ट खाका अझै अस्पष्ट छ ।

अनि मुख्य कुरो सामाजिक सञ्जालमा उनको ‘कल्ट अफ पर्सनालिटी’ (देवत्वकरण गर्नु) बनाइँदै गर्दा समय अझैं बाँकी भएको पनि धेरैले बिर्सँदै गइरहेका छन् । तर, देशलाई जसरी उनले एउटा अवस्थाबाट अर्को अवस्थामा लान कदम चाले, त्यो धेरैका लागि प्रेरणादायी बन्यो ।

यसले गर्दा नै उनी विश्व राजनीतिमा चर्चामा आएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?