
News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको तिब्बतमा रहेको सानो हिमताल विस्फोटबाट आएको बाढीले रसुवामा ९ जनाको मृत्यु र १८ जना बेपत्ता गराएको छ।
- हिममण्डल अनुसन्धानकर्ता अमृत थापाले हिमताल विस्फोटको मुख्य कारण हिमनदी पग्लने र जलवायु परिवर्तनले तापक्रम वृद्धिले भएको बताउनुभयो।
- नेपाल र चीनबीच अन्तरदेशीय सूचना प्रणाली चुस्त बनाउन र जोखिमयुक्त हिमतालहरूको अध्ययन तथा जलविद्युत् आयोजनाहरूको सुरक्षा आवश्यक छ।
चीनको तिब्बतमा रहेको सानो हिमताल विस्फोटबाट आएको बाढीले गत साता रसुवामा वितण्डा मच्चायो । ल्हेन्दे खोलाको आकस्मिक बाढीले ९ जनाको मृत्यु भयो, १८ जना अझै बेपत्ता छन् । बाढीले नेपाल–चीन नाकाको मितेरी पुल सहित कैयौं संरचना बगायो, रसुवा भन्सारमा रोकिएका सवारी साधन क्षतिग्रस्त भए । गत वर्ष थामे घटना झैं यसपालि पनि बाढीको कारण उही थियो, हिमताल विस्फोट ।
एक दशकभन्दा बढी समय हिमनदी र हिमपहिरोको अध्ययन गरेका हिममण्डल अनुसन्धानकर्ता अमृत थापा अहिले अमेरिकाको युनिभर्सिटी अफ अलास्का फियरब्यांकमा त्यही विषयमा विद्यावारिधि गरिरहेका छन् । हिमाली क्षेत्रमा रहेका हिमताल र तिनले निम्त्याएको जोखिमबारे थापासँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंशः
केही दिनअघि रसुवागढी र त्यस तलको भागमा बाढी गयो । रिपोर्टहरू हेर्दाखेरि त्यो ठाउँमा खासै पानी नपरेको भन्ने कुरा आइरहेको छ । कतिपय विज्ञले हिमताल विस्फोट भनेका छन् । यसको खास कारण के होला ?
रसुवामा बाढी आएको केही दिनसम्म यसको कारण यकिन गर्न सक्ने अवस्था थिएन । तर हामीले भू–उपग्रहको तस्वीरहरू हेर्दा हिमनदीको सतहमा बनेको ताल केही दिनमै रित्तिएको देखिन्छ । बाढी आउनु एक/दुई हप्ता पहिलेको भू–उपग्रहको तस्वीरहरू हेर्दा त्यो ठाउँमा मनग्ये मात्रामा हिउँ रहेको देखिन्थ्यो ।
तर बाढीको केही दिनपछि त्यो हिउँ पनि विलाएको देखिन्छ । गर्मी महिनामा तापक्रम वृद्धिले गर्दा हिउँ पग्लिनु सामान्य हो । हिउँ पग्लिएरै हाम्रा हिमनदीहरूबाट निस्कने खोलाहरू वर्षभरि बग्ने गर्छन्। त्यो ठाउँमा केही हप्तादेखि हिउँ पग्लिने क्रम बढेको थियो । पछिल्लो समय जलवायु परिवर्तन र विश्वव्यापी रूपमा भइरहेको तापक्रम वृद्धिले हिउँ पग्लिने दर बढेको छ । अझ धेरै अनुसन्धानहरूले उच्च भेगमा तापक्रम वृद्धि दर विश्व औसतभन्दा बढी देखाएका छन्।
त्यससँगै हिमनदी पग्लिने दर पनि बढेको विभिन्न अध्ययनले देखाएको छ । रसुवामा बाढीको स्रोतकेन्द्र मानिएको हिमताल फुट्नुको मुख्य कारण हिमनदीहरू पग्लिने अनि हिउँ पग्लिएर हिमनदीको सतहमा बनेको पोखरी भरिएर एक्कासीे हिमनदीको सतह र भित्र–भित्रबाटै पनि विस्फोट भएर निस्किएर बाढी आएको देखिन्छ ।
तपाईंहरूले अध्ययन गर्ने विधि भनेको स्याटेलाइटबाट आउने विवरण अवलोकन र विश्लेषण नै होला, किनभने विज्ञहरू त्यो ठाउँमा स्थलगत रूपमा गइसकेका छैनन् होला । स्याटेलाइटबाट प्राप्त विवरण विश्लेषणबाट निकालिने निचोड कत्तिको यकिनयुक्त हुन्छ ?
