+
+
Shares
४३औं ‌बीपी स्मृति दिवस :

तैपनि बीपीले जनमतसंग्रहको परिणाम स्वीकारे

बीपीको दृष्टिकोणमा मार्क्सवादको कठोरता होइन, गान्धीवादी करुणा र फेबियन समाजवादको व्यावहारिकता समावेश भएको देखिन्छ।

वृषेशचन्द्र लाल वृषेशचन्द्र लाल
२०८२ साउन ६ गते ७:४१

२०३९ साल साउन ६ गते ! बीपी कोइरालाको निधन नेपालको राजनीतिक वृत्तमा एउटा स्तब्धकारी घटना थियो। बीपीको विचार र नेपाली कांग्रेसको झण्डाका निम्ति ज्यान फाल्न तयार म जस्ता हजारौं युवा र खारिएका चेतनशील वयस्कहरू अर्थात् लोकतन्त्रवादीहरूको निमित्त उहाँको अन्तिम प्रस्थान एक सन्नाटाको स्थिति नै थियो। राजनीतिसँगै अन्य क्षेत्रसँग सम्बन्धित अधिकांश व्यक्तित्व, शक्ति वा संगठनहरू पनि उहाँको चिरयात्राको खबर सुनेर शून्यताको अनुभूति गरिरहेका थिए। एकतन्त्रवादको शिखरबिन्दु समेत स्थिर रहन सकेको थिएन। जेसुकै शब्द प्रयोग गरिएको भए पनि पहिलो पटक स्वचालित रूपमा आम जनताको महान् सन्तानको देहावसानमा शोक र दुःख प्रकट गरिए। बीपीको संघर्ष र विचारनिष्ठाको अगाडि त्यो उनको नतमस्तकता नै थियो। लोकतन्त्रको निम्ति अटुट संघर्ष गर्दै गर्दा बीपीले जनताको लोकतान्त्रिक अधिकारको शीर्ष वैरीलाई समेत यति गहिरोसँग प्रभावित गरिसक्नुभएको थियो। उहाँ महाप्रस्थानको अन्तिम तयारीमा हुनुहुन्छ भन्ने कुरा सबैलाई थाहा थियो र सबै सम्भाव्य स्थितिको सामना गर्न तयार पनि थिए। तैपनि, बीपीको अनन्तयात्रा गमनले चारैतिर खालीपनको लहर फैलाएको थियो— निस्तब्धता छाएको थियो। उहाँलाई चिनेका दुनियाँभरका मानिसहरूको हृदयमा समेत यस्तै पीडा थियो। मलाई लाग्छ, यही नै उहाँको जीवनको इमानदार मूल्याङ्कन हो— र यही सच्चा श्रद्धाञ्जली पनि।

बीपीको सम्पूर्ण जीवन उनको आस्था र विचार-यात्रासँगै गतिमान संघर्षको जीवन-यात्रा हो। अरूले जस्तै उहाँको विचार-यात्रा कुनै व्यक्ति वा कुनै वाद/पथ आधारित बाटोमा टाँसिएर रहेको थिएन। बीपीको सतत: विचार-यात्राको एक मात्र ध्येय थियो जनताको निमित्त लोकतान्त्रिक अधिकार र व्यावहारिक समाजवादबाट प्रेरित लोककल्याणकारी राज्यको सुनिश्चितता। यस सुनिश्चितताको निमित्त उहाँ लोकतान्त्रिक संस्था र त्यस अनुरूपका प्रक्रियाहरूको वाञ्छनीय विकास चाहनुहुन्थ्यो।

२०३६ सालको जनमतसंग्रहकै कुरा गरौं। जनमतसंग्रहको घोषणा नेपालको राजनीतिक घटनाक्रमको सन्दर्भमा एउटा बडो महत्वपूर्ण निर्णायक मोड थियो- खासगरी बीपीकै संघर्षपूर्ण जीवनको सन्दर्भमा पनि। २०३६, जेठ १० गतेको घोषणापछि टुँडिखेलमा आयोजित आमसभाको जनउपस्थितिले नै जनआकांक्षा र उनीप्रति जनताको सम्मानको स्पष्टता छर्लङ्गिएको थियो। तर, त्यसको विपरित एक वर्षपछि जालझेल र छलकपटले आएको व्याख्यारहित परिणामलाई उनले सहजताका साथ लोकतान्त्रिक प्रक्रियाको इज्जतको खातिर स्वीकार गरे।

