
News Summary
Generated by OK AI. Editorially reviewed.- डा. अरुण केसी ले परिवारसँग घुम्न र खेलकुद गर्न मन पराउँछन्, विशेष गरी फुटसल र क्रिकेट।
- उहाँले फिल्म हेर्दा हलमा गएर हेर्न रुचाउनुहुन्छ र सन्देश बोकेको फिल्म मन पराउनुहुन्छ।
- पढाइमा उहाँले जीवन र महत्वका बारेमा सिकाउने पुस्तकहरू पढ्न रुचाउनुहुन्छ र नेपाली गीतहरू सुनिरहनु हुन्छ।
वीर अस्पतालका वरिष्ठ नाक, कान, घाँटीरोग विशेषज्ञ हुन्– डा. अरुण केसी । अक्सर उनी बिरामीहरूबाट घेरिएका हुन्छन् । कहिले उनी स्वास्थ्य जाँच र परामर्श दिइरहेका भेटिन्छन्, कहिले शल्यक्रियामा यन्त्रवत् खटिएका । अस्पतालकै सेरोफेरोमा धेरै समय बिताउने उनले आफ्ना लागि कसरी समय छुट्याउँछन् ? त्यस क्षण के-के गर्छन् ?
१. रमाइलो गर्न मन लागेमा के गर्नुहुन्छ ? अर्थात् मन खुसी भएको बेला के गर्नुहुन्छ ?
मलाई मन खुसी भएको बेलामा परिवारलाई लिएर घुम्न जान मनलाग्छ । परिवारसँग समय बिताउनुको मज्जा नै छुट्टै छ । यो मात्र होइन, मेरो मनोरन्जनको स्रोत खेलकुद हो । मेरो लागि फुटसलमा समय बिताउनु नै मन खुसी हुनु हो ।
२. कस्तो खालको खेलकुद मनपर्छ ?
सबैभन्दा बढी फुटबल र क्रिकेट मनपर्छ । म प्राय सबै खेलहरू हेरिरहेको हुन्छु । आफैँ पनि हरेक साताको शनिबार बिहान खेल्न थालेको नै दश वर्षबढी भइसक्यो ।
३. फिल्म कत्तिको हेर्नुहुन्छ ?
पहिलाको तुलनामा अहिले कम हेर्छु । किनकी, अहिले खासै फुर्सद हुँदैन । भ्याएसम्म हेर्ने प्रयास रहन्छ ।
४. पछिल्लो समय हेरेको फिल्म याद छ ?
पछिल्लो समय परिवारसँग ‘पूर्ण बहादुरको सारंगी’ हेर्न गएँ । त्यो फिल्म एकदमै मन छुने खालको थियो । मैले आफू हेरेपछि धेरै साथीभाइलाई हेर्नका लागि सल्लाह पनि दिएको थिएँ ।
५. फिल्म घरमै हेर्नुहुन्छ वा हलमा ?
प्राय फिल्म हलमै गएर हेर्छु । हलमा भए फिल्ममा मात्र ध्यान हुन्छ । घरमा ध्यान अन्यत्र हुन्छ । त्यसैले, फिल्म हेर्नुको मज्जा हलमै हुन्छ ।
६. कुनै फिल्म हेरेर त्यसप्रति प्रभावित हुनुभएको छ ?
मलाई सन्देश बोकेको फिल्म अत्यधिक मनपर्छ । यसले केही न केही कुरा सिकाउँछ । सन्देश भएका फिल्मबाट केही न केही प्रभाव त पारेकै हुन्छ । ‘सस्पेन्स थ्रिलर’ भएको चलचित्र पनि निकै मनपर्छ ।
७. फिल्म हेरिरहँदा हिरो हुन पाए हुन्थ्यो जस्तो लाग्छ वा लाग्दैन ?
मलाई हिरो बन्न पाए जस्तो कहिल्यै लागेन । बरु, खेलकुद क्षेत्रमा चाहिँ केही गर्न पाइन कि जस्तो बेलाबखतमा लागिरहन्छ ।
८. तपाईंलाई कुन कलाकार मनपर्छ ? किन ?
