+

अहिले धेरैजसो बच्चाले चस्मा लगाइरहेका छन्, दृष्टिदोषको जोखिम बढ्यो (भिडियो)

२०८२ साउन  १२ गते १३:१५ २०८२ साउन १२ गते १३:१५

चश्मा लगाउनेले पावर बढाउँछ भन्ने विश्वास वैज्ञानिक रूपमा गलत छ । चश्मा लगाउने कुरा आँखाले स्पष्ट देख्नका लागि हो ।

अहिले धेरैजसो बच्चाले चस्मा लगाइरहेका छन्, दृष्टिदोषको जोखिम बढ्यो  (भिडियो)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालबालिकामा चश्मा लगाउने संख्या पछिल्लो तीन दशकमा तीन गुणा बढेको छ भने जीवनशैली परिवर्तन मुख्य कारण हो।
  • मोबाइल, ट्याब्लेट जस्ता स्क्रिन उपकरणमा लामो समय बिताउँदा आँखाको मांसपेशी थकाउँछ र मायोपिया बढ्न सक्छ।
  • बालबालिकालाई दिनमा कम्तीमा एक घण्टा घाममा खेल्न लगाउन र ३०–४५ मिनेटमा स्क्रिनबाट ब्रेक लिन सल्लाह दिइन्छ।

काठमाडौं । एउटा समय थियो, जब स्कुलका कक्षामा नजर घुमाउँदा चस्मा लगाउने विद्यार्थी औंलामा गन्न सकिन्थे । तर अहिले परिस्थिति फेरिएको छ । सानै उमेरमा चस्मा लगाउने बालबालिकाको संख्यामा व्यापक वृद्धि भएको छ ।

यसरी कम उमेरमै चस्माको प्रयोग व्यापक हुनुको अर्थ हो, आजको पुस्ताको आँखासम्बन्धी समस्या तीव्र गतिमा बढिरहेको छ ।

सन् १९९० यता हेर्ने हो भने बालबालिकामा चस्माको आवश्यकता झन्डै तीनगुणाद्ये बढेको पाइन्छ ।

विशेषज्ञ भन्छन्- यसको मूल कारण ‘जीवनशैली’ हो । हरेक काम स्क्रिनमा निर्भर, बाहिरी खेलकुदको कमी र असन्तुलित बानी–व्यवहारले उनीहरूका आँखामा समयभन्दा पहिले नै असर गर्न थालेको छ ।

कसरी बन्यो जीवनशैली यति खतरनाक ? किन अहिलेको पुस्तामा चाँडै चस्मा लगाउनुपर्ने अवस्था आइरहेको छ ? र, सानै उमेरदेखि चस्मा लगाउनु परे भविष्यमा यसले के
असर पार्न सक्छ ?

यही सेरोफेरोमा रहेर बीपी नेत्र प्रतिष्ठान (चियर्स अस्पताल)मा कार्यरत नेत्ररोग विशेषज्ञ डा. समता शर्मासँग अनलाइनखबरका लागि मनिषा थापाले गरेको कुराकानीको सम्पादिन अंश:

के अहिले चस्मा लगाउनेको बालबालिकाको संख्या तीव्ररुपले बढ्दै हो ?

हो, तुलनात्मकरुपमा चस्मा लगाउनेको संख्या बढ्दो छ । पहिले एक–दुई जना बालबालिका मात्र चस्मा लगाउँथे भने अहिले एउटा कक्षामा १०–१५ जना विद्यार्थी चस्मा लगाएको देखिन्छ ।

पछिल्लो तीन दशकमा बालबालिकामा चस्माको प्रयोग तीन गुणा बढेको अध्ययनले देखाउँछ ।

चस्मा लगाउनेको संख्या तीन गुणाले बढ्नुको कारण के होला ?

