
भर्खरै म कालीगण्डकी क्षेत्रका जिल्लाहरू भ्रमण गरेर फर्किएको छु। गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ लगायत जिल्लाको १८ दिने यात्रामा मैले अपार प्राकृतिक सौन्दर्यसँगै गहिरो नैराश्यता पनि महसुस गरें। पहाडी गाउँबस्तीहरूमा बढ्दो मानवीय मौनता र रित्तोपनले मन खिन्न बनायो। चौतारामा लौरो टेकेर बस्ने बुढाबुढीको आँखामा झल्किने पीडा, ‘गाउँमा सिंहदरबार आए पनि युवाहरू पलायन भए’ भन्ने उनीहरूको गुनासोले वर्तमान ग्रामीण यथार्थको चित्रण गर्छ।
पर्वतको एउटा चिया पसलमा चिया बेच्ने बाजेसँगको कुराकानीले त गाउँको कहालीलाग्दो चित्र नै देखायो- ‘गाउँका आधाभन्दा बढी घरमा ताला लागेका छन्, बाँदरको रजाइँ छ। दश वर्षअघिसम्म यस्तो थिएन बाबु, अहिले सबै रित्तिए। छोराहरू विदेशमा छन्, बुहारीहरू पोखरामा। मलाई पनि पोखरा बस्न भन्छन्, तर मन लाग्दैन, बुढी बितेको २७ वर्ष भयो, म एक्लै यहाँ चिया र मकै बेच्दैछु।’
सामाजिक र सांस्कृतिक विनाश
नेपालका गाउँहरू मौन हुँदै गएका छन्। यो मौनता केवल प्राकृतिक बिम्ब होइन, यो सामाजिक र सांस्कृतिक संरचनाको विनाश हो। हिजो जहाँ बिहानै चराहरू चहकिंदै गुञ्जन्थे, आज त्यहाँ मौन आर्तनाद छ। पहिला जहाँ खेतमा काम गर्ने मान्छे हुन्थे, आज त्यहाँ झारको जङ्गल फिंजिएको छ, बाँझोपनले गाउँको मुहार डामेको छ। गाउँहरू साँच्चिकै रित्तिंदै छन्- शाब्दिक रूपमा पनि, सांस्कृतिक रूपमा पनि। खेतबारी बाँझै, कुलाहरू सुकेका र गोरेटो बाटो झारपातले ढाकिएका छन्। यो मौनताले एक पुस्तान्तरणको भयानक पीडा बोकेको छ।
युवा पलायनको भयावह चित्र
विसं २०६८ को जनगणना अनुसार नेपालका झन्डै ८३ प्रतिशत जनता ग्रामीण क्षेत्रमा बसोबास गर्थे। २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार त्यो अनुपात घटेर ६५ प्रतिशतमा आइपुगेको छ। यो केवल तथ्याङ्क होइन, लाखौं सपनाको विचलन हो। गण्डक क्षेत्रका जिल्लाहरू जस्तै गुल्मी, पाल्पा, स्याङ्जा, पर्वत, कास्की, बाग्लुङ, म्याग्दी, मुस्ताङका हजारौं युवाहरू रोजगारीको खोजीमा परदेशिएपछि गाउँमा अहिले पर्खालहरू मात्रै बाँकी छन्, भित्ताहरू मौन छन्। एक गाउँका ५० घरमध्ये ३० घरमा ताला झुन्डिएका छन्, बाँकीमा बुढाबुढी छन्, जसको आँखामा आशुसँगै अझै छोराछोरी फर्किन्छन् कि भन्ने झिनो आशा देखिन्छ। तर, फर्कने आशा मात्र हो, यथार्थ अर्कै छ। विदेशबाट आउने रेमिट्यान्सले घर चले पनि गाउँको मुहार फेरिएको छैन, बरु सधैंका लागि उजाड बन्दै गएको छ।
नेपालमा हाल करिब ३५ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा छन्। भारतमा रहेका समेत जोड्दा आधा करोड नाघ्छ। एक वर्षमा मात्रै ५ लाखभन्दा बढी श्रम स्वीकृति जारी हुन्छ। तीमध्ये अधिकांश ग्रामीण पृष्ठभूमिबाट आएका युवाहरू हुन्। उनीहरूले विदेशमा श्रम गर्छन्, पैसा पठाउँछन्, तर आफ्नै गाउँ फर्किन सक्दैनन्। किनकि उनीहरूलाई लाग्छ—गाउँमा भविष्य छैन, न अवसर छ न त सम्मान नै। यो धारणा केवल व्यक्तिगत सोच होइन, राज्यप्रणालीको चरम विफलताको उपज हो। यी यावत् कारणले पलायन भएका युवाहरू उतै हराउने जोखिम पनि बढाएको छ।
रित्तोपनका मूल कारण
