+
+
Shares
मन्तव्य :

कांग्रेसलाई कांग्रेसभित्रैबाट ज्यादा खतरा छ

जनअधिकारलाई अग्रभागमा राख्ने बीपीको पार्टी आज सत्ताका लागि कामातुर देखिन्छ । सत्ताबाट छुट्ने भयातुरले आक्रान्त र विक्षिप्त देखिन्छ । सत्ताभन्दा पर यसको कुनै सपना पनि छैन, जपना पनि छैन।

शंकर तिवारी शंकर तिवारी
२०८२ साउन ६ गते २२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको शीर्ष नेतृत्व बीपी कोइरालाको स्मृतिमा अस्मृति, अपस्मृति र स्मृतिभ्रंशको दलदलमा रहेको छ।
  • बीपी कोइरालाले २०३६ सालमा राजा वीरेन्द्रलाई जनमतसंग्रहको क्रममा खुला चुनौती दिनुभएको थियो।
  • नेपाली कांग्रेसले समयमै महाधिवेशन नगर्दा पार्टीको आन्तरिक लोकतन्त्रीकरण र नवनिर्माणमा समस्या आएको छ।

जब म चढेर भावको डुंगा,
सैर गर्छु स्मृतिको प्रिय गंगा।।

युगकवि सिद्धिचरण श्रेष्ठले ‘मेरो प्यारो ओखलढुङ्गा’ शीर्षक कवितामा भने जस्तो बीपीका बारेमा मलाई प्रत्यक्ष ‘स्मृतिको प्रिय गङ्गा’ को सुविधा वा लाभ भएन । किनभने म बीपीको देहान्तपछि जन्मिएँ । कुरा त्यतिमै अडिंदैन । त्यहाँबाट त विषय बल्ल शुरू हुन्छ ।

हाम्रो शास्त्रीय परम्परामा स्मृतिको भारी अर्थ छ । स्मृति भनेको ऋषिमुनिद्वारा रचित धर्मदर्शन, आचार व्यवहार, शासन, रीति आदिसित सम्बन्धित धर्मशास्त्रलाई मानिन्छ र त्यस्ता स्मृति लेख्नेहरूलाई स्मृतिकार भनिंदोरहेछ ।

१८ स्मृतिकारमध्ये मनु, याज्ञवल्क्य, अत्रि, विष्णु, बृहस्पति, पराशर, व्यास, गौतम, नारद, वशिष्ठ आदि पर्दछन् । त्यो हिसाबले म बीपीको बारेमा लेख्न वा बोल्नको लागि योग्य स्मृतिकार त झनै होइन । त्यही भएर पनि होला बीपी कोइरालाको ‘जेल डायरी’ को सम्पादन गर्ने अवसर पाएको मलाई बीपीका बारेमा बोल्न सधैं संकोच लाग्दछ ।

म आज ‘स्मृति’ शब्दसँग जोडिएका शब्दहरूको वरिपरि रहेर चर्चा गर्नेछु । शुरूमा तीन वटा शब्द ‘अस्मृति’, ‘अपस्मृति’ र ‘स्मृतिभ्रंश’ को चर्चा गरौं । नेपाली कांग्रेसको आजको शीर्ष नेतृत्व यी तीन शब्दको दलदलमा छ । ‘अस्मृति’ भनेको सम्झनाशक्ति नहुँदाको अवस्था हो । ‘स्मृतिभ्रंश’ भनेको स्मृति घट्नु वा हराउनु हो । त्यस्तै ‘अपस्मृति’ भनेको गलत सम्झना हुनु हो ।

कांग्रेस शीर्ष नेतृत्वलाई ‘अस्मृति’ र ‘स्मृतिभ्रंश’ गर्नमा धेरै फाइदा छ । उनीहरूको स्मृतिमा बीपी महापुरुष हुनुहुन्थ्यो । लोकतन्त्रको लागि संघर्ष गर्नुभयो, साहित्य लेख्नुहुन्थ्यो भनेपछि दर्शक दीर्घाबाट बज्ने तालीसँगै भाषण सकिन्छ ।

महापुरुष हुनका लागि के–के आवश्यक तत्वहरू बीपीसँग थिए वा बीपीको साहित्यमा अजर अमरतत्व के छ वा उहाँको लोकतन्त्रको लागि संघर्षको पाठ के हो त्यो बारेमा कहिल्यै पनि बेलीविस्तार लगाउँदैनन् । त्यो बेलीविस्तार नलगाउनुमा नै उनीहरूलाई फाइदा छ ।