बालबालिकालाई सानैदेखि चस्मा लगाउनुपर्ने पछाडि धेरै कारण छन् । एउटा प्रमुख कारण हो, आँखाको जन्मजात बनावट र संरचना । बच्चाको आँखा पूर्णरूपमा विकास भइनसक्दा दृष्टि कमजोरी देखा पर्न सक्छ ।

अर्को कारण हो, वंशाणुगत । यदि आमाबुबा वा घरको सदस्यले चस्मा लगाउँछन् भने त्यो बच्चामा पनि समस्या आउने सम्भावना हुन्छ । अहिलेको समयको सबैभन्दा प्रमुख कारण भनेको परिवर्तित जीवनशैली हो । अहिले पढ्ने, लेख्ने र घुम्ने तरिका फरक भइसकेका छन् । पहिला बाहिर बढी खेलकुद हुन्थ्यो भने अहिले उनीहरू घरमै बढी समय बिताउँछन्, स्क्रिनमा झुम्मिन्छन् र बाहिर खुलेर घाममा खेल्न पाउँदैनन् ।

मोबाइल, ट्याब्लेट, ल्यापटपजस्ता उपकरणमा लामो समय बिताउनु, आकाश र हरियालीबाट टाढिनुजस्ता बानीहरूले आँखाको विकासमा नकारात्मक असर पारेको छ । त्यसैले सानैदेखि चस्मा लगाउनुपर्ने बालबालिकाको संख्या तीव्र रुपमा बढिरहेको छ ।

जीवनशैलीमा आएको परिवर्तनले आँखाको स्वास्थ्यमा कसरी असर पारिरहेको छ त ?

विगतमा बच्चाहरू बिहान बेलुका घाममा खुलेर खेल्थे, टाढा हेर्ने अभ्यास हुन्थ्यो । अहिले उनीहरू घामभन्दा स्क्रिनसँग बढी नजिक छन् । खुला प्रकृति, हरियाली, घामजस्ता प्राकृतिक सम्पर्कबाट टाढिनुले आँखाको सन्तुलित विकासमा बाधा पुग्छ ।

नजिकको वातावरणमा मात्र सीमित हुँदा आँखाको लम्बाइ बढ्ने, पावर चाँडै देखिने सम्भावना हुन्छ ।

अनि, स्क्रिन लामो समयसम्म हेर्दा आँखा कसरी प्रभावित हुन्छन् ?

धेरैले भन्छन्, मोबाइल बढी हेर्दा यो समस्या हुन्छ । यो आंशिक सत्य हो । स्क्रिनले सिधै आँखामा असर पार्दैन । तर लामो समय नजिकबाट स्क्रिन हेर्नु आँखाको मांसपेशीलाई थकाउँछ । यसले आँखाको लम्बाइ बढाउन सक्छ । अनि बिस्तारै दृष्टि गुम्न थाल्छ ।

बच्चाले ३०–४० मिनेटमा ब्रेक नलिएर स्क्रिनमा झुम्मिनु, आँखा नचलाउनु, बाहिर ननिस्कनुजस्ता व्यवहारले दृष्टिमा नकारात्मक असर पार्छ । त्यसैले स्क्रिन प्रयोगको सन्तुलन, घाममा समय बिताउने बानी र आँखाको नियमित जाँच महत्वपूर्ण हुन्छ ।

चस्मा लगाउनै पर्ने अवस्था कसरी र्निधारण हुन्छ त ? पावर भन्नाले के बुझिन्छ ?

चस्मा लगाउनु पर्ने अवस्था आँखाको बनावट र पावरमा भर पर्छ । कुनै बच्चाले बिना चस्मा सफा स्पष्ट रुपमा देख्न सक्दैन भने उसलाई चस्माको सहायताबाट सफा र स्पष्ट देख्न सक्ने बनाइन्छ । र, यो आँखाको पावर पनि विभिन्न किसिमको हुन्छ ।

प्लस पावर, माइनस पावर, छड्के पावर । यो तीनवटा पावरमध्ये पनि माइनस पावर बच्चामा बढी देखिन्छ । जसलाई हामीले मायोपिया भन्छौं । यो मायोपिया चाहिँ एकदमै धेरै रुपमा बढ्दै गइरहेको छ । अध्ययनहरुले सन् २०५० सम्ममा विश्वको ५० प्रतिशतलाई मायोपिया भइसकेको हुनेछ भनेर दावी समेत छ ।

मायोपिया भनेको के हो ?

मायोपिया भनेको नजिकका कुरा प्रस्ट देखिने तर टाढाका कुरा धमिलो देखिने दृष्टिदोष हो । यो समस्या आँखा लामो हुनुलाई जनाउँछ । यो अवस्थामा टाढाबाट बोर्ड, टिभी वा सडक चिन्ह राम्रोसँग देखिँदैन । सहजै देख्न माइनस पावरको चस्मा आवश्यक पर्छ । यो समस्यामा चस्मा, कन्ट्याक्ट लेन्सबाट उपचार गरिन्छ ।

बच्चामा यो बढ्न नदिन मोबाइल कम प्रयोग र बाहिर खेल्न सुझाव दिइन्छ ।

के यसको असर दीर्घकालीन हुन्छ ?

