+
+
Shares
पुस्तक समीक्षा :

‘चिसो बाकस’ माथि चिसिंदा

पङ्तिमा उनी झुसिलकीरा देखिन्छन् । कवितामा उनी पुतली बनिसकेका हुन्छन् ।

शम्भु अर्याल शम्भु अर्याल
२०८२ भदौ ७ गते ६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कवि एकदेव रिमालको पुस्तक 'चिसो बाकस'ले मजदूरका परिवार र आम जनताको सामाजिक अवस्था र शासन व्यवस्थाको आलोचना गरेको छ।
  • पुस्तकमा आमाको आवाज, अधिकार र जिम्मेवारीबारे कविताहरू समावेश छन् जसले सामाजिक विद्रोह र क्रान्तिको संकेत दिन्छ।
  • कवितामा नेपाली भूगोल, संस्कृति र वर्तमान राजनीतिक अवस्थाको प्रतीकात्मक चित्रण गरिएको छ र शासकको आलोचना गरिएको छ।

‘चिसो बाकस’ घर छोड्नुपर्ने बाध्यताको परिणाममा मजदूरका परिवार र आफन्तलाई आफ्नै घर–देशमा अधिक प्राप्त हुने वर हो । प्रस्तुत पुस्तक जति पनि माथि उठ्न नसकेका मजदूर छन्, उनीहरूलाई रैती ठान्ने, शासनको मदले दरिद्र सोचको खेती गर्ने शासकलाई सिकाउन सक्ने कलाको उच्च अनुकरण हो ।

नक्शामा यो नेपालको अनुहार हो । नेपालका शासकले पढ्दैनन् चिन्तन–मनन् केही गर्दैनन्– चिसो बाकस लिखित भौतिक प्रमाण पनि हो । जसले प्रकाशित गर्‍यो, त्यो शासकको अनुकरणीय बौद्धिक सम्पत्ति रह्यो । यस्ता शासक अनुकरणीय अनुपम भौतिक उदाहरण हुन् । यिनीहरूले युग हाँक्नुपर्छ । प्रकाशन पनि राज्यले नै गरेको हो । उनीहरू अनुकरणीय रहन्छन् ।

कवितामा पनि कला फुकेको छ । विचार लुकेको छ । ताल र आत्मपरकताले बहुआयामिक बनेको छ । सिक्नुहोस्, साना मान्छेसित नै बहुआयामिक मस्तिष्क हुन्छ । सबै यही मस्तिष्कबाट निर्धारण हुने पदार्थ हो । उपजमा यो कण हुन्छ । सूक्ष्म हुन्छ वृक्ष हुन्छ । गर्भ भन्दा ठूलो अर्को गर्व कहीं कतै जन्मिंदैन ।

हरफको अपमान गर्ने मान्छेलाई शासक हुने अधिकार प्राप्त हुँदैन । हाम्रो पुस्ता यस्तै भयो, अब विद्यार्थीलाई पढाउने गुरुहरूले पनि झुक्याउन सक्ने छैनन् । विद्यार्थीहरू सिपालु भइसकेका छन् । विद्यार्थीहरू हो ! पढाइलाई मजाक कहिल्यै नसम्झिनुहोला । गल्तीले मान्छेको ज्यान जान सक्छ । साधनाले विनिर्माण हुन्छ, विनिर्णय हुन्छ । सत्यको पनि सघन सत्य हुन्छ । प्रक्रिया जीवनको सबैभन्दा ठूलो प्रणाली हो ।

पशुहरूलाई यो अरबको बोरा बोक्ने काँध बिग्रेको हलो बिसाउने गतिरोधक चेत के थाहा ? यी कविताहरू वर्तमानका दसी हुन्– यो देशमा पशु शासन चलिरहेको छ । संसारले गिज्याइरहेको पशुहरूले बुझ्दैनन् । संसारको हरियो नेपालमा मात्रै छ ।

चिसो बाकस तीजमा बुढ्यौली आमाको चुलो–चौकोका आभा, बरिलैका भाका र पराया घरमा छोरीचेलीले भोग्नुपरेको जिम्मेवारी बोधलाई अनदीका खाजा खाँदै आमासँग मनको वह बिसाउने आत्मालापको बिसौनी पनि हो ।

प्रश्नको उत्तर परिबन्दमा हुनसक्छ । कुनै विधामा ठूलो भएर, सत्य पनि परिबन्दमा पर्न सक्छ । असत्यको हावी हुन सक्छ । यही चिन्न सक्नु चिसो बाकसमा चिरकालसम्मको यात्रा गर्नु हो ।