मलाई सबैभन्दा बढी मनपर्ने वरिष्ठ कलाकार मदन किष्ण श्रेष्ठ र हरिवंश आचार्य हो । सानो देखि ठूलो हुँदासम्म उहाँहरूको फिल्म पनि हेर्दै आएको छु । उहाँहरूले गरेको अभिनय देखि कथावस्तुमा पनि मनछुने खालको सन्देश हुन्छ ।
९. मौका मिल्यो भने यो कलाकारसँग समय बिताउन चाहनुहुन्छ, भन्ने कोही छ ?
अवसर पाए भने मह जोडीसँग भेट्ने इच्छा छ । उहाँहरूको हरेक पाटो मलाई पहिलेबाटै रोचक लाग्छ ।
१०. नाटक हेर्न जानुभएको छ ?
पछिल्लो समय जाने मौका जुरेको छैन । पहिला जाने गर्थेँ । बाल्यकालमा त स्कुलमा आफू पनि नाटकमा अभिनय गर्थे ।
११. घरमै बस्दा गीत सुन्ने गर्नुभएको छ ?
घर बस्दा गीत सुनिरहेकै हुन्छु । यो पनि मेरा लागि एउटा ‘मुड फ्रेस’ पार्ने थेरापी जस्तै हो ।
१२. कस्ता गीत सुन्नुहुन्छ ?
प्राय हिन्दी पुराना गीत बढी सुन्छु । अत्यधिक सुन्ने भनेको भारतीय अग्रज गायक किशोर कुमार र गायिका लता मंगेसकरको हो । बच्चा बेला सुनेको गीत अहिले सुन्दा झन् नोस्टालजिक हुन्छु । नेपाली गीत अहिले चलेको गीतहरू बेलाबखतमा सुनिरहेकै हुन्छु ।
१३. कुन नेपाली गायक, जसलाई तपाईं भेट्न चाहनुहुन्छ ?
नेपाली गीत सुनिरहेको हुन्छु । तर, यही गायकलाई भेटौं भन्ने चाहिँ लाग्दैन।
१४. कोर्सबाहेक कुनै पुस्तक पढ्नुहुन्छ ?
किताब पढ्न रमाइलो लाग्छ । पहिले धेरै उपन्यास पढ्ने गर्थे । अहिले बरु, समय कम भएर त्यति पढ्न पाएको छैन ।
१५. पछिल्लो समय कुन पुस्तक पढ्नुभयो ?
पछिल्लो समय मैले ‘सिदार्थ’ पुस्तक पढेँ । यो निकै राम्रो लाग्यो । यो पुस्तकले जीवन कसरी चलाउने ? के कुराले महत्व राख्छ भन्ने कुरा सिकाउँछ भनेर राम्रोसँग उल्लेख गरेको छ ।
१६. यस्तो पुस्तक छ, जसले तपाईंको मन परिवर्तन गरिदियो ?
हाल भगवत गीता पढिरहेको छु । यसमा लेखिएका शब्दहरूले मेरो पनि सोच्ने तरिकामा प्रत्यक्ष-अप्रत्यक्षरुपमा परिवर्तन भएको पाएको छु । रमाइलो कुरा के छ भने यो किताब झट्ट पढ्दा बुझिँदैन । एकपटक पढ्छु बुझ्दिन, फेरि अर्को पटक पढ्छु कुनै कुराहरू मेसो पाउँदिन । यही सिलसिला चलिरहेको छ ।
१७. पुस्तक ज्ञानका लागि वा मनोरञ्जनको लागि पढ्नुहुन्छ ?
पुस्तक ज्ञानकै लागि पढ्छु, मनोरन्जनका लागि पढ्दिँन । समयको वर्वादी लाग्छ ।
१८. किनमेल गर्न कत्तिको रुचाउनुहुन्छ ?
किनमेल गर्न रुचाउने व्यक्तिमै पर्छु ।
१९. के कस्ता किनमेलका लागि बजार जानुहुन्छ ?
