News Summary
Generated by OK AI. Editorially reviewed.- कुष्ठरोग हजारौँ वर्षदेखि मानव स्वास्थ्य समस्या रहँदै आएको छ र नेपालमा पनि सयौँ वर्षदेखि महामारीको रूपमा रहेको थियो।
- वि.सं. १९१० मा प्रधानमन्त्री जंगबहादुर राणाले कुष्ठरोगीहरूको लागि कानुनी व्यवस्था गर्दै खोकनामा कुष्ठरोगीखाना स्थापना गरे।
- अन्य राणा प्रधानमन्त्रीहरूले पनि कुष्ठरोगीहरूको हेरचाह र आश्रयका लागि भवन निर्माण र अस्पताल स्थापना गरे।
कुष्ठरोगबाट हजारौँ वर्ष पहिलेदेखि नै मानिसहरू पीडित थिए । के कारणले यो रोग लाग्छ भन्ने ज्ञान नहुँदा यसलाई पूर्वजन्मको पापको फल भनेर मानिसहरूले अर्थ्याउँथे ।
पूर्वीय सभ्यतामा मनुःस्मृति लगायतका ग्रन्थमा कुष्ठरोगको बारेमा चर्चा गरिएको छ । यस रोग लागेका व्यक्तिहरूलाई गरिने दुर्व्यवहारका केही झलक मनुःस्मृतिमा पढ्न पाइन्छ। (मनुःस्मृति, अध्याय ३, श्लोक ७)
इसाई धर्मग्रन्थ बाइबलमा पनि पापका कारण कुष्ठरोग हुने कुरा उल्लेख गरिएको छ ।
यसरी हजारौँ वर्षदेखि संसारभर कुष्ठरोग एक स्वास्थ्य समस्याका रुपमा रहेको पाइन्छ । त्यसको उपचार पद्धति र सामाजिक मान्यताका बारेका धारणाहरू बनाएको विभिन्न पुस्तकहरूमा भेटिन्छ ।
नेपालमा सयौँ वर्ष पहिलेदेखि कुष्ठरोग जनस्वास्थ्य समस्याका रुपमा रहेको थियो । माइको ब्याक्टेरियम लेप्री भन्ने जीवाणुबाट हुने यो रोगले विशेषतः स्नायु र छालालाई असर गर्छ ।
यस रोगले निम्त्याउने जटिलता, सामाजिक दुष्परिणाम र मृत्युको जोखिमका कारण यसले ‘महारोग’ को दर्जा पायो । कुष्ठरोगीहरूलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहार असाध्यै अमानवीय हुनथाल्यो ।
कुष्ठरोग लागिसकेपछि छिःछिः दुरदुर गर्ने, घरबाट निकाल्ने, बिहे नभएका युवायुवतीलाई कृष्ठरोग लागेमा बिहे नहुने, बिहे भए पनि सम्बन्ध नटिक्ने समस्या धेरै थियो । यति मात्रै नभई कुष्ठरोग लागेका व्यक्तिको परिवार पनि सामाजिक रुपमा अपहेलित हुने, पीडित बन्ने अवस्था भयो ।
औषधि उपचार पनि पत्ता नलागेका कारण कुष्ठरोगका कारण धेरैको मृत्यु भयो । धेरैले अंगभंग हुनुपर्यो ।
समाजमा कुष्ठरोगप्रतिको घृणा व्यापक नै थियो । अरुलाई पनि सर्छ भन्ने डरले कुष्ठरोग लागेका व्यक्तिहरू समाजबाट निकालिन्थे । उनीहरू जंगल, गुफा, पाटीपौवा तथा मन्दिरहरूमा आश्रय लिएर बस्नुपर्ने हुन्थ्यो ।
कुष्ठरोग लागिसकेपछि त्यसको बाँकी जीवन पीडादायी, एक किमिसले भयावह नै हुन्थ्यो भन्दा फरक पर्दैन । समाजले कुष्ठरोगीहरूको उचित संरक्षण र सुरक्षा दिन सकेको थिएन ।
जंगबहादुरको सत्प्रयास
इतिहासका एक चर्चित र विवादित पात्र हुन्, जंगबहादुर राणा । काजी बालनरसिंह कुँवर र आमा गणेशकुमारी थापाका जेठा छोराका रुपमा वि.सं.१८७४ असार ७ गते बुधबार उनको जन्म भएको थियो । जंगबहादुरको खास नाम वीर नरसिंह कुँवर हो ।