बरफमा बन्द आलङ्कारिक नियतिको प्रतीक चिसो बाकस, कवि एकदेव रिमालको उपहार हो । यी जीवनका नियम हुन् । जुन भूगोलमा जसरी रहे पनि, जसरी बोले पनि, जस्तो भाषा निर्माण गरे पनि चिसो बाकस जीवनको बहुआयाममा कविताका सिद्धान्तभन्दा धेरै माथि उठ्ने छन् ।

यस्ता भाषा, सच्चा भाषा र साहित्यलाई प्रत्येक दिन पढ्ने विनिर्मित कविले मात्रै बुझ्न सक्छन् । साहित्य भन्दा माथि न आवाज हुन्छ न त शून्यको कालो नानी । जो देखिंदैन र विम्बित भौतिकता पनि हुँदैन । प्रस्तुत हरफ बोलिरहेका छन् । यो भाषाको सर्वोत्तम नवीन चमत्कार हुने छ ।

भूगोलको अन्तरात्मामा रमण गर्दै जाँदा नेपाली कवितामा चिसो बाकस समकालीन र दीर्घकालीन कालजन्य उपहार रहिरहनेछ । यसलाई निरन्तरसम्म जननी र जनकमा सबैले सदैव अन्तर्मनले समर्पण गरिरहेका हुनेछन् । यो अनन्तसम्म अनुरक्त प्रेमका प्रेमीले उपहार प्रदान गर्ने अनमोल उपहार प्रसिद्ध हुनेछ । यी कविताहरू निबन्धमा पनि उच्च कलाका हरफ सावित हुनेछन् ।

०००

माटोको उर्वरालाई आभामा समाहित गरेर त्यसको उज्यालोलाई विम्ब र प्रतीकको माध्यमबाट गर्भित गर्भमा अद्भुत बहुआयामिक लक्षणा स्वर पैदा गर्ने उनी शुरुआतमै सक्षम आविष्कारक हुन् । भौतिक सामरिक प्रतिभा हुन् ।

जो–कोहीलाई पनि प्रशस्त अध्ययन, कामगराइ र घुमाइले पनि परिणामको आवाजमा यति अपवाद सत्य दिन कठिन हुन्छ । नेपाली भाषा र साहित्य त छोडिदिऊँ भूगोलको आयाममा कर्मरत सबैले एकपटक एकैछिन चिन्तन गरौं– यति दक्खल राख्न कति भोग्नुपर्छ र पढ्नुपर्छ ? मुखरित आवाज निर्माणमा चिसो बाकस वर्तमानको प्रतिनिधिमूलक कल्पद्रुम स्वर पनि हो । यस्ता गलाका कला विरलै जन्मन्छन् ।

चिसो बाकसमा कविताका पङ्तिहरू अनुकरणीय विरोधाभास सत्य हरफ हुन् । कोटिमा भाषाको बोधगम्य श्रमणमै आश्चर्य पैदा गर्ने एक्लै एकोहोरो अनुकरणीय प्रतिध्वनित भाषाको प्रवाह हो । प्रकटीकरणको नवीनतम विधि हो । यो नेपाली लयको मुखर कला हो । आमाको आवाज हो । बाबाको बलियो काँध हो ।

शुरुआतमै धरती, सागर र गङ्गालाई आमाको संज्ञा दिएर विचारलाई अमूर्तताको प्रतिविम्बमा लुकाएर लय प्रदान गर्नु उनको कविताको चङ्ख हो । जो गर्भबाट नै प्रेक्षित हुन्छन् । अनुकरणीय हरफ, कोमल, उदार, सहयोग, सद्भाव र संवेदनाको कलामा अपवाद अनुकरणीय हरफ हुन् । उनी प्राकृतिक विम्बबाट आमा हुँदैन त धरतीमा पदार्थ हुँदैन । आमा विना अर्को नाम र काम सम्भव छैन । लेखनमा लुकेको छ, फुकेको छ । कवि कविताका साधनाले पुतली बनिसकेका छन् । कविताको इतिहासमा वर्तमानका कविहरूको कला, विचार र तालको बहावमा चरमचुलीको प्रयोग प्रस्तुत कवितालाई मैले सम्झेको छु ।

पङ्तिमा उनी झुसिलकीरा देखिन्छन् । कवितामा उनी पुतली बनिसकेका हुन्छन् । उनको साधनाले कवित्वको छनक बुझ्न प्रकृतिमा बालकदेखि वयकालसम्ममा नै प्रत्यक्ष आँतदेखि आँचलसम्म आमाको मनमा लटरम्म समाहित हुन सक्नुपर्छ र काखको पखेरुमा चिप्लिएर हिमालको टाकुराबाट अनन्त देख्नुपर्छ ।