हामीले स्याटेलाइटबाट हेर्दा हिमताल विस्फोट भएको थाहा पायौं । आजकल विज्ञान प्रविधिले सानो तहको घटनाक्रम पनि यसरी स्याटलाइटबाट प्राप्त गर्न सहज भएको छ । तर के कारणले गर्दा हिमताल विस्फोट भयो भन्ने विश्लेषण गर्न स्थलगत रूपमा नै अध्ययन गर्नुपर्ने हुन्छ ।
अहिलेको घटनाको प्रक्रिया बुझ्न विगतमा अरू ठाउँमा गरिएको अध्ययनहरू सहयोगी हुन्छन् । हिमनदी भित्र भित्रैबाट पनि पानी निस्किएर बाढी आएको घटना अन्य ठाउँ पनि छ। उदाहरणको लागिस् बाम-तानाब हिमताल विस्फोट, अफगानिस्तान, २०२१ ।
के कारणले गर्दा त्यो घटना भयो भन्ने बुझ्न स्थलगत रूपमा नै जानुपर्ने हुन्छ । स्थलगत अध्ययन महत्वपूर्ण हुँदाहुँदै पनि सबै ठाउँमा सम्भव नहुन सक्छ। उच्च हिमाली भेगको भौगोलिक बनावट, मौसमी प्रतिकूलता, हिमपहिरोको जोखिम तथा हिमनदीमा परेका चिरा–धाजाहरूको कारणले सबै ठाउँमा स्थलगत अध्ययन सम्भव हुँदैन। कतिपय ठाउँहरू सुरक्षा दृष्टिले संवेदनशील पनि हुन सक्छन्, जस्तै दशगजा क्षेत्र । त्यसैले हामीले स्थलगत अध्ययन सीमित स्थानहरूमा मात्र गर्ने गर्छौं। साथै ठूलो क्षेत्रफलमा स्थलगत अध्ययन गर्नु सम्भव पनि हुँदैन।
यी कारणहरूले सेटेलाइटबाट गरिने अध्ययनहरू धेरै महत्त्वपूर्ण भइसकेका छन्। हाम्रो जस्ता हिमाली भू-भाग भएका ठाउँहरूमा त झन अत्यन्तै महत्वपूर्ण हुन्छन्। कतिपय अवस्थामा त सेटेलाइट बिना कुनै जानकारी पाउनु नै सम्भव हुँदैन।
तर मूलभूत कारण भने स्याटलाइट, त्यसबाट पाइने डाटा र फोटाहरूको विश्लेषणबाट थाहा हुन्छ । आजकल विज्ञान प्रविधिले सानो तहको घटनाक्रम पनि यसरी स्याटेलाइटबाट प्राप्त गर्न सहज भएको छ । त्यसलाई हेरेर हामीले लगभग प्रमुख कारण भन्न सकिने अवस्था हुन्छ ।
तर स्थलगत रूपमा गइसकेपछि त्यसलाई थप पुष्टि गर्न सकिन्छ । फिल्डमा जाँदा सानो एरिया मात्रै कभर हुन्छ । हामीले यस्तो खालको अध्ययनहरू गर्दा पूरै ग्लेसियर वा ताल कभर गर्नुपर्ने हुन्छ, जुन फिल्डमा असम्भव जस्तै हुन्छ । पछिल्लो समय ड्रोन, हेलिकप्टर जस्ता प्रविधिको प्रयोग गरेर पनि फिल्डबाट डेटा सङ्कलन र भ्यालिडेसन गरिन्छ।
किनभने त्यहाँको भौगोलिक बनावट, पहिरो अनि तालहरू चिरा परेका धाँजाहरूले गर्दा फिल्डमा पनि पर्याप्त रूपमा घुम्न र हेर्न असम्भव हुन्छ । हामीले एक/दुई ठाउँमा मात्रै सूक्ष्म रूपमा अध्ययन मार्फत त्यसलाई यकिन गर्ने हो । पछिल्लो समयमा यस्तो अध्ययनहरू चाहिं रिमोट सेन्सिङ डेटाबाटै अथवा भू–उपग्रहको तस्वीरबाटै हुने गर्छ । तर कसरी त्यो घटना भयो भन्ने जान्न केही खालको फिल्डको भ्यालिडेसन आवश्यक हुन्छ ।
रसुवाको घटनामा तपाईंले हिउँताल र हिमनदीको कुरा गर्नुभयो । त्यहाँ यो तहको जोखिम बढाएकोे हिमताल वा हिमनदीको सम्भावना थियो भनेर चर्चा भएको थिएन । कुन आकार र अवस्थाको हिमताल र हिमनदीले यो तहको बाढी आएको हो ?
इसिमोडले नेपाल हुँदै बग्ने वा नेपाललाई असर पार्न सक्ने ४७ वटा जोखिमपूर्ण हिमताल छन् भनेर आकलन गरेको थियो । त्यही ठाउँमा यस्तै खालको घटना भइसकेको छ, तर अहिले विस्फोट भएको ताल भने त्यो होइन। तर अहिले जुन घटना भयो यो आफैंमा अलि फरक खालको छ ।
हामीले गरेको विश्लेषण अनुसार, प्युरेपू हिमनदीको सतहमा मार्च २०२५ देखि विस्तारै पोखरीहरू बन्न थालेका थिए, जुन ७ जुलाईमा एकआपसमा मिसिएर ६ लाख ३८ हजार वर्ग मिटर क्षेत्रफल भएको ठूलो ताल बने। ८ जुलाईको उपग्रह तस्वीरले देखाउँछ कि यो ताल एकैचोटि खाली भएको थियो, जसले सम्भवतः बाढीको घटना निम्त्यायो।
प्युरेपू हिमनदीको सतहमा जुन घटना भयो यो आफैंमा अलि फरक खालको छ । आँखाले हेर्दा सानो आकारका देखिने हिमताल पनि भित्रपट्टि ठूलो हुन सक्छन् । यस्ता कुराहरू पुष्टि गर्न हामीहरूको फिल्ड अध्ययनको अभ्यास अलि कम छ । तर अध्ययनहरूले हिमनदीको भित्रै पनि तालहरू बन्न सक्ने, पोखरीहरू बन्न सक्ने देखाएका छन् ।
रसुवाकै हकमा कुरा गर्दा चीनको तिब्बतमा रहेको त्यो हिमताल आँखाले हेर्दा साह्रै सानो नै हो । तर त्यसले ल्याएको पानीको मात्रा र बाढी हेर्दा पक्कै पनि पानीको पकेट अथवा पोखरीहरू थियो भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।
