
News Summary
Generated by OK AI. Editorially reviewed.- रुसले युक्रेनको पश्चिमी क्षेत्रमा बिहीबार राति ५७४ ड्रोन र ४० मिसाइल प्रहार गरी दोस्रो पटक ठूलो आक्रमण गरेको छ।
- आक्रमणमा एक जनाको मृत्यु भएको र १५ जना घाइते भएका छन् भने जापोरजिया, द्रिपोपेट्रोव्स्क र लविव निसाना बनेका छन्।
- निकट भविष्यमै पुटिन र जेलेन्स्कीबीच शान्ति वार्ता हुनसक्ने विश्लेषण भइरहेकामा रुसले आक्रमण तीव्र बनाएको छ।
५ भदौ, काठमाडौं । रुसले युक्रेनको पश्चिमी क्षेत्रमा मिसाइल र ड्रोनद्वारा भिषण आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार रुसले यसै हप्तामा पश्चिमी युक्रेनमा दोस्रो पटक ठूलो संख्यामा मिसाइल र ड्रोन आक्रमण गरेको हो ।
रुसले बिहीबार राति (स्थानीय समयअनुसार) यो साताकै ठूलो आक्रमण गरेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रुसले ५७४ ड्रोन र ४० वटा मिसाइल प्रहार गरेको समाचारमा उल्लेख छ ।
युक्रेनको जापोरजिया, द्रिपोपेट्रोव्स्क र लविवलाई रुसले निसाना बनाएको हो । आक्रमणमा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
निकट भविष्यमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच शान्ति वार्ता हुनसक्ने विश्लेषण भइरहेका बेला रुसले युक्रेनमाथिको आक्रमणलाई तीव्र बनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनबीच अलास्कामा युक्रेनमा युद्धविराम गर्नेबारे छलफल भएको थियो । उक्त बैठकपछि ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ह्वाइट हाउस डाकेका थिए । जेलेन्स्कीसँगको भेटपछि ट्रम्पले त्रिपक्षीय वार्ताको सम्भावना दर्शाएका थिए । तर, दुवै देशका आ-आफ्ना अडानका कारण त्यसले गति लिन सकेको छैन ।
सम्भावित वार्ता तटस्थरुपमा युरोपको कुनै ठाउँमा हुनुपर्ने जेलेन्स्कीको चाहना छ । जेलेन्स्कीले सम्भावित वार्ता स्वीट्जरल्याण्ड वा अष्ट्रियामा हुनसक्ने बताएका छन् । साथै टर्कीको इस्तानबुलमा पनि वार्ता गर्न सकिने उनको भनाइ छ ।
युक्रेनका विदेशमन्त्री आन्द्रेई सिबिहाले पछिल्ला रुसी आक्रमणले युद्ध अन्त्य गर्न कूटनीतिक संवाद र बलियो वायु सुरक्षा प्रणाली कति महत्वपूर्ण र आवश्यक छ भन्ने देखाएको बताएका छन् ।
प्रतिक्रिया 4