News Summary
Generated by OK AI. Editorially reviewed.- डेभिड हसमेनले आफ्नो श्रीमतीको ALS रोगको उपचारका लागि विश्वविद्यालयको स्नायु विज्ञान प्रतिष्ठानलाई कुल ४० मिलियन डलर चन्दा दिएका छन्।
- नेपालमा चिकित्सकहरूलाई अनुसन्धानमा आबद्ध गराउन निरी नेपालले सहकार्यको आग्रह गरेको छ र चिकित्सकीय अनुसन्धान आवश्यक ठानेको छ।
केही दिनअगाडि म कार्यरत विश्वविद्यालयको अनलाइनमा एउटा समाचार प्रकाशित भयो– विश्वविद्यालयको स्नायु विज्ञान प्रतिष्ठानलाई एक जना धनाढ्य रियलस्टेट व्यापारीले २० मिलियन डलर चन्दा उपलब्ध गराएका छन्। डेभिड हसमेन नामका ती व्यापारीले प्रतिष्ठानलाई पहिले नै २० मिलियन चन्दा दिएकाले उनले विश्वविद्यालयलाई उपलब्ध गराएको कुल चन्दा रकम ४० मिलियन डलर (करिब पाँच अर्ब नेपाली रुपैयाँ) पुगेको रहेछ।
विकसित राष्ट्रहरूमा धनाढ्यहरूले आफ्नो वा आफूले चाहेको व्यक्तिको नाममा भवन बनाउन वा संरचना निर्माण गर्न ठूलै चन्दा दिने चलन छ। तर, डेभिडले यति धेरै चन्दा दिनुको कारण विश्वविद्यालयको कुनै भवन बनाउनु थिएन। त्यसको कारण थियो– उनको श्रीमतीको एमियोट्रोफिक ल्याटरल स्क्लेरोसिस (एएलएस) भनिने दुर्लभ मोटर न्यूरोन रोगबाट मृत्यु भयो । उनलाई बचाउन उक्त प्रतिष्ठानका चिकित्सकले सक्दो मिहिनेत गरे, तर सकेनन्।
उनलाई बचाउन नसक्नुको कारण उक्त रोगको उपचार अहिलेसम्म पत्ता लागिसकेको छैन। बेलायतका विश्वप्रसिद्ध वैज्ञानिक स्टेफेन हकिङ पनि केही वर्षअगाडि उक्त रोगबाटै बितेका थिए । त्यसैले, विश्वभरिका वैज्ञानिक र स्नायु चिकित्सकको अथक् प्रयासबाट पनि उक्त रोगको औषधि पत्ता लगाउन नसक्नुले यस रोगको जटिलताको बारेमा अनुमान लगाउन सकिन्छ।
आफूसँग यति ठूलो आर्थिक साम्राज्य हुँदा पनि, आफ्नी श्रीमतीले खेप्नुपरेको रोगको उपचार पत्ता नलागेकै कारणले उनले श्रीमती गुमाउनुपर्यो। त्यसैले, उनले उक्त रोगको उपचार पत्ता लगाउन चाहिने अनुसन्धानका लागि करिब ४० मिलियन डलर खर्च गरी आफू र आफ्नो श्रीमतीको नाममा विश्वविद्यालयमा एउटा प्रतिष्ठान नै निर्माण गरिदिए। विकसित देशमा विभाग, विश्वविद्यालय र यस प्रकारका प्रतिष्ठानहरू यसरी नै मानिसहरूको डोनेसनबाट निर्माण भएका हजारौं उदाहरण छन्।
नेपालमा अनुसन्धानको आवश्यकता
नेपालमा पनि धेरै रोगको उपचार नै उपलब्ध नभएकाले हजारौं व्यक्तिले ज्यान गुमाएका उदाहरण छन्। नेपालका प्रसिद्ध स्नायु चिकित्सक डा. उपेन्द्र देवकोटाको केही वर्षअगाडि भएको मृत्यु त्यसको एक उदाहरण हो । डा. देवकोटा पित्तथैलीसँग जोडिने पित्तनलीमा हुने क्यान्सर अर्थात् कोलेन्जियोकार्सिनोमाबाट बिते । उनी आर्थिक रूपबाट अत्यन्त सम्पन्न थिए र विश्वको जुनसुकै अस्पतालमा गएर उपचार गर्न सक्थे । उनले बेलायत गएर उपचारको सुरुआत त गरे, तर उनको शरीरमा अहिले उपलब्ध भएको औषधिले काम गरेन ।
त्यसैले, आफ्नो बाँकी जीवन नेपालमै गएर बिताउँछु भन्ने निर्णय गरेर नेपाल फर्के । आफ्नै अस्पतालमा भर्ना भई साधारण रेखदेखमा बसे । उनको मृत्युको कारण पनि माथि उल्लेख गरेझैं अहिलेसम्म पित्तनलीको क्यान्सरलाई उन्मूलन गर्न सक्ने औषधि पत्ता नलाग्नु नै थियो।
विश्वभरि आजसम्म पनि सयौं रोगको औषधि बन्न सकेको छैन। अझ बनिसकेका औषधिले पनि सबै बिरामीलाई उत्तिकै प्रभावकारी रूपमा काम गर्दैनन्। यसको एउटा मुख्य कारण प्रत्येक व्यक्तिको आनुवंशिक संरचना फरक हुनु हो। जस्तो कि, एउटा कुनै देशका अधिकांश जनसंख्यालाई राम्रोसँग काम गर्ने औषधिले अर्को देशको जनसंख्यालाई उत्तिकै काम गर्छ भन्ने हुँदैन।
आनुवंशिक संरचना यतिमा मात्र सीमित हुँदैन, नेपालकै कुनै समुदायमा देखिने रोगको व्यापकता अर्को समुदायमा नहुन वा कम हुन सक्छ। हाम्रो थारू समुदायमा देखिने रातो रक्तकोष सम्बन्धित ‘सिकल सेल एनिमिया’ भन्ने रोग अन्य समुदायमा कम छ। रोगहरू लाग्नुको कारण आफैंमा धेरै हदसम्म मौलिक हुन्छन् र त्यसको रोकथाम र उपचार पनि मौलिक भयो भने मात्र त्यो प्रभावकारी हुन्छ।
चिकित्सकहरू किन अनुसन्धानमा आबद्ध हुन आवश्यक छ ?
