
११ भदौ, काठमाडौं। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सदाचार नीतिको मस्यौदा लोकतन्त्रमा आधारित समाजवादउन्मुख नभएको भन्दै आपत्ति जनाएका छन् ।
बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीतिको मस्यौदामाथिको छलफलमा बोल्दै उनले स्पष्ट संरचना समेत नभएको कारण कुनैपनि हालतमा यो सदाचार नीति लागू गर्न नमिल्ने जिकिर गरे ।
‘यो सदाचार नीतिबाट हामीले के चाहेका छौं भने भ्रष्टाचार समाप्त होस् । यो नीतिबाट स्वर्गमा कस्तो हुन्छ भन्ने सुन्छौं त्यो सबै प्राप्त गर्न सकियोस् भन्ने तरिकाले आएको छ’ उनले भने, ‘यो कुनैपनि हालतमा लागु हुदैन । लागु हुँदैन, हुँदैन, हुँदैन ।’
नेता गौतमले भ्रष्टाचारीलाई कारबाही गर्नेबारे नीतिमा उल्लेख नभएको भन्दै प्रश्न गरे । ‘बाघले गाईवस्तु र बाख्रा मारेको छ, मान्छेमाथि पनि आक्रमण गरेको छ । अब बाघ भगाउनको निम्ति बम पड्काउनुपर्छ । तर, चराले धेरै नोक्सान गर्यो भन्ने हो भने केही गर्ने बित्तिकै चरा उडेर गैहाल्छ,’ उनले भने ।
उनले थपे, ‘हाम्रो निम्ति बाघभन्दा पनि ठूलो सिंह हो । यहाँ ठोक्ने चिज खै ? यसमा संरचना समेत उल्लेख गरेको छैन । संरचना कसरी बन्छ त्यो पनि थाहा छैन । एउटा ठूलो आवाज आउनेगरी केही न केही गर्नुपर्दैन ?’
गौतमले सदाचार नीतिलाई समाजवाद उन्मुख बनाउनुपर्ने तर्क गरे । ‘हामीले संविधानमा उल्लेख गरेका छौं, लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद । नेताहरु सधैंभरी समाजवाद उन्मुख हुने हो भन्छन् तर गर्न सक्दैनन् । यी नेताहरूले देशलाई बर्बाद गरेका छन्,’ उनले भने ।
शीर्ष तहको बोली र व्यवहार फरक भएकै कारण मुलुक बर्बादीतर्फ गइरहेको उनको आरोप छ ।
प्रतिक्रिया 4