+
+
Shares
विचार :

चिनियाँ दुग्ध प्रविधि कहिले भित्र्याउने ?

केवल अनुदानले मात्र युवालाई दूध व्यवसायतर्फ आकर्षित गर्न नसकिने रहेछ। जसले नेपालमा दूध उत्पादनसँग सम्बन्धित संरचनात्मक समस्या र बजार व्यवस्थापनको गहिरो चुनौती रहेको संकेत गर्दछ।

डा. गणेशप्रसाद खनाल डा. गणेशप्रसाद खनाल
२०८२ असार १९ गते १६:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विद्यावारिधि गर्दै आएका डा. गणेशप्रसाद खनालले चीनको दूध संरक्षण प्रविधि नेपालमा स्थानान्तरण गर्न आवश्यक बताए।
  • उनले भने, ‘६ महिनासम्म दूध संरक्षण गर्न सक्ने प्रविधि भित्र्याउन सके नेपालको दुग्ध उद्योगमा नयाँ अध्याय सुरु हुन सक्छ।’
  • खनालले चीनको प्रविधि र बजार व्यवस्थापन अध्ययन गरी नेपालमा यसको प्रयोग र लाभका सम्भावनाहरू चर्चा गरे।}

विद्यावारिधिका क्रममा बेइजिङ आइपुगेको पहिलो बिहानी खाजामा दूधको प्याकेटसहित अन्य खाजा उपलब्ध गराइएको थियो। उक्त खाजा सेटमा एउटा प्याकेट पनि थियो। नेपालमा फ्रुटी अथवा कुनै जुसको प्याकेट जस्तो लाग्ने उक्त प्याकेटमा दूध थियो। नउमालिकन खान मिल्ने शुद्ध दूध निकै स्वादिष्ट लाग्यो।

दूधको प्याकेटलाई एकछिन नियालेर हेरें। आकर्षक प्याकेटमा लेखिएको चिनियाँ भाषालाई अनुवाद गरेर हेर्दा ‘शुद्ध दूध’ भन्ने थाहा भयो। सबैभन्दा आश्चर्यजनक कुरा के थियो भने त्यस्तो दूध नउमाली सिधै पिउन मिल्ने रहेछ ।

अझै अचम्मको कुरा ती उत्पादनहरू ६ महिनासम्म फ्रिज विनै उपभोग गर्न सकिने गुणस्तरका थिए अर्थात् अधिकतम उपभोगको अवधि ६ महिना । बेइजिङ आएपछि यसरी प्याकेटको दूध र दही खानु मेरो दिनचर्या नै हुँदै गयो। दहीका प्याकेटहरू पनि कोठाको तापक्रममा लगभग एक महिनासम्म सुरक्षित रहन सक्ने अवस्थाका रहेछन्।

डा. गणेशप्रसाद खनाल

यो एउटा महत्वपूर्ण प्रविधिले दूध संरक्षण सम्बन्धी पुराना धारणाहरू पुनर्विचार गर्न मलाई बाध्य बनायो। यो प्रविधि नेपाल लैजान सके नेपालको दूध उत्पादन र दुग्धजन्य समस्यालाई निराकरण गर्न सकिन्छ जस्तो लाग्यो। यो प्रविधि नेपाल लैजान सकेमा कृषकले दूधको बजार नपाई सडकमा दूध फाल्नुपर्ने थिएन। किसानले दूधको मूल्य तथा समयमा भुक्तानी नपाइरहेको अवस्थामा पनि यस्तो प्रविधि सहयोगी हुन सक्छ भन्ने लाग्यो।

नेपालमा दूध उत्पादनको सिजनमा, विशेषतः ग्रामीण क्षेत्रमा, किसानहरूले बजारको अभाव तथा भण्डारण सुविधाको कमीका कारण वर्षेनि ठूलो परिमाणमा दूध फाल्नुपर्ने अवस्था देखिन्छ। अर्कोतर्फ, सुख्खा मौसममा प्रशोधित दुग्ध उत्पादनको अभाव हुँदा नेपालले अझै पनि भारतबाट ठूलो मात्रामा पाउडर दूध आयात गरिरहेको छ।

चीनको तुलनामा नेपालमा प्रतिव्यक्ति दूध खपत उच्च भए तापनि, दूध संरक्षण सम्बन्धी यस्ता प्रविधिको प्रयोग गर्न सकिएको छैन। चीन जस्तै ६ महिनासम्म दूधको संरक्षण गर्न सक्ने प्रविधि भित्र्याउन सकेमा नेपालको दुग्ध उत्पादन, संकलन, भण्डारण र व्यवसायीकरणमा नयाँ अध्याय सुरुआत हुन सक्छ।