मायोपिया भएमा उच्च मायोपियाले आँखा भित्रको पर्दा फाट्ने, जलबिन्दु, मोतिबिन्दु हुने सम्भावना बढाउँछ । आँखाको माइनस पावर माइनस फोर डाइप्टर भन्दा माथि गयो भने त्यो त्यस्तो अवस्थालाई हाई मायोपिया भनिन्छ ।

आँखाको पर्दामा विभिन्न प्रकारको असरहरु देखिन थाल्छ । आँखा चिरफार गर्नुपर्ने अवस्था पनि आउन सक्छ । विशेषगरी सानो उमेरदेखि सुरु भएको मायोपिया बढी खतरनाक हुन्छ, किनभने उमेरसँगै पावर पनि बढिरहन्छ । त्यसैले सुरु मै नियन्त्रण गर्न आवश्यक हुन्छ ।

त्यस्तैगरी आँखाको मुख्य देख्ने भाग जसलाई हामीले म्याकुला भन्छौ । त्यसमा पनि यसले क्षति पुर्याउन सक्छ । यो सँगसँगै जलबिन्दु हुने सम्भावना बढेर जान्छ मोतिबिन्दु हुने सम्भावना पनि बढेर जान्छ । जसले माइनस पावरको चस्मा लगाउछन् । उनीहरु लगातार स्क्रिनमा टाइम बिताउछन् भने त्यो माइनस पावर चाहिँ झन्झन् बढ्दै जाने सम्भावना चाहिँ धेरै हुन्छ ।

चस्मा लगायो भने पावर बढ्छ भन्ने भ्रम पनि छ, नि ?

यो पूर्णतः भ्रम हो । चस्मा लगाउनेले पावर बढाउँछ भन्ने विश्वास वैज्ञानिक रूपमा गलत छ । चस्मा लगाउने कुरा आँखाले स्पष्ट देख्नका लागि हो । पावर बढ्नु र घट्नु आँखाको विकास, आनुवंशिकता, जीवनशैली आदिमा निर्भर गर्छ ।

यदि बच्चाले चस्मा नलगाए भने उसलाई पढ्न, हेर्न, बुझ्न गाह्रो हुन्छ, जसले सिकाइमा असर पार्छ । उसले आत्मविश्वास गुमाउँछ । यति मात्र होइन, दृष्टि प्रणालीको विकासमै असर पर्न सक्छ ।

त्यसैले बच्चाले चस्मा लगाउन नचाहे पनि उसलाई उत्प्रेरणा दिनुपर्छ ।

पावर बढ्न नदिनका लागि के गर्न सकिन्छ ? के चस्मा हटाउन सकिने त्यस्तो कुनै उपाय छैन ?

मायोपिया भइसकेपछि पावर घटाउन सकिँदैन । तर बढ्न नदिन प्रयास गर्न सकिन्छ । बच्चालाई दिनमा कम्तीमा एक घण्टा घाममा खेलाउने, मोबाइल/ट्याब्लेट प्रयोगको समय सीमित गर्ने, पढाइका बीचमा ब्रेक दिनेजस्ता उपाय अपनाउनुपर्छ ।

चिकित्सकको सल्लाहमा दिइने ड्रपले पावर बढ्न रोक्न सक्छ । चस्मा हटाउने उपायमा सानो उमेरमा विकल्प कम छन् । पछि गएर लसिक जस्ता सर्जरी विकल्प हुन सक्छ । तर त्यो पनि उमेर, पावरको मात्रा र आँखाको अवस्थाअनुसार फरक पर्छ । अहिलेका लागि मुख्य उपाय भनेको सुरक्षात्मक बानी अपनाउनु हो ।

बालबालिका आफैंले दृष्टिदोष भएको अनुमान गर्न सक्दैनन् । उनीहरु आफूलाई समस्या भए अभिव्यक्त गर्न सक्दैनन् । यस्तोमा अभिभावकले बच्चाको आँखामा समस्या छ भनेर कसरी थाहा पाउने ?

