
News Summary
Generated by OK AI. Editorially reviewed.- बङ्गाली लेखक विमल मित्रले गुरुदत्तको जीवन र मित्रताको संस्मरण 'विछडे सभी बारी-बारी' लेखेका छन्, जसले भारतीय सिनेमा र साहित्यको झाँकी प्रस्तुत गर्छ।
- गुरुदत्तले विमल मित्रको उपन्यास 'साहब बीबी और गुलाम'लाई हिन्दी सिनेमा बनाउन चाहेका थिए र विमललाई पटकथा लेख्न राजी गराएका थिए।
- गुरुदत्तको दाम्पत्य जीवनमा वहिदा रहमानको प्रवेशले विवाद उत्पन्न भयो र अन्ततः उनले आत्महत्या गरे, जसलाई विमल मित्रले पुस्तकमा विस्तारमा वर्णन गरेका छन्।
ख्यातिप्राप्त बङ्गाली उपन्यासकार विमल मित्रलिखित हिन्दी सिनेमा जगतका अपूर्व कलाकार गुरुदत्तको संस्मरण पुस्तक ‘विछडे सभी बारी-बारी’ पढी सिध्याउँदा मन भारी भयो र कथाकार मित्र किशोर पहाडीलाई सन्देश लेखें, ‘हलो किशोर ! मैले भर्खरै विमल मित्रको गुरूदत्तमाथिको संस्मरण पुस्तक ‘बिछडे सभी बारी-बारी’ पढिसकें र मन भारी भएको छ ! अद्भूत संस्मरणात्मक पुस्तक ! विमल मित्रको यो संस्मरण पढ्दा उनको उपन्यास पढेको स्वाद आउने, मिठो र चुम्बकीय शैली ! यो किताब पढुन्जेल र पढिसकेपछि पनि किशोरलाई सम्झिरहें, तिम्रो प्रिय लेखक भनेर ! यो किताब पढेको हो ? नपढेको भए अवश्य खोजेर भए पनि पढ्नू है !’
सन्देश लेख्नुको विशेष कारण छ ।
२०३० को दशकमा किशोर पहाडी त्रिपुरेश्वरको खानेपानी विभागमा काम गर्थे । म त्रिवि केन्द्रीय कार्यालय त्रिपुरेश्वरमै । हामी दुवै आरएनएसी भवनमा अवस्थित नेपाल भारत पुस्तकालयमा नियमित रुपले जान्थ्यौं । म विभिन्न विधाका पुस्तकहरू पढ्न रुचाउथें । तर उनी पाएसम्म विमल मित्रका उपन्यासहरू खोजीखोजी पढ्थे । उनले खरिदी कौडियों मोल, साहव विवी गुलाम जस्ता ठूला-ठूला दुई भागका उपन्यास समेत सहजै पालैपालो लगेर पढी सिध्याउँथे । मैले नेपालमा किशोर पहाडीले जति विमल मित्रका कृतिहरू खोजी-खोजी पढ्ने कोही पाठक वा लेखक भेटेको छैन । सम्भवतः उनले जति विमल मित्र कसैले पढेका छैनन् । उनी जति विमल मित्रका प्रशंसक अरू कोही भेटेको छैन । त्यसैले मैले किशोरलाई यो सन्देश पठाएको हुँ ।
०००
गुरूदत्तको पूरा नाम वसन्त कुमार शिवशंकर पादुकोण थियो । उनी भारतीय सिनेमाका एक महान् अभिनेता, निर्देशक, निर्माता र लेखक थिए । उनी गुरुदत्त नामले विख्यात भए।
उनी भारतीय सिनेमाको स्वर्णिम युगका अत्यन्त प्रभावशाली व्यक्तिहरूमध्ये एक मानिन्छन् । ९ जुलाई १९२५, बेंगलोरमा जन्मिएका थिए । उनको परिवार आर्थिक रूपमा सम्पन्न थिएन। बाल्यकाल कलकत्तामा बिताएका थिए, त्यसैले बंगाली संस्कृति र साहित्यसँग उनको नजिकको सम्बन्ध रह्यो ।
उनी सिनेमा जगतमा नृत्य निर्देशकका रूपमा प्रवेश गरेका थिए । देव आनन्द अभिनित ‘बाजी’ चलचित्रबाट निर्देशन यात्रा थालनी गरेका थिए । यो सिनेमाले नै उनलाई सफल निर्देशकको रूपमा उभ्यायो । उनी आफैं पनि सफल अभिनेताको रुपमा प्रख्यात भए । उनी अभिनित ‘प्यासा'(१९५७), ‘कागजके फूल’ (१९५९) र ‘साहव बीबी और गुलाम’ (१९६२) भारतीय सिनेमा जगतका सदावहार र युगिन सिनेमा मानिन्छन् ।
