+
+
Shares
देशाटन :

‘अर्नाको राजधानी’ कोशी टप्पुमा मनसुनी यात्रा

कोशी टप्पु ‘अर्नाको राजधानी’ मानिन्छ । तर, जब जंगल सफारी सुरु हुन्छ, यहाँ हात्तीका बथानबाट यात्रुले न्यानो स्वागत पाउँछन् । कोशी टप्पुमा घरपालुवा र जंगली दुवै प्रकृतिका हात्ती छन् ।

अच्युत पुरी अच्युत पुरी
२०८२ असार १९ गते ८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष मनसुनमा पनि पर्यटकको आकर्षण रहन्छ।
  • आरक्षले जंगली भैंसी (अर्ना) र पक्षी संरक्षणमा मुख्य भूमिका खेलिरहेको छ।
  • पर्यटक संख्या २०८१/८२ मा झन्डै ९ हजार पुगेको छ।

१९ असार, सुनसरी । नेपालमा मनसुन सिजन भ्रमण/घुमफिरका लागि ‘अफ सिजन’ मानिन्छ । तर, यही मौसममा हरेक गन्तव्य सबैभन्दा चिटिक्क सजिएर बस्छन् ।

मनसुनको वर्षाले धुलो मात्र पखालिदिएको छैन, पात–पतिङ्गरदेखि ठुल्ठूला जंगलले रूप फेरेका हुन्छन् । खोला–नाला आफ्नो पूरै तागतसाथ बग्छन् ।

कोशी प्रदेशको ‘नखोजिएको हिरा’ कोशी टप्पु मनसुनमा यसैगरी सिँगारिएर बसेको छ । सात ठूला नदीको एकै रूप सप्तकोशीको विशाल भंगालो र त्यसले सिञ्चित क्षेत्र हो सप्तकोशी ।

प्रदेश सरकारले यस वर्ष ‘पर्यटन वर्ष २०८२’ मनाइरहेको छ । पर्यटन वर्ष निर्देशक समिति सदस्य तथा पूर्वका पर्यटन व्यवसायी वासुदेव बराल कोशी टप्पु यस भ्रमण वर्षको सबैभन्दा आकर्षक गन्तव्य मान्छन् ।

कोशी टप्पु ‘अर्नाको राजधानी’ मानिन्छ । तर, जब जंगल सफारी सुरु हुन्छ, यहाँ हात्तीका बथानबाट यात्रुले न्यायो स्वागत पाउँछन् । कोशी टप्पुमा घरपालुवा र जंगली दुवै प्रकृतिका हात्ती छन् ।

कोशी टप्पु वन्यजन्तु आरक्षका सिनियर गेमस्काउट नारायण बानियाँका अनुसार कोशी टप्पुमा पालिएका हात्ती पर्यटकका लागि प्रमुख आकर्षणका केन्द्र हुन् ।

‘यहाँ चितवन राष्ट्रिय निकुञ्जमा जस्तै हात्ती सफारी सुविधा त छैन, तर आगन्तुकसँग घरपालुवा हात्ती सहजै घुलमिल हुन्छन् । आगन्तुकले दिएको कोशेली सहजै स्वीकार गर्छन् र आशिर्वाद दिन्छन्,’ बराल भन्छन्, ‘हात्तीसँग यति आत्मीयता यहीँ घुम्न आउने पर्यटकले मात्र पाउँछन् ।’

अर्नाको राजधानी, पन्छीको घर

कोशीटप्पु वन्यजन्तु आरक्ष सप्तकोशी नदीले बनाएको टापुमा अवस्थित छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यो आरक्ष स्थापना गर्नुको मुख्य उद्देश्य विश्वमै अतिदुर्लभ मानिने अर्ना (जंगली भैँसी) संरक्षण गरी संख्या बढाउनु हो ।

आरक्षका सिनियर गेमस्काउट बानियाँका अनुसार यहाँ विभिन्न स्थानमा अर्ना अवलोकन गर्न सकिने गरी ‘भ्यु प्वाइन्ट’ बनाइएको छ । कुनै समय आगन्तुकले सडकमै पनि अर्नाको जम्काभेट पाउन सक्छन् ।

अर्ना गणना २०७८ अनुसार यहाँ ४ सय ९८ अर्ना रहेको यकिन भएको छ । जसमा २ सय २१ भाले वयस्क, १ सय ६२ पोथी वयस्क, ४८ अर्धवयस्क, दुई वर्षका बच्चा ३५ र एक वर्षका बच्चा ३२ थिए । उपयुक्त बासस्थान, घाँसे मैदान, पर्याप्त पानीको सुविधा र सिमसार क्षेत्रका कारण कोशी टप्पु अर्नाका लागि वरदान सावित भएको छ ।

