
News Summary
Generated by OK AI. Editorially reviewed.- जाजरकोट जुनीचाँदे गाउँपालिकाका बासिन्दाले २० वर्षदेखि जीर्ण तुइनमा खोला पार गर्दै आएका छन्, जसले दैनिक जीवनमा जोखिम र असुविधा निम्त्याइरहेको छ।
- तीन वर्षमा तुइनबाट दुई जनाको मृत्यु भइसकेको छ भने वर्षेनि तीन–चार जना घाइते हुने गरेका छन् र स्वास्थ्य चौकी जान पनि तुइन चढ्नुपर्ने बाध्यता छ।
- स्थानीय बासिन्दाले तुइन विस्थापित गरी झोलुङ्गे पुल बनाइदिन सरकार र नेताहरूसँग बारम्बार माग गर्दा पनि कुनै ठोस कदम नलिइएको गुनासो गरेका छन्।
कुरा २०५४ सालको हो, जाजरकोट जुनीचाँदे गाउँपालिका‐४, को सिउरेनी खोला डोरीको भरमा तर्ने गरिन्थ्यो । एक दिन गाउँका काले र दलजिते दुई भाइ दमाईंलाई खोलाले बगायो । ससुराली जान गाउँबाट हिंडेका उनीहरू खोला तर्ने बेला डोरी चुँडिएपछि बगेका थिए । मैले आँखैले त्यो घटना देखेको हुँ ।
खोलाले दुई जनाको ज्यान लिएपछि गाउँ नै शोकमा डुब्यो । त्यति नै बेला सबै गाउँले मिलेर चन्दा उठाएर सिउरेनी खोलामा तुइन हाले, तुइनले गाउँलेलाई केही राहत दियो । अहिले त्यो तुइन राखेको २० वर्ष बित्यो । सरकारले तुइन विस्थापित गर्ने घोषणा गरेको पनि १० वर्ष बित्यो । अहिले पनि जुनीचाँदेका तीन ठाउँमा तुइन छन् ।
जुनीचाँदेको लुवादहबाट ११ नम्बर वडाको ताँगा जोड्ने ठाउँमा एउटा तुइन छ । त्यस्तै छेडागाड नगरपालिका—६ सुवानाउली जान मजकोटखोलाको तुइन तर्नुपर्छ । जुनीचाँदे–४, छेडागाड–४ र ६ को नरमरा खोलामा पनि तुइन छ । जुनीचाँदे गाउँपालिका वडा नम्बर १, ४, ५, ६, ७, १० र ११ का मान्छेहरू तुइन नचढी वारपार गर्न सक्दैनन् । गाउँपालिकाको सेवा लिन आउनेहरू तुइनको सहारामा झुण्डिएर खोला तर्नुपर्छ ।
अहिले ती तुइनहरू जीर्ण छन् । खिया लागेको फलामे डोरीमा काठको थोत्रो बक्स जोडेर चलाउने गरिएको छ । हिउँदको महिना खोला सानो हुने भएकाले त्यति गाह्रो पर्दैन । तर बर्खामा सबै बाटा बन्द हुन्छन् । जुनीचाँदे–४ लुवादह र ११ नम्बर वडाको ताँगा जोड्ने तुइनमा दैनिक १५ देखि २० जनाले आउजाउ गर्छन् । ११ नम्बर वडामा रहेको स्वास्थ्य चौकी जान पनि बिरामीलाई तुइन चढ्नुपर्ने बाध्यता छ ।
राम्रो उपचार पाउने स्वास्थ्य चौकी ११ नम्बर वडामा भएकाले सबैजसो बिरामीहरू ज्यान जोखिममा राखेर तुइनमा झुण्डिएर स्वास्थ्य चौकीसम्म पुग्छन् । यतिबेला बर्खाको भेलसँगै आफ्नो ज्यानलाई जोखिममा राखेर आवतजावत गर्नुपर्छ । स्थानीय बजारमा किनमेलका लागि दैनिक जसो तुइन चढ्नुपर्छ । तुइन जीर्ण बनेकाले खस्ने हो कि भन्ने चिन्ता हुन्छ । प्लाष्टिक र खिया लागेको फलामको डोरी (लडि) बीचमै अड्किन्छ कि भन्ने पीरैपीरमा वारपार गर्नुपर्छ ।
छेडागाड—६ को सुवानाउली जान मजकोटखोलामा रहेको तुइन तर्नुपर्छ । त्यहाँको तुइन तरेबापत प्रति दिन १०० रुपैयाँ दिनुपर्छ । गाउँनजिकै पुल छैन, तुइन चढ्दा हातखुट्टामा चोटपटक लाग्ने, खस्ने जोखिम उस्तै छ । छेडागाड–४ र जुनीचाँदे–६ को नरमराखोलामा रहेको तुइनबाट दिनमा दुई₋तीन सय जनाले वारपार गर्छन् । मजकोटखोलाको बिराखोला र लामाताडामा झोलुंगे पुल बनेको छ । तर, ती पुल तर्न कम्तीमा दुई/तीन घण्टा पैदल हिंड्नुपर्छ ।
गाउँपालिकाको केन्द्रसम्म पुग्न तुइन चढ्नुपर्छ । कक्षा ६ देखि स्नातकसम्म पढ्ने विद्यार्थी पनि त्यही बाटो भएर विद्यालय जान्छन् । खोला पारि बजार, विद्यालय छ । स्वास्थ्य चौकीदेखि स्थानीय तहको कार्यालय समेत छ । हाम्रा दैनिकीका हरेक दिन खोला पारिको बजारसँग जोडिएको छ । तर बजार पुग्न खोला तर्नुपर्छ । खोला तर्न तुइन चढ्नुपर्छ । तुइनमा बस्दा मात्रै मुटुले ठाउँ छोड्छ ।