यसअघि त्यो ठाउँमा कुनै अध्ययन भएको थियो कि थिएन, अध्ययनले के देखाएको भन्ने तपाईंको जिज्ञासा छ । सन् २०२१ मा भएको अध्ययनमा त्यो ठाउँमा हिमनदी अलि बढी खाल्डो परेर गएको भन्ने आकलन रहेछ ।
तर विडम्बना हाम्रो जस्तो मुलुकमा वैज्ञानिक अध्ययनबाट आएका निचोडहरूलाई खासै ध्यान दिएर हेर्ने चलन छैन । रसुवामाथिको हिमतालको विषयलाई पनि गम्भीरताका साथ हेरिएन । तर सन् २०२१ मा नै त्यो ठाउँमा खाल्डो पर्न शुरु भएको छ है भन्ने चेतावनीयुक्त निष्कर्ष रहेछ । तपाईंसँग कुराकानी गर्नुभन्दा ठिक अघि मैले त्यही अध्ययनको कुरा पढ्दै थिएँ ।
पछिल्ला वर्षहरूमा तापमान बढेकाले हिउँ वा बरफ पग्लिन थाल्नु सामान्य जस्तै भइसक्यो । तर खाल्डाहरूमा पानी र बगेको बरफ जम्मा हुनासाथ विस्तारै त्यसले त्यहाँ भएको हिमनदीलाई कमजोर बनाउन थाल्छ । त्यहाँ खोतल्दै जाने अनि भित्र–भित्रै खोल्साहरू बनाउँदै जाने क्रम शुरू हुन्छ ।
अचेल हिमाली क्षेत्रमा पनि हिउँको साटो पानी पर्ने क्रम बढेको छ । त्यस्ता खाल्डाहरूमा पानीको मात्रा झन्–झन् थपिंदै गएर ती तालहरू ठूलो हुँदै जान थाले । यस्ता हिमताल जति ठूलो भयो उति कमजोर बन्छन् र थेग्न नसकिने अवस्थामा पुग्छन् ।
अन्ततः ती हिमतालले थेग्न नसकेपछि पानी छचल्किने अवस्था आउँछ । कतिपय घटनामा वरिपरि रहेका भिरालो जमिनबाट एभाल्यान्स (हिमपहिरो) हरू खस्ने, पहिरोहरू आउने गर्दा तालहरूलाई विस्फोट बनाउने गरेको देखिएको छ । गत वर्ष सोलुखुम्बुस्थित थामेको घटना त्यस्तै प्रकृतिको हो ।
तपाईंले थामेको प्रसंग उठाउनुभयो । थामे र रसुवाको घटना अनि सन् २०१६ को भोटेकोशीको बाढीको कारणमा के–कस्ता समानता देख्न सकिन्छ होला ?
उल्लेख गर्नुभएका तीनैवटा घटना फरक देखिन्छन्। भोटेकोशीमा आएको बाढी, चीनमा पर्ने गोंगबाटोंङ्शा ताल क्षेत्रमा ठूलो पानी परी आसपासको भिरबाट तालमा पहिरो आएर र तालको बाँध भत्किएर बाढी आएको देखिन्छ।
थामेको घटनामा हिमनदीको माथिल्लो भागबाट खसेको हिमपहिरोे हिमनदी अगाडि रहेको तालमा खसेको र, त्यसपछि तलो भेगमा रहेको अर्को तालमा पानीको मात्रा बढेर र तलो तालले पानी थाम्न नसकेर निकासी हुने बाटो चौडा हुँदै बढी आएको देखिन्छ।
रसुवाको घटनामा आँखाले हेर्दाखेरि एकदमै सानो देखिने ताल छ । धेरै अध्ययनकर्ताले त्यसलाई उतिसाह्रो जोखिमयुक्त मानेका थिएनन् । त्यो ताल हिमनदीको सतहमा बनेको थियो । अघि हामीले कुरा गरेको दुई घटनासँग सम्बन्धित तालहरू पनि शुरूमा रसुवाको जस्तै साना तालहरू थिए, जो पछि ठूला भएका हुन् ।
त्यस्ता साना तालहरू ठूलो आकारमा बन्न धेरै वर्ष लाग्ने गर्छ । तर रसुवाको घटनामा ताल त्यति ठूलो बन्न नपाउँदै रित्तिएको देखिन्छ । ठूला भनिएका तालहरू मात्रै जोखिमयुक्त छैनन्, साना तालहरू पनि झनै जोखिमयुक्त छन् । यी तालहरू अलग–अलग प्रकृतिले विस्फोट भए पनि सबैको कारण भनेको जलवायु परिवर्तन नै हो।
तुलना नै गर्दा थामेमा पहिरो ल्याउने हिमतालभन्दा रसुवाको घटनासँग जोडिएको तिब्बतको हिमताल सानै हो ?
हो, बाहिरबाट हेर्दा त्यो ताल सानो देखियो । थामेको घटनामा माथि भनिएझैं हिमनदी अगाडि बनेका दुईवटा तालहरूबाट पानी निक्लिएको थियो। तर रसुवा घटनाको उद्गमबिन्दुमा हिमनदीकै सतहमा बनेको ताल हो । हेर्दा यो आफैंमा सानो छ । तर मैले अघि उल्लेख गरे जस्तै धेरै अध्ययनले हिमनदीभित्र पनि पानीका पकेट अथवा पोखरीहरू हुनसक्ने सम्भावना देखाइसकेको छ ।
स्थलगत अध्ययन नगरेसम्म त्यहाँ यो आकारको ताल थियो भन्न सक्ने आँकडा छैन । तर आँखाले हेर्दा ताल सानो देखिन्थ्यो । अनि अहिलेसम्म हामीले हेरेको स्याटेलाइट तस्वीरहरूमा भिरालो जमिनबाट केही झरेको, पहिरो आएको केही देखिंदैन ।
त्यसैले यो हिमतालको घटना आफैंमा अलिकति विशेष र धेरै मान्छेलाई पत्याउन गाह्रो पर्ने खालको छ । कतिपयले यति सानो तालले यति धेरै पानी तल ल्याउँछ त भन्ने खालको जिज्ञासा राखेका छन् । तर आँखाले हेर्दा ताल सानै हो ।
कुन आकारका हिमतालबाट जोखिम बढ्ने हो ? त्यसमा पनि हिमतालसँग हिमनदीको सम्बन्ध के हो ?
