+
+
Shares

मदन भण्डारीलाई कांग्रेसले लगाउन बिर्सिएको आरोप ओलीले सम्झाए

सहकारी ठगी होइन, पञ्चायतकालमा साझा संस्था तोडफोड गरेर जनतालाई तेल-चिनी बाँडिएको घटनालाई कांग्रेसले मदन भण्डारीसँग जोडेर प्रचार गरेको थियो ।

हरि अधिकारी हरि अधिकारी
२०८२ असार १५ गते २१:१०
शनिबार मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा मदन भण्डारीको तस्वीरमा माल्यार्पण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको ७४औं जन्मजयन्तीमा चारवटी श्रीमती र सहकारी ठगको आरोप उठाएका थिए।
  • उनले २०३६ सालको पञ्चायतकालीन साझा संस्थाको घटना सम्झाउँदै यसलाई राजनीतिक रूपमा प्रयोग गर्न नहुने बताए।
  • अहिलेको पुस्ताले नसुनेको यो प्रसंग प्रधानमन्त्री ओलीले अनावश्यक रूपमा उठाएको भन्दै एमालेभित्र आलोचना भएको छ।

१५ असार, विराटनगर । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले केही गम्भीर विषय उठाएका छन् ।

मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीलाई चारवटी श्रीमती र सहकारी ठगको आरोप लागेको प्रसंग उठाएका थिए । मदनको व्यक्तिगत सन्दर्भबारे ओलीले अरू पनि बोलेका छन् ।

तर, चारवटी श्रीमती र सहकारी ठग भन्ने जस्ता प्रसंग अनावश्यक निकालिएको भनेर एमालेभित्रै पनि आलोचना भइरहेको छ ।

अहिले सहकारीको बचत रकम ठगीको समस्या राष्ट्रिय मुद्दा रहेकाले पनि प्रधानमन्त्री ओलीले उठाएको सन्दर्भले धेरैको ध्यान तानेको हुनुपर्छ । तर आम सम्झनामा नरहेको र अहिलेको पुस्ताले नसुनेको यो प्रसंग प्रधानमन्त्री ओलीले भने जस्तो थिएन ।

नेताहरूका अनुसार यो पञ्चायतकालीन घटना हो, २०३६ सालतिरको । मोरङको अमरदहमा (अहिले सुनवर्षी नगरपालिकामा पर्छ) मल, बीऊ, चिनी, तेल बाँड्ने साझा संस्था थियो ।

सरकारको मात्र होइन, जनताको पनि लगानी त्यो साझाले इटहरा (रतुवामाई नगरपालिका) सम्म सामग्रीहरू बाँड्थ्यो । साझा संस्थाको सामान बिक्री वितरणमा तत्कालीन प्रधानपञ्चहरूको हालीमुहाली चल्थ्यो ।

तर, वितवरण प्रणालीप्रति जनता खुसी थिएनन् । तत्कालीन मालेका नेता/कार्यकर्ताले साझाको तेल, चिनी जनतालाई बाँड्ने निर्णय लिए । दशैंको समय थियो ।

‘हामी २-३ सय जनाको जुलुस लिएर साझा ब्रेक गरेका थियौं, सुगाको आँप बगैँचा (बक्राहा खोला छेउमा) मा सबैलाई बाँडिदियौं,’ यो घटनामा संलग्न देवी दाहाल भन्छन्, ‘गोदामबाट मैलै नै साथीहरूलाई चिनीको बोरा र तेलको टिन बोकाएको थिएँ ।’

तर, यो घटनाबारे मदन भण्डारी जानकार थिएनन् । तेल, चिनी जनतालाई बाँडिसकेपछि बेलुकी मात्र मदन भण्डारीले थाहा पाएका थिए । साझाको सामग्री जनतालाई बाँडिरहँदा मदन भण्डारी झापामा थिए । सातमेडीको बाटो हुँदै घर आउँदा रात परेको थियो ।

त्यसपछि शिव पौडेलको घरमा कार्यकर्ता भेला गरेर मदन भण्डारीले आफ्नो रिस पोखेका थिए । साझाको सामग्री खोस्ने निर्णय लिनेहरूलाई झपारेका थिए ।

‘राजनीतिक आन्दोलनका क्रममा साझा ब्रेक गर्ने मान्छे हामी हौं,’ दाहाल भन्छन्, ‘मदन भण्डारी हामीसँग धेरै रिसाउनुभयो, कमरेडहरूले गल्ती गर्नुभयो, यसले पार्टीलाई अनावश्यक रूपमा क्षति हुने भो भनेर उहाँले भनेको कुरा झलझली छ ।’

पञ्चायत प्रशासनले लुटपाटको मुद्दा अगाडि बढाउनु स्वभाविकै थियो । तर पञ्चायतको अन्त्यपछि नेपाली कांग्रेसका नेताहरूले यो मुद्दालाई चुनावी मसला बनाउन थाले ।

नभन्दै यो घटनापछि प्रहरीको सक्रियता बढ्यो । प्रहरीबाट कार्यकर्तालाई जोगाउन मदन भण्डारीले अनेक जुक्ति लगाए । देवी दाहाल भारतको सिलगुडी गएर एक महिना बसे ।

यति गर्दा पनि साझाको सामग्री जनतालाई बाँड्ने खेम पोखरेल र ओम भण्डारीलाई प्रहरीले पक्राउ गर्यो । ‘मसँग पनि प्रहरीको दुई पटक जम्काभेट भयो, तर नचिनेका कारण फुत्किएँ,’ दाहाल भन्छन्, ‘खेम पोखरेल र ओम भण्डारीलाई पक्राउ गरी प्रहरीले धेरै यातना दिएछ ।’

पञ्चायत प्रशासनले लुटपाटको मुद्दा अगाडि बढाउनु स्वभाविकै थियो । तर पञ्चायतको अन्त्यपछि नेपाली कांग्रेसका नेताहरूले यो मुद्दालाई चुनावी मसला बनाउन थाले ।

मदन भण्डारीको घर मोरङको इटहरा नै भएकाले यही घटनालाई कांग्रेस कार्यकर्ताहरूले मदन भण्डारीसँग जोडेर प्रचार गरे । तर अहिले कांग्रेसकै नेताहरूले पनि पञ्चायतकालीन त्यो घटनालाई तोडमोड गरेर प्रचार गर्न बिर्सिसकेका थिए, प्रधानमन्त्री ओलीले मदन भण्डारीकै जन्मजयन्तीको अवसरमा सम्झाए ।

‘मुख्यगरी पञ्चायत विरुद्ध स्थानीय नेताहरूले गरेको विद्रोहको एउटा घटना थियो त्यो,’ एमाले नेता विनोद ढकाल भन्छन्, ‘अर्कातिर साझाको सामग्री खोसेर जनतालाई बाँड्ने त्यो शैलीप्रति मदन भण्डारी आफैं बेखुस हुनुहुन्थ्यो । तर किन हो, प्रधानमन्त्रीले असन्दर्भमा यो कुरा उठाउनुभयो ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?