कोतपर्वबाट शक्तिशाली प्रधानमन्त्रीको रुपमा उदाएका उनले तीन दशक नेपालको शासन गरे ।
जंगबहादुरले नेपालको इतिहासमा थुप्रै महत्वपूर्ण, विवादास्पद र ऐतिहासिक काम गरेका छन् । त्यसैमध्येको एक हो, कुष्ठरोगीका लागि गरेको प्रयास । कुष्ठरोगीका सम्बन्धमा उनले कानुनी, सामाजिक र आर्थिक दूरदृष्टि राखेका थिए ।

वि.सं.१९०३ मा प्रधानमन्त्री भएका जंगबहादुर १९०७ मा बेलायतमा राजकीय भ्रमाणका लागि गए ।
यस भ्रमणका क्रममा उनले भारत, बेलायतका आधुनिक अस्पतालहरूको उपचार पद्धति, व्यवस्थापन र प्रविधिका बारेमा राम्रो जानकारी लिए । त्यसले उनको सोचाइमा परिवर्तन ल्यायो ।
त्यसबेला नेपालमा कुष्ठरोग महामारीकै रुपमा थियो । कुष्ठरोगीहरू घरबाट निकालिएर काठमाडौंका सडक, मन्दिर र पाटीपौवाहरूमा आश्रय लिएर बसिरहेका हुन्थे । उनीहरूको अवस्था निकै कारुणिक थियो।
ती बिरामीहरूको व्यवस्थापन गर्न जंगबहादुरले स्वदेशी तथा विदेशी जानकारहरूसँग सरसल्लाह लिन्थे । यसको परिणामस्वरुप वि.सं.१९१० पुस ७ गतेका दिन नेपालको लिखित ऐन पहिलो पटक जारी गरे ।
त्यो ऐन जारी गर्दा स्वास्थ्यविज्ञका रुपमा दुई जना वैद्यहरू भादगाउँका चक्रपाणी र गंगारामलाई पनि ऐन निर्माण समितिमा राखी हस्ताक्षर गराए । सोही ऐनमा ‘इलाज गर्न्याको’ महल राखी राज्यको तर्फबाट पहिलो पटक स्वास्थ्य सेवा र उपचार सम्बन्धी अधारहरू स्पष्ट पारे ।
१९१० को ऐनमा कुष्ठरोगसम्बन्धी के थियो ?
महारोग(कुष्ठरोग) लागेकाहरूले झुक्याएर बिहे गर्न नहुने, झुक्याएर बिहे गर्नेलाई पचास रुपैँया दण्ड हुने त्यो ऐनमा उल्लेख थियो । त्यसैगरी महारोग लागेकाहरू शहर(काठमाडौं) भित्र आउन नपाइने, उनीहरूलाई शहरबाहिर राखी खानाका लागि गुठी कचहरीका कारिन्दाहरूले जनही दैनिक रुपमा हण्डीको व्यवस्था गर्ने, गुठीको आम्दानीबाट वर्षमा दुई जोर खाडीका कपडा दिने, त्यसरी राखिएका कुष्ठरोगीहरूले खान पाइँन भन्यो भने गुठी कचहरीका कारिन्दालाई १० रुपैयाँ दण्ड गर्ने व्यवस्था थियो । (मुलुकी ऐन १९१०)
खोकनामा कुष्ठरोगीखाना
वि.सं.१९१० को मुलुकी ऐनलाई आधार बनाएर वि.सं.१९१४ मा खोकनाको फाँटमा जंगबहादुरले कुष्ठरोगीखाना स्थापना गरे । बागमतीको फाँटमा महिला र पुरुषका लागि छुट्टा–छुट्टै कुष्ठरोगीखाना स्थापना गरिएको थियो । महिला कुष्ठरोगीका लागि खोकनाको सेरा फाँटमा र पुरुष कुष्ठरोगीका लागि बागमती नदीको पश्चिम तौथलीको फाँटमा खरले छाएका लामा-लामा टहराहरू बनाइएका थिए ।
यसरी टहराहरू बनिसकेपछि काठमाडौं उपत्यका र उपत्यका बाहिरतिर सडक, मठमन्दिर, पाटी तथा ओडारहरूमा बसिरहेका कुष्ठरोगीलाई त्यहाँ ल्याएर राख्न थालियो ।