सामान्य बुझाइमा ठूला तालहरू बढी जोखिमयुक्त हुने मानिन्छ, तर पछिल्ला घटनाहरूले देखाएका छन् कि साना तालहरू पनि गम्भीर जोखिम बोक्ने सम्भावना राख्छन्।
त्यसैले तालहरूको जोखिम मूल्याङ्कन गर्दा केवल आकार मात्र होइन, अन्य विविध पक्षहरूमा समेत ध्यान दिन आवश्यक हुन्छ। तालको आकारका साथै यसको विस्तार दर, पानीको सतह वा परिमाणमा समयअनुसार हुने वृद्धि, तथा शृङ्खलाबद्ध रूपमा रहेका तालहरूको उपस्थिति।
त्यस्तै, हिमनदीको सतहमा रहेका तालहरूको गतिविधि पनि जोखिम मूल्याङ्कनका लागि विचार गर्नुपर्ने पक्ष हो। ताल वरिपरि रहेको गेग्रान ,चट्टानले बनेका बाँधमा प्रयोग भएका सामग्रीको प्रकार, बाँधको टुप्पोको चौडाइ, पर्खालको ढल्कन र मोरेनको उचाइमा हुने भिन्नता समेत विश्लेषण गरिनुपर्छ।
बाँधको लम्बाइ र वरपर हुने कटान वा पहिरो गतिविधि, पानी निकास प्रणालीको उपस्थिति वा अनुपस्थिति, र विगतमा बाँध भत्किएको वा पुनः बन्द भएको इतिहाससमेत महत्त्वपूर्ण सूचक हुन्। बाँधबाट पानी चुहिने अवस्था र बाँधभित्र बरफको गुदा वा स्थायी हिउँको उपस्थिति तथा तिनको स्थिरता पनि जोखिम निर्धारणमा प्रभाव पार्ने कारक हुन्।
यसैगरी, तालको नजिक झुन्डिएका हिमनदीहरूको अवस्था, चट्टान खस्ने सम्भावित क्षेत्रहरू, माथिल्लो भागबाट हिउँपहिरो आउने जोखिम, मूल वा सहायक हिमनदीहरू अचानक अगाडि बढ्न सक्ने अवस्था, र भूकम्पको सम्भावित जोखिमसमेत समग्र रूपमा विचार गर्नुपर्ने हुन्छ।
हिमनदी पग्लिएरै हिमतालहरू बन्ने हो। हिमनदी भनेको हिमालबाट उत्पत्ति भएका खोलाहरू हुन् भन्ने धेरैको बुझाइ छ तर त्यस्तो होइन। हिमनदी हिउँबाट बनेको यस्तो प्राकृतिक वस्तु हो, जुन आफ्नै तौलले तलतिर सर्ने गर्छ।
हिमाली क्षेत्रमा आकाशबाट १२ महिना नै हिउँ परिरहेको हुन्छ, गर्मी महिनामा पनि नपग्लेपछि हिउँहरू बरफमा परिणत हुन्छ ।
प्रत्येक वर्ष तहमाथि तह हिउँ पर्दै जाने अनि तलपट्टिको भाग बरफमा परिणत हुने क्रम चलिरहन्छ। यो प्रक्रिया अलि उचाइ भएका ठाउँमा मात्र हुन्छ जहाँ वर्षभरि नकारात्मक तापक्रम हुन्छ।
आफ्नै तौल बढ्दै गएसँगै यी हिउँ–बरफहरू गुरुत्वाकर्षण बलको कारणले बिस्तारै तलतिर सर्न थाल्छन्। त्यसरी तलतिर सरिरहेको हिउँबाट बनेको बरफको ठूलो पिण्डलाई नै हिमनदी भनिन्छ।
हिमनदीको माथिल्लो भागमा नयाँ बरफ बन्ने प्रक्रिया हुन्छ, जसलाई हामी ‘एक्युमुलेसन जोन’ भन्छौं, र तल्लो भाग जहाँ गर्मी महिनामा सकारात्मक तापक्रमका कारण हिउँ पग्लने क्रम हुन्छ, त्यसलाई ‘एब्लेशन जोन’ भनिन्छ।
हिमनदीको स्वास्थ्य अर्थात् स्थिरता यसैमा निर्भर गर्छ कि नयाँ बरफ बन्ने दर र पग्लने दरबीच के कस्तो सन्तुलन छ। नयाँ बरफ बन्ने मात्राभन्दा पग्लने दर बढी भयो भने हिमनदीको आकार सानो हुँदै जान्छ र हिमनदीमा बरफको मात्र घट्दै जान्छ।
यसरी हिमनदी पग्लिएर आएको पानी हिमनदीका सतहमै बनेका खाल्टाहरूमा जम्मा हुन थाल्छ र हिमनदीको पग्लनसँगै आकार पनि ठूला हुँदै जान्छ। यसरी हिमनदीबाट हिमतालहरू बन्ने प्रक्रिया अघि बढ्छ।
हिमनदी बग्दै जाँदा तल्लो भागमा अलिकति समथर भूभाग आउँछ । त्यस्तो ठाउँमा हिमनदीको चाल अलिकति कम हुन्छ । चाल कम भएको ठाउँमा विस्तारै हिउँ पग्लिंदा पोखरीहरू बन्न थाल्छन् । त्यस्ता पोखरीले विस्तारै भित्री भाग खोतल्दै खोल्साहरू बनाउँछ ।
पग्लेको पानी भित्रभित्रै गएर आँखाले नदेखिने खोल्साहरू बनाउने गर्छ । नेपालको उच्च भूभागमा रहेको जुनसुकै हिमनदीमा गयो भने पनि हिमनदीको मुनिबाट आएको ठूलो–ठूलो खोल्साहरू सजिलै देख्न सकिन्छ ।
इम्जा, च्छो–रोल्पा जोखिमयुक्त हिमतालका बारेमा लामो समयदेखि चर्चा हुने गरेको थियो । त्यहाँ केही सुरक्षाका उपाय पनि अपनाइएको छ । तर हामीले कल्पनै नगरेको र हेक्का नपुर्याएको ठाउँमा हिमताल विस्फोटबाट यस्ता घटना भइरहेका छन् । किन यस्तो भयो ?