कवि एकदेव रिमाल जुनसुकै शीर्षकमा पनि सजिलै प्रवेश गरेर बढी भन्दा बढी लक्षणार्थ प्रकट हुनु उनको अद्भुत कवित्व शक्ति हो । उनी शीर्षकमा बिंडी जलाउँछन् त मृत्यु, दर्शन र साहित्य बोध चिन्तनलाई कालजयी अजर अस्तित्वलाई केही हरफमा बहुआयामिक परिभाषा गरिदिन्छन् । साँच्चिकै उनको चिन्तन प्रखर र प्रवाहमय छ । लगातारको निरन्तरसम्म प्रसिद्घ हुनेछ ।

केही विद्रोही चेत बोकेका कविताले भित्रभित्रै खोक्रिंदै गएको शासन सत्ताले जति उचाइका पर्खाल लगाए पनि मुसाहरूले भत्काउन सक्ने बहु प्रतीकात्मक वाचन छ । पुस्तकले अहङ्कारी शासनसत्ता, छद्म शासक र आम मान्छेको भोकले सृजना गर्न सक्ने क्रान्ति र विद्रोहलाई विम्ब र प्रतीकको माध्यमले सघन लक्षणा स्वर पैदा गरेको मैले पाना–पानामा बुझेको छु ।

अधिकार, सहनशीलता, जिम्मेवारी र कर्तव्य कवितामा जताततै नारी आवाजमा मुखरित छन् । पुरुष ग्रन्थीले महिला मनोविज्ञानको अभिव्यक्ति दिन सक्नु अर्को उनको चुनौतीमूलक खोज हो । चिसो बाकस तीजमा बुढ्यौली आमाको चुलो–चौकोका आभा, बरिलैका भाका र पराया घरमा छोरी चेलीले भोग्नुपरेको जिम्मेवारी बोधलाई अनदीका खाजा खाँदै आमासँग मनको वह बिसाउने आत्मालापको बिसौनी पनि हो ।

आमाका सन्ततिका रगतले बलि चढेर आर्जित वर्तमान समयलाई मजदूरको विश्वासले जिम्मेवारी सुम्पिएका प्रमुखहरूले नै मति छोड्दा, ओहदामा प्रमुख बनेका शासकको काम गर्ने परम्परामा पुरातन शासन व्यवस्थाको अवशेष रहिरहँदा जनताले सुख पाउन नसकेकोमा कवि मन विक्षिप्त बनेर भत्किएको छ ।

लामो सङ्घर्षले प्राप्त शासन व्यवस्थामा पुनः आम मान्छेले विकल्प खोजेको उनका कविताका पङ्तिहरू जताततै बोलिरहेका छन् । कोमल पङ्तिहरू अन्तरकुनामा विक्षिप्त पनि छन् । कोकिल पङ्तिहरू जो–कोहीले सहजै प्राप्त गर्न सक्दैनन् । चिसो बाकसको चेतना सुषुप्त छ, उँचो छ । यो स्वाभिमानको धरा छ ।

मानवीय आस्था र व्यवहारलाई वास्तै नगरी एकसरो पाराले चलिरहेको अन्तर्मुखी अधम सत्ताले उनको हृदयमा गहिरो चोट परेको छ । यसलाई अभिव्यञ्जनात्मक कला प्रदान गर्नु उनको कविताको शक्ति हो । उनी अभिधा र व्यञ्जना भन्दा माथि उठेर नवीन उच्च कोटिको भाषा निर्माण गर्छन् । प्रखर प्राज्ञको दृष्टिपटलमा चिन्तन गरेर चक्षु जो आँखो हुँदैन तर दृष्टि हुन्छ । स्वाभिमान बेच्न सक्ने प्राज्ञको उनले दोहोलो काढेर सतर्क बनाएका छन् । अँध्यारो औंसीमा आकाश बिजुली बनेर चम्किइरहेको छ ।

गति छोडेर मति हराएको वसन्तमा मान्छेको युग हाँकिरहेका मूर्खहरूले साधारण मान्छेहरूको खुशी खोसेकोमा चिसो बाकस विलापले भक्कानिएको छ ।

सुकेका झर्नाहरूमा
मरेका लेउका पाप्राहरूका मृत्युमा
स्वयम् मरेको छ समय

म त्यही चितामा जलिरहेछु
जल्दै कामना गरिरहेछु
जीवन र जवानीको
समाप्ति सबैको
र प्राप्ति
मेरा निकट आफन्तहरूको
वसन्त मूर्झाएको छ ।