बीपी विचारलाई कुनै ‘वाद’ रूपी बाकसमा बन्द हैन, समय–सापेक्ष र व्यावहारिक विकासको निरन्तरतामा विश्वास गर्नुहुन्थ्यो।

जनमतसंग्रहको घोषणा हुँदा जनताको अधिकार र लोकतन्त्रको स्थापनार्थ बीपी कोइरालाद्वारा अँगालिएको राष्ट्रिय मेलमिलापको नीतिको प्रयोग उपलब्धिको आशलाग्दो कोपिला झैं देखिएर आएको थियो तर परिणाम भने २०१७ साल पुस १ गतेको देशप्रति भएको जघन्य अपराधकै निरन्तरता साबित भयो। पहिले नै दुई दशक उल्टो चलेको देश फेरि एक दशक पछाडि फर्क्यो। शायद, बीपी कोइरालाको जीवनमा त्यो सर्वाधिक तिक्त अनुभूतिको क्षण थियो होला, तर उहाँले लोकतान्त्रिक प्रक्रियाको नाममा र यो भन्दै कि शक्तिको निर्णायक स्रोत र सार्वभौमिकता जनतामा निहित छ भन्ने सत्य स्थापित हुन प्रारम्भ भएको छ, त्यस परिणामलाई स्वीकार गर्नुभयो।

विश्वेश्वरप्रसाद कोइरालाले लोकतन्त्र प्राप्तिका लागि आफ्नो सम्पूर्ण सीप र क्षमताको प्रयोग गर्नुभयो। जीवनभर संघर्ष गर्नुभयो। तर, कतै कुनै अवसरसँग तौलेर आफ्नो मान्यतासँग सम्झौता कहिल्यै गर्नुभएन। सतीको श्रापको सम्झना गराउँदै ल्याइएको जनमतसंग्रहको त्यो परिणामको बेला बीपी कोइराला आफ्नो जीवनको उत्तरार्धमा हुनुहुन्थ्यो। त्यस परिणामले निश्चय नै उहाँलाई नराम्रोसँग घोचेको थियो होला र शायद अन्तिम क्षणसम्म मनमस्तिष्कमा लट्किरह्यो, तर पनि उहाँ आफ्नो ध्येयबाट टाढिन भने तयार हुनुभएन। लोकतान्त्रिक अधिकारको प्राप्तिको संघर्षमा बिगुलचीको भूमिका गरिरहनुभयो। लडाईं जारी राख्नुभयो। आफूपछिको अवस्थाको निमित्त निर्देश सार्वजनिक गर्नुभयो। देशको माटो र जनताको महत्व सम्झाउनुभयो। देशमै अन्तिम सास लिने चाहना राखे र देहावसान पछिको स्थितिमा समेत आफ्नो भौतिकवादी मान्यताकै आधारमा व्यवहृत हुन निर्देशित गरे। अचेलका राजनेता भनिनेहरूमा झैं यो ऊ गरें, वाद जन्माएँ, पथ कोरें भन्ने महानता दर्शाउँदै हिंड्ने लालसाको लेस पनि उहाँमा देखिएन।

बीपी बारेमा विशेष दक्खल राख्ने स्व. प्रदीप गिरि भन्नुहुन्थ्यो, “चाहेको भए बीपीले आफ्नो ‘वाद’ खडा गर्ने कोशिश गर्न सक्नुहुन्थ्यो। लामो जेल बसाइमा समय पनि पर्याप्त थियो। यति उत्कृष्ट कथा, उपन्यास आदिका रचयिता तथा समाजवाद र राजनीतिक विचारधाराको क्षेत्रमा उच्च सम्मान प्राप्त गरेका व्यक्तिले त्यसो गर्न नसक्ने कुरा थिएन। तर, त्यस्तो प्रयास उहाँले कहिल्यै गर्नुभएन। किन…?!” प्रश्न गम्भीर मात्र होइन— यही प्रश्नले बीपीको महानता पनि उजागर गर्छ। उहाँ विचारलाई कुनै ‘वाद’ रूपी बाकसमा बन्द हैन, समय–सापेक्ष र व्यावहारिक विकासको निरन्तरतामा विश्वास गर्नुहुन्थ्यो।

