News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष हेपाटाइटिसबाट १३ लाख मानिसको मृत्यु हुन्छ र हरेक ३० सेकेन्डमा एक व्यक्तिको मृत्यु हुन्छ।
- हेपाटाइटिस बी र सी सबैभन्दा खतरनाक स्ट्रेन हुन् र विश्वभर २५.४ करोड मानिस हेपाटाइटिस बी र ५ करोड मानिस हेपाटाइटिस सी बाट ग्रसित छन्।
हेपाटाइटिस भनेको कलेजो सुन्निने रोग हो, जुन प्रायः भाइरल सङ्क्रमणको कारणले हुन्छ । यसले कलेजोको क्यान्सर, कलेजो फेल हुने अवस्था र कलेजो सम्बन्धी अन्य रोगहरू निम्त्याउन सक्छ ।
यो भाइरसका ६ वटा स्ट्रेनहरू छन्, जसलाई ‘ए’देखि ‘ई’ सम्म नाम दिइएको छ । तीमध्ये ‘बी’ र ‘सी’ सबैभन्दा खतरनाक छन् ।
विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार, प्रत्येक वर्ष यो रोगबाट १३ लाख मानिसको मृत्यु हुन्छ । यसको मतलब संसारमा हरेक ३० सेकेन्डमा एक व्यक्तिको मृत्यु हेपाटाइटिसको कारणले भइरहेको छ ।
हेपाटाइटिसको दायरा कति ठूलो छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर २५.४ करोड मानिस ‘हेपाटाइटिस बी’ बाट र ५ करोड मानिस ‘हेपाटाइटिस सी’ बाट ग्रसित छन् । हरेक वर्ष यो २३ लाखभन्दा बढी नयाँ केसहरू देखा पर्छन् ।
हेपाटाइटिस बी
विश्व स्वास्थ्य संगठनको पश्चिमी प्रशान्त क्षेत्रमा २.८ करोड मानिस लामो समयदेखि यो रोगबाट संक्रमित छन् । यसमा चीन, जापान, अस्ट्रेलिया र न्यूजिल्याण्ड रहेका छन् । अफ्रिकामा १.२ करोड मानिस यो रोगबाट प्रभावित छन् ।
दक्षिण–पूर्वी एसिया क्षेत्र जसमा भारत, थाइल्यान्ड र इन्डोनेसियामा १.१ करोड मानिस हेपाटाइटिस बी बाट प्रभावित छन् । विश्व स्वास्थ्य संगठनका अनुसार ‘हेपाटाइटिस बी’ ले हरेक वर्ष विश्वभर २ करोड मानिसलाई संक्रमित गर्छ र सन् २०१२ मा यसबाट ४४ हजार मानिसको मृत्यु भएको थियो । यो दक्षिण र पूर्वी एसियामा आम रुपमा देखिन्छ ।
कसरी फैलिन्छ हेपाटाइटिस ?
‘हेपाटाइटिस ए’ प्रायः दूषित खाना वा पानी खाँदा वा संक्रमित व्यत्तिको सम्पर्कमा आउँदा फैलिन्छ । यो कम र मध्यम आय भएका देशहरूमा धेरै देखिएको छ, जहाँ सरसफाइको अवस्था कमजोर छ । यसका लक्षणहरू चाँडै हराउँछन् र यो रोग लाग्ने प्रायः सबै जना निको हुन्छन् ।
तर यसले कलेजो फेल हुने जोखिम पनि निम्त्याउन सक्छ । सन् १९८८ मा चीनको सांघाईमा यो भाइरसबाट ३ लाख मानिस संक्रमित भएका थिए । त्यसपछि चीनले ‘हेपाटाइटिस ए’ को खोप दिन सुरु गरेको छ ।
हेपाटाइटिस बी निम्न कारणले फैलिन्छ
-जन्मको समयमा आमाबाट बच्चामा
-एक बच्चाबाट अर्को बच्चामा सम्पर्क हुँदा
दूषित सुई वा सिरिन्ज प्रयोग गर्दा, ट्याटु खोप्दा, छेड्दा वा संक्रमित रगत र शारीरिक तरल पदार्थको सम्पर्कमा आउँदा जस्तै, यौन सम्पर्कको क्रममा ।
हेपाटाइटिस सी र डी
‘हेपाटाइटिस सी’ र ‘डी’ दूषित रगतको सम्पर्कबाट फैलिन्छ, जस्तै सुई वा सिरिन्जको पुनः प्रयोग वा दूषित रगत चढाउँदा ।