चिकित्सकले बिरामीसँग प्रत्यक्ष संवाद गर्दछन्। उनीहरूको जिम्मेवारी बिरामीलाई विश्वबजारमा उपलब्ध औषधिहरू लेखिदिने मात्र होइन, बिरामीको सम्पूर्ण स्वास्थ्य सुधार्न सहयोग गर्ने पनि हो। कतिपय अवस्थामा चिकित्सकसँग कुनै रोगको औषधि पत्ता नलागेकोले बिरामीलाई लेखिदिने औषधि नै हुँदैन। यसको सबैभन्दा सजिलो उदाहरण मधुमेह अर्थात् चिनी रोग हो।
मधुमेह हाम्रो शरीरमा आवश्यक पर्ने इन्सुलिन हार्मोनको कमीले हुने गर्छ जसको काम शरीरमा भएको चिनी अर्थात् सुगरको मात्रा कम गर्ने हो। जब शरीरमा इन्सुलिन बन्न कम हुन्छ, मधुमेह शुरु हुन्छ। मधुमेहका लागि अहिले उपलब्ध उपचार बिरामीलाई सिधै इन्सुलिन नै दिने हो, तर शरीरमा स्थायी रूपमा इन्सुलिन बनाउन सक्ने वा त्यसको विकल्पको रूपमा कुनै औषधि पत्ता लागिसकेको छैन।
त्यसैले, मधुमेहका बिरामीका लागि खानामा सुगरजन्य पदार्थ कम गर्नुको विकल्प नभएको हामी सबैलाई थाहा नै छ। यो सानो उदाहरण हो। हामीसँग यस्ता अन्य कैयौं रोग छन्, जसको लागि अहिलेसम्म उपचार वा औषधि पत्ता लागिसकेका छैनन्।
औषधि पत्ता लागिसकेका कैयौं रोगमध्ये ती औषधिहरू नेपाली जनसंख्यामा त्यति धेरै प्रभावकारी नहुने भएकोले हामीलाई हाम्रै अनुसन्धानबाट औषधिहरूको विकास गर्नुपर्ने आवश्यकता छ।
अमेरिका लगायत विकसित देशमा चिकित्सकहरू उल्लेख्य मात्रामा अनुसन्धानमा आबद्ध छन्। चिकित्सकहरूले क्लिनिकको समय कम गरेर आफ्नो जिम्मेवारीको केही भार अनुसन्धानमा लगाउँछन्। फलतः यहाँ वैज्ञानिक र चिकित्सकको लोभलाग्दो सहकार्य देखिन्छ।
अमेरिकामा चिकित्सक बन्न अर्थात् मेडिकल स्कूलमा प्रवेश गर्नका लागि न्यूनतम योग्यता स्नातक तह हो । साथै अनुसन्धानमा काम गर्न चाहने चिकित्सकहरूलाई सुरुआतमै एम.डी. र विद्यावारिधिको अध्ययन सँगै लैजान सकिने प्रावधान गरिएको छ। यसले गर्दा कुनै चिकित्सकले आफूले चाहेको खण्डमा एम.डी. र विद्यावारिधि अध्ययन गरेर चिकित्सकीय अभ्यासका साथै रिसर्चको सीप विकास गर्ने अवसर प्राप्त गर्छन्। यो प्रावधान नेपालमा छैन।
चिकित्सकहरूले पनि विद्यावारिधि योग्यता लिंदा उनीहरूले अनुसन्धानको बारेमा अझ राम्ररी बुझ्छन्। चिकित्सकको रूपमा काम गर्दा रोगको निदान र उपचार प्रविधिमा देखिएको अन्तरलाई अनुसन्धानबाट कसरी पूरा गर्ने भन्ने स्पष्ट ज्ञान हासिल गर्दछन्। चिकित्सक आबद्ध भएको अनुसन्धान अझ बढी बिरामी र रोग केन्द्रित हुन्छ र यसको नतिजाले रोगको निदान र उपचारमा अझ प्रभावकारी भूमिका खेल्छ।
अहिले निरी नेपालले नेपालमा भइरहेको अनुसन्धानको अन्तरलाई पूरा गर्न चिकित्सकहरूको सहकार्यमा जोड दिइरहेको छ। हाम्रो उद्देश्य नेपालका चिकित्सकहरूसँग सहकार्य गरी नेपालमा देखिएका स्वास्थ्य समस्याहरूलाई यहींको अनुसन्धानबाट निदान गर्ने पनि हो। त्यसैले अनुसन्धानमा आबद्ध हुन चाहने चिकित्सकहरूलाई सहकार्यका लागि यसै आलेख मार्फत अनुरोध गर्न चाहन्छु।
प्रतिक्रिया 4