+
+
Shares

मिल्कशेक फर डेविड लिञ्च

लिञ्चलाई सानैदेखि कफी र गुलियो खाने बानी परेको थियो । उनलाई आफ्नो रचनात्मकतालाई सजिलो र प्राकृतिक तरिकाले चलायमान राख्न कुनै राम्रो र शान्त ठाउँ चाहिएको थियो ।

ऋतेश ऋतेश
२०८२ भदौ ७ गते १२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डेभिड लिञ्चले १९८० को दशकमा सात वर्षसम्म दैनिक रूपमा 'बब्स् बिग ब्वाई रेस्टुराँ'मा मिल्कशेक पिउँदै रचनात्मक काम गर्थे।
  • उनले आफ्नो पहिलो फिल्म 'इरेजरहेड' निर्माण गर्दा रेस्टुराँमा समय बिताएर विचारहरूलाई आकार दिएका थिए।
  • सन् २०२५ जनवरी १५ मा डेभिड लिञ्चको निधन भयो र प्रशंसकहरूले उनलाई श्रद्धाञ्जलि दिन 'बब्स् बिग ब्वाई रेस्टुराँ'मा भेला भएका थिए।

जागिरको मेरो पहिलो दिन थियो, ‘बब्स् बिग ब्वाई रेस्टुराँ’मा । प्रतिघण्टाको साढे दुई डलर तोकिएको थियो । बिहान कलेज सकेर ठ्याक्कै १२ बजे म हाजिर लगाउन पुगेको थिएँ । वेटरको अनुभव पहिले पनि भएको हुँदा त्यति गाह्रो थिएन ।

सायद पहिलो दिन भएर पनि हुनुपर्छ, मलाई एक घण्टा पनि एकदिन जस्तो लामो लागिरहेको थियो । समय कछुवाभन्दा ढिला गतिमा घिस्रिरहेको थियो । पृष्ठभूमिमा मधुर संगीत बजिरहेको थियो । हरेक उमेर समूहका ग्राहकहरू आउने-जाने गरिरहेका थिए । म उनीहरूलाई खाना र मुस्कान सर्भ गर्थेँ, टेबल-भुइँ क्लिन गर्थेँ । व्यस्त थिएँ ।

घडीले साढे दुई बजाएको थियो, मेरा आँखा ढोकामा अडिनु र ढोका खुल्नु एकैपटक भए । मैले सुनौलो रङको कपाल, लामो नाक, ख्याउटे अनुहार भएको एउटा अग्लो खिरिलो कायालाई भित्र पस्दै गरेको देखेँ । उनलाई मुस्कान दिएर स्वागत गरेँ । मेरो मुस्कानलाई बेवास्ता गर्दै उनी एउटा कुर्सीमा गएर चुपचाप बसे।

मेनु लिएर उनको टेबुलमा गएँ, उनी नोटबुक निकालेर त्यसमा घोत्लिन थालिसकेका थिए । मतिर नफर्किकनै उनले आफ्नो मुख चलाए, ‘एज युजुअल..’

मैले बुझिनँ । मलाई उनको एकाग्रता भङ्ग गर्न मन लागेन । त्यहाँबाट काउन्टरतिर लागेर अर्को वेटरलाई उनको कुरा बताएँ, उसले मुसुक्क हाँस्दै बार-काउन्टरमा अर्डर दियो, ‘मिल्कशेक…. चक्लेट मिल्कशेक !’

सुनौलो कपाल भएका ती व्यक्ति यहाँ सधैँ आउँछन्, यही समयमा आउँछन् र जहिल्यै मेल्कशेक अर्डर गर्छन् भनेर मैले अर्को वेटरबाट थाहा पाएँ । ऊबाट मैले ती व्यक्तिको नाम पनि पाएँ ‘डेविड लिञ्च !’

