
News Summary
Generated by OK AI. Editorially reviewed.- आर्थिक वर्ष २०८१/८२ मा नेपालको वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।
- यस वर्ष निर्यात २ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ।
- नेपालले भारतसँग ८ खर्ब ४६ अर्बको व्यापार घाटा भोगेको छ।
६ साउन, काठमाडौं । वैदेशिक व्यापारको आकार पुन: २० खर्ब रुपैयाँमाथि उक्लिएको छ । नेपालको वैदेशिक व्यापारको इतिहासमा यस्तो दोस्रो पटक हुन पुगेको हो ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड पुगेको छ । आव २०७८/७९ मा वैदेशिक व्यापारको आकार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको थियो । यस वर्ष निर्यातमा नयाँ कीर्तिमान बनेको छ । २ खर्बको पुरानो रेकर्ड तोडेको निर्यात व्यापार यस वर्ष २ खर्ब ७७ अर्बमा उक्लिएको छ ।
सरोकारवालाहरू यसले अर्थतन्त्र चलायमान भएको संकेतका रूपमा लिन्छन् । नेपाल उद्योग परिसंघ निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल सरकार र निजी क्षेत्र दुवैका तथ्यांकले अर्थतन्त्रले गति लिएको संकेत गर्ने बताउँछन् ।
‘हामीले उद्योगहरूमा गर्ने सर्भेले पनि यो देखाएकै थियो,’ उनी भन्छन्, ‘अहिले ट्रेडको जुन फिगर (तथ्यांक) आयो, यसबाट अर्थतन्त्रले गति समातेको संकेत गर्छ ।’
नेपाल उद्योग वाणिज्य महासंघ निर्यात प्रवर्द्धन समिति सभापति नरेशलाल श्रेष्ठ निर्यातको आँकडा ३ खर्ब नजिक पुग्नु उत्साहजनक अवस्था रहेको बताउँछन् ।
यद्यपि, यसलाई छिमेकी भारतले लिने नीतिले तत्काल ठूलो प्रभाव पर्ने भन्दै उनले निर्यातको दिगोपनका लागि भारतसँग दरिलो आर्थिक कूटनीतिको आवश्यकता उनी औल्याउँछन् ।
‘आज जुन रफ्तारमा निर्यात बढेको छ, यसले निरन्तरता पाउने हो भने चालु वर्षमै ४ खर्ब पुग्छ,’ उनी भन्छन्, ‘तर, इतिहास नेपालको पक्षमा छैन, जब वस्तु निर्यात बढ्छ, त्यसपछि भारतले आफ्नो नीति चलाइदिन्छ ।’ यसका लागि सरकारले आर्थिक कूटनीतिका माध्यमबाट पहल गर्नुपर्ने उनको सुझाव छ ।
पछिल्लो ५ वर्षको वैदेशिक व्यापारको आकार
२०७७/७८ : १६ खर्ब ८० अर्ब
२०७८/७९ : २१ खर्ब २० अर्ब
२०७९/८० : १७ खर्ब ६८ अर्ब
२०८०/८१ : १७ खर्ब ४५ अर्ब
२०८१/८२ : २० खर्ब ८१ अर्ब
निर्यात तथ्यांक हेर्दा नेपालको प्रतिस्पर्धी क्षमता बढी भएका वस्तुको तुलनामा आयात गरी पुन: भारत निर्यात हुने वस्तुको बाहुल्य छ । यस वर्ष वनस्पति तेल निर्यात सबैभन्दा धेरै १ खर्ब २२ अर्ब रुपैयाँ बराबर छ । तर, यस्ता वस्तु आयात त्योभन्दा माथि छ ।
अर्थात्, एक वर्षमा १ खर्ब ५६ अर्ब १४ करोड रुपैयाँ बराबर वनस्पति तेल आयात भएको छ । उद्योग वाणिज्य महासंघ निर्यात प्रवर्द्धन समिति सभापति श्रेष्ठ आफ्नो कच्चापदार्थमा आधारित नरहेका वस्तु निर्यातले बढेको आकार छिमेकी देशले कुनै पनि बेला लिन सक्ने नीतिले प्रभावित हुन सक्ने बताउँछन् । सोहीकारण सरकारको प्राथमिकता त्यसतर्फ हुनुपर्ने उनको भनाइ छ ।
