
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलन विभाजित भएकाले देशको समग्र अवस्था संकटपूर्ण बन्दै गएको बताएका छन्।
- खनालले भारतसँग सुपुर्दगी सन्धि, कोशी उच्च बाँध र नागरिकता विधेयकमा सतर्क नहुँदा राष्ट्रियतामा खतरा बढ्ने बताए।
- खनालले पूर्वप्रधानमन्त्री प्रचण्डलाई यी विषयमा सतर्क रहन पनि सुझाएका छन्।
- वर्तमान सरकारले राष्ट्रिय हितमा काम नगरेको आरोप उनको छ।
१० साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशमा कम्युनिस्ट आन्दोलन विभाजित भएकै कारण देशको समग्र अवस्था संकटपूर्ण बन्दै गएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा पुष्पलालको स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारबाट विभिन्न तीन वटा सन्धि/सहमति हुन लागेको बताएका छन् ।
खनालका अनुसार, ती विषयमा सतर्क नहुने हो भने नेपालको राष्ट्रियतामाथि झनै खतरा बढ्दै जाने छ ।
भारतसँग हुन लागेको सुपुर्दगी सन्धि, कोशी उच्च बाँध र नागरिकता विधेयकको विषयमा सतर्क नहुने हो भने राष्ट्रियतामाथि नै संकट आउनसक्ने सम्भावना रहेको खनालको जिकिर छ ।
‘कम्युनिस्ट आन्दोलन विभाजित र विखण्डित भएको हुनाले हाम्रो देशको समग्र स्थिति संकटपूर्ण छ । राजनीतिक संटक बढिरहेको छ । सामाजिक सांस्कृतिक संकट पनि बढिरहेको छ,’ उनले भनेका छन् ।
खनालले यी विषय प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुनाउन चाहेका थिए । प्रचण्ड सोही कार्यक्रममा सरिक भएका थिए ।
तर, समयको व्यस्तता देखाउँदै खनाल बोल्नुभन्दा अघि नै बोलेर प्रचण्ड कार्यक्रमबाट बाहिरिए । प्रचण्ड हिँडेपछि बोलेका खनालले भने, ‘पुष्पकमल दाहालजी यहाँ हुनुहुन्थ्यो । तर, उहाँ हिँड्नुभयो । उहाँलाई सुनाउनुपर्ने एक दुई वटा कुरा थिए । अब पत्रकारहरूमार्फत मैले सुनाउनुपर्ने भयो ।’
प्रतिपक्षी दलको नेताको हैसियतमा यी विषयमा सतर्क रहन उनले प्रचण्डलाई सुझाएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रेहका खनालका अनुसार, सुपुर्दगी सन्धि गर्दा दुई छिमेकी मुलुकसँग सन्तुलन मिलाउन नसकेको खण्डमा राष्ट्रियतामाथि नै हमला हुने खतरा छ ।
त्यस्तै, कोशी उच्च बाँधको विषय कसरी आउँदैछ भनेर पनि जनता र राजनीतिक दलहरूले बुझ्नुपर्ने उनको भनाइ थियो । यसअघि भएका कोशी, गण्डक र टनकपुर सम्झौता कुनै पनि नेपालको हितका लागि नभएको जिकिर गर्दै यो सम्झौता पनि कसरी हुँदैछ भन्ने विषयमा सतर्क रहनुपर्ने खनालले बताएका छन् ।
त्यस्तै, सरकारले ल्याउन लागेको नागरिकता विधेयकमा समावेश एउटा बुँदा झनै संवेदनशील रहेको उनको भनाइ थियो । खनालका अनुसार, तिब्बतबाट नेपाल भित्रिएका करिब ४० हजार व्यक्तिलाई नागरिकता दिलाउनेगरी सरकारले विधेयक ल्याउँदैछ ।
‘उत्तरतर्फबाट नेपालमा प्रवेश गरेर लामो समयदेखि बसोवास गरेका करिब ४० हजार मानिसहरू नागरिकता उद्देश्य छ भन्ने सुनिरहेको छु । नेपालका देशभक्तहरूले यो कुरालाई पनि ध्यानमा राख्नुपर्यो,’ खनालले भनेका छन् ।
यी विषयमा ध्यान दिन नसक्ने हो भने देश बढिरहेको राजनीतिक, सामाजिक र सांस्कृतिक संकटसँगै राष्ट्रियताको विषय पनि संकटमा पर्ने खनालको दाबी छ ।
‘हाम्रो देश अहिले पनि राजनीतिक, आर्थिक संकटमा मात्रै छैन । कम्युनिस्ट आन्दोलन विभाजित र विखण्डित भएको हुनाले हाम्रो देशको समग्र स्थिति संकटपूर्ण छ । राजनीतिक संटक बढिरहेको छ । सामाजिक सांस्कृतिक संकट पनि बढिरहेको छ,’ उनले भनेका छन् ।
तर, यी विषयमा सरकारले केही काम गर्न नसकेको उनको आरोप छ । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर हात्तीजस्तै सरकार बनाए पनि कमिलाले जति पनि काम गर्न नसकेको खनालले आरोप लगाए ।
‘देशमा दुईवटा हात्तीजस्तै पार्टीको सरकार छ । तर यसले राष्ट्रिय हितमा कमिलो पनि मार्न सकेन । यो सरकारले जे जस्ता यस्ता काम गर्न खोजेको छ, यसमा आम जनताले सतर्कता लिनुपर्ने र खबरदारी गर्नुपर्ने आवश्यकता छ,’ उनले भनेका छन् ।
यी हुन राष्ट्रियतालाई जोड्दै खनालले सतर्क गराएका तीन विषय :
पहिलो, अहिले मैले के सुनिरहेको छु भने, नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि हुँदैछ । त्यो सुपुर्दगी सन्धि गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धि गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुने अवस्था छ । यो कुरामा नेपालका सबै देशभक्तहरू सचेत हुन जरुरी छ ।
दोस्रो, कोशी उच्च बाँधको कुरा आइरहेको छ । कोशी उच्च बाँधको कुरा कसरी आउँदैछ भन्ने कुरा नेपाली जनताले पहिला थाहा पाउनुपर्छ । नेपालका सबै राजनीतिक पार्टीहरूले पनि थाहा पाउनुपर्छ । यो नेपालको हितमा हुँदै छ कि छैन ? हामीले कोशी सम्झौता, गण्डक सम्झौता गर्यौं, पछि टनकपुर सम्झौता गर्यौं । ती कुनै पनि नेपालको राष्ट्रिय हितका लागि भएनन् । नेपालको राष्ट्रिय हितलाई ग्यारेन्टी राखेर मात्रै कुनै पनि ठूलो उच्च बाँधहज्ञ बाँधिनुपर्छ ।
तेस्रो, अहिले नागरिकता विधेयक जुन छ । यो नागरिकता विधेयकमा एउटा क्लज राखिँदै छ अरे । त्यो क्लज भनेको के हो भने, कसैलाई नागरिकता दिनुपर्यो त्यो नागरिकको आमाको नाम भए पनि पुग्छ, बाबुको नाम नराखे पनि हुन्छ भन्ने खालको कुरा त्यसमा राखिँदै छ अरे । यसको उद्देश्य के हो ? यसको उद्देश्य भनेको उत्तरतर्फबाट नेपालमा प्रवेश गरेर लामो समयदेखि बसोवास गरेका करिब ४० हजार मानिसहरू नागरिकता उद्देश्य छ भन्ने सुनिरहेको छु । नेपालका देशभक्तहरूले यो कुरालाई पनि ध्यानमा राख्नुपर्यो ।
प्रतिक्रिया 4