मुख्य कारण भनेको तापक्रम वृद्धिसँगै हिमनदीको पग्लनमा आएको वृद्धि हो। यसले गर्दा हाम्रा हिमनदीका सतहमा तथा त्यसको वरिपरि बनेका तालहरू ठूलो हुँदै गएका छन् र नयाँ–नयाँ ताल बन्ने क्रम पनि बढ्दो छ। साथै, हिउँ पर्ने ठाउँमा पानी परेर पनि तालहरू ठूलो भएका छन्। अर्को कारण भनेको हाम्रा हिमाली भेगका जमिनहरू कमजोर हुँदै गएको हो। बरफले समाएर राखेको जमिन पग्लँदा जमिन कमजोर हुँदै गइरहेका छन्।
पहिले सामान्य ठानिएका तालहरू पनि पछि जोखिमयुक्त भइसकेका हुन्छन् । त्यसैले पनि हामीले नियमित रूपमा अध्ययन गरिरहनुपर्ने हुन्छ । कुन ताल कुन बेलामा कस्तो थियो भन्ने जानकारी नहुँदै त्यसले क्षति पुर्याउनु भनेको त्यसबारेमा पर्याप्त अध्ययन नहुनु हो ।
नेपालमा यस्ता जोखिमयुक्त तालहरूको विषयमा सरकारी अध्ययन निकै कम छ । पछिल्लो समय मौसम विज्ञान विभागले उच्च भेगहरूमा मोनिटरिङ स्टेसनहरूको संख्या बढाएको छ । तर सरकारी स्तरबाट सशक्त अध्ययन अझै हुनसकेको छैन ।
नेपालका विश्वविद्यालयहरूले हिमनदी विज्ञानमा मास्टरको कोर्सहरू पढाउँदै आएका छन् । काठमाडौं विश्वविद्यालयले हिमनदी विज्ञानमा मास्टरको कोर्स सञ्चालन गरेको एक दशक भइसकेको छ । त्रिभुवन विश्वविद्यालयमा पनि हिमनदीका विषयहरू पढाइ भएका छन् । तर उचित स्रोत–साधनको अभावमा हामीले गर्ने अध्ययन एकदमै छोटो र अपर्याप्त छ ।
वर्षायाममा सधैं बाढीपहिरो गएको हुन्छ । तर हिउँताल विस्फोट साह्रै विध्वंसक र जोखिमपूर्ण किन हुन्छ ?
धेरैजसो हिउँतालहरू उचाइमा छन् । बस्तीहरू त्योभन्दा तल हुन्छन् । हिउँताल र बस्ती रहेको ठाउँको उचाइको फरक निकै बढी हुने भएकाले हिमनदीबाट आउने खोलाहरूमा एकदमै ठूलो शक्ति हुन्छ । रसुवामा नेपाल र चीन सीमामा रहेको मितेरी पुलको करिब ५० किलोमिटर माथि घटना भएको हुनसक्ने अनुमान छ ।
हिउँताल फुटेपछि झर्ने बाढीले वरिपरि भएका ढुङ्गा–माटोहरू पनि सोहोर्दै लैजान्छ । हिमाली क्षेत्रमा खोलाको भिरालोपन ज्यादा धेरै हुने भएकाले ठूलो शक्तिका साथ तल्लो भागमा प्रहार गर्छ । अनि एकसाथै सबै पानी ह्वाल्ल निस्कने भएकाले त्यसले गर्ने विध्वंसक शक्ति पनि ठूलो हुन्छ ।
अहिले रसुवा र पोहोर थामे पहिरोको घटना हुँदा त्यो क्षेत्रमा भारी पानी परेको थिएन । पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा पानी पर्ने क्रम बढ्न थालेको भन्ने गरिन्छ । भोलि त्यस्ता झरीहरूले त हिमताल विस्फोटको जोखिमलाई बढाउँदैनन् र ?
केही वर्षयता हिउँ पर्ने ठाउँहरूमा अचेल झरी पर्न थालेको देखिन्छ । वर्षभरि जमेर रहने हिमतालहरू पग्लिएर ठूलो आकारमा बढ्न सक्छन् । त्यहाँको पानीले भित्री भाग खोतल्न सक्छ । त्यसमाथि झरीको पानीले हिउँ र बरफ पगालेपछि हिमताललाई फराकिलो बनाउँछ ।
नेपाल भूकम्पीय जोखिमको मुलुक हो । २०७२ सालको भूकम्पपछि कैयौं पटक परकम्प गएको सबैलाई थाहा छ । भूकम्प र परकम्पले यस्ता ताल फुट्ने जोखिमलाई अझै बढाएका छन् । अर्कोतर्फ हिमतालमा माथिल्लो ठाउँबाट पहिरो आएर पानी छचल्किंदा पनि विस्फोटको जोखिम बढ्छ ।
हामीकहाँ हिमाली क्षेत्रमा हिउँ वा बरफले जमेको ठूलो ढिक्का खस्ने क्रम (प्रमाफ्रस्ट) बढेको छ । हिउँ र गेगर जमेर रहँदा स्थिर हुन्छन् । तर तापमान वृद्धिले हिउँ पग्लिन थालेपछि त्यहाँ जमेर रहेको ढिस्को नै खस्न थाल्छ ।
ठूला हिमतालहरूमा माथिल्लो भागबाट प्रमाफ्रस्ट हुने जोखिम छ । भूकम्पले ती ठाउँमा हलचल ल्याएर कमजोर बनाउन सक्छन् । प्रकोपकै बेलामा हिमताल विस्फोटले अर्को प्रकोप निम्त्याएमा के अवस्था होला !