सानो बच्चाले आँखामा समस्या भएको स्पष्ट भन्न सक्दैन । त्यसैले उसको व्यवहारबाट बुझ्नुपर्छ । त्यो व्यवहार अभिभावक भन्दा पनि पहिला शिक्षकले पहिल्याउँछन् । जस्तो कि, स्कुलमा बोर्ड स्पष्ट देख्दैन भने दृष्टि परीक्षण गराउनुपर्छ । कतिपय बच्चाले पढाइमा मन नलाग्ने, टाउको दुख्ने गुनासो गर्छन् ।

जुन दृष्टि समस्याको लक्षण हुन सक्छ । विशेषगरी कक्षा १ देखि नै यस्तो समस्या देखिन सक्छ, जब उसले बोर्डमा पढ्न थाल्छ । यो सबै पहिल्यान शिक्षकले सक्छन् । शिक्षकले ध्यान दिएर अभिभावकलाई समयमै जानकारी दिनु महत्त्वपूर्ण हुन्छ ।

घरमा पनि बच्चाको व्यवहारमा ध्यान दिए पत्ता लगाउन सकिन्छ । यदि बच्चाले टिभी वा किताब नजिकबाट हेर्छ, आँखा चिम्लिन्छ, टाउको तेर्स्याएर हेर्छ, बारम्बार झिम्क्याउँछ भने आँखामा समस्या त छैन भनेर एकपटक देखाउन आवश्यक हुन्छ ।

अहिले बच्चाहरूलाई डिजिटल संसारबाट टाढा राख्न असम्भव जस्तै छ, यस्तोमा उनीहरूको आँखा सम्बन्धी समस्या कसरी जोगाउन सकिन्छ ?

बच्चालाई टाढा राख्न नसके पनि हरेक ३० देखि ४५ मिनेटमा स्क्रिनबाट ब्रेक लिन लगाउनुपर्छ भनेर सिकाउनुपर्छ । जसले आँखामा हुने तनाव कम गर्छ । एकहोरो नहेर्न पटक-पटक झिम्क्याउन सिकाउनुपर्छ ।

दैनिक कम्तीमा दुई घण्टा बाहिर सूर्यको प्रकाशमा समय बिताउन प्रोत्साहन गर्नुपर्छ, किनकि सूर्यको प्रकाशले आँखाको माइनस पावर बढ्ने समस्यालाई धेरै हदसम्म नियन्त्रण गर्छ । बच्चाहरूलाई बाहिरी खेलकुद, जस्तै फुटबल वा क्रिकेट, खुला चौरमा खेल्न प्रेरित गर्नुपर्छ, किनकि छायाँमा वा फुटसल हलजस्ता ठाउँमा खेल्दा सूर्यको प्रकाशको पूर्ण फाइदा हुँदैन ।

बच्चाहरूमा आँखाको पावर नियन्त्रण गर्न विशेष आइ ड्रप राति सुत्ने बेलामा चिकित्सकको सल्लाहमा प्रयोग गर्न सकिन्छ र यो ड्रप बच्चाको बढ्ने उमेरसम्म, लगभग दुईदेखि चार वर्षसम्म, आवश्यक पर्न सक्छ।

खानपान कस्तो हुनु पर्छ ?

खानपानमा बजारका प्रशोधिन खानेकुराको सट्टा हरियो सागसब्जी र फलफूलमा जोड दिनुपर्छ, जसले आँखा र समग्र शरीरको स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । तर, सागसब्जी खाँदैमा चस्मा लाउनै नपर्ने भन्ने धारणा गलत हो, किनकि चस्माको आवश्यकता आँखाको पावर र अन्य कारकहरूमा निर्भर हुन्छ । यी उपायहरूले बच्चाहरूको आँखालाई डिजिटल स्क्रिनको हानिकारक प्रभावबाट जोगाउन सकिन्छ ।

चश्मा चस्मा मायोपिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अहिले धेरैजसो बच्चाले चस्मा लगाइरहेका छन्, दृष्टिदोषको जोखिम बढ्यो  (भिडियो)

अहिले धेरैजसो बच्चाले चस्मा लगाइरहेका छन्, दृष्टिदोषको जोखिम बढ्यो (भिडियो)

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

इन्सुलिन लिँदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरामा

इन्सुलिन लिँदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरामा

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

आलु र चामल : कुन खाँदा तौल छिटो बढ्छ ?

आलु र चामल : कुन खाँदा तौल छिटो बढ्छ ?

मखाना, चिया सिड र आलसलाई किन सुपरफुड भनिन्छ ?

मखाना, चिया सिड र आलसलाई किन सुपरफुड भनिन्छ ?