‘साहब बीबी और गुलाम’ वङ्गाली उपन्यासकार विमल मित्रको बहुचर्चित र सफल उपन्यास थियो । यो उपन्यासको अनुवाद हिन्दीमा भइसकेको थियो । वङ्गलामा पुस्तक प्रकाशनसहित चलचित्र समेत निर्माण भइसकेको थियो ।
यस उपन्यासमाथि गुरुदत्तले हिन्दी सिनेमा बनाउन चाहे र विमल मित्रसँग सम्पर्क स्थापित गरे । यो सम्बन्ध र सम्पर्क यस्तो गहिरो मित्रतामा परिणत भयो, जुन आजीवन रह्यो, गुरुदत्तको निधन नहुन्जेल ।
‘विछडे सभी बारी-बारी’ यी दुई हस्तीको मित्रताको मात्र कहानी नभई समकालीन भारतीय चलचित्रको झाँकी, सिनेमा जगतका व्यक्तिहरूको पारिवारिक राम कहानी तथा विमल मित्र आफ्नै पनि आंशिक रामकहानी हो । यो पुस्तक पढिरहँदा कतै कुनै चलचित्र हेरेजस्तो अनुभव भयो वा कतै कुनै सामाजिक उपन्यास पढेझैं अनुभव भयो भने यो कृतिको सही पठन भएको हो भन्न सकिन्छ । यो संस्मरणात्मक कृति पढिसक्दा मैले गरेको अनुभूति हो यो ।
गुरुदत्त विमल मित्रभन्दा १३ वर्ष कान्छो थिए । उनीहरूको बसाइ पनि निकै टाढा थियो । विमल मित्र सुदूरपूर्व कलकत्ताका बासिन्दा थिए, गुरुदत्त सुदूरपश्चिम बम्बईका । तर, यी दुई बीचको मित्रतामा त्यो उमेरको फरकपना र भौतिक दूरीले कुनै प्रभाव पार्न सकेन ।
विमल मित्र र गुरुदत्तको भेट हुँदा गुरुदत्त लोकप्रियताको उचाइमा थिए । उनकी श्रीमती गीतादत्त पनि प्रख्यात गायिका थिइन् । यी दुईको विवाहपश्चात् गीताको लोकप्रियताको ग्राफ ओरालो लाग्यो भने गुरुदत्तको लोकप्रियताको ग्राफ उकालो लाग्यो । आलिशान महल, गाडी, नोकर-चाकर, स्टुडियो सबैले परिपूर्ण गुरुदत्त परिवार बाहिर जति सफल र सुखद् देखिन्थ्यो त्यो अवस्था घरभित्र थिएन । यसको सम्पूर्ण नालीबेली विमल मित्रले यो पुस्तकमा सविस्तार वयान गरेका छन् ।
यो पुस्तक पढिसक्दा अखबारहरूले चित्रण गरेभन्दा फरक तथ्य पाठकले महसुस गर्न सक्छन् गुरुदत्त परिवारको कहानी सम्बन्धमा ।
०००
विमल मित्रले यस पुस्तकमा आफ्नो लेखकीय जीवनको सुरुवातको कथा समेत पस्केका छन् । उनलाई सरकारी जागिर खाने सल्लाह दिइएको थियो । त्यसले जीविका त चल्छ साहित्य-वाहित्य लेखेर के हुन्छ र ? भन्ने विचार थियो । हुन त बुढौली उमेरको छेउसम्म आइपुग्दा पनि त्यस्तो सल्लाह उनले पाउने गरेका थिए । तर आफ्नो जिद्दी छोडेनन् । लेखिरहे । लेखिरहे । उनका उपन्यासहरू लोकप्रिय भए ।
उनका धारावाहिक उपन्यास हरेक हप्ता पढ्न पाठकहरू लालायित भइरहे । उपन्यास नै झण्डै एक सयको हाराहारीमा लेखे । कतिपय उपन्यासका बङ्गला तथा हिन्दीमा सिनेमा बने । उनको आम्दानी खर्चको हिसाब किताबका लागि चार्टर्ड एकाउन्टेन्ट नै चाहिने भयो।
विमललाई लाग्छ, यो सब उनलाई हतोत्साहित गर्नेहरूकै कारण सम्भव भएको हो । यदि त्यसरी हतोत्साहित नबनाएको भए उनी त्यसरी डटेर लाग्ने थिएनन् कि भन्ने लाग्छ उनलाई ।