कुष्ठरोगीहरूको हेरचाहका लागि कर्मचारी र उपचारका लागि वैद्यहरू खटाइएको थियो । यसरी जंगबहादुरले कानुन बनाएर राज्यको तर्फबाट खानपिन, लत्ताकपडा, बासका साथै स्वास्थ्य सेवाको समेत व्यवस्था गरेर कुष्ठरोगीहरूको आत्मसम्मान बढाइदिने काम गरे ।
खोकना कुष्ठरोगीखाना सम्बन्धी हालसम्म प्राप्त रेकर्डअनुसार मुलुकी ऐनमा भएको व्यवस्थाअनुसार तत्कालीन राजा सुरेन्द्रले वि.सं.१९१० मा कुष्ठरोगीहरूलाई आवास, खाना र लत्ताकपडासहितको व्यवस्था गरी छुट्टै राख्नुपर्छ भन्ने आदेशमा हस्ताक्षर गरेका थिए ।
यो समयदेखि नै कुष्ठरोग लागेकालाई व्यवस्थित किसिमले राख्नका लागि खोकनामा जग्गा छुट्याइयो । (डा.खगेन्द्रबहादुर श्रेष्ठ, नेपाल कुष्ठरोग निवारण संघ–स्मारिका, २०७६, पृ ६)
चार बहाल कुष्ठरोगीखाना
बागमतीको वल्लो र पल्लो किनारमा आश्रय लिएर बसेका कुष्ठरोगपीडित पुरुष र महिलाबीच मायाप्रेम हुनथाल्यो । कर्मचारीहरूले सकेसम्म भेटघाट हुन दिँदैनथे तर पनि भागेर उनीहरू बागमती नदी वारपार गर्दै भेट गर्थे ।
यसरी लुकीछिपी आफ्ना प्रेमीलाई भेट्न बागमती नदी पार गर्ने क्रममा कतिपयको मृत्यु पनि हुनथाल्यो । महिला र पुरुषको आश्रम नदी वारिपारि हुँदा व्यवस्थापनमा पनि असजिलो भइरहेको थियो । यही कारण राणा प्रधानमन्त्री वीर समशेरको पालामा पुराना खरले छाएका आश्रमहरू भत्काएर खोना तौथली बागमतीको पश्चितर्फ ठूला र लामा–लामा ३ वटा भवनहरू बनाइयो ।
यसरी निर्माण गरिएका भवनलाई ‘तीन बहाल’ भन्न थालियो । यी भवनहरू पाकेको इँटा र टायलहरूबाट बनाइएको थियो । दुइवटा भवन पूर्व–पश्चिम र एउटा उत्तर–दक्षिण हुने गरी बनाइएको थियो।
बीचमा हिँडडुल गर्न आँगनको रुपमा बहाल तयार गरिएको थियो ।

तीन बहाल बनेको करिब ४ दशकपछि प्रधानमन्त्री जुद्ध समशेरले दक्षिणतिर नयाँ भवन बनाए । त्यो भवनलाई ‘नयाँ बहाल’ भनिन्थ्यो । ठूला भवनको संख्या ४ पुगेपछि यी भवनलाई ‘चार बहाल’ भन्न थालियो ।
जुद्धसमशेर आफैँ कुष्ठरोगबाट संक्रमित भएका थिए । त्यही भएर कुष्ठरोगीप्रति सहानुभूति दर्शाउन उनले नयाँ भवन बनाइदिएका थिए ।
उ बेला चारबहालमा एकहजार भन्दा बढी कुष्ठप्रभावित मानिसहरु र उनिहरुका स साना छोराछोरीले आश्रय पाएका थिए।
वि.स.१९९० को भूकम्पले चार बहालका भवनमा क्षति पुगेको थियो । भूकम्पको क्षति र अन्य कारण समेतले गर्दा जीर्ण भएपछि ती चारै वटा भवनहरू भत्काइए ।
पछि नेपाल कुष्ठरोग निवारण संघको सक्रियतामा साना–साना भवनहरू बने । ती आश्रममा अहिले १६६ जना कुष्ठरोग प्रभावितले आश्रय लिइरहेका छन् । नेपाल सरकारले आरोग्यशालाका नामका बजेट छुट्याई जंगबहादुरको पालादेखि सुरु भएको कुष्ठरोगीप्रतिको दायित्वलाई निरन्तरता दिएको छ ।