बीपी व्यक्तित्वका बहुआयामको चर्चा गर्दा उनीहरू आफूलाई ज्यादा कमसल ठान्छन्, देखिन्छन् वा अरू कारणले त्यो बारेमा चर्चा गर्दैनन् । बीपीको व्यक्तित्व बारेमा चर्चा गर्दा कार्यकर्ताले उहाँको व्यक्तित्वमा विद्यमान राजनैतिक गुणहरू वर्तमान नेतृत्वमा खोजे भने त उनीहरूको झन् बेहाल हुँदो हो । यसरी कांग्रेसको यो द्वितीय पुस्ता जानी–बुझिकन बीपीको महानताबारे मौन प्रवचन दिन्छ, अमूक कुरा गरिराख्छ ।

त्योभन्दा खतरनाक प्रवृत्ति त केही बीपी बारेमा ‘अपस्मृति’ का भाषण गर्नेहरू छन् । उनीहरू हाकाहाकी बीपीको बारेमा गलत व्याख्या, बीपीको क्रान्तिकारी र प्रगतिशील पक्षलाई उपेक्षा र बीपीलाई राजावादी करार गर्नसम्म पछि पर्दैनन् । यो समस्या बीपीको कुल–परिवारसँग जोडिएका व्यक्तिहरूसँग पनि छ । तिनका प्रति हामी सहानुभूति मात्र राख्न सक्छौं । किनकि बीपी कोइराला स्वयं पनि फरक मत राख्नेहरूको हमेसा सम्मान गर्नुहुन्थ्यो ।

हाम्रो पुस्ताले बीपीलाई जान्ने, सुन्ने, बुझ्ने र मनन गर्ने भनेको बीपीले छाडेर गएका लिखत, किताब, बीपीसँग सोझो संगत गरेका मानिस र उनीहरूले देखाएको आचरणबाट नै हो । त्यसैले ढुक्कसँग भन्न सकिन्छ बीपीले छाडेर गएका ‘स्मृतिशेष’ वा ‘स्मृति चिह्न’ हाम्रासामु छन् ।

आज कांग्रेस होस् या गैरकांग्रेस; नेपाली होस् या अनेपाली बीपीका साहित्यले सिंगो मानवतालाई धनी बनाएर गएको छ । उहाँले लेखेको साहित्यमा मानवीय दुःख, नियतिका प्रतिको हमदर्दी भन्नुस्; सहानुभूति, संवेदना भन्नुस् त्यो अद्भुत छ । हामी राजनीतिकहरूलाई बीपीको साहित्यिक पाटोभन्दा उहाँको राजनीतिक स्मृति चिह्न नेपाली कांग्रेस ज्यादा प्यारो हुन्छ र साहित्य ओझेल परेर जान्छ ।

वर्तमानमा नेपाली कांग्रेस संसद्को पहिलो पार्टी छ । बीपीको निधनपछि पनि यसले दुई ठूला क्रान्तिको नेतृत्व गर्‍यो– २०४६ र २०६२÷६३ मा । बीपीको निधनपछि कांग्रेसको भविष्यबारे संशय प्रकट गर्नेहरूका लागि यो लरतरो कुरा थिएन । जसरी पृथ्वीनारायण शाहले नेपाल एकीकरण पूरा नगर्दै देहत्याग गर्नु परे पनि उनले सृष्टि गरेको नेपाल अहिलेसम्म अस्तित्वमा छ त्यसैगरी, बीपीको अगुवाइमा खुलेको नेपाली कांग्रेस पार्टी आठौं दशकमा हिंड्दैछ ।

कुनै पार्टीको ऐतिहासिक अस्तित्व कायम हुनु र वर्तमानमा त्यसको सान्दर्भिकता रहनु अलग कुरा हुन् । कुनै पनि पार्टी वर्तमानमा सान्दर्भिक हुनको लागि त्यसले वर्तमान समयमा राष्ट्रका सामु रहेका हाँक र समस्याको पहिचान गर्न सक्नुपर्छ । आज नेपाली कांग्रेस पार्टीमा आत्मचिन्तनको वृत्ति हराएर गएको छ ।

