+
+
Shares

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावटका कारण बकुल्ला जस्ता जलपन्छी वर्सेनि घट्दै गएको चराको अध्ययनमा जुटेका विष्णु अधिकारीले बताए ।

रासस रासस
२०८२ असार १९ गते १८:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाल्पाका फाँट र सिमसार क्षेत्रका बकुल्लाहरु वर्खा नपरेपछि देखिन छाडेका छन्।
  • अव्यवस्थित बसोबास, अतिक्रमण र जलवायु परिवर्तनले क्षेत्रको मासिँदै गएको बताइएको छ।
  • विष्णु अधिकारीले वासस्थान र आहारको अभावले जलपन्छीहरू घट्दै गएको बताएका छन्।

१९ असार, तानसेन । केही वर्ष अघिसम्म वर्खा लागेपछि पाल्पाका फाँट र सिमसारमा देखिने बकुल्ला हिजो आज देखिन छाडेका छन् । यहाँका माडीफाँट, अर्ग, रामपुर पूर्वखोला जस्ता फाँट र ससाना खोला किनारामा देखिने सेतो बकुल्लाहरु देखिन छाडेका हुन् ।

खोला तथा सिमसार क्षेत्रका खेतमा पाइने माछालाई प्रमुख आहारा बनाउँदै आएका बकुल्लाहरु सिमसार मासिँदै गएपछि देखिन छाडेका स्थानीय बताउँछन् । अव्यवस्थित बसोबास, अतिक्रमण, विकास निर्माण, जलवायु परिवर्तनको असरलगायतले सिमसार क्षेत्र मासिँदै गएका छन् ।

बर, पिपल, समी, सिमल जस्ता अग्ला रुखहरुमा सेताम्ये देखिने बकुल्लाहरु एकाएक हराउँदै गएको दमकडाका प्रकाश नेपाल बताउँछन् । उनी भन्छन्, ‘जबजब फाँटहरुमा धान रोप्ने समय हुन्छ तब बकुल्लाहरु खेतका छेउछाउमा सेताम्मै देखिन्थे, तिनीहरु धान नकाट्दासम खेतमै भेटिन्थे तर हिजो आज छैनन्।’ बकुल्लाले पानीभित्र माछा तथा चिस्यानमा बस्ने भ्यागुता, गङ्गटा, सानासाना सर्प शिकार गर्छन् ।

हिजो आज खोला र सिमसारहरु मासिँदै जाँदा तिनीहरु पनि हराउँदै गएको उनको भनाइ छ । ‘पहिले–पहिले यहाँका सिमलका रुखहरु कुनै खाली हुँदैन थिए । सबैमा सेताम्य बास बसेको देखिन्थ्यो । यी एकाएक हराए’, उनले भने, ‘अन्न बालीमा विषादीको प्रयोगका कारण माछा पाउनै कठिन भयो । आहारामा कमी आएकोले कमी आउँदै गएको हो ।’

सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावटका कारण बकुल्ला जस्ता जलपन्छी वर्सेनि घट्दै गएको चराको अध्ययनमा जुटेका विष्णु अधिकारीले बताए । खोला र सिमसार क्षेत्रको विनासले माछाहरु मर्दै जाँदा आहारमा कमी आएकाले जलपन्छी वर्षेनि घट्दै गएको उनको भनाइ छ ।

उनले भने, ‘वासस्थान विनाश र आहार नहुनु नै बकुल्ला घट्नुको मुख्य कारण हो ।’ संरक्षणको पहल भएन भने अबको केही वर्षमा जलपन्छीहरू पूर्णरूपमा लोप हुने उनले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?