‘अहिलेकै इको–सिस्टमले निर्यात दिगो बनाउन सम्भव छैन,’ उनी भन्छन्, ‘लेबर समस्या छ, भर्खरै ज्याला बढेको छ, ढुवानी सहज छैन, हवाई भाडा अत्यधिक छ, यस्तो अवस्थामा हामी छिमेकी मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैनौं ।’
सोहीकारण शतप्रतिशत स्वदेशी कच्चापदार्थमा आधारित उद्योगको प्रवर्द्धन र निर्यातमा जोड दिनुपर्ने उनको सुझाव छ । चिया, कफी, अलैँची, कार्पेट, छुर्पी, सिमेन्टजस्ता वस्तुको यो क्षमता रहेको भन्दै उनले सरकारको पहलमा यस्ता वस्तुको निर्यातलाई बढावा दिन सकिने उनले बताए । त्यस्ता वस्तुको निर्यात नबढेसम्म रोजगारी सिर्जना र आन्तरिक अर्थतन्त्रमा निर्यातले योगदान दिन नसक्ने समेत उनी बताउँछन् ।
पछिल्लो ५ वर्षको निर्यात व्यापार
२०७७/७८ : १ खर्ब ४१ अर्ब
२०७८/७९ : २ खर्ब
२०७९/८० : १ खर्ब ५७ अर्ब
२०८०/८१ : १ खर्ब ५२ अर्ब
२०८१/८२ : २ खर्ब ७७ अर्ब
धेरै निर्यात भएका वस्तुको पहिलो स्थानमा सोयाबिन तेल छ । सोयाबिन तेल १ खर्ब ६ अर्ब रुपैयाँ बराबर निर्यात भएको छ । दोस्रो स्थानमा सूर्यमुखी तेल छ । जुन १२ अर्ब ३२ करोड बराबर निर्यात भएको देखिन्छ ।
कार्पेट निर्यात १० अर्ब ७७ करोड बराबर छ । अलैँची निर्यात ७ अर्ब ६८ करोड रुपैयाँको छ । जुट निर्यात ५ अर्ब ६९ करोडको छ । ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको यार्न निर्यात भएको विभागले जनाएको छ ।
तङ्ग्रिँदै आयात
भन्सार विभागका अनुसार यस वर्ष १८ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आव २०८०/८१ को तुलनामा १३.२५ प्रतिशत धेरै हो ।
आयात बढ्नुमा निर्माण, उद्योग र सवारीसाधनजन्य वस्तुको योगदान अधिक छ । साथमा इन्धन आयात समेत बढ्दो क्रममा छ । यसले आन्तरिक अर्थतन्त्रमा वस्तुको माग बढ्न थालेको देखिन्छ ।
भन्सार विभागको आँकडा अनुसार १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ४ खर्ब ७७ अर्ब ९९ करोड राजस्व उठेको छ ।
वस्तुगत रूपमा हेर्दा यस वर्ष सबैभन्दा धेरै मूल्यको डिजेल आयात भएको छ । कुल १ खर्ब २८ अर्ब ७६ करोड मूल्यको डिजेल आयात हुँदा सरकारले ५८ अर्ब ३८ करोड राजस्व उठाएको छ । कच्चा सोयाबिन तेल १ खर्ब ८ अर्ब बराबर आयात भएको छ । जसबाट सरकारले ४ अर्ब राजस्व संकलन गरेको छ । यस वर्ष ६४ अर्ब १२ करोड बराबरको पेट्रोल आयात भएको छ । जसबाट सरकारले ४२ अर्ब २५ करोड राजस्व संकलन गरेको छ ।
त्यसैगरी खाना पकाउने ग्यास आयातमा ६२ अर्ब ५८ करोड विदेशिएको छ । राजस्व संकलन ११ अर्ब ६७ करोड बराबर भएको छ । १८ अर्ब ७९ करोड बराबरको हवाई इन्धन आयात भएको छ । जसबाट सरकारले २ अर्ब ९४ करोड राजस्व उठाएको भन्सार विभागको तथ्यांक छ ।