बीपी कोइरालाको व्यक्तित्वको सबैभन्दा ठूलो सौर्य र सामर्थ्य नै आत्मचिन्तनमा थियो । तर आजको कांग्रेस आत्मचिन्तन गर्न भनेपछि डरले थर्थरी कामे जस्तो हुन्छ । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तो ताल देखाउँछ । २०७९ को निर्वाचनपछि दुई उपनिर्वाचन भए, अब तेस्रो उपनिर्वाचन हुँदैछ– त्यो बारेमा पार्टीमा बहस, विमर्श भएकै छैन । कांग्रेस समसामयिक र युगीन प्रश्नका हाँकबाट भागिरहेको छ ।

बीपीले मोहनशमशेरलाई चुनौती दिएको २००६ सालको म चर्चा गर्न चाहन्नँ । त्यो धेरै इतिहासको विषय हुन जाला । म त्योभन्दा धेरै यताको कुरा गर्न चाहन्छु । बीपी कोइरालाले २०३६ सालमा जनमतसंग्रहको दौरानमा राजा वीरेन्द्रलाई खुला चुनौती दिनुभएको थियो– ‘महाराज, राणाको एक शताब्दी लामो खोपीको बसाइबाट आजित भएर दिल्ली भागेर गएका तपाईंका जिजुबुवालाई हामीले ल्याएर गद्दीमा राखेको हो ।

बीपी कोइरालाको व्यक्तित्वको सबैभन्दा ठूलो सौर्य र सामर्थ्य नै आत्मचिन्तनमा थियो । तर आजको कांग्रेस आत्मचिन्तन गर्न भनेपछि डरले थर्थरी कामे जस्तो हुन्छ ।

मलाई तपाईंले दिन मिल्ने सबभन्दा ठूलो पद प्रधानमन्त्री हो, त्यो त दुई दशक अगाडि नै बनिसकेको छु । जननिर्वाचित पहिलो प्रधानमन्त्री, अहिले तपाईंले मलाई दिन सक्ने त्योभन्दा ठूलो कुनै चिज नै छैन । हामीलाई त जनअधिकारको बहाली चाहिएको छ । २०१७ साल पुस १ को अन्त्य चाहिएको छ । मलाई संविधानका प्रति राजसंस्थाको प्रतिबद्धता मात्र चाहिएको छ ।’

मध्यमार्गी सुनिने तर यस्तो क्रान्तिकारी कुरा गर्ने जनअधिकारको पक्षलाई अग्रभागमा राख्ने बीपी कोइरालाको पार्टी आज सत्ताका लागि हमेसा कामातुर देखिन्छ । सत्ताबाट छुट्ने भयातुरले आक्रान्त र विक्षिप्त देखिन्छ । सत्ताभन्दा पर यसको कुनै सपना र जपना पनि छैन । सत्तामा किन जाने र सत्ताबाट किन निस्किने हो जनताले बुझ्ने भाषामा जवाफ पनि छैन । व्यक्तिको असुरक्षा पार्टीको असुरक्षा बनेको छ । व्यक्तिको लोभलालच पूरा गर्ने औजारका रूपमा पार्टीलाई बन्धक बनाइएको छ ।

आज नेपाली कांग्रेस पार्टीलाई कांग्रेसभित्रबाट खतरा छ कि कांग्रेस बाहिरबाट ज्यादा खतरा छ भनेर कसैले प्रश्न गर्‍यो भने मेरो सपाट उत्तर हुन्छ– कांग्रेसलाई बाहिर भन्दा कांग्रेसभित्रबाटै ज्यादा खतरा छ । म दोहोर्‍याएर भन्छु– कांग्रेसलाई कांग्रेसभित्रबाट ज्यादा खतरा छ ।

आज कथित नयाँ राजनीति गर्छु, विकल्पको नयाँ राजनीति गर्छु, वैकल्पिक, स्वतन्त्र हौं भन्नेलाई हाम्रो शीर्ष नेतृत्वले मुंहतोड जवाफ दिन सक्नुपर्ने थियो अर्थतन्त्र चलायमान गराएर, सुशासनका माध्यमबाट र छरितो तथा चुस्त सेवा प्रवाहबाट । त्यो गर्न नसकेपछि पार्टीभित्रै तयार नयाँ पुस्तालाई नेतृत्व सुम्पन तयार हुनुपर्ने हो ।