यसरी मैले पहिलोपल्ट ‘डेविड लिञ्च’लाई देखेको-भेटेको थिएँ ।

१९८० को दशकमा लगातार सात वर्षसम्म डेविड लिञ्च हरेकदिन ‘बब्स् बिग ब्वाई रेस्टुराँ’ धाइरहे । उनी त्यहाँ जहिल्यै मिल्कशेक अर्डर गर्थे, कहिलेकाहीँ कफी, डोनट्स, पेस्ट्री, बर्गर पनि लिन्थे ।

नोटबुकमा घोत्लिरहन्थे । नोटबुक नभएका बेला न्याप्किनमा केही न केही लेखेर, कोरेर बसिरहन्थे । उनी हरेकदिन दिउँसो ठिक २:३० बजे त्यहाँ पुग्ने गर्थे । उनका अनुसार त्यो समयमा त्यति भीडभाड नहुने हुँदा मिल्कशेक राम्रो बन्ने गर्छ । उनले एक अन्तर्वार्तामा आफूले सात वर्षको अवधिमा लगभग २५०० गिलासभन्दा बढी मिल्कशेक खाएको बताएका थिए ।

१९७० को दशकको मध्यतिर लिञ्च उक्त रेस्टुराँमा जान सुरू गरेका थिए, त्यो समयमा उनी आफ्नो पहिलो फिल्म ‘इरेजरहेड’ निर्माणमा व्यस्त थिए । त्यो उनको करियरको सुरूवाती चरण थियो । उनी उक्त रेस्टुराँमा आफ्ना विचारहरूलाई आकार दिन र शान्त समय बिताउन जान्थे ।

लिञ्च त्यो बेला लस एन्जलसमा बस्थे । उनको घर र ‘बब्स् बिग ब्वाई रेस्टुराँ’को दूरी गाडीमा करिब दशदेखि पन्ध्र मिनेटको थियो । उनले सो स्थानलाई खानाको निमित्त मात्र नभई आफ्ना रचनात्मक सोच र कार्यको हिस्सा पनि बनाएका थिए । उनी प्राय: हरेक अन्तर्वार्तामा ‘बब्स् बिग ब्वाई रेस्टुराँ’मा आफ्ना अनुभवका किस्साहरू सुनाउने गर्थे ।

लिञ्चले त्यहाँ धेरै समय खर्च गर्नुको मुख्य कारण त्यहाँको वातावरण र सिर्जनात्मक प्रेरणा पनि थियो । उनलाई बब्स् बिग ब्वाई रेस्टुराँको रेट्रो-डाइनर शैली र १९५० को दशकको अमेरिकाना माहोलले आकर्षित गरेको थियो । त्यहाँ गएर समय व्यतीत गर्न उनको रचनात्मक जीवनशैली र व्यक्तित्वको अनौठो पाटो बनिसकेको थियो । त्यस कार्यलाई आफ्नो रचनात्मक सोचलाई स्थिर र अनुशासित राख्ने माध्यमको रूपमा लिने गर्थे ।

उनले कतै भनेका थिए, ‘चकलेट मिल्कशेक पिउनु भनेको ध्यान गरेजस्तै हो । यसले मान्छेको कल्पनाशक्तिलाई बल दिने गर्छ । थोरै हाँस्यास्पद लाग्न सक्छ, तर मेरा लागि भने यसले यसरी नै काम गरेको छ ।’

चकलेट र दूधको संयोजनले मस्तिष्कमा डोपामाइनको स्तर बढाउने काम गर्छ, जसले हामीलाई खुसी महसुस गराउँछ । त्यसैले पनि मिल्कशेक दैनिक पिउने  बानीले उनको मस्तिष्कलाई स्थिर र अनुशासित बनाएको थियो । उनका अनुसार त्यो बानीले उनलाई एक प्रकारको मेडिटेटिभ स्टेटमा पुर्‍याउने गर्थ्यो ।

लिञ्चलाई सानैदेखि कफी र गुलियो खाने बानी परेको थियो । उनलाई आफ्नो रचनात्मकतालाई सजिलो र प्राकृतिक तरिकाले चलायमान राख्न कुनै राम्रो र शान्त ठाउँ चाहिएको थियो । त्यही क्रममा, उनले उक्त रेस्टुराँ पत्ता लगाएका थिए । उनी त्यहाँ आफ्नो फिल्मको प्रोडक्सन तथा लेखनका कामहरू गर्थे । मिल्कशेक पिउँदै आफ्नो नोटबुक निकाल्थे र नयाँ कथाका आइडियाहरू टिप्थे । उनले आफ्ना धेरै फिल्मका स्क्रिप्ट त्यही समयमा त्यही स्थानमा जन्माएका थिए ।