विश्वेश्वरप्रसाद कोइरालाको समाजवादको कुरा गर्दा किसानको फोटो राखेर योजना बनाउने, नेपालको एक नागरिकले आफ्ना सन्तानलाई शिक्षा प्रदान गर्न सक्ने, दुहुनो गाईको दूध उपभोग गर्न सक्ने जस्ता कुराहरूको उल्लेख गरिन्छ। यी सबै प्रतीकात्मक थिए— त्यतिबेलाको नेपालमा तत्कालीन आवश्यकतालाई उजागर गर्ने उहाँको चाहनाको प्रतिबिम्ब। आजको आवश्यकता भनेको ती प्रतीकहरूको विस्तारित व्याख्या गर्नु हो। किसानको फोटो, वास्तवमा समाजवादको मूल आत्मा उत्पादनका साधनमा जनताको पहुँचप्रतिको संकेत हो। यसले भूमिसुधार, उत्पादनमा जनस्वामित्व र श्रमको सम्मानप्रति उहाँको समर्पण र अठोटलाई झल्काउँछ। त्यस्तै,  दुहुनो गाईको सन्दर्भ नेपालको ग्रामीण अर्थतन्त्रमा आर्थिक आत्मनिर्भरता, दैनिक जीवनको आधार र सामाजिक मूल्यको आवश्यकता दर्शाउने दृष्टिचित्र हो।

लोकतान्त्रिक समाजवादबारे बीपीको सरल व्याख्या थियो- ‘साम्यवादमा प्रजातन्त्र थपिदिए समाजवाद हुन्छ। समाजवादबाट लोकतन्त्र झिकिदिए साम्यवाद।’

बीपीले समाजवादलाई नेपालको माटो अनुसार व्याख्या गर्दा यस्ता स्थानीय प्रतीकहरूको प्रयोग गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, रोजगार लगायत सबै क्षेत्रमा समान अवसरको वकालत गर्नुभयो जसले समाजवादको मूल स्तम्भलाई उजागर गर्दछ। शिक्षा सबैका लागि उपलब्ध हुनुपर्छ भन्ने विचार उहाँको समाजवादी दर्शनको केन्द्रमा रहेको थियो। बीपीको समाजवादको गहिरो मर्म वास्तविक लोकतान्त्रिक समाजवादको आत्मा हो। उहाँले यसलाई व्यक्तिगत स्वतन्त्रता र सामाजिक न्यायको समन्वयका रूपमा प्रस्तुत गर्नुभयो। उहाँको दृष्टिकोणमा मार्क्सवादको कठोरता होइन, गान्धीवादी करुणा र फेबियन समाजवादको व्यावहारिकता समावेश भएको देखिन्छ। उत्पादन र वितरणको न्यायको सम्बन्धमा उहाँको धारणा एक–एक चम्चा दूध बाँड्नु समाजवाद होइन भन्ने भनाइले स्पष्ट गर्दछ। बढी उत्पादन र न्यायोचित वितरणको आवश्यकता उहाँको समाजवादी व्याख्याको मूल सूत्र थियो। भूमिहीन किसानलाई जग्गा उपलब्ध गराउने, साहु–जमिनदारको शोषण अन्त्य गर्ने र ग्रामीण अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने कार्यहरू उहाँका समाजवादी प्राथमिकता थिए।

लोकतन्त्र बीपी कोइरालाको विचारको प्राण थियो। लोकतन्त्रलाई उहाँले जीवनशैली र चेतनाको अभ्यासका रूपमा आत्मसात् गर्नुभएको थियो

बीपी पश्चिमी उपभोक्तावादका आलोचक हुनुहुन्थ्यो र आत्मनिर्भरता तथा सादा जीवनशैलीका पक्षपाती। उहाँले मध्यमस्तरको प्रविधि, स्थानीय उत्पादन र सादा जीवनशैलीलाई आफ्ना अभिव्यक्तिहरूमा विशेष स्थान दिनुभएको थियो। नेपालको स्थितिजन्य क्षमता र भूराजनैतिक अवस्थालाई ध्यानमा राखेर उहाँको विकास–मोडेल ‘सानो नै सुन्दर’ भन्ने अवधारणामा आधारित थियो किनभने नेपालको सन्दर्भमा यही सर्वोत्तम र सुसंगत बाटो हो। यसको आधार भनेको सामान्य उद्यम, नागरिक सहभागिता र श्रम हो। यस्तो विकास प्रकृतिले मानव गरिमाको सम्मान गर्दै साना तथा स्थानीय उत्पादन प्रणाली निर्माण गरी समुदायलाई सशक्त बनाउँछ र अर्थतन्त्रको पुनर्संरचना गर्दै दिगो विकासको लागि आधार तयार गर्छ। ब्रिटिश अर्थशास्त्री शुमेकरले सन् १९७३ (२०३० साल) मा यस्तै अवधारणालाई व्याख्या गर्दै विश्वसामु प्रस्तुत गरेका थिए। बीपी उहाँको पुस्तक Small Is Beautiful: Economics as if People Mattered (सानो नै सुन्दर छ: अर्थशास्त्र मानौं मानिसहरूको महत्व छ) का ठूला प्रशंसक थिए र पढ्न सिफारिस गर्थे किनभने सो पुस्तक उहाँलाई आफ्नो अन्तर्मनको यथार्थ चित्रण र शास्त्रीय प्रस्तुति जस्तै लाग्थ्यो। यदि विश्वेश्वरप्रसाद कोइरालाका अनुयायीहरूले यी मूल्यहरूलाई सही अर्थमा आत्मसात् गरी वर्तमान परिप्रेक्ष्यमा प्रस्तुत गर्न सके, निश्चय नै नेपालको कायाकल्प सम्भव छ।