कांग्रेससँग अघिल्लो पुस्ताले नै प्रशिक्षण दिएको नयाँ पुस्ता तयार छ । यहाँ गगनहरू छन्, विश्व प्रकाशहरू छन्, प्रदीप पौडेल छन् र गुरुराज घिमिरेहरू छन् । उनीहरूलाई राजकाजमा समेत सहज हुने गरी पार्टीको लगाम सुम्पनुपर्ने थियो । तर त्यो करुण क्रन्दन बनेको छ, मृगमरीचिका बनाइएको छ ।

आजको नेतृत्व फगत प्राविधिक मापदण्ड मात्र पूरा गरेको नेतृत्व बनेको छ । विधि पुगेको तर वैधता नभएको जस्तो, वैधता धर्मराएको, लड्खडाएको नेतृत्व छ । लोकतान्त्रिक नेतृत्वले देशको संविधान वा पार्टीको विधान पालन गरेर मात्रै यथेष्ट हुँदैन । किनकि, त्यहाँ नैतिकता र लोकतान्त्रिक चरित्रको बारेमा उल्लेख गरिएको हुँदैन ।

नैतिकताको पालन नगर्ने र अन्तर्मनको आवाज सुन्न नसकेको कारणले आजको नेतृत्वले राष्ट्रिय नाडी छाम्न सकेको छैन । त्यसले गर्दा प्रियतावादीहरूलाई खुँदो पल्टेको छ । उनीहरूको हल्ला–बजार मालामाल भएको छ ।

बीपी कोइरालाले भोला चटर्जीलाई असंख्य अन्तर्वार्ताहरू दिनुभयो । ‘पिपुल, प्यालेस र पोलिटिक्स’ पुस्तकमा संग्रहित अन्तर्वार्तामा बीपी भन्नुहुन्छ– ‘म हमेसा वस्तुपरक भएर बोल्दछु । मैले आफ्नो राजनीतिक संकटलाई केन्द्रमा राखेर बोल्दिनँ । तेस्रो विश्वका नेताहरू जनताको भावनामा खेल्न खोज्दछन् र आफूलाई लोकतान्त्रिक भन्दछन् मलाई प्रियतावादको रेटोरिकसँग मतलब छैन । यदि लोकतन्त्र जोगाउनु छ भने हामीले प्रियतावाद अँगाल्न सक्दैनौं । लोकतन्त्र जोगाउने हो भने हामीले कहिलेकाहीं अप्रिय निर्णय गर्नुपर्छ र जनतालाई त्यो स्वीकार्न लगाउनुपर्दछ । तर त्यो तानाशाही वा अलोकप्रिय विधिबाट होइन जनतालाई सहमत गराएर प्रजातान्त्रिक विधिबाट मात्र गर्नुपर्दछ ।’

आज नयाँ ढोङ्गीहरू अदालतको सम्मान गर्छु भन्छन् तर अदालतको निर्णयको खिलाफमा चोक–चोकमा हस्ताक्षर गराएर बसेको अवस्था छ । उनीहरू आफ्नो नेतालाई जर्ज अरवेलको भाषामा एनिमल फार्म उपन्यासमा भने जस्तो ‘सबै जनावरहरू समान छन् तर केही जनावरहरू अरूभन्दा बढी समान छन्’ भन्ने बनाउन लागिपरेका छन् । जसका कारण गणतन्त्रको आठौं राजा बन्ने दिवास्वप्न धरापमा परेको छ । जनमतको दुहाइ दिएर उनीहरू जनमतकै अपमान गरिरहेका छन् । त्यसको अर्थ हामीले पनि सोह्रै आना ठिक गरिरहेका छौं भन्ने कदापि होइन ।

बीपी कोइरालालाई ‘अविस्मृत’ राख्नका लागि ‘संस्मृति’ जरूरी छ । ‘संस्मृति’ को अर्थ हुन्छ राम्ररी सम्झना गर्नु । उनले गरेका संघर्ष/भुक्तमानको ठिकठाक अध्ययन मनन र विश्लेषण गर्नु । त्यसलाई चरित्र र व्यवहारमा ढाल्नु । त्यसका लागि हामीलाई ठिक ‘स्मृति शिल्प’ अर्थात् सम्झाउने कला चाहिन्छ– जसरी आज भारतमा गान्धीले बनाएको पार्टी भारतीय कंग्रेस पार्टीले उनलाई ठिक अनुसरण गर्न नसकेकाले भाजपाले गान्धीको महत्वलाई सफाइ र पर्यावरणीय आन्दोलनमा खुम्च्याइदिएको छ ।