उनको भनाइ छ, ‘ती दिनमा मेरा शुभाकांक्षीहरूले मलाई हतोत्साह गर्थेनन् भने आजको यो उत्साह कसरी प्राप्त हुन्थ्यो ? यसकारण मन-प्राणले यदि मैले कसैलाई कृतज्ञता ज्ञापन गर्नुपर्छ भने म तिनीहरूलाई नै गर्छु । म उनीहरूको गुन कहिल्यै भुल्दिन ।’
०००
१९६० को सुरुवाततिरको कुरा हो । विमल मित्र ‘खरिदी कौडियों मोल’ देश पत्रिकाका लागि साप्ताहिक रूपमा धारावाहिक उपन्यास लेखिरहेका थिए । त्यसै समय सूर्य लाडिया नामक व्यक्ति विमल मित्रलाई भेट्न आए । उनी गुरुदत्त फिल्मसका पूर्वी क्षेत्रका वितरक र कलकत्ता निवासी थिए । उनी गुरुदत्तको सन्देश लिएर भेट्न गएका थिए।
गुरुदत्तले ‘साहब बीबी गुलाम’ उपन्यासको चलचित्र बनाउन चाहन्थे र त्यसका लागि सल्लाह गर्न बम्बई निम्तो दिन लाडियालाई पठाएका थिए । विमलले समयको कमी, स्वास्थ्यको गडबडीले यात्रा गर्न असहज हुने जस्ता कारण देखाएर त्यो प्रस्ताव अस्वीकार गरिदिए । तर लाडियाले उनको पिछा छाडेनन् । आखिरमा गुरदत्तले फोनमा भने, ‘तपाईं यहाँ आउनुहोस् । सिनेमा बनाउने अधिकार दिने नदिने त्यो तपाईंको खुसी’ भनेपछि विमल मित्र बम्बई गए ।
त्यो पहिलो यात्रा, त्यो पहिलो भेट नै अविस्मरणीय रह्यो आत्मियताको बन्धनमा बाँधिनका लागि ।
त्यतिबेला गुरुदत्त पाली हिलमा अवस्थित ३८ नम्बरको शानदार बङ्गलामा बस्थे । उनका छिमेकी थिए, हिन्दी सिनेमा जगतका सदावहार नायक देवानन्द । विमल मित्र बम्बई पुगेपछि गुरुदत्तको स्टुडियोमा सबैले ‘साहब बीबी गुलाम’ सिनेमाको बङ्गाली संस्करण हेरे । त्यसपछि गुरुदत्तले भने, ‘साहब बीबी गुलाम’ सिनेमा सबैले नबनाउन भनेका छन् । यतिसम्मकी मेरी श्रीमती पनि यसै भन्छिन् । तर म यो सिनेमा बनाई छाड्छु । खासमा म निकै अप्ठ्यारो र जिद्दीवाल छु । जे काम गर्न मन हुन्छ,
त्यो काम नगरी छाड्दिन । म आफ्नो मर्जीले चल्ने मानिस हुँ ।’
यो थियो गुरुदत्तको आत्मस्वीकारोक्ति, जुन उनले जीवनभर कायमै राखे ।
अन्तमा ‘साहब बीबी गुलाम’ सिनेमा बन्ने भयो । र, त्यस सिनेमाको पटकथा पनि विमल मित्रलाई नै लेख्न राजी बनाए । विमल पटकथा लेख्न पटक्कै इच्छुक थिएनन् ।
गुरुदत्तको भनाइ थियो, ‘किताब तपाईंको हो । यसकारण तपाईं जसरी पटकथा लेख्नु हुन्छ, त्यो अरू कसैले लेख्न सक्दैन । उपन्यास तपाईंले लेख्नु भएको हो, यदि त्यसको स्क्रिप्ट पनि तपाईंले लेख्नुभयो भने जिवन्त हुन्छ । म यो सिनेमा निकै जतनसँग बनाउन चाहन्छु । यो सिनेमा मेरा लागि एक चुनौती हो । यसका लागि म कुनै पनि किसिमको सम्झौता गर्न तयार छैन । तपाईंले मेरो यो अनुरोध स्वीकार्नुहोस् ।’
विमल मित्रले मान्नै प-यो । गुरुदत्तले विमल मित्रलाई स्क्रिप्ट लेखनमा सहयोग गर्न एक सहायक पनि उपलब्ध गराउने भए । यो सिनेमाको मुख्य नायिका वहिदा रहमानलाई बनाउने निधो पनि भयो ।
वहिदा रहमानलाई नायिका बनाउने निधो भएपछि गुरुदत्तकी पत्नी गीतादत्तले विमल मित्रलाई भनेकी थिइन्, ‘तपाईंलाई थाहा छ, यही वहिदा रहमानको कारण हाम्रो गृहस्थीमा अशान्ति मच्चिइरहन्छ । उनीबाहेक बम्बई सिनेमा उद्योगमा अरू कोही नायिका छैनन् र !’