केवल अनुदानले मात्र युवालाई दूध व्यवसायतर्फ आकर्षित गर्न नसकिने रहेछ। जसले नेपालमा दूध उत्पादनसँग सम्बन्धित संरचनात्मक समस्या र बजार व्यवस्थापनको गहिरो चुनौती रहेको संकेत गर्दछ।

दूधको उच्च उत्पादन हुने समयमा संकलन गरी त्यसलाई संरक्षण गरेर कम उत्पादन हुने मौसममा खपत गर्न सकिन्छ। एक महिनासम्म सुरक्षित रहने दही उत्पादन प्रविधि विकास गर्न सकिए दुर्गम भेगका किसानहरूको दूध पनि सजिलै बजारसम्म पुर्‍याएर दुग्ध क्षेत्रमा आर्थिक सशक्तीकरण ल्याउन सकिनेछ।

चिनियाँ कम्पनीहरूले कसरी दूधलाई ६ महिनासम्म संरक्षण गर्छन् भन्ने प्रश्नले मेरो मनलाई गाँज्यो? यो प्रविधि कति खर्चिलो होला? यस्तो प्रविधि नेपालमा स्थानान्तरण गर्न सकिन्छ कि? यस्ता प्रश्नका ज्वारभाटा आउन थाले । म स्याङ्जाको गल्याङ नगरपालिकामा जन्मिएर हुर्किएको। जहाँ लामो समयदेखि धेरै स्थानीयको मुख्य पेशा दूध उत्पादन तथा बिक्री वितरण रहँदै आएको छ।

नगरपालिकाले ‘दूधको शहर’ बनाउने उद्देश्यले किसानहरूलाई प्रतिलिटर १५ रुपैयाँ अनुदान दिने कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुन नेपालभरिका किसानलाई दिइनेमध्ये सबैभन्दा बढी नगद प्रोत्साहन हो। यस्ता प्रोत्साहन हुँदाहुँदै पनि युवाहरूको व्यावसायिक पशुपालनमा संलग्नता न्यून देखिन्छ। केवल अनुदानले मात्र युवालाई दूध व्यवसायतर्फ आकर्षित गर्न नसकिने रहेछ। जसले नेपालमा दूध उत्पादनसँग सम्बन्धित संरचनात्मक समस्या र बजार व्यवस्थापनको गहिरो चुनौती रहेको संकेत गर्दछ।

कम्पनीका उत्पादनहरूको निरीक्षण।

हालै गल्याङ नगरपालिकाका नगरप्रमुख गुरुप्रसाद भट्टराई र पशुसेवा शाखा प्रमुखसँगको छलफलमा सबैभन्दा गम्भीर समस्या ‘स्थायी र भरपर्दो बजारको अभाव’ रहेको उल्लेख गर्नुभएको थियो। यस्तो समस्या केवल गल्याङमा मात्र सीमित छैन। नेपालका धेरै स्थानमा किसानले दूधको उचित बजार नपाउँदा दूध सडकमा फाल्न बाध्य भएका उदाहरण प्रशस्तै छन्। किनभने नेपालमा दूधले केवल एक दिन मात्र बजार नपाएमा फाल्नुपर्ने अवस्था अहिले पनि यथावत् छ।

यी अनुभवहरूले मलाई स्थानीय सरकार र सरोकारवालाहरूसँग छलफल गर्न प्रेरित गर्‍यो। नेपालमा दुग्ध क्षेत्रमा रहेका संरचनागत र व्यवहारगत अवरोधहरू बुझ्न पनि सहयोग गरेको छ। बेइजिङमा विद्यावारिधि गर्दै गर्दा जाडो बिदाको समयमा नेपाल फर्किंदा मैले चीनबाट केही दूधका प्याकेटहरू साथमा ल्याएँ। ती दूधका प्याकेटहरू किसानलाई र स्थानीय जनप्रतिनिधिहरूलाई देखाएँ।

तिनको गुणस्तर, दीर्घायु तथा प्रविधिको सम्भाव्यताबारे मेरो फिल्ड सर्वेक्षणको क्रममा छलफल पनि गरें। नेपालले यस्ता संरक्षण प्रविधिहरू अपनाउन सके सिजनमा हुने दूधको खपतलाई व्यवस्थित गर्न सकिन्छ। यसले दुग्ध उद्योगलाई दूध प्रशोधन तथा भण्डारण गर्न सघाउनेछ। जसबाट सुख्खा मौसममा पनि दूध वितरण सम्भव हुनेछ। आपूर्ति सन्तुलन कायम हुनेछ र किसानहरूको आम्दानीमा स्थायित्व आउनेछ।