म आफैं धेरै पटक तुइनबाट वारपार गर्दा बीचमा डोरी चुँडिएर अड्किएको छु । पछि गाउँलेले उद्धार गरे । तल उर्लंदो बर्खे खोला छ । खोलाको ठिकमाथि तुइनको बक्समा ३–४ घण्टा झुण्डिएर बस्नु पर्दा कस्तो हुन्छ होला ? तपाईंहरूले कल्पना गर्नुभएको छ ? गर्भवती र अशक्त पनि त्यसरी झुण्डिएका छन् । पछिल्लो तीन वर्षमा त्यही तुइनबाट खसेर दुई जनाको ज्यान गइसकेको छ । वर्षेनि तीन–चार जना घाइते हुने गरेका छन् ।
तुइन नचढे हाम्रो चुलो बल्दैन । हाम्रा खेतबारीको तरकारी र अन्न लिएर बजार झर्दा पनि तुइन नै तर्नुपर्छ । डोको बोक्नभन्दा गाह्रो काम तुइनले खोला पार गर्नु हो । घुमेर गयो भने ३/४ घण्टा लाग्छ । तुइनबाट नतरी सुखै छैन । तुइनबाट सामान तारेको छुट्टै पैसा तिर्नुपर्छ ।
तुइनले हाम्रो जीवनमा सहयोग पुर्याइरहेको छ । तर निकै कारुणिक र भयावह अवस्था छ । त्यही तुइनबाट महिला, कलिला बालबालिका, ज्येष्ठ नागरिक, बिरामी र गर्भवतीहरू वारपार गर्छन् । तुइनमा झुण्डिएर वारपार गर्दा हामी थाकिसक्यौं, पीडा माथि झन् पीडा थप्ने यी तुइन कहिले विस्थापित हुन्छन्, सरकार ?
हरेक पटक चुनावमा भोट माग्न आउने नेताहरू तुइन हटाइदिन्छौं भन्दै बाचा गर्छन् । हामीले पनि फरक पार्टी र तिनका नेताहरूलाई भोट दियौं । तर चुनाव जितेपछि देखा पर्दैनन् । हाम्रै क्षेत्रबाट चुनाव जितेर जानुभएका सांसद शक्तिबहादुर बस्नेत धेरै पटक संघीय सरकारको मन्त्री बनिसक्नुभएको छ । प्रदेश सभामा चुनाव जितेर जानुभएका अर्का नेता राजीवविक्रम शाह अहिले कर्णाली सरकारको अर्थमन्त्री हुनुहुन्छ ।
योभन्दा अगाडि पनि उहाँहरूले नै चुनाव जित्दै आउनुभएको थियो । उहाँहरू भोट माग्न आउँदा ‘यो ठाउँका लागि अरू केही पनि गर्नुपर्दैन, झोलुङ्गे पुल भने बनाइदिनुहोस्’ भनेर सिङ्गो गाउँलेले आग्रह गरेका थिए । भोट पनि उहाँहरूलाई नै हाल्यौं । तर चुनाव जितेपछि फर्किएर गाउँमा आउनुभएको छैन ।
हेर्दा सामान्य लाग्ने यो विषयले हाम्रो जीवन मारिरहेको छ । हाम्रो दैनिकी प्रभावित भइरहेको छ । हामीलाई थुप्रै सेवा–सुविधाबाट वञ्चित गरिरहेको छ । झोलुङ्गे पुल नबन्दा अन्य विकासका आयोजना सञ्चालन गर्न कठिनाइ छ । विकास निर्माणका सामान तुइनबाट तार्दा लागत बढ्ने, समयमै काम सम्पन्न नहुने समस्या देखिन्छन् । लागत बढेपछि ठेकेदारले पनि काम अलपत्र छाड्छन् ।
सरकारले हाम्रो व्यथा कहिले बुझ्छ ? राज्यले पीडा देखेको मात्र छ, समाधानतर्फ सोच्दैन । सरकार र नेता जति फेरिए पनि हामीले तुइन फेर्ने नेता भेट्टाएका छैनौं । धेरै नेतालाई दु:ख पोखियो । कसैले व्यथा सुनेनन् । राज्यका हरेक निकायसँग हाम्रो एउटै माग छ– तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाइदेऊ ।
गुनासो लिएर हामीले स्थानीय तह, प्रदेश र संघीय सरकारलाई समेत माग पत्र पेश गरेका छौं । तर कसैले काम हुँदैन भन्दैनन्, काम पनि कसैले गर्दैनन् । कतै तुइन देखिए फोटो खिचेर ल्याउनु भन्ने केपी शर्मा ओली नै देशको प्रधानमन्त्री हुनुहुन्छ । पटक–पटक मागपत्र पठाउँदा समेत हाम्रो समस्या सम्बोधन भएन । हामीले तुइनबाट मुक्ति पाउन के गर्नुपर्ने हो सरकार ?
(जाजरकोट जुनीचाँदे गाउँपालिका–४, का स्थानीय खड्कासँग अनलाइनखबरकर्मी यज्ञ खत्रीले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4