जनमतको दुहाइ दिएर उनीहरू जनमतकै अपमान गरिरहेका छन् । त्यसको अर्थ हामीले पनि सोह्रै आना ठिक गरिरहेका छौं भन्ने कदापि होइन ।

गान्धीको हत्यापश्चात् गान्धीलाई भारतले गरेको अन्याय अत्याचारको पुनरावृत्ति नेपालमा पनि भएको छ । भारतीय कंग्रेसले गान्धीको फोटो नोटमा छाप्यो, गान्धीका सालिकहरू बनायो । र, असंख्य बाटाहरू गान्धीको नाममा एमजी रोड नामकरण गर्‍यो । त्यस्तै, २०४८ पछि नेपाली कांग्रेसले बीपीको नाममा बाटोहरू बनायो, केही संस्थान पनि बनायो । पार्टी कार्यालयका भवनहरूको नाम बीपी स्मृति भवन राख्यौं । तर, त्यो अपर्याप्त हुँदोरहेछ । बीपीको विकासका प्रतिको समाजवादी दृष्टिकोणलाई खरो कार्यान्वयन नगर्दासम्म यस्तो खराब परिस्थिति आउँदोरहेछ । दोहोरिरहन्छ ।

त्यसैले आज बीपीको ‘पुनःस्मृति’ वा ‘प्रतिस्मृति’ गर्दा हामीले बिर्सन नहुने केही कुराहरूमा ख्याल पुर्‍याउनुपर्दछ । ‘पुनःस्मृति’ को अर्थ हुन्छ पहिले अनुभव गरेका वा देखे–जानेका कुरा धेरै–धेरैपछि फेरि सम्झने काम । बीपीलाई सामान्य मानिसबाट असामान्य मानिस बन्न के कुराले प्रेरित गर्‍यो, सामान्य नेताबाट असामान्य नेताको दर्जामा उहाँलाई के कुराले पुर्‍यायो, बीपीको व्यक्तित्वमा त्यसका लागि आवश्यक पर्ने के–के संघटक तत्व थिए; त्यसको सामयिक विवेचना गर्नुपर्छ ।

पञ्चायतमा त स्मृतिको समेत अवरोध थियो । त्यतिबेला बीपी ‘स्मृति निषेध’ थियो । र; बजार, चोक, सभा भवन छाडेर बजारभन्दा केही पर गाउँहरूमा गएर बीपीको स्मृतिमा वृक्षरोपण गरेर कार्यक्रम गर्नुपर्ने अवस्था थियो । आज हामीले बीपीको नाममा रूख मात्र रोपेर हुँदैन वृक्षरोपणले मात्र बीपी विचारको मलजल हुँदैन । विचारको आलोचनात्मक एवं रचनात्मक बहस हुनुपर्छ । ललितपुर जिल्ला पार्टी कार्यालयले वैचारिक मन्थन गरेर त्यो धरोहरलाई उँचो राखेको छ ।

०००

राणाहरूको प्रतिरोधमा स्थापना भएको, पञ्चायतसँग ३० वर्ष लडेको र माओवादीको सशस्त्र हिंसाको सामना गरेर बाँचेको कांग्रेस पार्टी खुला राजनीतिको हिमायती र खुला राजनीतिमै किन मरुस्थल जस्तो बन्न पुगेको छ ? यो किन हरित उद्यान बन्न सकेको छैन ? मानिसहरू किन विकर्षित भएका छन् ?

कांग्रेसले बाहिर हेरेर, वाम एकतालाई दोष दिएर वा सामाजिक सञ्जाललाई दोष दिएर आफ्नो ऐतिहासिक कार्यभार सम्पन्न हुन सक्दैन । त्यसको लागि नूतन सोच, अभिनव कार्यक्रम र भावी दृष्टि चाहिएको छ ।