नेपालमा एक वर्ष अवधिमा सवारीसाधन र त्यसको पार्टपुर्जा आयातमा १ खर्बमाथि रकम विदेशिएको छ । २०८१/८२ मा सवारीसाधन र पार्टपुर्जा आयातमा १ खर्ब ९ अर्ब १२ करोड ११ लाख १९ हजार विदेशिएको छ । यस्ता वस्तुको साधन आयातबाट मात्र सरकारले ८० अर्ब ६४ करोड ४५ लाख ९८ हजार राजस्व संकलन गरेको छ ।
इन्धन आयातमा एक वर्ष अवधिमा ३ खर्ब २६ अर्ब १४ करोड बराबर रकम विदेशिएको छ । डिजेट, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र अन्य प्रकारको इन्धन आयातमा उक्त रकम विदेशिएको हो । सरकारले इन्धन आयातका माध्यमबाट मात्र १ खर्ब २९ अर्ब ४३ करोड बराबर राजस्व उठाउन सफल भएको हो ।
पछिल्लो ५ आवमा भएको आयात
२०७७/७८ : १५ खर्ब ३९ अर्ब
२०७८/७९ : १९ खर्ब २० अर्ब
२०७९/८० : १६ खर्ब ११ अर्ब
२०८०/८१ : १५ खर्ब ९२ अर्ब
२०८१/८२ : १८ खर्ब ४ अर्ब
१६३ देशसँग वैदेशिक व्यापार, अधिक कारोबार भारत र चीनसँग
नेपालको वैदेशिक व्यापार १ सय ६३ भन्दा धेरै देशसँग हुने गरेको भन्सार विभागको तथ्यांक छ । सबैभन्दा धेरै कारोबार भने भारत र चीनसँग छ ।
गत आव भारतबाट नेपालले १० खर्ब ७१ अर्ब १९ करोडको वस्तु आयात गरेको छ । नेपालबाट भारतमा भने २ खर्ब २४ अर्ब ६८ करोडको वस्तु निर्यात भएको छ । भारतसँग ८ खर्ब ४६ अर्बको व्यापार घाटा छ ।
चीनबाट नेपालमा ३ खर्ब ४१ अर्ब बराबरको वस्तु आयात भएको छ । नेपालबाट २ अर्ब ६३ करोडको वस्तु चीन निर्यात भएको छ । तेस्रो व्यापारिक साझेदार अर्जेन्टिना देखिएको छ । त्यहाँबाट नेपालमा ९९ अर्ब ३० करोडको वस्तु आयात भएको छ । निर्यात भने ३३ लाख ५५ हजारको मात्र भएको छ ।
चौथो स्थानमा अमेरिका छ । त्यहाँबाट २५ अर्ब ९६ करोडको वस्तु आयात भएको छ । नेपालबाट अमेरिकामा भने १८ अर्ब ३२ करोडको वस्तु निर्यात भएको छ । तुलनात्मक रूपमा अमेरिकामा कम व्यापार घाटा देखिन्छ ।
पाँचौ स्थानमा युनाइटेड अरब इमिरेट्स (यूएई) बाट नेपालमा २५ अर्ब ३३ करोडको वस्तु आयात हुँदा नेपालबाट ३ अर्ब १ करोडको सामान निर्यात भएको छ । छैटौं स्थानमा युक्रेन छ । त्यहाँबाट २४ अर्ब ९१ करोडको वस्तु आयात भएको छ । निर्यात भने ६७ लाखको मात्र देखिन्छ ।
व्यापार घाटा सामान्य वृद्धि
यस वर्ष निर्यातमा आएको उछालका कारण व्यापार घाटा धेरै बढ्न पाएन । भन्सार विभागका अनुसार गत आवमा व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ बराबर भएको छ । यो गत आवको तुलनामा ६ प्रतिशतमात्र धेरै हो । अघिल्लो आव व्यापार घाटा १४ खर्ब ४० अर्ब बराबर थियो ।
यस वर्ष कुल वैदेशिक व्यापारमा निर्यात हिस्सा ५२.४७ प्रतिशतले बढेको छ । २०८०/८१ मा ८.७३ प्रतिशत हिस्सा निर्यातको रहेकोमा अहिले १३.३१ प्रतिशतमा उक्लिएको छ । आयात हिस्सा ९१.२७ प्रतिशत रहेकोमा घटेर ८६.६९ प्रतिशतमा भएको छ ।
प्रतिक्रिया 4