९० को दशकतिर लिञ्च व्यस्त हुन थाले, उनको व्यस्त जीवनशैलीका कारण बब्स् बिग ब्वाई रेस्टुराँ गएर मिल्कशेक खाने त्यो सिलसिला रोकिन पुग्यो । रचनात्मक प्रक्रियाहरूमा साना तथा साधारण खुसीहरूले पनि कति ठूलो र असरदार प्रभाव पार्न सक्छ भन्ने उनको त्यो अनौठो बानीले देखाउँछ ।

लिञ्चले त्यस रेस्टुराँका कर्मचारीहरूसँग पनि विशेष सम्झना छोडेका छन् । उनी त्यहाँ सधैं शान्त र एकाग्र भएर काम गर्थे । कर्मचारीहरूले उनलाई एकदमै शान्त, सरल र नियमित ग्राहकका रूपमा चिनेका थिए । उनीहरूले लिञ्चलाई ‘सधैं सोचमग्न देखिने’ मान्छेका रूपमा वर्णन गर्थे, त्यो बाहेक उनलाई ‘लेख्ने मान्छे’ अथवा ‘रचनात्मक व्यक्तित्व’का रूपमा चिन्ने गर्थे । उनको उपस्थितिले रेस्टुराँमा अरू ग्राहकभन्दा फरक अनुभव दिन्थ्यो, किनभने उनी आफ्नो नोटबुकमा केही लेख्न, स्केच गर्न वा गहिरो सोचमा डुब्दै बस्ने गर्थे । उनी आफ्नो बिलको सानो भाग टिप्स स्वरूप कर्मचारीहरूलाई दिने गर्थे, उनीहरूसँग सधैं शिष्टतापूर्वक व्यवहार गर्ने गर्थे ।

उनी त्यस रेस्टुराँमा बिताएका समयलाई आफ्नो जीवनको विशेष हिस्सा मान्थे ।

‘डेभिड कीथ लिञ्च’को जन्म २० जनवरी १९४६ मा संयुक्त राज्य अमेरिकाको मिसुला, मोन्टानामा भएको थियो । उनका बुबा ‘डोनाल्ड वॉल्टन लिञ्च’ अमेरिकी कृषि विभागमा रिसर्चर थिए भने आमा ‘एडविना’ एक शिक्षक  थिइन् । बुबाको पेशाका कारण लिञ्चको बाल्यकाल विभिन्न राज्यहरूमा यताबाट उता सर्दै बित्यो । त्यसले उनलाई बाल्यकालमै विभिन्न ठाउँका परिवेश तथा मान्छेहरूसँग परिचित गराउने काम गर्यो ।

लिञ्च कलात्मक झुकावसहित हुर्किए । उनी सानैदेखि चित्र बनाउन, रङ पोत्न तथा असामान्य आकृतिहरू कल्पना गर्न मन पराउँथे । किशोर अवस्थामा आउँदासम्म कला र चित्रकला उनको जीवनको मुख्य लक्ष्य बनिसकेको थियो । परिणामस्वरूप: उनी फिलाडेल्फियाको ‘पेन्सल्भेनिया एकेडेमी अफ द फाइन आर्ट्स’मा भर्ना भए, त्यहाँ चित्रकलाको गहिरोसँग अध्ययन गरे ।

अध्ययनकै क्रममा उनलाई सिनेमाप्रतिआकर्षण बढ्दै जान थाल्यो । उनले सोचे, ‘फिल्महरू स्थिर हुन्छन्, तर म चाहन्छु, मेरा फिल्महरू हल्लिउन्, सास फेरून्, आवाज निकालून् ।’ त्यही विचारबाट डोरिँदै उनी सर्ट फिल्म बनाउन कस्सिए ।

सन् १९६७ मा उनले आफ्नो पहिलो सर्ट फिल्म ‘सिक्स मेन गेटिङ सिक’ बनाएका थिए; त्यो फिल्म वास्तवमा एक ‘एनिमेटेड पेन्टिङ’ थियो, जसमा रङ, ध्वनि र आकृतिहरूलाई मिसाएर एउटा विचित्रको दृश्यात्मक अनुभव दिन खोजिएको थियो । त्यसलाई उनले आफ्नो कला एकेडेमीमा प्रदर्शन गर्दा धेरैले आश्चर्यचकित भएर हेरेका थिए ।

