२७ असार, काठमाडौं । भारतीय दूतावास, काठमाडौंले नेपाली युवाहरूका लागि सुरु गरेको राजदूत क्रिकेट फेलोशिप कार्यक्रमअन्तर्गत तीन जना नेपाली यू–१९ क्रिकेट खेलाडी भारतको भोपालमा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने भएका छन् ।
नरेन भट्ट, साहिल पटेल र पूजा महतोले १५ जुलाईदेखि १४ अगस्ट २०२५ सम्म भारतको एल.बी. शास्त्री क्रिकेट शालामा पेशागत क्रिकेट प्रशिक्षण लिनेछन् ।
नरेनले नेपाली यू–१९ क्रिकेट टोलीको कप्तानी गरिसकेका छन् भने पूजा महतोको कप्तानीमा नेपाली महिला टोलीले पहिलोपटक यू–१९ टी–२० विश्वकप खेलेको थियो । साहिल पनि यू–१९ क्रिकेट टोलीको सदस्य थिए ।
नेपाली क्रिकेट प्रतिभाको विकास तथा नेपाल–भारतबीचको जनस्तरीय सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित भारतीय दूतावासले यो कार्यक्रम ल्याएको हो ।
खेलाडीहरूलाई बिदाइ गर्न आज भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दको उपस्थितिमा भेटघाट तथा अन्तरक्रिया गरेका थिए । सो अवसरमा राजदूत श्रीवास्तवले खेलमार्फत दुई देशबीचको मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गर्दै तीनै खेलाडीलाई सफल प्रशिक्षणका लागि शुभकामना दिएका थिए ।
यस प्रकारको अन्तर्राष्ट्रिय एक्सपोजरबाट खेलाडीहरूको सीपमा उल्लेखनीय सुधार हुने र नेपाली क्रिकेटको उज्वल भविष्य निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4