विमल मित्र बम्बईबाट कलकत्ता फर्किरहँदा पनि गीतादत्तको यो भनाइ उनको कानमा गुञ्जिरहेको थियो । त्यति मात्र होइन, गुरुदत्तले ‘म नायिकाको भूमिका वहिदा रहमानलाई दिन चाहन्छु, अति राम्री र कुशल कलाकार छिन्’ भन्दा गीतादत्तको अनुहार गम्भीर भएको पनि उनको आँखामा झझल्को आइरह्यो ।
तर विमलले यसलाई उतिसारो गम्भिरतापूर्वक लिएनन् ।
०००
विमल मित्र गुरुदत्तसँग जोडिइरहे ।
‘साहव बीबी गुलाम’ सिनेमाको काम चलुञ्जेल त त्यसको सिलसिलामा कलकत्ता बम्बई भइरह्यो । तर सिनेमा बनिसकेपछि र प्रदर्शनमा गइसकेपछि पनि विमल गुरुदत्त मित्रता निरन्तर भइरह्यो । कहिले कुनै बहानामा कहिले कुनै बहानामा गुरुदत्तले विमल मित्रलाई बम्बई बोलाइरहे । विमल मित्र गइरहे र गुरुदत्तको जीवनका झाँकीहरू प्रत्यक्ष हेरिरहे, सामान्य प्रतिक्रिया व्यक्त पनि गरिरहे । गुरुदत्तको दाम्पत्यमा आएको फाटोको साक्षी बनिरहे । त्यसको दृष्टान्त नै यो पुस्तक हो ।
विमलले देखे, गुरुदत्त अनिद्राको शिकार छन् । गीतासँग अलिक लामो समयसँगै हुनेबित्तिकै झगडा भइहाल्छ । झगडाको कारण मुख्यतः वहिदा रहमान नै हुन्छिन् । गुरुदत्तको वहिदालाई हरेक सिनेमामा मुख्य भूमिका र आफू नायक हुने उनको निर्णय गीतादत्तलाई सह्य हुँदैन ।
गुरुदत्त र गीताको विहे हुँदा गीता प्रख्यातिको टाकुरामा थिइन् । विवाहापछि उनको लोकप्रियता ओरालो लाग्यो र गुरुदत्तले सुझाए, अब गाउन छाडे हुन्छ । गुरुदत्तको अर्को इच्छा पनि देखिन्छ, बडो मेहनत र पराक्रमले हासिल गरेको घरको हेरचाह गीताबाट होस् । तर गीता आफ्नो गायन छोड्न चाहन्न थिइन गुरुदत्तलाई मन नपरे पनि । यद्यपि आफ्ना सिनेमामा गीताको गायनलाई निरन्तरता दिइरहन्छन् ।
गुरुदत्त र गीताको बैमनस्यताको शिकार एक दिन उनीहरूको घर हुन जान्छ । आफ्नो विशाल महललाई गुरुदत्तले भत्काएर तहसनहस बनाउन लगाउँछन् र नजिकै डेरा गरी बस्छन् । यो गजबको घटना हुन्छ त्यस दम्पतीको । भत्किसकेको घर हेर्न विमल मित्र पनि पुग्छन् । घर नै भत्काउनु पर्ने के खण्ड थियो, यसको जवाफ गीतासँग छैन । गुरुदत्तको मुख खुल्दैन उचित कारण देखाउन । खासमा त्यो घर भत्केको थिएन, दाम्पत्य भत्केको थियो ।
मानिस जतिसुकै प्रख्यातिको उच्चतामा पुगे पनि, जतिसुकै सफलता हासिल गरे पनि दाम्पत्य जीवनमा तेस्रो स्त्रीको प्रवेश र एक-अर्काप्रति अविश्वास, अनियन्त्रित धुम्रपान, मदीरापानले अन्ततः जुन खराब परिणति दिने सम्भावना हुन्छ, त्यसैको दृष्टान्त थियो गुरुदत्तको परिवारको कहानी । जसलाई आफ्नो दृष्टि र दृष्टिकोणले, आफ्नै आख्यानात्मक शैलीमा विमल मित्रले यस पुस्तकमा अत्यन्त प्रभावकारी तरिकाले प्रस्तुत गरेका छन् ।