कोशी टप्पु बर्ड वाचिङ (चरा अवलोकन) मा रुचि राख्ने पर्यटकका लागि सबैभन्दा आकर्षक गन्तव्य हो । साइबेरिया, रुस, ताजकिस्तान, तान्जानिया सहित देशबाट हजारौं किलोमिटर पार गरेर जाडो छल्न आउने पन्छीका लागि कोशी टप्पु दोस्रो घर हो ।

स्थानीयका अनुसार बर्ड वाचिङमा रुचि राख्ने पर्यटक कम हुन्छन् । तर, जो आउँछन्, उनीहरू लामो समय लिएर आएका हुन्छन् । चराको गतिविधि हेरेर घण्टौं बिताउने पर्यटक समेत यहाँ आउने गर्छन् । कोशी टप्पुमा ४ सय ९० प्रजातिका चरा पाइन्छन् ।

यो क्षेत्र सन् १९८७ मा रामसार सूचीमा सूचीकृत भएको हो । यो नेपालकै पहिलो रामसार क्षेत्र पनि हो । यस्तो क्षेत्रमा पर्याप्त पोखरी, तलाउ, ताल, धाप, कुण्डसहित जलाशय हुन्छन् । जसले गर्दा कोशी टप्पु घडियाल तथा मगर गोही, सर्प, कछुवा, गंगटा र विभिन्न प्रजातिका माछाको समेत घर हो ।

भारतीय पर्यटक सहजीकरणका लागि अहिले प्रदेश सरकारले नेपाल–भारत सीमा क्षेत्र कोशी गाउँपालिका–८ भन्टाबारीबाट प्रवेश सुविधा मिलाएको छ । सोही अनुसार भारतीय पर्यटकका गाडीलाई स्टिकर समेत दिने गरिन्छ ।

चालु आर्थिक वर्ष २०८१/८२ चैतसम्म आरक्ष भ्रमणमा झन्डै ९ हजार पर्यटक पुगेका छन् । यसमध्ये ८ हजार ४ सय १५ आन्तरिक, ६६ सार्क मुलुकका र २ सय १० तेस्रो मुलुकका छन् । सामान्यतया हिउँदमा यहाँ बढी पर्यटक आउने गरेको देखिन्छ । तर, मनसुन याममा पुग्ने पर्यटकले प्रकृतिको बेग्लै अनुभूति गर्न पाउँछन् ।

हिउँदमा जताजतै सुक्खा हुन्छ । जंगल उराठलाग्दो हुन्छ । तर, अर्नासहित जनावर दर्शन तुलनात्मक रूपमा सजिलै पाइन्छ । मनसुनमा घाँस बढेको हुन्छ । जनावर अवलोकनमा अलि बढी धैर्य आवश्यक पर्छ ।

फस्टाउँदै होमस्टे र होटल

कोशी टप्पुका कारण अहिले मध्यवर्ती क्षेत्रमा होमस्टे र होटल व्यवसाय फस्टाउँदो क्रममा छ । होटल तथा पर्यटन व्यवसायी वासुदेव बरालका अनुसार पर्यटक सुविधाका लागि आरक्षको मध्यवर्ती क्षेत्रमा स्थानीयको सक्रियतामा अहिले पर्याप्त साना होटल र होमस्टे खुलेका छन् ।

आतिथ्य सेवामा लगानी आउने क्रम पनि बढ्दो छ । उनी भन्छन्, ‘जति पर्यटक आइदिनुभयो, त्यति नै यहाँ स्थानीयले घरमै काम पाउने वातावरण बन्छ ।’

अध्येता र जिज्ञासुलाई निकुञ्जमै आखेटोपहार

आरक्षभित्र मृत भेटिएका जनावरको आखेटोपहारको संग्रहालय समेत कोशी टप्पुको अर्को आकर्षण हो । आरक्ष कार्यालयमा स्थापना गरिएको संग्रहालयमा हात्ती, अर्ना, सर्प, गोही, माछा, चितुवा सहित जनावरको आखेटोपहार संरक्षण गरिएको छ ।

जहाँ आगन्तुकले ती जनावरबारे नजिकबाट अवलोकन अध्ययन गर्न सक्छन् । साथै, कार्यालय परिसरमा राखिएको कोशेली घरबाट स्थानीय उत्पादन खरिद समेत गर्न सकिन्छ ।

   

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?