त्यसपछि उनले ‘दि एल्फाबेट’ (१९६८) र ‘दि ग्रान्डमदर’ (१९७०) जस्ता छोटा तर, प्रयोगात्मक फिल्म बनाए, जसले उनलाई स्वतन्त्र फिल्म समुदायमा परिचित गरायो । ती फिल्ममा लिञ्चले स्वप्निल दृश्य, विचित्र ध्वनि, असहज पात्र र अवचेतन मनको भयलाई चित्रण गर्ने काम गरेका थिए, जुन पछि गएर उनका अरू फिल्महरूको आधार बन्न पुगे । उनले सामान्य वस्तुहरूलाई पनि अस्वाभाविक तरिकाले देखाउने शैली अपनाउँथे, त्यसैले उनी आफ्ना अधिकांश फिल्महरूलाई अजीब, डरलाग्दो रूपमा प्रस्तुत गर्थे ।

फिलाडेल्फियामा बस्दाको कठिन जीवन, अपराध–भरिएको वातावरण र गरिब बस्तीमा भोगेका अनुभवहरूले पनि उनको कलामा गहिरो प्रभाव पर्दै गयो । उनी आफैंले भनेका थिए, ‘फिलाडेल्फिया मेरा लागि अन्धकारको स्कुल थियो । त्यहाँ मैले डर, हिंसा र निराशालाई देखेँ, जुन सबै मेरो काममा देख्न सकिन्छ ।’

अन्तत: आफ्ना अनुभव र सर्ट फिल्महरूको अभ्यासले उनलाई पहिलो फिचर फिल्म ‘इरेजरहेड’ (१९७७) बनाउन प्रेरणा मिल्यो । उनलाई त्यो फिल्म बनाउन ५ वर्ष लागेको थियो । ‘इरेजरहेड’ले लिञ्चलाई अमेरिकी स्वतन्त्र सिनेमामा एउटा अद्वितीय आवाजका रूपमा चिनायो ।

लिञ्चलाई सिनेमा इतिहासका महान तथा प्रभावशाली निर्देशकहरूमध्ये एक मानिन्छ । तर, उनले आफ्नो कलात्मक जीवनको यात्रा भने चित्रकलाबाट सुरू गरेका थिए । फिल्म बनाउनुअघि नै उनले आफ्नो पहिचानलाई चित्र, मूर्ति र दृश्यकलाबाट खोजिरहेका थिए ।

‘इरेजरहेड’को अँध्यारो वायुमण्डल, ‘ब्लु भेल्भेट’को प्रतीकात्मकता, ‘इनल्याण्ड एम्पायर’को प्रयोगात्मक शैली, ती सबैमा उनको चित्रशैलीको गहिरो प्रभाव देखिन्छ । उनले कतै भनेका पनि थिए, ‘मेरो लागि सिनेमा भनेको ध्वनि र गतिशीलतासहितको चित्रकला हो ।’

‘इरेजरहेड’पछि लिञ्चले आफ्नो कला र सिनेमा यात्रामा अझ साहसी रूपमा कदम चाल्न थाले । उनले सिनेमा निर्माणमा मात्र नभई चित्रकला, मूर्तिकला, फोटोग्राफी, कार्टुन, एनीमेसन, फर्निचर डिजाइन र संगीतजस्ता क्षेत्रहरूमा पनि आफ्नो प्रतिभा देखाए ।

‘द एलिफेन्ट म्यान’ (१९८०) ले उनलाई आलोचनात्मक प्रशंसा दिलायो । ‘जोसेफ मेरिक’को जीवनमा आधारित ‘द एलिफेन्ट म्यान’ले मानवता, करूणा, सामाजिक भेदभाव र असमानताका विषयलाई उजागर गरेको छ । उक्त फिल्म लिञ्चको पहिलो ठूलो बजेट बायोग्राफिकल फिल्म थियो ।