नेपाल नवनिर्माणको लागि पार्टीको आन्तरिक जीवनको लोकतन्त्रीकरण जरूरी छ । चार वर्षमा गर्ने भनिएको महाधिवेशन संवैधानिक त्यान्द्रो समाएर साढे पाँच वर्ष लम्ब्याउने कुराले झन् विरक्त मात्र पैदा गर्दोरहेछ । कांग्रेसले विशेष महाधिवेशन गर्नुपर्थ्यो , २०१४ सालमा जस्तो । तर समयमै अधिवेशन गर्न नसक्ने अवस्था छ । यो आफ्नै लाचारीको दलदलमा फसेको छ । यथाशक्य छिटो कांग्रेसको महाधिवेशन कांग्रेसको नयाँ प्रस्थानबिन्दु बन्न सक्छ ।

बीपी कोइरालाको भौतिक अनुपस्थितिको चार दशकयता तीनथरीका बीपी विचारका अनुयायीहरू देखापरेका छन् । पार्टी सत्ता र राजकीय सत्ता चलाइरहेका बीपीवादीहरू, जसले सत्ताभन्दा पर एक मिनेट पनि रहन र सोच्न सक्दैनन् । सत्ताबिना पानीको माछाको जस्तो हाल तिनको हुन्छ ।

दोस्रोथरी, बीपीको नाममा मठ, संस्थान, प्रतिष्ठान खोल्ने मठी संस्थानवादी बीपीवादीहरू । यी प्रतिष्ठान मठ खोल्नेहरू सत्तावादीसँग मिलेर राज्यस्रोतको दोहन गर्छन् । र, तेस्रोथरी बीपीवादीहरू जसले सत्तामा बसेकाहरूको आलोचना गर्छन् र त्योभन्दा ज्यादा बीपीको सृजनशील बीपी विचारको सृजनशील प्रयोगमा जोड दिन्छन् । वैचारिक कार्य गर्दछन् ।

नेपाल नवनिर्माणको लागि पार्टीको आन्तरिक जीवनको लोकतन्त्रीकरण जरूरी छ । तर समयमै अधिवेशन गर्न नसक्ने अवस्था छ । यो आफ्नै लाचारीको दलदलमा फसेको छ ।

यिनीहरूलाई लोहियाको भाषामा भन्नुपर्दा ‘कुजात’ बीपीवादी भन्नुपर्छ । किनकि यो बीपी विचारको सृजनशील प्रयोग गर्नेहरूलाई सत्तावादी र मठवादी बीपीवादीहरूले आफ्नो ऐस–आरामको प्रतिरोधक, अवरोधक ठान्दछन् । समाजवादी नेता राममनोहर लोहियाले आफूलाई सगर्व ‘कुजात गान्धीवादी’ भन्थे ।

हामीलाई बीपी विचारको सृजनशील प्रयोग र प्रचारप्रसारमा रुचि छ । त्यो बाहेक कुनै लोभ वा मोह छैन । आदरणीय पथप्रदर्शक प्रदीप गिरिलाई मैले कुनै बेला सोधेको थिएँ– तपाईंले किन बीपीको नाममा कुनै संस्थान बनाउनुभएन ? उहाँको उत्तर थियो– ‘बीपीको नाममा यथेष्ट संस्थान खोलेका छन् ।

बीपीको नाममा संस्था खोलेर म कुनै अपराध गर्न चाहन्नँ ।’ उहाँले शहीद यज्ञबहादुर थापाको नाममा संस्थान खोल्नुभयो । गान्धी र कृष्णप्रसाद भट्टराईको नाममा संस्था बनाउनुभयो । उहाँले आफूले खोलेको आश्रमको नाम समता आश्रम राख्नुभएको थियो ।

म सबैलाई जुनसुकै संकटमा पनि धैर्यपूर्वक संघर्ष गर्न सक्ने, जीवनलाई लोकतन्त्रको लागि दाउमा राख्न सक्ने, सत्ताको लागि सिद्धान्तसँग कहिल्यै पनि सम्झौता नगर्ने र व्यावहारिकताको नाममा नैतिकतालाई कहिल्यै पनि तिलाञ्जली नदिने, विकासको केन्द्र मानिस हुनुपर्छ भन्ने, त्यो क्रान्तिकारी, त्यो मध्यमार्गी बीपी कोइरालाको स्मरण गर्न आह्वान गर्दछु ।

(ललितपुर जिल्ला कांग्रेसले बीपी स्मृतिमा मंगलवार गरेको कार्यक्रममा कांग्रेस युवा नेता एवं राजनीतिक विश्लेषक तिवारीबाट व्यक्त मन्तव्यको सम्पादित अंश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?