बेइजिङको उक्त फ्याक्ट्रीमा देखिएको प्रविधि नवप्रवर्तन, मूल्य अभिवृद्धि, सुनिश्चित बजार र एकीकृत आपूर्ति शृङ्खलाले व्यावसायिक दुग्ध उत्पादन युवाहरूका लागि आकर्षक र लाभदायक बन्न सक्ने सम्भावना देखाएको छ।

मैले चीनबाट लगेको दूधका प्याकेटमा सबैले उच्च महत्व दिंदै यो प्रविधिमा चासो व्यक्त गरेका थिए। ‘नेपालमा कसरी ल्याउन सकिएला?’ ‘कति मूल्य पर्ला?’ भन्ने जिज्ञासा सम्बन्धित व्यक्तिहरूले देखाएका थिए।

यसका अतिरिक्त, यस्ता दूध र दहीका प्याकेटहरू नेपालमै उत्पादन गर्न सकेमा ती विद्यालय आहार कार्यक्रमहरूमा समावेश गर्न सकिने र बालबालिकालाई दैनिक पौष्टिक दूध घरमा बनाइएको खाजासँगै पठाउन सकिने सम्भावना हुनेछ। यसले बालपोषणमा सुधार गर्ने मात्र होइन, दूधको माग बढाउने, बजार सक्रिय बनाउने र युवालाई व्यावसायिक पशुपालनमा आकर्षित गर्ने सम्भावना समेत सिर्जना गर्ने थियो।

चीनमा देखिएका दूध र दहीका प्याकेटहरू हेर्दा मलाई नेपालमा पनि यस्ता प्रविधिको ठूलो सम्भावना छ भन्ने लाग्यो। त्यसैले चीनमा केही अधिकारीहरूसँग छलफल गरी त्यहाँको कुनै दूध कारखाना अवलोकन गर्ने चाहना भयो।

कम्पनीको निर्देशक वाङ जिजङसँग लेखक ।

संयोगवश, बेइजिङका एक स्थानीय साथीको सहयोगमा मलाई चीनको एक अत्याधुनिक दूध प्रशोधन उद्योग बेइजिङ शङसिआङ डेरी प्रोडक्ट फ्याक्ट्री भ्रमण गर्ने अवसर प्राप्त भयो। उल्लिखित प्रविधि र व्यवस्थापन प्रणालीबारे चासो देखाएपछि सो कम्पनीले मेरो साथी मार्फत कम्पनी भ्रमणका लागि औपचारिक आमन्त्रण दिएको थियो।

भ्रमणले मलाई प्रविधिमा आधारित नवप्रवर्तन, कार्यक्षमता र रणनीतिक बजार व्यवस्थापन मार्फत चीनको दुग्ध उद्योग कसरी प्रभावकारी ढंगले सञ्चालन भइरहेको छ भन्ने बुझ्न गहिरो अवसर प्रदान गर्‍यो। यसले नेपालमा यस्ता प्रविधिको सम्भावना र अनुकूलताको विषयमा अध्ययन गर्न थप प्रेरणा र आधार पनि प्रदान गर्‍यो।

भ्रमणबाट प्राप्त शिक्षा

नेपालमा दूध र दुग्धजन्य परिकारको अवस्था र सम्भावना साथै मैले जान्न चाहेको विषयमा दुई दिन अगाडि नै लिखित पठाएको हुँदा कम्पनीले मेरो भ्रमण उच्च सत्कार र समन्वयमा सम्पन्न भयो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ अधिकारीहरू र प्रविधिकर्मीहरूले मलाई विशेष प्राथमिकता दिएर कम्पनीको भ्रमण गराए र औपचारिक छलफल कार्यक्रम समेत व्यवस्थित रूपमा आयोजना गरिएको रहेछ।

सञ्चार सहज होस् भनेर कम्पनीले अनुवादकको व्यवस्था समेत गरेको थियो। जसले हाम्रो छलफललाई अत्यन्त औपचारिक र प्रभावकारी बनायो। दुई दिनअघि नै नेपालको दूध र दुग्धजन्य वस्तुको अवस्था तथा मैले जान्न चाहेका मुख्य विषयहरू कम्पनीलाई पठाएको थिएँ। त्यस आधारमा मलाई फ्याक्ट्रीको दूध सङ्कलन र प्रशोधन कक्षबाट शुरू गरी गुणस्तर परीक्षण एकाइ हुँदै प्याकेजिङ र वितरण विभागसम्म क्रमिक रूपमा घुमाइयो। सम्पूर्ण उत्पादन प्रक्रिया सिसाले घेरिएको मार्गबाट हेर्न मिल्ने गरी व्यवस्थित गरिएको थियो।