उनले ब्ल्याक एन्ड ह्वाइट सिनेमाटोग्राफी प्रयोग गरेर पुरानो लन्डनको वातावरण, जोसेफ मेरिकको मनोदशा, गहिरो संवेदनशीलता तथा मानवीय भावनालाई प्रभावकारी ढंगले प्रस्तुत गरेका छन् । यस फिल्मबाट लिञ्च उत्कृष्ट निर्देशकका लागि ओस्कारमा मनोनित भएका थिए । फिल्म कुल आठवटा विधामा मनोनयनमा परेको थियो । ‘द एलिफेन्ट म्यान’ले लिञ्चलाई अन्तर्राष्ट्रिय ख्याति मात्र नभएर सुरूवाती कालमा व्यावसायिक सफलता पनि दिलाएको थियो । यो फिल्म हेरेर म रोएको थिएँ ।

म उनको अर्को फिल्म हेरेर पनि रोएको थिएँ, ‘द स्ट्रेट स्टोरी’ ।

‘द स्ट्रेट स्टोरी’ उनका अन्य फिल्मको तुलनामा निकै सरल छ । फिल्मको कथा ‘एल्भिन स्ट्रेट’ नामक वृद्ध व्यक्तिको जीवनमा आधारित छ । एल्भिन लामो समयदेखि आफूबाट अलग भएको भाइलाई भेट्न अमेरिकाको आयोवा र विस्कन्सिन राज्यसम्म ट्याक्टरमा यात्रा गर्छन् । त्यो यात्रा केवल दूरी नाप्नका लागि मात्र नभई जीवन, पारिवारिक सम्बन्ध र सम्झनाको खोजीको यात्रा हो।

फिल्मले वृद्धावस्था, पारिवारिक सम्बन्ध र माफीको महत्वलाई शान्त, सरल र मार्मिक ढंगले प्रस्तुत गरेको छ । यो फिल्म लिञ्चको सपना र डरको विचित्र संसारभन्दा बिलकुल विपरीत, वास्तविक जीवन र सरल मानव कथामा केन्द्रित छ ।  यसरी अतियथार्थवादी तथा प्रयोगात्मक शैलीका फिल्म बनाउने लिञ्चलाई यी फिल्महरूबाट सिर्जनात्मक तथा संवेदनशील निर्देशकको रूपमा पनि स्थापित गर्यो ।

‘फ्रैंक हर्बर्ट’को उपन्यासमा आधारित सन् १९८४ मा आएको उनको ठूलो बजेटको साइ-फाइ फिल्म ‘डुन’ भने असफल भएको थियो । त्यसको असफलताले उनलाई ठूलो मानसिक तनाव, निराशा र भावनात्मक दबाबमा पारेको थियो ।

उनले आफ्नो रचनात्मक दृष्टिकोण अनुसार फिल्म बनाउँन खोज्दा, स्टुडियोले उनलाई पटक-पटक हस्तक्षेप गरेको थियो । पटकथामा भएको परिवर्तन र केही दृश्य काटिनुले फिल्मको कथा अस्पष्ट र अव्यवस्थित बन्न पुगेको थियो । त्यसैले उनलाई उपन्यासको जटिल संसार र पात्रहरूलाई २ घण्टा १७ मिनेटमा समेट्न धेरै नै गाह्रो भएको थियो ।

लिञ्चले ‘डुन’लाई जीवनकै ठूलो अवसर मानेका थिए; एउटा विशाल स्टुडियो फिल्म, ठूलो बजेट, साइ-फाइ क्लासिक उपन्यासमा आधारित । तर, फिल्म व्यावसायिक तथा आलोचनात्मक दुवै हिसाबले असफल रह्यो । यसरी उनलाई उक्त फिल्मले कलाकारिताको दृष्टिकोणबाट चुनौती दिएको थियो, तर त्यो उनका लागि सिर्जनात्मक मार्गमा एउटा महत्वपूर्ण अनुभव मात्र बन्न पुग्यो । त्यस अनुभवले उनलाई ठूला स्टुडियोबाट टाढा रहेर फेरि स्वतन्त्र र व्यक्तिगत फिल्मतर्फ फर्किन प्रेरित गर्‍यो ।

