+
+
Shares

अख्तियारको कार्यशैली : घुस लिने मन्त्रीलाई सहुलियत, बुझाउनेलाई सास्ती

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते २२:५५

६ साउन, काठमाडौं । निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो प्रकरणमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ । अख्तियारले पछिल्लो तीन दिनदेखि त्यसमा जोडिएका व्यक्तिहरुमाथि बयान अघि बढाएको जनाएको हो ।

तर, निवर्तमान मन्त्री गुप्ताले अख्तियारबाट हदैसम्मको सहुलियत पाएका छन् । अडियो रेकर्ड गर्ने र मन्त्रीलाई रकम बुझाउने व्यक्तिलाई भने अख्तियारले हदैसम्मको सास्ती दिएको छ ।

‘पूर्वमन्त्री आज अख्तियार आउनुभएको हो, दुई घण्टामै फर्कनुभयो, उहाँको बयान समेत शुरु भएको छैन’, अख्तियारस्रोतले भन्यो, ‘तर अडियो रेकर्ड गर्ने पोखराका ती व्यक्तिलाई तीन दिनदेखि बयान लिइरहेको छ, बिहानैदेखि शुरु हुने बयान बेलुकीसम्म चलिरहेको छ ।’

घुस लिने मन्त्रीमाथि केन्द्रित हुनुपर्ने अख्तियारको केरकार र अनुसन्धान अडियो रेकर्ड गर्ने व्यक्तिमाथि सोझिएको छ ।

अख्तियारसम्वद्ध स्रोतका अनुसार, अडियो रेकर्ड गर्ने व्यक्तिको मोवाइल परीक्षण शुरु भएको छ । तर निवर्तमान मन्त्री गुप्ताको मोवाइल अख्तियारले बरामद गरेको छैन ।

सामान्य सोधपुछ र अडियो रेकर्ड गरेर गुप्तालाई छाडेको अख्तियारले उनको सम्पत्ति परीक्षण, सम्पत्ति विवरण भराउने काम गरेको छैन । ठिक उल्टो अडियो रेकर्ड गर्ने व्यक्तिलाई अनुसन्धान अधिकारीहरुले सम्पत्ति विवरण भराउनेदेखि पैसाको स्रोत खोज्ने काम गरिरहेका छन् ।

‘जो माथि अनुसन्धान हुनुपर्ने हो, उसले पुरै उन्मुक्ति पाएको छ’, अख्तियारसम्वद्ध स्रोतले भन्यो, ‘जसलाई सरकारी साक्षी बनाएर मुद्दा अघि बढाउनुपर्ने हो, उसैमाथि केरकार र हतोस्साहित गर्ने काम भएको छ, यसरी सूचनादातालाई नै यातना दिएपछि भ्रष्टाचार र बेथितीका सूचना कसरी बाहिर आउछ ?’

गतसाता घुस लिएको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजिनामा दिएका थिए ।

उनले मालपोत कार्यालय कास्कीका प्रमुखलाई सरुवा गर्ने आश्वासन दिएर एकपटक ५३ लाख र भूमि आयोगको अध्यक्ष नियुक्तीका लागि २५ लाख गरी ७८ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?