डढेलो लागेको वनलाई कर्मले मौन आवाज प्रदान गर्नु उनको साधनाले आर्जित अनमोल उपहार हो । उज्यालो आस्थाको अमूर्त धरोहर भट्याएर परिणाममा आमाको मुटु र कलेजो लुछ्ने निऋतिहरूलाई पहिचान गर्नु उनको कविताको अपार शक्ति हो ।
अधिकारको क्रान्ति गर्नेहरू कर्तव्यको अनुहार नभएर छद्मभेषी मुखुण्डो बनिदिंदा र बालश्रमिक मजदूरी देख्दा कवि मन भत्किएको छ । पाना–पानामा भक्कानिएको छ ।

निर्माणको नाममा लेच्चा राजमार्ग बाटोघाटोमा अलपत्र परेका छन् । उन्नति र प्रगतिमा खुट्टा तान्ने र तगारो हाल्ने मानसिकता सिकाइ बनिरहेको वर्तमान समाजलाई खबरदारी गर्न कवि रछ्यानमा पनि जन्मिने छन्– उनको दाबी छ ।

साँध मिचेर पर्खाल खडा गर्ने लुच्चो सम्पन्नतालाई उनले मौन तिरस्कार गरेका छन् । गति र वेग नभएको समुद्रले पहिरो र मैलो आफैंमा लीन गरेर सूर्योदय र अस्तलाई जन्म दिनसक्ने आमाको रातो आभालाई बहुप्रतीकीकरण गरेर उन्मुक्त लय प्रदान गरिएका कविताहरू सतही अध्ययनले बुझ्न सकिंदैन ।

आफ्ना सन्ततिको गतिविधिलाई अन्तरदृष्टिले हेर्दा आमाले सन्तानको सत्कर्म कतै पनि देख्दिनन् । पृथ्वीमा उत्पादन गरिएका तोप र मिसाइलले आमाको गर्भ नै अपवित्र बनेको आमाको तर्क छ । मान्छेले मान्छेलाई नै निम्छरो बनाएकोमा आमाको मन वैराग्यले विरक्त बनेको छ ।

कविले चिसो बाकसमा कालीगण्डकीको पौराणिक महिमालाई वर्णन गर्दै नदीको पवित्र मौलिकतालाई पर्या–प्रदूषण गर्ने शठहरूको दोहोलो काढेका छन् । प्रेमको नाममा आडम्बरी बन्दै गइरहेको अहिलेको पुस्ता, अर्थमोहले गाउँ छोडेर शहरोन्मुख मात्रै होइन राष्ट्रियता नै त्याग गरेर विदेश पसेका युवाहरूमाझ देशको राज्य सञ्चालनको प्रवृत्ति प्रति वितृष्णा र अविश्वास पुस्तकको विशेषता हो ।

गाउँले धारा–पँधेराहरू, देउराली, भन्ज्याङ र गोरेटा बाटाहरू नेपाली पुस्तान्तरमा गाउँले संस्कार र संस्कृति क्षय हुँदै गएकोमा कवि मन विभोर बनिरहेको हुन्छ । कवि विगतलाई वर्तमानमा झलझलती सम्झिएर भावविभोर बनेका छन् । कविताले डरलाग्दो अवस्थामा गुज्रिरहेको वर्तमानमा देशको अवस्थालाई प्रतीकात्मक रूपमा प्रखर चिन्तन गरेको छ ।

पानीलाई ठोस, तरल र ग्यासमा प्रतिविम्ब गरेर बा–आमाको प्रतीक लक्षणार्थ अद्भुत अभिव्यक्त हुनसक्नु उनको कवित्व शक्ति हो । कवितामा वयकालको पैदल मार्ग, खेत–खलियानमा मेलो पछिको अर्नी र रनवन सम्झाएर जो–कोही पनि भावविभोर हुन्छन्।

चाडबाड, नेपाली गीत, बाजा र धुन अपभ्रंश हुँदा मनका भाव शून्य हुन्छन् । शासक नै मान्छे जस्तो नबनेको बरु मिश्रित ठिमाहा सालिकको बुख्याँचाले देश हाँकिरहेको कविको निष्कर्ष छ । छद्मभेषी तिनीहरूलाई कविले छट्टु स्याल र झुटा निशाचरको संज्ञा दिएका छन् ।

कोमलता, कला, विचार र लयलाई भङ्ग नगरेर पनि केही कविता बुझ्न मस्तिष्कलाई बढी नै उभार पर्दछ । यसलाई दोष नभएर परिस्कृत अपेक्षाको रूपमा कवि र पाठकले बुझ्नुहुनेछ । उनको प्रकृति प्रेम आत्मपरक शैलीमा प्रखर छ । लक्षणार्थ धाराप्रवाह गतिमा मुखारित हुनसक्नु उनको निर्बन्ध विशेषता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?