विमल मित्र गुरुदत्तलाई बुझ्न चाहन्छन्, उनको अनिद्राको कारण पहिल्याउन चाहन्छन्, गुरुदत्तको त्यो विशाल प्रतिभालाई उजिल्याउन चाहन्छन् । विमलको गुनासो गीताप्रति पनि छ, गुरुदत्तप्रति पनि छ । तर उनको भूमिका कुनै निर्णायकको जस्तो छैन । न व्यवहारमा, न यस पुस्तकमा ।
रातभरि अनिदो भए पनि, अत्यधिक धुम्रपान र मदीरापान गरे पनि, घर-झगडाको उच्चतम स्थितिलाई झेल्नु परे पनि बिहान ताजा, हँसिलो र काममा उत्तिकै तदारुकता देखाउन गुरुदत्तको विलक्षण गुण थियो, जुन सम्भवत: कसैमा हुँदैन । गुरुदत्तको यो चरित्रले विमललाई सधैं नै प्रभाव पारिरह्यो, आश्चर्यचकित तुल्याइरह्यो ।
काममा मग्न भएपछि पागलझैं मरिमेट्ने र चाहेको गरिछाड्ने गुरुदत्तको हठ पनि कम आश्चर्यजनक थिएन । त्यसैले त उनलाई सदावहार, लोकप्रिय र उम्दा कलाकारको प्रख्यातिको जामा पहिराइरह्यो, जुन अहिले पनि निरन्तर छ ।
गुरुदत्त भारतीय सिनेमाको ‘स्वर्णिम युग’ का एक दुःखद् नायक हुन् । तर उनको निर्माण, निर्देशन पक्ष पनि अतुलनीय थियो । जब ‘साहब बीबी गुलाम’ सिनेमा तयारर प्रथम प्रदर्शन भयो, यो सिनेमा कस्तो होला, सफल होला नहोला, के होला, अनन्त जिज्ञासा थियो ।
बम्बईका एक सफल निर्देशक के.आसिफले यो सिनेमा मन पराएनन् । उनको कथन थियो, यदि यो सिनेमाको अन्त दुखान्तः नभएर सुखान्तः भइदिएको भए यो सिनेमा पैसा कमाउन लायक हुन्थ्यो । उनले सिनेमाको अन्त सुखान्त बनाएर बदल्न सुझाव दिए ।
गुरुदत्त सिनेमाको अन्तलाई बदल्न तयार भए । निर्देशकले अनेक तर्क दिंदा पनि टसको मस भएनन् । विमल मित्र पनि मूल उपन्यासभन्दा भिन्न अन्त बनाउन तयार भए । उनलाई आफ्नो उपन्यासको कथा भन्दा गुरुदत्तको सफलताप्रति बढी चिन्ता थियो । सिनेमाका लागि गुरुदत्तले पानीझैं बगाएको पैसा खेर नजाओस् भन्ने उनको मनशाय थियो।
स्क्रिप्ट लगभग तयार भइसकेको थियो । नायिका मीनाकुमारीलाई सम्झाइ-बुझाइ गरिसकिएको थियो, भत्काइसकेको स्टुडियोको सेट फेरि बनाउन सुरु हुन लागि सकेको थियो । सबै आ-आफ्ना जिम्मेवारी अनुसारको काम गर्न थालिसकेका थिए ।