नेपालमा उच्च पहाडी क्षेत्रमा रारा, शे–फोक्सुण्डोदेखि मध्यपहाडमा फेवाताल लगायत अनेक ताल र पोखरी छन् । यी ठाउँमा जमिनले वर्षौंदेखि ठूलो मात्रामा पानी थेगेका छन् । तर हिमताल भएका कैयौं ठाउँमा भने पानी अडिन नसक्ने, विस्फोट भइहाल्ने रहेछ, किन होला ?
हिमतालहरू अरू तालभन्दा धेरै फरक हुन्छन् । अघि उल्लेख गर्नुभएका ताल वरपरको जमिन प्रायः स्थिर हुन्छ । त्यो ठाउँको जमिनमा ढुंगा र माटो वर्षौंदेखि कसिएर जमेर रहेको हुन्छ । तर हिमतालको जमिनको भित्री भागमा बरफहरू हुन्छन् । ढुङ्गा, माटो र बरफ जमेर एकै ठाउँमा ढिक्का भएर बसेको हुन्छ । जब गर्मीयाम वा तापक्रम बढेसँगै बरफ पग्लिन थाल्छ, बरमले जमाएको जमिन पनि कमजोर हुँदै जान्छ ।
हिमनदीको सतहमा बनेको तालको वरपर अलिअलि ढुङ्गा, माटो र हिउँ अथवा बरफ हुने गर्छ । ताललाई वरिपरि घेरेर राखेको बरफ नै पग्लिइसकेपछि त्यो भाग एकदम कमजोर बन्छ, जसले हिउँतालहरू विस्फोट हुने जोखिम निकै बढी हुन्छ । त्यसैले अरू सामान्य तालहरूको तुलनामा हिमतालको जमिन स्थिर र बलियो हुँदैन ।
त्यसैगरी, हिमताल भएको भू-भागमा हिउँपहिरो आउन सक्ने जोखिम पनि उच्च हुन्छ। सामान्यतया यस्ता क्षेत्रमा जमेको जमिन वा हिमोट हुन्छ, जसलाई अंग्रेजीमा प्रमाफ्रस्ट भनिन्छ। यसले जमिनलाई स्थिर राख्ने काम गर्छ। तर पछिल्ला अध्ययनहरूले देखाएका छन् कि यस्ता पर्माफ्रोस्ट क्षेत्रहरू अहिलेको तापक्रम वृद्धिका कारण क्रमशः विघटन हुँदै गइरहेका छन्। यसको परिणामस्वरूप, पर्वतीय भिरालो जमिनहरू अस्थिर बन्दै गइरहेका छन्।
यदि यस्ता अस्थिर, भिरालो भूभागहरूबाट पहिरो गएर हिमतालमा खस्न पुग्दा, हिमताल फुट्ने खतरा अत्यधिक हुन्छ। त्यसैले, सामान्य तालहरूको तुलनामा हिमतालको जमिन स्थिर र बलियो हुँदैन र यसको जोखिम धेरै उच्च हुन्छ।
च्छो–रोल्पा, इम्जा जस्ता हिमतालहरूमा जोखिम न्यूनीकरणको लागि साइफन राखिएको छ । कतिपयमा माटो खोस्रेर पानी फाल्ने र सतह घटाउने विधि अपनाएर जोखिम टार्न खोजेको देखिन्छ । उच्च हिमाली भेगमा रहेका अरू हिमतालहरूमा यस्तै तरिकाले जोखिम घटाउने उपाय गर्नु कत्तिको सम्भव हुन्छ ?
उच्च हिमाली भेगमा भू-बनोट र मौसमका कारण साइफन राखेर वा माटो खोस्रेर, वा सुरुङ्गा बनाएर पानी फाल्ने काम त्यति सजिलो छैन। त्यहाँ प्रायः यातायातको सुविधा छैन। धेरैजसो स्थानमा पैदलै जानुपर्छ वा हेलिकोप्टरको प्रयोग गर्नुपर्छ। त्यसैले यस्ता प्रविधिहरू निकै खर्चिलो हुने गर्छन्। तर जोखिम बोकेका तालहरूको पानी घटाउने विकल्प पनि छैन भने सबै तालहरूको पानी घटाउनु सम्भव पनि छैन।
अर्को महत्वपूर्ण पक्ष भनेको कति पानी घटाउने भन्ने हो। विगतमा च्छो–रोल्पा र इम्जामा यस्तै उपाय गरेर लगभग ३ मिटरको हाराहारीमा पानीको सतह घटाइएको थियो । तर पछिल्ला अध्ययनहरूले ती तालहरू जोखिममुक्त भइसकेका छैनन् भन्ने देखाएको छ । यस्ता हिमतालहरूबाट कतिपय ठाउँमा बिजुली निकाल्ने काम पनि भएको छ तर, त्यसका लागि निकै सावधानी अपनाउनु पर्ने देखिन्छ।
तालको सतह घटाएर मात्रै समाधान हुन्छ भन्ने सोच अब त्यति सान्दर्भिक नहोला । अथवा तीन मिटर सतह घटाइएको भए पनि त्यो पर्याप्त थिएन कि भन्ने प्रश्नहरू आजकल आइरहेका छन् । सतह घटाएको ताल नै बारम्बार खतराको सूचीमा पर्ने भइसकेपछि स्थानीय बासिन्दाहरू ढुक्क हुन नसक्ने अवस्था देखियो ।
अर्कोतर्फ हिमताल सतह घटाउने काम एक त खर्चिलो छ, अर्को दातृ निकायको सहयोगमा मात्रै त्यो काम अघि बढिरहेको छ । आगामी दिनमा सरकार आफैंले यो काम अघि बढाउन सक्छ कि सक्दैन !
