+
+
Shares
विचार :

‘झोलुंगे पुल नै उचित विकल्प हो’

झोलुंगे पुल तुइन विस्थापित गर्ने उपयुक्त र किफायती माध्यम हो । झोलुंगे पुल निर्माण भएमा कम लागत, छोटो समयमा जनताले त्यसको प्रतिफल लिन सक्छन्, दिनहुँ जोखिम व्यहोर्नुपर्दैन ।

नीरज शाह, इन्जिनियर नीरज शाह, इन्जिनियर
२०८२ साउन ९ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ साल असोजमा दुई वर्षभित्र मुलुकलाई तुइनमुक्त बनाउने घोषणा गरेका थिए।
  • देशभर १० हजारभन्दा बढी झोलुंगे पुल बनेका छन् तर अझै पनि हिमाली जिल्लामा तुइनहरू प्रयोग भइरहेका छन्।
  • स्थानीय पूर्वाधार तथा कृषि सडक विभागले झोलुंगे पुलको नयाँ रणनीतिको मस्यौदा तयार गरी सरकारलाई बुझाएको छ।

एक दशक पहिले अर्थात् २०७२ साल असोजमा पहिलो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले दुई वर्षभित्र मुलुकलाई तुइनमुक्त बनाउने भनी पहिलो निर्णय गर्नुभएको थियो । पछि उहाँले देश तुइनमुक्त भयो भनेर घोषणा पनि गर्नुभयो ।

त्यतिबेला नेपालमा भर्खरै संविधान जारी भएको थियो । संविधानले एकात्मक नेपाललाई तीन तहको शासन व्यवस्थामा लगेको थियो । त्यतिबेला सञ्चालित कार्यक्रमहरू अलपत्र परेका थिए । तिनीहरूको जिम्मेवारी कहाँ जाने ? कसले हेर्ने ? केही टुंगो थिएन । झोलुङ्गे पुलको क्षेत्रमा पनि त्यही भयो ।

एकात्मक प्रणाली हुँदा जुन जिम्मेवारीहरू तोकिएका थिए, संघीयतामा जाने बित्तिकै ती कार्यक्रम अलपत्र परे । त्यतिबेला प्रधानमन्त्रीले जुन घोषणा गर्नुभयो शायद अलिकति शासकीय व्यवस्था परिवर्तन र जिम्मेवारी बाँडफाँडको विषयलाई मध्यनजर गरेको जस्तो देखिएन ।

देशको भूगोल, भौगोलिक अवस्था, नदी प्रणाली अनि खोलानालाको बहाव आदि कुराहरूलाई अनदेखा गरिएको हो अथवा त्यसलाई गहन अध्ययन नगरेर देशमा तुइन छैनन् भनेर घोषणा गर्न लगाइयो जस्तो लाग्छ ।

२१औं शताब्दीमा कैयौं नवीनतम प्रविधि र सुविधा आइसक्दा पनि नेपालमा तुइनहरू चढिरहेको फोटोहरू देखिन्छन् । पानीजहाज र रेलका कुरा गरे पनि नागरिक तुइनबाट खसेर मरिरहेका छन् ।

त्यो निर्णय अलि हतारमा भएको रहेछ भन्ने हामीले देखिरहेका छौं किनभने अहिले पनि विशेष गरेर हिमाली जिल्लाहरूमा तुइनहरू छन् । अहिले पनि नेपालीलाई तुइनमा झुण्डिएर एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने बाध्यता छ । यो दुर्भाग्य नै हो ।

तुइन बनाउन सजिलो हो । स्थानीयस्तरमै सहज रूपमा बनाउन सकिन्छ । तर कसैले पनि तुइनलाई नियमन गर्दैनन् । तुइन कसरी बनेको हो ? कहाँ बनेको हो ? कस्तो ठाउँमा बनेको हो ? भन्नेबारे अहिलेसम्म मापदण्ड तोकिएको छैन ।