सन् २००० जुलाई ११ मा स्थापना भएको यो कम्पनी अहिले चिनियाँ दुग्ध उद्योगको एक प्रमुख नाम बनिसकेको रहेछ। यसको परम्परागत ‘बेइजिङ स्टाइल सिरामिक जार दही’ चिनियाँ सांस्कृतिक पहिचानको रूपमा विकास भइसकेको रहेछ।

भ्रमणका क्रममा यस कम्पनीले स्मार्ट अटोमेसन र नवप्रवर्तन रणनीति अपनाएर विना रेफ्रिजेरेसन पनि दीर्घकालसम्म उत्पादन संरक्षण गर्न सफल भएको कुरा अत्यन्त महत्वपूर्ण लाग्यो। फ्याक्ट्री भ्रमणपछि आयोजित बैठकमा कम्पनीले आफ्ना उत्पादन र प्रविधिमा लगानी, बजार रणनीति र दुग्ध उद्योगको अवस्थाबारे विस्तृत जानकारी गरायो। मैले पनि नेपालमा दूध उत्पादन, सिजनमा हुने खपतको समस्या, गुणस्तर समस्या र बजार अभावबारे जानकारी गराएँ ।

चीन जस्तै ६ महिनासम्म दूधको संरक्षण गर्न सक्ने प्रविधि भित्र्याउन सके नेपालको दुग्ध उत्पादन, संकलन, भण्डारण र व्यवसायीकरणमा नयाँ अध्याय सुरुआत हुन सक्छ। एक महिनासम्म सुरक्षित रहने दही उत्पादन प्रविधि विकास गर्न सकिए दुर्गम भेगका किसानहरूको दूध पनि सजिलै बजारसम्म पुर्‍याएर दुग्ध क्षेत्रमा आर्थिक सशक्तीकरण ल्याउन सकिनेछ।

उनीहरू अचम्म पर्दै दूध संरक्षण गर्ने सामान्य प्रविधि पनि नभएको र नेपालमा वर्षेनि किसानले बाटोमा दूध फाल्न बाध्य हुने कुरा थाहा पाएर प्रश्न गर्न थाले। यति सामान्य प्रविधि पनि नेपालमा किन लैजान नसकेको होला भनेर धेरै चासो देखाए। ती अधिकारीहरूले नेपालको दुग्ध क्षेत्र, विशेषगरी भैंसीको दूध प्रति गहिरो चासो देखाए।

चीनमा भैंसीको दूध केवल एक प्रान्तमा सीमित भएको र यसको गुणस्तर गाईको दूधभन्दा धेरै तवरले उच्च भएको बताएका थिए। उनीहरूले नेपालसँग सहकार्य गर्न इच्छाशक्ति देखाउँदै प्रविधि सहयोग, ज्ञान हस्तान्तरण र प्रत्यक्ष वैदेशिक लगानीको प्रस्ताव समेत राखे। यस्ता गम्भीर प्रतिबद्धता र सद्भावले मलाई उत्साहित बनायो।

मुख्य गरी मेरो चासो ६/६ महिनासम्म शुद्ध दूधको संरक्षण र प्याकेजिङ कसरी सम्भव हुन्छ र उक्त प्रविधिको लगानीको बारेमा सोध्नु थियो। डाइरेक्टर वाङका अनुसार, मेसिनको मूल्य मेसिनको क्षमता र कम्पनीमाथि निर्भर हुने गर्छ। सामान्यतया राम्रो मेसिन राख्दा चिनियाँ रकम लगभग १ मिलियन (१ करोड ९० लाख नेपाली रूपैयाँ) सानो मेसिनका लागि छ भने ठूला मेसिनका लागि ८ मिलियन सम्म लाग्ने बताए ।

उक्त दूध हरेक तवरबाट पिउन योग्य र स्वस्थकर हुनेछन् र चीन सरकारले दूध जस्तो पदार्थको शुद्धतामा कमजोरी गर्न दिने छैन भने कम्पनीले पनि त्यस्तो गल्ती कहिल्यै नगर्ने बताए। हरेक दिन छुट्टै ल्याबमा दूधको शुद्धताको परीक्षण गरी बजारमा पठाउने गरिन्छ भनी उनले जानकारी दिए। चीनमा गुणस्तरमा कुनै सौदाबाजी गर्ने परिकल्पना नै गर्न सकिंदैन र कम्पनीले त्यो दु:साहस कहिल्यै गर्दैन भनी उनले स्पष्ट पारे ।

