+
+
Shares

कैलाली कारागार घटना : उच्चस्तरीय अनुसन्धान आवश्यक भएको छानबिन समितिको निष्कर्ष

जनक विष्ट जनक विष्ट
२०८२ भदौ ५ गते १०:३०

५ भदौ, धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक घटनामा सूक्ष्म र उच्चस्तरीय अनुसन्धान आवश्यक रहेको औंल्याइएको छ । एक जनाको मृत्यु र ४८ जना घाइते हुने गरी गत २३ साउनको राति भएको हिंसात्मक घटनाको छानबिनका लागि गठन गरिएको समितिले घटनाको सूक्ष्म र उच्चस्तरीय अनुसन्धान आवश्यक भएको ठहर गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी नेतृत्वको पाँच सदस्यीय छानबिन समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा कैदीबन्दीबीचको आपसी मतभेद, बन्दीगृहको प्रशासनमा आ-आफ्नो प्रभुत्व जमाउनु खोज्नुलगायतका कारणले कैदीबन्दीहरुबीच पटक-पटक वादविवाद हुुँदै आएको उल्लेख गरिएको छ ।

छानबिन समितिका सदस्य सचिवसमेत रहेका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले बन्दीगृह प्रशासनमा प्रभुत्व जमाउने प्रयासका कारण कैदीबन्दीहरुबीच आपसी मतभेद सिर्जना गरेको देखिएको बताए । सोही कारण उनीहरुबीच विवाद हुने गरेको र अन्त: उक्त विवादले हिंसात्सकस्थिति सिर्जना गरेको जोशीले बताए ।

कारागारभित्र रहेका सीसीटीभी फुटेज प्रष्ट नदेखिएकाले विश्लेषण गर्न नसकिएको बताउँदै जोशीले घटनाको वास्तविकता पत्ता लगाउन सूक्ष्म र उच्चस्तरीय अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालिएको जानकारी दिए । अपराध अनुसन्धानमा विशिष्ट खालको अनुभव र दक्षता प्राप्त सुरक्षाकर्मीको टोलीमार्फत अनुसन्धान आवश्यक रहेको उनी बताउँछन् ।

छानबिनका क्रममा समितिले कारागारभित्र रहेका र हिंसात्मक घटनामा घाइते भएपछि अस्पतालमा रहेका कैदीबन्दीहरुसँग सोधपुछ गरेको थियो । घाइतेहरुले घटनाको कारणसहित त्यसमा भूमिका खेल्ने केही कैदीबन्दीको नाम छानबिन समितिलाई बताएका थिए । सोही आधारमा समितिले कारागारमै पुगेर उनीहरुसँग समेत सोधपुछ गरेको थियो तर उनीहरु समितिलाई इन्कारी बयान दिएका थिए ।

जोशीले प्रशासनिक नेतृत्वबाट अपराधिक घटनाको छानबिन असम्भव हुने देखिएकाले पनि सुरक्षा निकायबाटै विशेष अनुसन्धान आवश्यक रहेको देखिएको बताएका छन् । गत २३ साउनको राति ब्लक ए का कैदीबन्दीले भित्ता फुटाएर ब्लक बी मा रहेका कैदीबन्दीमाथि आक्रमण गरेका थिए । उक्त आक्रमणमा परेर लागुऔषध मुद्दामा कैदी सजाय भुक्तान गरिरहेका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४८ जना घाइते भएका थिए ।

घाइतेहरु मध्ये ३९ जना डिस्चार्ज भइसकेका छन् । डिस्चार्ज भए पनि अहिले उनीहरुलाई सेती प्रादेशिक अस्पताल अन्तरगतको कोरोना अस्पतालमै राखिएको छ । डिस्चार्ज भएकामध्ये चार जना कञ्चनपुर कारागार र एक जनाको पश्चिम नवलपरासी कारागार स्थानान्तरण गरिएको छ । गम्भीर अवस्थाका तीन जना कैदीबन्दीको काठमाडौँमा उपचार भइरहेको छ ।

कारागारमा भएको हिंसात्मक घटनामा गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै गृह प्रशासनले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई मन्त्रालय तानेर दाङका प्रुजिअ कृष्णप्रसाद लम्साललाई पठाएको थियो ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?