जनताले आफूखुशी छोटो तरिकाले नदी तरेर पारि जान खोज्छन् । उनीहरूलाई सकभर फेरो लगाउन नपरोस्, सिधै जान पाइयोस् भन्ने हुन्छ । तर त्यहाँ जाँदै गर्दा जुन जोखिम छ, त्यसको हेक्का हुँदैन । जोखिमसँग नडराउने हाम्रो स्वभाव पनि यसमा कारक छ । जोखिम उठाउने स्वभावले नै दुर्घटना हुने र ज्यानै समेत जाने घटना भइरहेका छन् ।

२१औं शताब्दीमा कैयौं नवीनतम प्रविधि र सुविधा आइसक्दा पनि नेपालमा तुइनहरू चढिरहेको फोटोहरू देखिन्छन् । पानीजहाज र रेलका कुरा गरे पनि नागरिक तुइनबाट खसेर मरिरहेका छन् ।

झोलुंगे पुल बनाऔं

चन्द्रशमशेरको पालामा आजभन्दा झन्डै १२२ वर्ष पहिले सन् १९०३ मा चोभारमा झोलुंगे पुल बनेको हो । त्यसपछि आजसम्म आइपुग्दा नेपालमा दश हजार भन्दा बढी झोलुंगे पुल बनिसकेका छन् । त्यति धेरै पुल बनिसक्दा समेत अझै पनि तुइनहरू विस्थापित हुनसकेका छैनन् । ठाउँ–ठाउँमा तुइनहरू प्रयोग भइरहेका छन् ।

प्रधानमन्त्री ओलीले एक दशकअघि नै तुइन विस्थापित गर्ने भन्नुभयो तर तुइन विस्थापित गरी झोलुंगे पुल बनाउने कार्यक्रमलाई महत्व दिइएन । झोलुंगे पुलको योजना गम्भीरताका साथ अघि बढेन । अहिले पनि उहाँ नै प्रधानमन्त्री हुनुहुन्छ ।

देशभर १० हजार झोलुंगे पुल रहेका कतिपय ठाउँमा मोटरबाटो बनिसकेका छन् । वारपार गर्ने पक्की पुल पनि बन्यो होला । तर त्यहाँनेरै छेउमा बनेको झोलुंगे पुल असान्दर्भिक भइसकेको छ, प्रयोगविहीन अवस्थामा छ ।

त्यस्ता झोलंगे पुल कति छन् ? अहिलेसम्म अध्ययन गरिएको छैन । हाम्रो अनुमानमा सयौंको संख्यामा छन् । ती झोलुंगे पुलहरूलाई उठाएर तुइन प्रयोग भइरहेका ठाउँमा लैजानुपर्ने हो । सरकारले तुइनको प्रयोगलाई निषेध नै गर्नुपर्छ । तर निषेध गरेर मात्रै हुँदैन ।

प्रधानमन्त्रीले २०७२ सालमा पनि तुइन विस्थापित गर्ने भनेर एक खालको निषेध गर्नुभएको हो । तर निषेध गर्नुअघि जनतालाई केही न केही विकल्प पनि दिनुपर्छ । विकल्प भनेको झोलुंगे पुल मात्रै हो । अहिले तुइन प्रयोग भइरहेका ठाउँमा भोलि सडक आउला, मोटरेबल पुल पनि बन्ला । तर त्यतिबेलासम्मलाई त झोलुंगे पुल विकल्प हो ।

नयाँ संविधान जारी हुनुअघि स्थानीय पूर्वाधार तथा कृषि सडक विभागले झोलुंगे पुल रणनीति बनाएको थियो । म झोलुंगे पुल महाशाखा प्रमुख भएका बेला स्वीस सरकारको सहयोगमा नीति बनेको थियो । त्यतिबेला सरकारले नेपालीले कुनै नदीनाला तर्ने क्रममा एक घण्टाभन्दा बढीको फेरो लगाउनुपर्ने अवस्था भएमा झोलुंगे पुल निर्माण गरिनेछ भन्ने नीति तय गरेको थियो ।