कम्पनीको वार्षिक विकास प्रतिवेदन अनुसार, सन् २०२३ मा यस कम्पनीले हाइटेक इन्टरप्राइजेजको मान्यता प्राप्त गरेको रहेछ। साथै, सन् २०२५ जनवरीमा चिनियाँ कृषि विश्वविद्यालयसँग मिलेर दुग्ध पोषण तथा स्वास्थ्य संयुक्त प्रयोगशाला स्थापना गरेको जानकारी प्राप्त भयो। कम्पनीको उत्पादन विविधता पनि निकै व्यापक रहेछ।

चिनीमुक्त, औषधीय र गिलास बोतलमा आधारित उत्पादनहरू प्राविधिक नवप्रवर्तनको भरपुर प्रयोग गरी बनाइएका रहेछन्। कम्पनीले विभिन्न चिनियाँ सामाजिक सञ्जाल तौयिन, जेडी डटकम, थिमल र फिनत्वोत्वो जस्ता ई–कमर्स प्लेटफर्महरूमा प्रवेश गरी राष्ट्रिय बजारमा आफ्नो उपस्थिति मजबुत बनाएको रहेछ। सन् २०२४ मा आफ्नै चारागाह स्थापना गरेर ‘आफ्नै फ्याक्ट्री + आफ्नै फार्म + उच्च गुणस्तरीय सोर्सिङ’ को एकीकरण मूल्य शृङ्खला अपनाएको रहेछ।

नेपालले पनि यस्ता आधुनिक दुग्ध प्रविधि र अभ्यासहरू स्थानान्तरण गरेर ठूलो लाभ लिन सक्छ भन्ने मलाई लाग्यो। यदि नेपालले अल्ट्रा हाई टेम्पेचर प्रशोधन, एसेप्टिक प्याकेजिङ र अटोमेटेड उत्पादन प्रणालीमा लगानी गर्न सक्यो भने दीर्घकालीन दूध उत्पादन सम्भव हुनेछ।

विशेषगरी गल्याङ नगरपालिका लगायत विभिन्न स्थानहरूमा सिजनमा हुने दूध खपतको समस्या समाधान हुनेछ। यस्ता दूध उत्पादनहरू विद्यालय पोषण कार्यक्रम अन्तर्गत समावेश गरिएमा विद्यार्थीको पोषण सुधार हुने मात्र होइन, स्थानीय दुग्ध बजार पनि थप सक्रिय हुनेछ।

बेइजिङको उक्त फ्याक्ट्रीमा देखिएको प्रविधि नवप्रवर्तन, मूल्य अभिवृद्धि, सुनिश्चित बजार र एकीकृत आपूर्ति शृङ्खलाले व्यावसायिक दुग्ध उत्पादन युवाहरूका लागि आकर्षक र लाभदायक बन्न सक्ने सम्भावना देखाएको छ। प्रविधि ल्याउन कुनै ठूलो समस्या छैन। यसको लागत पनि धेरै छैन। १ देखि २ करोडसम्मको लगानी स्थानीय तहले सजिलैसँग दीर्घकालीन दूध व्यवस्थापनका लागि गर्न सकिन्छ।

यस्ता प्रविधिको हस्तान्तरणबाट व्यावसायिक दूध उत्पादन र वितरण बढाएर रोजगारी सिर्जना गर्न सकिन्छ। यसले ग्रामीण विकासमा पनि ठूलै फड्को मार्ने सम्भावना राख्दछ। लगानी, प्रविधि र बजारमा चीनसँग सहकार्य गरी प्रविधि, ज्ञान र सीप हस्तान्तरण गर्न सकिन्छ।

भैंसीको दूध, दूधजन्य परिकार तथा मासु समेत नेपालबाट चीनमा सहजै बजार व्यवस्थापन गर्न सकिने कम्पनीका निर्देशक वाङले बताए। यस्तो प्रविधि नेपाल जस्तो जहाँ अझै ६२ प्रतिशत परिवार कृषि पेशामा आधारित भएको देशमा ल्याउन सके व्यावसायिक पशुपालन मार्फत दूध उत्पादनमा क्रान्ति आउन सक्छ।

निर्देशक वाङले भने झैं प्रविधि सहकार्य गरी निर्यातयोग्य दूध र दूधजन्य पदार्थ उत्पादन गर्न सके भैंसीको दूधको व्यापक बजार चीनमा खोल्न सकिन्छ। नेपालमा यति महत्वपूर्ण प्रविधि भित्र्याउन सके नेपालको दूध कृषकको जीवनस्तरले काँचुली फेर्ने थियो।

(खनालले पेकिङ विश्वविद्यालयबाट राष्ट्रिय विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?