त्यसपछि उनले सानो शहरको सतहमूनि लुकेका हिंसा, यौन विकृति र भयलाई लिएर ‘ब्लु भेल्भेट’(१९८६) बनाए । फिल्मलाई आलोचकहरूले ‘अमेरिकन सबर्बियाको अँध्यारो अनुहार’ भनेर व्याख्या पनि गरे । त्यस फिल्मले उनलाई पुन: स्वतन्त्र, साहसी र अमेरिकी सिनेमाको अत्यन्त मौलिक आवाजका रूपमा स्थापित गर्‍यो ।

‘ब्लु भेल्भेट’बाट लिञ्च पुन: दोस्रोपटक ओस्कारमा उत्कृष्ट निर्देशकका लागि मनोनित भए । उनलाई प्राय: कल्ट फिल्ममेकर भनेर मात्रै चिनिन्थ्यो, तर ‘ब्लु भेल्भेट’पछि आलोचक, फिल्मविद् तथा ठूला र प्रतिष्ठित अवार्ड संस्थाहरूबाट पाएको प्रशंसाले उनलाई मुलधार सिनेमाको संसारमा पनि फरक कोणबाट हेर्न थालियो ।

उनले ‘डुन’बाट पाएको निराशालाई शक्तिमा रूपान्तरण गरेर अमेरिकन सिनेमामा एउटा नयाँ तर सशक्त अध्याय थपे । यसरी ‘ब्लु भेल्भेट’ले लिञ्चलाई हराएको विश्वास फर्काइदियो ।

त्यसपछि उनी मार्क फ्रस्टसँग मिलेर टिभि सिरिज ‘ट्विन पीक्स’(१९९०–९१) लिएर आए, जसले नब्बेको दशकको सुरूवातमै सांस्कृतिक क्रान्ति लिएर आयो । सिरिज पाँचवटा विधामा एम्मी अवार्डमा मोनिनित समेत भएको थियो । उक्त सिजिजले परम्परागत कथनशैलीलाई परिवर्तन गरिदिएको थियो, त्यसैले दर्शकमाझ त्यो सिरिज निकै लोकप्रिय भएको थियो । ‘द एक्स–फाइल्स’, ‘लस्ट’, ‘स्ट्रेन्जर थिङ्स’जस्ता चर्चित सिरिजहरूमा यसको प्रभाव स्पष्टसँग देख्न सकिन्छ । सन् २०१७ मा आएको ‘ट्विन पिक्स: द रिटर्न’ले त यसलाई अझ गहिरो कलात्मक स्तरमा पुर्याउने काम गर्यो ।

‘वाईल्ड एट हार्ट’ (१९९०) ले उनलाई विवादास्पद तर साहसी निर्देशकका रूपमा अझै स्थापित गर्‍यो । फिल्मले ‘क्यान फिल्म फेस्टिभल’मा ‘पाल्म ड’ओर’ जित्न सफल भएको थियो । सिरिजको रूपमा विकसित गर्ने योजना बनाए पनि ‘मुलहल्याण्ड ड्राइभ’(२००१) लाई उनले फिल्म बनाए, सो फिल्मबाट उनी तेस्रोपटक ओस्कारमा बेस्ट निर्देशकमा मनोनित भए । आलोचकहरूले यसलाई एक्काइसौँ शताब्दीको सर्वश्रेष्ठ फिल्ममध्ये एक मान्छन् ।

असफलता, विवाद, प्रयोग र साहस नै उनको यात्राको विशेषता थियो । पाँच दशकभन्दा लामो उल्लेखनीय करिअरको कारण उनलाई अकाडेमी अनररी अवार्डबाट सन् २०१९ मा सम्मानित गरिएको थियो । त्यस्तै सन् २००६ मा उनी भेनिस फिल्म फेस्टिभलमा गोल्डेन लायनबाट सम्मानित भएका थिए ।

उनले युवा निर्देशक तथा कलाकारहरूलाई कल्पनाशीलता र प्रयोगात्मकताको महत्व राम्रोसँग बुझाएका छन् । उनको उपस्थितिले सिनेमा जगतमा नयाँ दृष्टिकोण, प्रयोगात्मक शैली र कलात्मक स्वतन्त्रताको मार्ग खोलिदिएको थियो । उनका फिल्म, सिरिज, संगीत तथा अन्य कलाले आज पनि थुप्रै निर्देशक, कलाकार, दर्शक, प्रशंसकहरूलाई सपना र वास्तविकताको सीमामा पुर्याएर सोच्न प्रेरित गर्छन् ।