म विदेशबाट फर्किँदा लुगाफाटो बढी सपिङ गर्छु । एक त सामान ब्राण्डेङ पाइन्छ । अर्को, सस्तो शुलभ मूल्यमा पाइन्छ । सबैभन्दा बढी खेलकुदमै लगाउने लुगा र सामग्री लिन्छु । नेपालमा घरयासी सामनका लागि किनमेल भइरहेको हुन्छ । प्राय तरकारी किन्न तरकारी बजारमा जान्छु । भाटभटेनीमा घरयासी सामान किन्न जाँदा एकदमै रमाइलो लाग्छ ।
२०. आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ वा अरुले किनिदिन्छन् ?
म आफ्नो मात्र होइन, श्रीमती बच्चाहरूका लागि पनि लुगाफाटो किनिरहेको हुन्छु ।
२१. घरमा खाना पकाउने गर्नुहुन्छ ?
पहिला घरबाहिर बस्दा खाना पकाउनै पर्थ्यो। अहिले चिया बाहेक खासै पकाएको छैन । आफूलाई मात्र पकाउनु पर्यो भने कहिलेकाहीँ पकाउँछु ।
२२. तपाईंलाई पकाउन आउने परिकार कुन हो ?
दाल, भात र तरकारी पकाउन आउँछ । त्यसबाहेक खासै विशेष भनेर चाहिँ आउँदैन ।
२३. पाहुना आउँदा वा पारिवारिक जमघटमा खानेकुरा पकाउने गर्नुहुन्छ ?
अहिलेसम्म मैले यस्तो माहौलमा पकाएको याद छैन ।
२४. तपाईंलाई मिठो लाग्ने परिकार चाहिँ कुन हो ?
मेरो लागि बेस्ट खानेकुरा दाल, भात र तरकारी नै लाग्छ । देश विदेश डुलेँ । तर, खान्कीमा मिठो र मनपर्ने घरमै पकाएको दाल, भात र तरकारी हो ।
२५. पर्फ्युमको कति सौखिन हुनुहुन्छ ? कुन पर्फ्युम प्रयोग गर्नुहुन्छ ?
पर्फ्युमको् सौखिन खासै छैन । ब्राण्डको नाम पनि खास याद हुँदैन ।
२६. आफ्नो पेशाबाहेक अरु के कुरामा सौखिन हुनुहुन्छ ?
खेलकुद र घुम्नु मेरो सौख हो । विदेश भन्दा पनि स्वदेशको हरियाली मनपर्छ । यहाँको ठाउँ घुमेर पुग्दैन । घुमिरहन मन लाग्छ । धेरै ठाउँमा पुगिसकेँ । अझै धेरै ठाउँ पुग्न बाँकी छ । विदेशको समुन्द्र रमणीय लाग्छ ।
२७. प्राय कहाँ-कहाँ घुम्न निस्कनुहुन्छ ?
मेचीदेखि महाकाली प्राय सबै घुमेको छु । प्राय त स्वास्थ्य शिविरकै क्रममा पनि घुम्ने मौका मिल्छ ।
२८. घुम्नका लागि नेपालको सबैभन्दा मन परेको ठाउँ कुन हो ?
घुम्नका लागि सबैभन्दा मनपर्ने भनेका कर्णाली हो । जान गाह्रो छ तर पुग्दाको आनन्द बेग्लै छ । यहाँको डाडाकाँडा, हरियाली, रहनसहन सबैकुराले मलाई आकर्षित गर्छ ।
२९. घरपालुवा पशुहरू पाल्ने गर्नुभएको छ ? कति सौखिन हुनुहुन्छ ?
मैले कुकुर पालेको छु । पशु पाल्ने सौखिन त होइन । तर, कुकुरसँग दिनको १० मिनेट समय बिताउँदा पनि फ्रेस हुन्छु । मन आनन्दित हुन्छ ।
३०. जमघटमा वा रमाइलोमा कति सहभागी हुन रुचाउनुहुन्छ ?
पछिल्लो समय खासै जमघटमा वा रमाइलोमा सहभागी हुन मन लाग्दैन । कहिलेकाहीँ हुँदा रमाइलै हुन्छ । तर, त्यति रुचि छैन ।
प्रतिक्रिया 4