मुलुक एक दशकदेखि संघीयतामा गइसकेको छ । दश हजार भन्दा बढी पुल बनिसक्दा अझै पनि थप पुलहरू आवश्यक छन्, किनभने हामीले नयाँ–नयाँ ठाउँमा तुइनहरू देखिरहेका छौं । तुइन नभएका ठाउँहरूमा पनि झोलुंगे पुलहरूको आवश्यकता देखिन्छ ।

अहिले फेरि नयाँ अवस्थामा धेरै गम्भीर र गहन अध्ययन गरेर हामीले झोलुंगे पुलको नयाँ रणनीतिको मस्यौदा बनाएर सरकारलाई बुझाएका छौं । मस्यौदा बुझाएको एक वर्ष हुँदा पनि त्यो पारित भएको देखिंदैन ।

हिमाल र पहाड भएको मुलुकमा झोलुंगे पुलको उपादेयता र अपरिहार्यता कहिल्यै घट्दैन । यति सानो देशमा ६ हजार भन्दा धेरै नदीनाला भएकाले झोलुंंगे पुल अपरिहार्य छ ।

त्यसमा स्पष्ट रूपमा हामीले तुइन विस्थापित हुनसक्ने सम्भावनाहरू औंल्याएका छौं । ‘अब उप्रान्त नेपाली जनताले कुनै पनि नदीनाला तर्नु पर्दा आधा घण्टाभन्दा बढीको फेरो लगाउन नपर्ने गरी झोलुंगे पुलको निर्माण गरिनेछ’ भनेर प्रस्ताव गरेका छौं ।

हामीले तीनै तहको सरकारलाई उनीहरूको अवस्था र समन्वयका आधारमा झोलुंगे पुल हेर्ने जिम्मेवारी दिनुपर्छ भनेका छौं । कस्तो किसिमका झोलुंगे पुल स्थानीय सरकारले गर्ने ? कस्तो पुल प्रादेशिक सरकारले गर्ने र कस्तो पुलहरू संघीय सरकारले हेर्ने भनेर हामीले कार्य विभाजन गरेका छौं ।

त्यो रणनीति अहिले सरकारको टेबलमा छ, त्यसलाई चाँडो पारित गरेर कार्यान्वयनमा लैजानुपर्छ । त्यस अनुसार तोकिएका कार्यविधि, जिम्मेवारी लागू हुँदै गए आगामी दिनमा पुलको आवश्यकता सम्बोधन र कार्यान्वयन गर्न सहज होला । अनि बल्ल मुलुकबाट तुइन विस्थापित होला ।

झोलुंगे पुल आर्थिक रूपमा एकदमै किफायती माध्यम हो । नेपालले बेहोर्न सक्ने भएर नै आजसम्म १० हजारभन्दा बढी पुल बनेका छन् । झोलुङ्गे पुल मात्रै एउटा यस्तो संरचना हो जो छोटो लागतमा, छोटो समयमा निर्माण भएर जनताले त्यसको प्रतिफल लिन सक्छन् ।

हाम्रो जस्तो हिमाल र पहाड भएको मुलुकमा झोलुंगे पुलको उपादेयता र अपरिहार्यता कहिल्यै घट्दैन । यति सानो देशमा ६ हजार भन्दा धेरै नदीनाला भएकाले झोलुंंगे पुल अपरिहार्य छ ।

अहिले प्रधानमन्त्री केपी ओली नै हुनुहुन्छ । उहाँकै कार्यकालमा देशलाई तुइनमुक्त घोषणा गर्नुभएको थियो । अब कति तुइनमुक्त भयो कि भएन भन्ने कुरा अध्ययन गर्ने बेला भयो । तुइनमुक्त भएको छैन भने विस्थापित गरेर झोलुंगे पुललाई प्राथमिकता दिनुपर्ने यही सरकारको काम हो र त्यो ठूलो जवाफदेहिता पनि हो ।

(तत्कालीन स्थानीय पूर्वाधार तथा कृषि सडक विभागको झोलुंगे पुल महाशाखाका प्रमुख भइसकेका इन्जिनियर शाहसँगको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?