लोकतन्त्र बीपी कोइरालाको विचारको प्राण थियो। लोकतन्त्रलाई उहाँले जीवनशैली र चेतनाको अभ्यासका रूपमा आत्मसात् गर्नुभएको थियो। अनियन्त्रित उपभोगवादलाई अनैतिक मान्ने तथा पूँजीवाद र साम्यवाद दुवैको अन्धानुकरणका घोर विपक्षी बीपी कोइरालाको स्पष्ट धारणा थियो— “मान्छे रोटीले मात्र बाँच्दैन।” लोकतन्त्र अर्थात् राजनीतिक अधिकारको सुनिश्चितताले जनतालाई विचारको स्वतन्त्रता दिन्छ र समाजवादले सामाजिक सुरक्षा। त्यसैले मानिसलाई बाँच्न दुवै आवश्यक हुन्छ। लोकतन्त्र र समाजवादको समन्वयले मात्र यी दुवैको ग्यारेन्टी दिन सक्छ। लोकतान्त्रिक समाजवादको उहाँको सहज र सरल व्याख्या यस्तो थियो —“साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ। समाजवादबाट लोकतन्त्र झिकिदियो भने साम्यवाद रहन्छ। स्वतन्त्रता र समानता एकसाथ अघि बढ्छन्।” नेपालको राजनीतिक प्रणालीबारे आजको सन्दर्भमा यही मार्गचित्र दिशानिर्देश बन्न सक्छ।

निष्ठाको खडेरीको वर्तमान अवस्थामा, अरूले सोचून् वा नसोचून्, बीपीका अनुयायी भनिनेहरूले अवश्य पनि सोच्ने विषय हो कि विचारप्रति उहाँको निष्ठा सदैव अटुट रह्यो। उहाँको जीवनका हरेक गतिविधि ती निष्ठाहरूका प्रतिबिम्ब थिए। यहाँ उल्लेख गर्नुपर्ने एउटा सत्य यो पनि हो कि लोकतान्त्रिक कित्तामा होऊन् वा वामपन्थी कित्तामा— गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल, मनमोहन अधिकारी जस्ता उहाँका समकालीन सबै दौंतरीहरू निष्ठाप्रति समर्पित राजनीतिज्ञ थिए। आज भने यी दुवै कित्तामा नै निष्ठाको दुर्भिक्ष देखिन्छ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रद्वारा सैन्य बल प्रयोग गरी लागू गरिएको सर्वसत्तावादी एकतन्त्रवाद आधुनिक नेपालको इतिहासमा देशमाथिको केवल सबभन्दा घातक प्रहार मात्र थिएन— जनतासँग गरिएको सबभन्दा जघन्य अपराध पनि थियो। यस अपराधले विचार, निष्ठा र त्यस अनुरूप कर्मको नेतृत्वदायी जीवनलाई नेस्तनाबूद गर्ने सबै प्रयास गर्‍यो। यदि त्यसो नभएको भए नेपालको आजको स्वरूप निश्चय नै सुखद् हुन्थ्यो।

हामी—बीपीका अनुयायी कहलिनेहरूले उहाँका विचारहरूबाट समय–सापेक्ष निर्देश ग्रहण नगरी, त्यसै विचार, निष्ठा र कर्मसँग स्वार्थका लागि अथवा क्षणिक सन्तुष्टिको निमित्त सम्झौता गर्दै गइरहेका छौं भने महेन्द्रको त्यो जघन्यताको सिनो बोकिरहेका मात्र होइनौं, आफ्नै भावनात्मक, बौद्धिक र नैतिक सत्यलाई अस्वीकार गर्दै आत्मवञ्चित पनि भइरहेका छौं।

(लाल, तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष तथा राष्ट्रिय सभाका पूर्वसदस्य हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?