सडकको सुविधा नपुगेको र भौगोलिक रूपमा कठिन ठाउँमा उपकरणहरू लगेर तालको सतह घटाउने काम निकै अप्ठेरो पनि हो । त्यति दुःख गरेर ताल घटाएपछि पनि सुरक्षित हुन्छ भनेर ढुक्क पर्न सक्ने अवस्था छैन ।
हिमताल विस्फोटको असर र प्रभाव कति तलसम्म पुग्न सक्छ ? के कस्ता आधारले असरको फैलावट यकिन गर्न सकिन्छ ?
सन् २०२३ मा सिक्किममा आएको साउथ ल्होनाक हिमताल विस्फोटपछि उत्पन्न बाढीले करिब २०० देखि ३८५ किलोमिटर तलसम्म क्षति पुर्याएको अध्ययनहरूले देखाएका छन्। यसले देखाउँछ कि हिमताल विस्फोटबाट उत्पन्न बाढीले धेरै तलसम्म असर पार्न सक्छ।
कति तलसम्म असर पर्न सक्छ भन्ने कुरा बुझ्न गणितीय मोडेलहरूको प्रयोग गरी विभिन्न परिदृश्यहरू निकाल्न सकिन्छ। यस्ता मोडेल बनाउन र प्रयोग गर्नका लागि हामीसँग हिमतालमा जम्मा भएको पानीको मात्रा, हिमताल वरिपरिको भू-बनोट र जमिनको अवस्थाको विवरण, हिमताल पग्लिने दर, पानी थपिने दर,उपरी भागबाट आउने पहिरो, वर्षा आदिबाट र खोलाको लम्बाइ, चौडाइ, गहिराइ लगायतका माथि उल्लेख गरिएका हिमतालको जोखिम निर्धारणमा प्रयोग भएका सबै डाटा आवश्यक पर्छ। भविष्यमा यस्तो गणितीय मोडेलिङ विधिलाई हिमालबाट उत्पन्न हुने सबै जलाधार क्षेत्रहरूमा प्रयोग गरेर जोखिम रहेका क्षेत्रहरू पहिचान गर्न आवश्यक छ।
अर्को महत्वपूर्ण कुरा के हो भने, खोलाको किनाराबाट हाम्रो संरचना कति टाढा छ भन्ने जानकारी पनि निकै महत्त्वपूर्ण हुन्छ। सरकारले जोखिमयुक्त जलाधार क्षेत्रहरूमा खोलाको किनाराबाट कति दूरीमा बस्दा सुरक्षित हुन्छ भनेर वैज्ञानिक रूपमा पत्ता लगाई ती क्षेत्रमा बसोबास हटाउने, क्षति न्यूनीकरण गर्ने उपायहरू अवलम्बन गर्ने, वा नयाँ संरचना निर्माणमा रोक लगाउने नीति आवश्यक देखिन्छ। यदि संरचना निर्माण गर्नु नै परेमा, अस्थायी प्रकृतिका संरचना बनाउनु पर्छ, जसले सम्भावित जनधनको क्षति कम गर्न सकोस्।
जोखिममा भएका बस्तीहरू तत्काल त्यहाँबाट सारिहाल्न व्यावहारिक रूपमा सम्भव हुँदैन । बासिन्दाहरूलाई उचित र वैकल्पिक बसोबासको व्यवस्था हुनुपर्छ । उच्च हिमाली भेगमा पर्यटकहरूका लागि साना होटल र अरू पूर्वाधारहरू खोलिएको छ । त्यसबाटै नियमित आर्जन गरेका उनीहरू अन्यत्र जान रुचाउँदैनन् ।
नेपाललाई क्षति पुर्याउने कैयौं हिमताल चीनको तिब्बती क्षेत्रमा रहेछन् । जहाँ बस्ती नभएकाले उनीहरूलाई खासै चासो नभए जस्तो देखिन्छ । यस्तोमा नेपालले कसरी अन्तरदेशीय सूचना प्रणाली स्थापित गर्न सक्छ ?
