+
+
Shares

स्वास्थ्यमन्त्री भन्छन्- खानेपानीमा ढल मिसिएको र गाउँमा हैजाका बिरामी लुकेको आशंका छ

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सोमबार स्थानीय तह र स्वास्थ्य निकायसहित वीरगञ्जको हैजा प्रभावित क्षेत्रमा अनुगमन गरेपछि यस्तो आशंका व्यक्त गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्यमन्त्री प्रदीप पौडेलले वीरगञ्ज महानगरपालिकामा फैलिएको झाडापखाला प्रकोप नियन्त्रणमा आएको तर घरमै लुकेर बसेका बिरामी हुनसक्ने आशंका व्यक्त गर्नुभयो।
  • वीरगञ्जका १९४ जनामा झाडापखलाका लक्षण देखिएका छन् र ९५ जना विभिन्न स्वास्थ्य संस्थामा उपचाररत छन्।
  • पानी आपूर्ति प्रणालीमा पाइपलाइनमा ढल मिसिएको शंका छ र स्वास्थ्य मन्त्रालयले पानीको नमुना परीक्षणका लागि टोली खटाएको छ।

९ भदौ, काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले वीरगञ्ज महानगरपालिकामा फैलिएको झाडापखाला प्रकोप नियन्त्रणमा आएको देखिए पनि गाउँघरमै लुकेर बसेका बिरामी अझै हुनसक्ने आशंका गरेका छन् ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सोमबार स्थानीय तह र स्वास्थ्य निकायसहित वीरगञ्जको हैजा प्रभावित क्षेत्रमा अनुगमन गरेपछि यस्तो आशंका व्यक्त गरेका हुन् ।

हालसम्म वीरगञ्जको ११, १२ र १३ नम्बर वडालाई प्रभावित क्षेत्रको रूपमा पहिचान गरिएको छ । ती वडामा अस्पतालमा पुगेका बिरामीको संख्या बढी छ ।

‘यही वडाभित्र अझै घरमै लुकेर बसिरहेका बिरामी हुन सक्छन् भन्ने आशंका हामीले गरेका छौँ । त्यसैले अस्पताल आउन आग्रह गर्दै घरघरमै स्वास्थ्यकर्मी पठाइएको छ,’ मन्त्री पौडेलले अनलाइनखबरसँग भने ।

मन्त्री पौडेलका अनुसार अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीको संख्या पछिल्ला दुई दिनमा घटेको छ ।

वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजाका कारण २२ जना आईसीयू र ६ जना एचडीयूमा उपचाररत छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार वीरगञ्ज महानगरपालिका- १, ३, ११, १२, १३ र १६ का १९४ जनालाई झाडापखलाको लक्षण देखा परेको छ । तीमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ९५ जना अझै विभिन्न स्वास्थ्य संस्थामा उपचाररत छन् ।

हैजा प्रभावित क्षेत्र वीरगञ्जमा सरोकार पक्षसँग छलफल गर्दै स्वास्थ्यमन्त्री पौडेल ।

‘अस्पतालमा नयाँ बिरामीको संख्या उल्लेख्य रूपमा नबढेको देखिन्छ, तर समुदायमा के छ भन्ने यकिन छैन । कतिपयले अस्पतालमा नआई घरमै बसेर उपचार गरिरहेका वा लक्षण लुकाइरहेका हुन सक्छन्,’ मन्त्री पौडेलले भने ।

झाडापखाला फैलनुको यकिन कारण अहिलेसम्म पत्ता लागिसकेको छैन । तर स्थानीयवासी र प्राविधिक निकायले पानी आपूर्ति प्रणाली नै प्रमुख स्रोत हुनसक्ने अनुमान गरेका छन् ।

विशेषगरी वीरगञ्जमा एक महिना अगाडि पानीको हाहाकार भएपछि डिप बोरिङमार्फत घरघरमा पुर्‍याइएको खानेपानी आपूर्ति पाइपलाइनमा ढल मिसिएको शंका छ ।

मन्त्री पौडेलले भने, ‘पाइपलाइन लामो भएको र धेरै ठाउँमा जमिनभित्र गाडिएको कारण ठ्याक्कै चुहावट कहाँ भएको हो भनेर तुरुन्तै पत्ता लगाउन कठिन भएको छ । तर पानी आपूर्ति प्रणाली नै समस्याको मुल स्रोत भएको आशंका बलियो छ ।’

नारायणी अस्पतालमा उपचाररत बिरामी । फाइल तस्वीर

स्वास्थ्य मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी अतिरिक्त जनशक्ति परिचालन मन्त्री पौडेलले बताए । उनका अनुसार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायका चिकित्सक र नर्सहरू स्थानीय स्वास्थ्यकर्मीहरूसँगै समुदायमा खटिएका छन् । नर्सिङ विद्यार्थी समेत घर-घर गएर जनचेतना फैलाउने काममा सक्रिय छन् ।

साथै, नगरपालिकाले माइकिङमार्फत स्थानीयलाई सचेत पार्ने काम थालिएको छ । ‘पानी उमालेर मात्र खानुहोस्, लक्षण देखिए तुरुन्त अस्पताल आउनुहोस् भन्ने सन्देशलाई व्यापक बनाउन जोड दिइएको छ,’ मन्त्री पौडेलले भने ।

मन्त्रालयले प्रभावित क्षेत्रको पानीको नमुना परीक्षण गर्न टोली खटाएको छ । पानीको गुणस्तर जाँच गर्दा हालसम्म ठ्याक्कै दूषित देखिएको छैन । तर पाइपलाइनको संरचना त्रुटिपूर्ण रहेको पुष्टि भएको छ ।

‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार ढलसँगै खानेपानीको पाइप राख्न पाइँदैन । तर वीरगञ्जमा सो त्रुटि भएको छ । यसले रोग फैलनमा भूमिका खेलेको हुनसक्छ,’ पौडेलले भने ।

हाल प्रकोप भयावह रूपमा फैलिएको छैन । तर लुकेका बिरामी समयमै उपचारका लागि बाहिर नआए झन् गम्भीर अवस्था आउन सक्ने भन्दै स्वास्थ्य निकायले सतर्कता बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?