कठिनाइ, विवाद र आलोचनाबीच पनि उनले आफ्नो अद्वितीय शैलीलाई अन्तिमसम्म कायम राखिराखे, जसले उनलाई आज विश्वको सबैभन्दा प्रभावशाली र अद्वितीय फिल्ममेकरका रूपमा चिनाएको छ । उनले केवल फिल्ममा मात्र नभई समग्र कलात्मक संसारमा आफ्नो अद्वितीय छाप छोडेका छन् । उनको योगदान आज पनि आधुनिक कला, चलचित्र र सांस्कृतिक अध्ययनमा प्रेरणाको स्रोत बन्दै आइरहेको छ ।

उनलाई पछिल्लोपटक निर्देशक ‘स्टिभेन स्पिलबर्ग’को आत्मकथात्मक फिल्म ‘द फेबेलमन्स’मा देखिएको थियो ।

जीवनभर धूम्रपान गर्ने बानीले उनी ‘एम्फिसिमा’बाट ग्रस्त थिए । उनको स्वास्थ्यमा क्रमश: गिरावट आइरहेको थियो, त्यसैले उनी आफ्नो घरबाट बाहिर निस्कन सक्दैनथे । दक्षिण क्यालिफोर्नियाका जङ्गलमा लागेको डढेलोका कारण उनी आफ्नो घर छाड्न बाध्य भए, त्यसको केही समयमै सन् २०२५ जनवरी १५ मा उनको निधन भयो ।

उनको निधनपश्चात् अभिनेत्री ‘लोरा डर्न’ले डेभिड लिञ्चलाई ‘सबैभन्दा प्रिय साथी’ सम्बोधन गर्दै एउटा भावपूर्ण पत्र लेखेकी थिइन् । त्यो बेला मलाई पनि उनलाई एउटा पत्र लेख्न मन थियो, तर सकिनँ ।

भन्नेहरूले भन्छन्, निधनभन्दा केही समयअघि डेभिड लिञ्चलाई ‘बब्स् बिग ब्वाई रेस्टुराँ’मा आफ्ना साथीहरूसँग कफी र मिल्कशेकको मजा लिँदै समय बिताइरहेको अवस्थामा केहीले देखेका थिए । उनले सेतो शर्ट र कालो पाइन्ट लगाएका थिए, उनी रेस्टुराँका कर्मचारी तथा फ्यानहरूसँग कुरा गरिरहेका थिए ।  स्वास्थ्य कमजोर भए पनि उनी आफ्नो दैनिक रूटिन, मिल्कशेक र लेखनमा संलग्न थिए ।

डेभिड लिञ्चको निधनले सबै कलाप्रेमीहरूलाई गहिरो शोकमा डुबाएको थियो । उनको निधनको खबर सुनेपछि, उनका प्रशंसकहरू ‘बब्स् बिग ब्वाई रेस्टुराँ’मा जम्मा भएका थिए । उनीहरूले रेस्टुराँको बाहिर डेभिड लिञ्चको सम्मान तथा सम्झनामा श्रद्धाञ्जलि स्थल बनाएका थिए । त्यहाँ उनको फोटो, फिल्मका तस्बिर, फूल, चित्रकला, चुरोटका प्याकेट, कफी कप, मिल्कशेक, चिया, उनका फिल्म तथा सिरिजमा प्रयोग भएका प्रप्सहरू, धन्यवादका पत्रहरू, नीला गुलाबहरू राखिएका थिए ।

ती सबै वस्तुहरू लिञ्चको अनौठो र भावनात्मक शैलीको प्रतीकका रूपमा प्रस्तुत थिए ।

म पनि ‘बब्स् बिग ब्वाई रेस्टुराँ’ पुगेको थिएँ, डेभिड लिञ्चलाई सम्झिदै; सुनौलो रङको कपाल, लामो नाक, ख्याउटे अनुहार भएको एउटा अग्लो खिरिलो कायालाई सम्झिँदै ।

त्यहाँबाट फर्किदा मैले पनि उनको फेभरेट चकलेट मिल्कशेक उनको नाममा चढाएर आएको थिएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?