News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेलका लागि टिकट मूल्य तोकेको छ।
- टिकट मूल्य सामान्य पारापिटतर्फ रु ५०० र भिआइपी पारापिटतर्फ रु १,००० तोकिएको छ ।
- बंगलादेश टोली सेप्टेम्बर ३ गते काठमाडौं आइपुग्नेछ ।
१६ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलादेशबीच हुने मैत्रीपूर्ण खेलमा पाँच सय र एक हजार दरको टिकट मूल्य तोकेको छ ।
एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै मैत्रीपूर्ण खेलको तयारी, टिकट दर लगायत विभिन्न पक्षको बारेमा जानकारी दिएको हो ।
एन्फाको आयोजनामा नेपाल र बंगलादेशबीच यही भदौ २१ र २४ गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुँदैछ ।
उक्त खेलका लागि सामान्य पारापिटतर्फ ५०० र भिआइपी पारापिटतर्फ १,००० रुपैयँ टिकट मूल्य तोकिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
नेपाल र बंगलादेशबिचको मैत्रीपूर्ण खेललाई इन्टरनेसनल सिरिज नाम दिएको एन्फाले मार्केटिङ तथा डिजिटल अधिकार एडी रिलिज प्रालिलाई दिएपनि टिकटको सम्पूर्ण अधिकार एन्फाकै स्वामित्वमा रहने प्रवक्ता शाहले जानकारी दिए । खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीबाट हुनेछ ।
एन्फाले यसअघिका टिकेटिङ राइट पनि अन्य कम्पनीलाई दिएकोमा यस पटक आफैँ राखेको हो । ‘टिकेटिङका लागि सूचना निकाल्ने, टेण्डर प्रकृयामा जाने धेरै काम भएकोले र मैत्रीपूर्ण खेल भएकोले एन्फा आफैँले राखेको हो। यसअघि टिकेटिङ सम्झौता गर्दा क्षमता भन्दा धेरै टिकट पनि विक्रि भएको देखियो ।’ प्रवक्ता शाहले भने ।
यस पटक ८ हजार बराबरको टिकट विक्री गरिने प्रवक्ता शाहले जानकारी दिए ।
एन्फाका अनुसार बंगलादेश टोली सेप्टेम्बर ३ गते काठमाडौं आइपुग्नेछ। उनीहरू भद्रकालीस्थित नेपाली सेनाको खेलमैदान र च्यासल रंगशालामा अभ्यास गर्ने कार्यक्रम छ।
खेलको अनुमानित बजेट करिब रु १ करोड २७ लाख ५८ हजार १६८ रुपैयाँ रहेको एन्फा प्रवक्ता शाहले जानकारी दिए ।
प्रतिक्रिया 4