सेरा फाँटको कुष्ठरोगीखानाको जग्गा विं सं. २०२२ सालको नापीका बेला व्यक्तिका नाममा गयो । चार बहाल रहेको ठाउँको १५ रोपनी भन्दा बढी जमिन मालपोतको श्रेस्तामा कुष्ठरोगीखानाकै नाममा रहेको छ ।
अन्य प्रधानमन्त्रीहरूको सहयोग
कुष्ठरोगीलाई अन्य राणा प्रधानमन्त्रीहरूले पनि सहयोग गरेका थिए । कुष्ठरोगीप्रति वीर समशेर पनि संवेदनशील देखिए । उनले खोकनामा रहेका पुराना आश्रम भत्काएर नयाँ तीन वटा भवन बनाए ।
कम्पाउण्डभित्र चर्पी र पानीका लागि धाराको व्यवस्था पनि गरिदिएका थिए । कुष्ठरोगीको हेरचाहका लागि जंगबहादुरको पालामा व्यवस्था गरिएका कारिन्दा र हण्डीलाई थप व्यवस्थित बनाए । वि.सं.१९४६ मा काठमाडौंको त्रिपुरेश्वरमा कुष्ठरोग अस्पताल स्थापना गरी कुष्ठरोगको उपचार र निदानका लागि पनि योगदान पुर्याए ।
यही अस्पतालका चिकित्सक र ड्रेसरहरू खोकना पुगेर कुष्ठरोगीहरूको घाउ सफा गर्ने, अन्य उपचार गर्ने र आवश्यक परामर्श दिने गर्थे ।
जंगबहादुरले सुरु गरेको कल्याणकारी कामलाई वीर समशेरले गुणस्तरीय बनाउने काम गरे ।
प्रधानमन्त्री चन्द्र समशेरले भक्तपुरको सानो ठिमी र पोखरामा ‘महारोगी बस्नेघर’ निर्माण र मर्मत गर्न लगाए । उनले पोखराको भवन मर्मत गर्ने जिम्मा जर्नेल खड्ग समशेरलाई दिएका दिए । (अभिलेख, वर्ष, ३, अंक ३, २०४२ पृ–५५) ।

प्रधानमन्त्री जुद्ध समेशेरले स्याङ्जाको मालुंगामा कुष्ठरोगीखाना स्थापना गर्न लगाए । मालुंगामा रहेको सेनाको गोलीगठ्ठा राख्ने घरलाई खाली गरी कुष्ठरोगीहरू राखियो । खोकनामा कुष्ठरोगीहरूलाई राख्नका लागि थप एउटा नयाँ भवन जुद्ध समशेरले बनाउन लगाएका थिए ।
जुद्ध समशेरको समयदेखि पूर्वी नेपालका कुष्ठरोग पीडितलाई खोकनामा र पश्चिम नेपालका कुष्ठरोग पीडितलाई स्याङ्जाको मालुंगामा राखी व्यवस्थापन गरेको देखिन्छ । यसरी अन्य राणा प्रधानमन्त्रीहरूले कुष्ठरोग प्रभावितहरूलाई आश्रम र अन्य सेवा थप गरे । यो सेवा काठमाडौं उपत्यकाबाहिर पनि विस्तार गरेको देखिन्छ ।
राजनीतिक रुपमा जंगबहादुर निरंकुश भनिए पनि जनस्वास्थ्य र कुष्ठरोगीको हकमा सुधारक शासकका रुपमा देखिएका छन् । वि.सं. १९१० को मुलुकी ऐनमा ‘इलाज गर्न्याको’ महल राख्ने र समाजबाट तिरस्कृत भएका कुष्ठरोगीलाई आश्रम बनाएर सरकारको तर्फबाट आश्रय दिई राख्ने काम अत्यन्तै सह्रानीय मान्न सकिन्छ ।
उनको यो कदमले कुष्ठरोगको निवारण, नियन्त्रण र जटिलता रोक्नमा भूमिका त खेलेको थियो नै, साथै कुष्ठरोगीलाई हेर्ने त्यतिबेलाको सामाजिक दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन ल्याएको थियो ।
(लेखक डा.झलक गौतम जनस्वास्थ्यविद् हुन्)
प्रतिक्रिया 4