इसिमोडले उल्लेख गरेको ४७ वटा खतरायुक्त हिमताल मध्ये २५ वटा तिब्बतमा छन् । ती ठाउँमा बस्तीहरू नभएकोले उनीहरूले खासै अध्ययन गरेको देखिंदैन । साथै, भिरालो जमिन, भौगोलिक बनावट र पहुँचको अभावका कारण चिनियाँहरूका लागि पनि कतिपय ठाउँमा फिल्ड अध्ययन सम्भव छैन। अध्ययन नभएकाले कुन ताल कुन अवस्थामा छ भन्ने थाहा हुँदैन ।
तर उपग्रहबाट यी ठाउँहरूको निगरानी भने पक्कै राख्न सकिन्छ । उनीहरूसँग आफ्नै उपग्रहहरू पनि छन्, जसले साना–साना परिवर्तनहरू समेत पत्ता लगाउन सक्ने क्षमता राख्छन्।
यस्तो अवस्थामा दुई देशबीचको अन्तरदेशीय समन्वय अत्यन्तै महत्वपूर्ण हुन्छ। नेपाल सरकारले चिनियाँ सरकारलाई पहल गरी अन्तरदेशीय सूचना प्रणालीलाई चुस्त-दुरुस्त बनाउनुपर्ने हुन्छस यसको विकल्प छैन।
अध्ययन र अरू समन्वयका लागि नेपाल सरकारले चीनलाई विस्तृत अध्ययन र नियमित रुपमा अद्यावधिक विवरणको लागि आग्रह गर्नुपर्छ । यस्तो परिस्थितिमा दुईदेशीय सूचना आदानप्रदान महत्वपूर्ण हुने भएकाले कूटनीतिक स्तरमा पनि समाधानका प्रयास थालिनुपर्छ ।
अन्तरदेशीय समन्वयलाई अन्य क्षेत्रहरूबाट पनि अन्वेषण गर्न सकिन्छ। दुई देशका विश्वविद्यालयहरूले समन्वय गरी संयुक्त अध्ययन अनुसन्धान अघि बढाउन सक्नेछन्। दुवै क्षेत्रका काम गर्ने अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरू मार्फत पनि सहकार्य बढाउन सकिन्छ।
कतिपय कामहरू स्थानीय स्तरबाट गर्न सकिने खालका छन् । पूर्वसूचना प्रणालीहरू जडान गर्ने, खोला नजिक भएका बस्तीहरूमा तालिमहरू दिने, मान्छेलाई सतर्क गराउने काम स्थानीय तहबाट पनि हुनसक्छ ।
अति जोखिमयुक्त तालहरूमा पानी घटाउने बाहेक अरू खासै उपाय नहोला । ठूलो र खर्चिलो काम भएकाले पानीको सतह घटाउन संघीय सरकार नै अग्रसर हुनुपर्छ । बरु अन्तर्राष्ट्रिय समुदायलाई गुहारेर भए पनि एकदमै जोखिमयुक्त तालहरू घटाउनुपर्ने देखिन्छ ।
नेपालमा ग्लोबल क्लाइमेट फण्डको केही रकम आएको छ । यसरी हिमाली क्षेत्रको हिउँ पग्लिनुमा हामी जस्ता साना मुलुकको भूमिका निकै कम छ । ठूला र विकसित मुलुकहरूले गरिरहेको गल्तीको असर हामीले भोगिरहेका छौं । नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो मुद्दा उठाएर क्षतिपूर्तिको दाबी गर्नुपर्छ ।
जोखिमयुक्त हिमताल तल र भिरालो जमीन भएको नदी करिडोरमा शृङ्खलाबद्ध रूपमा जलविद्युत् आयोजनाहरू बनेका रहेछन् । यस्ता प्रकोपले त यिनीहरूलाई लहरै क्षति पुर्याउने अवस्था पनि उत्तिकै रहेछ, हैन ?
वर्षभरि पानीको ठूलो मात्रा उपलब्ध हुने भएकाले धेरैजसो जलविद्युत् आयोजनाहरू हिमनदीबाट उत्पत्ति हुने खोलामै निर्माण भएका छन्। विशेषगरी सुख्खा याममा हिउँ–हिमनदी पग्लिएर यस्ता खोलाहरूमा उपयोगी मात्रामा पानी आउने भएकाले, यि खोलाहरूमा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट वर्षभरी विद्युत् उत्पादन गर्न सकिन्छ।
भिरालो ठाउँमा सहजै र सस्तोमा बढी विद्युत् उत्पादन गर्न सकिने भएकाले उच्च क्षेत्रहरूमा जलविद्युत् आयोजना खोल्ने चलन बढेको छ । तुलनात्मक रूपमा कम लागतमा बढी विद्युत् उत्पादन सम्भव हुन्छ। यही कारणले उच्च हिमाली क्षेत्रहरूमा जलविद्युत् आयोजना खोल्ने प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ।
तर सम्भाव्यता अध्ययनदेखि डिजाइन अनि प्रभाव मूल्यांकन गर्दा हिमनदी, हिमतालबाट हुने जोखिमहरूलाई ध्यान नदिएको देखिन्छ । हिमनदी, हिमतालबाट हुनसक्ने जोखिमको आकलन अनि लागत र प्रतिफलको समेत अध्ययन गरेर आर्थिक रूपमा भार नपर्ने त्यस्तो खालका संरचनाहरू बनाएर जोखिम कम गर्न सकिन्छ । नत्र हाम्रा धेरैजसो ठूला संरचनाहरू, त्यसमा पनि जलविद्युत् आयोजनाहरू जोखिमको खतरामा नै छन् ।
सन् १९८५ मा सोलुखुम्बुमा आएको डिज–छो हिमताल विस्फोटले नाम्चे जलविद्युत् आयोजना बगाएको घटना यसको एक स्पष्ट उदाहरण हो। अरू पनि यस्ता उदाहरण थुप्रै छन्।
यस्ता हिमनदीबाट उत्पत्ति भएका नदीहरूमा हिमताल विस्फोटको जोखिम उच्च हुने नै भयो । तर हाम्रो जलविद्युत् आयोजनाहरूको सम्भाव्यता अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनमा यस्ता उच्च हिमाली क्षेत्रबाट हुन सक्ने जोखिमहरू समावेश गरिएको पाइँदैन।
फलस्वरूप, हिमताल फुटेर अचानक आउने लेदो, गेग्रान र चट्टानसहितको बाढीले जलविद्युत् आयोजना बगाउने, संरचना नष्ट गर्ने , मानिसको ज्यान जाने जस्ता गम्भीर घटनाहरू हुनसक्छन्। करोडौंको लगानीमा बनेका संरचनाहरू केही घण्टामै पूर्ण रूपमा ध्वस्त हुन सक्छन्।
हिमताल, हिमनदीहरूको अध्ययन गरेर त्यहाँबाट कत्तिको खतरा ? जलविद्युत् आयोजनालाई कसरी जोगाउन सकिन्छ भन्ने सोच्नुपर्यो । त्यस्ता कुराहरूमा अब बेलैमा सोच्नु एकदमै आवश्यक देखिन्छ ।
प्रतिक्रिया 4