गाउँ रित्तिनुमा धेरै कारण छन्। पहिलो हो, वैदेशिक रोजगारीको कहालीलाग्दो आकर्षण। यहाँ न पढाइपछि रोजगारीको सुनिश्चितता छ न त श्रमको उचित सम्मान। गाउँमा शिक्षित युवालाई काम, अवसर र सम्मान केही पनि छैन। तसर्थ १०+२ सिद्याए लगत्तै आईईएलटीएस, पीटीई गरेर नवजवानहरू पनि बाहिरिंदै छन्। हामीले देखेकै छौं मास्टर्स र पीएचडी गरेका कैयौं युवा पनि बेरोजगार भई यत्तिकै बस्न बाध्य छन्। शहरहरूमा त केही सम्भावना बाँकी छन् तर गाउँको अवस्था दिनानुदिन जटिल र निराशाजनक हुँदै गएको छ।
अर्को कारण हो- राज्यको चरम शहरमुखी विकास नीति। सडक, अस्पताल, इन्टरनेट, शिक्षा, रोजगारी सबै शहरतिरै केन्द्रित छन्। विकासको पाइला जब गाउँ पुग्दैन, तब गाउँको आत्मबल आफैं मरेर जान्छ। गाउँलेहरूलाई लाग्छ, राज्यले हामीलाई पूरै बिर्सिसकेको छ। नीतिनिर्माताहरूको अदूरदर्शिता र कार्यान्वयनको फितलोपनले गाउँलाई पङ्गु बनाउँदै लगेको छ। जबसम्म गाउँ सिगारिंदैन तबसम्म देश उज्यालिंदैन।
पहिचानको पतन: संस्कृति र जीवनपद्धतिको अन्त्य
यो रित्तोपन केवल जनसङ्ख्याको घटबढ मात्र होइन, यो संस्कृति, परम्परा र जीवनपद्धतिको पतन हो। गाउँहरू सधैं लोकसंस्कृति, परम्परा र सहजीवनको मेरुदण्ड थिए। चाडपर्व, नाचगान, भजन, मेलापात, गाउँघरको गफ, सामूहिक काम- यी सबै गाउँको आत्मा थिए। तर ती सबै आज विलुप्तप्राय: छन्। बाग्लुङका स्थानीयले बताएअनुसार बाग्लुङको माथिल्लो भेगमा प्रत्येक साँझ सबै जना जम्मा भएर नाचगान गर्ने चलन थियो। तर, आजभोलि त्यो गाउँका युवा वर्गको कमिका कारण लुप्त हुँदैछ। दशैं-तिहारमा पनि गाउँ सुनसान हुन्छ, पुराना रीतिरिवाजहरू लोप हुँदै गएका छन्। बालबालिकाले अब ‘गाउँ’ भन्ने शब्द केवल किताबमा पढ्दै गइरहेका छन्, उनीहरूको लागि त्यो एउटा ‘विलुप्त सभ्यता’ जस्तै हुँदैछ।
सरकारी उदासीनता
तर, परिस्थिति यति नै निराशाजनक छ त? होइन। केही युवाहरू फर्किएका छन्, जसले गाउँमै केही गर्ने आँट गरेका छन्। कोही बाख्रापालनमा लागेका छन्, कसैले कुखुरा फार्म खोलेका छन्, कोही सामूहिक कृषि गर्दैछन्। कोहीले गाउँमै होमस्टे सञ्चालन गरेका छन्, जसले स्थानीय संस्कृति र पर्या-पर्यटनलाई जोडेको छ। डिजिटल प्रविधिको प्रयोग गरेर गाउँमै व्यवसाय चलाउनेहरू पनि देखिन थालेका छन्, जसले गाउँलाई शहरसँग जोड्ने पुल बन्न सक्छ।
तर, यो सङ्ख्या अझै न्यून छ। राज्यको नीति अझै पनि यस्ता प्रयासलाई सघाउन सक्ने तहमा पुगेको छैन, बरु अवरोध नै सिर्जना गरिरहेको छ। सरकारले ‘घर फर्क कार्यक्रम’, ‘एक गाउँ–एक उद्यम’ जस्ता केही पहल थालेको छ, तर ती कागजी रूपमा मात्र सीमित भइरहेका छन्, कार्यान्वयन पक्ष फितलो छ। यसका लागि वास्तविक प्रतिबद्धता र दीर्घकालीन योजना अपरिहार्य छ।
अस्तित्वको प्रश्न र फर्किने बाटो
यो देशको मुटु शहरमा छैन, गाउँमा छ। गाउँहरूलाई जीवित राख्न सकेनौं भने हामी शहरमा ठूला घर बनाउँछौं होला, तर त्यो घरमा आत्मा हुनेछैन। हाम्रा छोराछोरीहरूले आफ्नो मूल पहिचान गुमाउने छन्। त्योभन्दा ठूलो राष्ट्रिय सङ्कट अरू केही हुन सक्दैन। यही अवस्था रहिरहे अन्ततः नेपाल वृद्धाश्रम बन्नेछ तत्पश्चात् नेपालको अवस्था कसैले पनि फेर्न नसक्ने भएर सदाका लागि मोडिनेछ। गाउँहरू केवल भौगोलिक संरचना होइनन्, ती भावना, पहिचान र हाम्रो इतिहास हुन्। आज हामीलाई गाउँ सम्झन मन लाग्छ, तर फर्कन मन लाग्दैन। यो नै हामीलाई आत्मरक्षा गर्न नदिने अवस्था हो। हामी सोच्न बाध्य छौं- के हामी गुमाउँदैछौं त्यो केवल गाउँ हो त? कि हाम्रो नै अस्तित्व ?
प्रतिक्रिया 4