‘हेपाटाइटिस डी’ केवल ‘हेपाटाइटिस बी’ भएका व्यक्तिहरूलाई मात्र हुन्छ, जुन करिब ५ प्रतिशत दीर्घकालीन हेपाटाइटिस बी भएका व्यक्तिहरूलाई प्रभावित गर्छ ।
हेपाटाइटिस ई
‘हेपाटाइटिस ई’ दूषित पानी पिउनाले वा खाना खानाले हुन्छ । यो दक्षिण र पूर्वी एसियामा धेरे देखिन्छ । विशेष गरी गर्भवती महिलाहरूका लागि हानिकारक हुन सक्छ ।
हेपाटाइटिसका लक्षणहरू
-ज्वरो
-कमजोरी
-भोक नलाग्ने
-पखाला
-वान्ता
-पेट दुख्ने
-गाढा रङको पिसाब र पहेँलो दिसा
-जन्डिस : छाला र आँखाको सेतो भाग पहेँलो हुने
तर, धेरैजसो मानिसमा लक्षणहरू हल्का हुन्छन् वा कतिपयमा कुनै लक्षण देखिँदैन । विश्व स्वास्थ्य संगठनको सन् २०२२ को तथ्यांकअनुसार, विश्वमा ८५ प्रतिशत दीर्घकालीन ‘हेपाटाइटिस बी’ र ६० प्रतिशत ‘हेपाटाइटिस सी’ भएका व्यक्तिहरूलाई यो रोगको बारेमा थाहा भएको छ ।
सबैभन्दा खतरनाक कुरा, धेरै मानिसले आफूलाई रोग भएको थाहा नपाएर अरूलाई पनि संक्रमण फैलाउन सक्छन् । त्यसैले विश्व स्वास्थ्य संगठन र चिकित्सकहरूले धेरैभन्दा धेरै जाँच गर्न आग्रह गर्छन् ।
हेपाटाइटिसको जाँच र उपचार
‘हेपाटाइटिस ए’, ‘बी’ र ‘सी’को जाँचका लागि पारिवारिक डाक्टर वा यौन स्वास्थ्य क्लिनिकमा गएर रगत जाँच गर्न सकिन्छ । ‘हेपाटाइटिस ए’ : यसको कुनै विशेष उपचार छैन, तर प्रायः मानिसहरू चाँडै निको हुन्छन् र यो भाइरसविरुद्ध रोग प्रतिरोधक क्षमता विकास हुन्छ ।
दीर्घकालीन ‘हेपाटाइटिस बी’ र ‘सी’ : एन्टिभाइरल औषधिहरूले उपचार गर्न सकिन्छ, जसले सिरोसिस कलेजोको क्षति बढ्नबाट रोक्छ र कलेजोको क्यान्सरको सम्भावना कम गर्छ ।
‘हेपाटाइटिस ए’ र ‘बी’ लाई रोक्न खोपहरू उपलब्ध छन् । जन्मको समयमा दिइने ‘हेपाटाइटिस बी’ को खोपले आमाबाट बच्चामा रोग सर्नबाट रोक्छ र ‘हेपाटाइटिस डी’ बाट पनि बचाउँछ ।
‘हेपाटाइटिस सी’ को खोप छैन, र ‘हेपाटाइटिस ई’ को खोप सबै ठाउँमा उपलब्ध छैन ।
हेपाटाइटिसबाट कसरी बच्ने ?
-खाना खानुअघि र शौचालय प्रयोग गरेपछि नियमित हात धुने
-घरमा सुरक्षित पिउने पानीको व्यवस्था गर्ने
-समुदायमा उचित ढल व्यवस्थापन गर्ने
-‘हेपाटाइटिस बी’, ‘सी’ र ‘डी’ बाट बच्न सुरक्षित यौन सम्पर्क गर्ने, कन्डमको प्रयोग गर्ने र धेरै व्यक्तिसँग शारीरिक सम्बन्ध नराख्ने ।
-इन्जेक्सन लगाउँदा, छाला छेड्दा वा ट्याटु बनाउँदा सुई अरूसँग साझा नगर्ने ।
-‘हेपाटाइटिस बी’ का लागि रगत वा दूषित सतहको सम्पर्कपछि हात धुने ।
-यदि वयस्क हुनुहुन्छ र स्वास्थ्य सेवामा काम गर्नुहुन्छ भने, हेपाटाइटिस बी को खोप लगाउने, किनभने बच्चा बेला दिइएको खोप १० वर्षसम्म मात्र प्रभावकारी हुन्छ ।
-‘हेपाटाइटिस ई’बाट बच्न सरसफाइमा ध्यान दिने र विशेष गरी सुँगुरको कलेजो राम्ररी पकाएर खाने ।
प्रतिक्रिया 4