अचानक गुरुदत्तले फैसला गरे र भने, ‘विमल वावु, मैले सोचें । सिनेमाको अन्त जस्तो छ त्यस्तै रहनेछ । म सिनेमाको अन्त परिवर्तन गर्दिन ।…कसैले मेरो सिनेमा हेरोस्, नहेरोस् मलाई मतलव छैन । लाखौं रुपैयाँ नोक्सान होस् परवाह छैन । म सिनेमाको अन्त परिवर्तन गर्दिन । यो सिनेमाको अन्त बदल्न लायक छैन । यो अलग प्रकारको कथा हो । मानिसहरूले बुझे ठिक छ, नबुझे उनीहरूलाई नै घाटा छ, मलाई क्यै फरक पर्दैन । के.आसिफले जे भनुन्, म पनि त एक निर्देशक हुँ नि ! मसँग बुद्धि विवेचना छ । मैले दिनभरि खूब सोचें, म अन्त्य कुनै पनि शर्तमा परिवर्तन गर्दिन ।’
गुरुदत्तको यो फैसलाले विमल मित्रलाई लाग्यो, गुरुदत्त कति महान कला मर्मज्ञ हुन् ।
०००
गुरुदत्त र गीता बीच आएकी वहिदा रहमानसँग गुरुदत्तले सम्बन्ध विच्छेद गरे । श्रीमती पनि साथमा रहिनन्। छोराछोरी पनि साथ रहेनन् ।
एकरात गुरुदत्तले मजासँग आधिरातसम्म मदिरापान गरिरहे । त्यो रात थियो १० अक्टोबर १९६४ को । साथमा थिए अबरार । उनको हातमा किताब पनि थियो, जुन उनले पढ्दै थिए । पढ्नु उनको जस्तोसुकै खराब समयमा पनि निरन्तर हुन्थ्यो ।
रात निकै ढलेपछि अबरार गुरुदत्त अब सुत्लान् भनेर आफ्नो निवासतिर लागे। त्यसपछि गुरुदत्तले एक मुठी निद्राको औषधि निले । भोलिपल्ट बिहान गुरुदत्त थिएनन्, उनको प्राणहीन शरीर मात्र थियो । यसरी एक होनहार सफल कलाकार, निर्देशक, असफल पति-पिता ईतिहासमा समाहित भए ।
०००
गुरुदत्तको मृत्युपछि विमल मित्रको कथन यस्तो रह्यो, ‘मेरो लागि गुरुदत्त जानु, पूरा नहुने नोक्सान हो । अब म, जतिदिन जिउँदो हुन्छु, गुरुदत्तलाई एकदिन पनि बिर्सन सक्दिन । हामी दुवै नै अलग अलग संसारका मानिस थियौं । त्यति हुँदाहुँदै पनि, हामी दुईमा अतिशय मेल पनि थियो । त्यो थियो किताब पढ्नु । जस्तो मलाई देश-विदेशका सयौं किसिमका किताब पढ्ने नशा छ, मैले देखें, गुरुको पनि किताब पढ्ने नशा थियो । उ ठाउँ-ठाउँबाट किताब मगाउँथ्यो र रातरातभर नसुतेर किताब पढिरहन्थ्यो । यहाँसम्म कि जुन दिन गुरुको देहान्त भयो, त्यस दिन पनि उसको ओछ्यानमा पढ्दै गरेको हिन्दी उपन्यास पल्टिरहेको थियो । किताब पढ्ने यो नशाले नै हामी दुईको प्रेमलाई अटुट बन्धनमा बाँधेको थियो ।’
यो पुस्तकको शीर्षक ‘बिछडे सभी बारी-बारी’ बिमल मित्रले गुरुदत्तकै सिनेमा ‘कागज के फूल’ को गीतको हरफबाट लिएका हुन्, जसका गीतकार थिए कैफी आजमी, सङ्गीतकार एस.डी. वर्मन र पार्श्व गायक थिए, मोहम्मद रफी । गीतको बोल थियो-
देखी जमाने की यारी
बिछडे सभी, बिछडे सभी बारी-बारी
अब त यो किताबका लेखक विमल मित्र पनि यो दुनियाँमा छैनन् । २ डिसेम्बर १९९१ मै उनको देहान्त भइसकेको छ । ‘बिछडे सभी बारी-बारी’ मा गुरुदत्तलाई जीवन्त तुल्याउने उनी स्वयम् पनि यस कृति र अनेकन कृतिमा जीवन्त छन् ।
प्रतिक्रिया 4