+

समय हेरेर खाना खाने वा भोकै बस्नेहरूले ध्यान दिनुपर्ने कुरा

२०८२ भदौ  २० गते १३:२० २०८२ भदौ २० गते १३:२०
समय हेरेर खाना खाने वा भोकै बस्नेहरूले ध्यान दिनुपर्ने कुरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्टरमिटेन्ट फास्टिङमा दैनिक ८ घण्टाभित्र खाना खानेहरूले कार्डियोभास्कुलर रोगबाट मृत्युको जोखिम बढी हुन्छ भन्ने अध्ययनले देखाएको छ।
  • अध्ययनले कुल मृत्युदरमा इन्टरमिटेन्ट फास्टिङको कुनै सम्बन्ध नभएको तर मुटुसँग सम्बन्धित रोगबाट मर्ने जोखिम निरन्तर रहेको पत्ता लगाएको छ।
  • धूम्रपान गर्ने र मधुमेह भएका व्यक्तिहरूमा इन्टरमिटेन्ट फास्टिङले मुटु रोगको जोखिम अझ बढी हुने विज्ञहरूले बताएका छन्।

इन्टरमिटेन्ट फास्टिङ पछिल्लो समय सबैभन्दा चर्चित डाइट ट्रेन्ड बनिसकेको छ । यस्तो फास्टिङमा क्यालोरी वा कार्ब्सको मात्रामा नजर राख्ने झन्झट हुँदैन । यस फास्टिङमा के खाने भन्दा पनि खानाको समय निर्धारण गर्नु जरूरी हुन्छ ।

धेरै व्यक्तिहरूले यो अपनाउँछन् । साथै धेरै हलिउड सेलिब्रेटीहरूले पनि यसले उनीहरूलाई फिट राख्न मद्दत गरेको भन्छन् । बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले पनि एकपटक भनेका थिए कि उनी हप्ताको सुरुवातमा ३६ घण्टाको उपवासपछि खान्छन् ।

विज्ञानले पनि हालसम्म यस्तो फास्टिङलाई समर्थन गरेको छ । हालसम्मको अनुसन्धान अनुसार रातको उपवास लामो समयसम्म गर्दा मेटाबोलिज्म राम्रो हुन सक्छ । फास्टिङले कोशिकाहरूको मर्मतमा मद्दत गर्छ र यसले मानवको उमेर बढ्ने प्रक्रियालाई ढिलो गर्न सक्छ ।

यद्यपि, स्वस्थ रहन खाना छोडेर कुनै जादू हुँदैन भनेर पोषण विशेषज्ञहरूले लामो समयदेखि चेतावनी दिँदै आएका छन् । विशेषज्ञहरूले यो पनि भन्दै आएका छन् कि, पहिलेदेखि नै रोगहरूबाट ग्रसित व्यक्तिहरूका लागि यस्तो गर्नु हानिकारक हुन सक्छ ।

नयाँ अध्ययनमा के पत्ता लाग्यो ?

इन्टरमिटेन्ट फास्टिङमा दैनिक खानाको समयलाई छोटो समय सीमामा समेटिन्छ । यसअन्तर्गत व्यक्तिले ८ घण्टासम्म खाना खान सक्छ तर १६ घण्टा उपवास गर्नुपर्छ । यसबाहेक ‘टाइम–रिस्ट्रिक्टेड’ डाइटका अन्य मोडलहरू पनि छन् । तीमध्ये एक हो हप्तामा दुई दिन कम खाना खाने र पाँच दिन सामान्य डाइट लिने ।

तर एउटा अध्ययनले यसमा गम्भीर चिन्ता व्यक्त गरेको छ । यो अध्ययनमा २० हजारभन्दा बढी वयस्कहरूको डेटाको विश्लेषण गरियो । यस विषयमा गरिएको यो एक प्रकारले पहिलो ठूलो अध्ययन हो ।

दैनिक ८ घण्टाभित्र खाना खानेहरूमा कार्डियोभास्कुलर अर्थात् मुटु र त्यससँग सम्बन्धित रोगहरूबाट मृत्युको जोखिम बढी भएको अनुसन्धानकर्ताहरूले पाएका थिए ।

कार्डियोभास्कुलर जोखिम बढ्नुको मतलब कुनै व्यक्तिको स्वास्थ्य, जीवनशैली र मेडिकल डेटाको आधारमा उसको मुटुसँग सम्बन्धित रोगहरू, जस्तै हृदयघातको जोखिम अन्य व्यक्तिहरूको तुलनामा धेरै हुन्छ ।

यद्यपि, अध्ययनमा यो पनि पाइयो ‘कुल मृत्युदर’ कुनै पनि कारणले हुने मृत्युसँग इन्टरमिटेन्ट फास्टिङको कुनै सम्बन्ध थिएन । तर यसको कारणले मुटुसँग सम्बन्धित रोगहरूबाट मर्ने जोखिम कुनै पनि उमेर, लिङ्ग र जीवनशैलीका व्यक्तिहरूमा निरन्तर रह्यो ।

छोटो समय सीमामा खाना खाने र कुल मृत्युदरबीच खासै ठोस सम्बन्ध नभएको अनुसन्धानकर्ताहरूले पाए । तर मुटु र त्यससँग सम्बन्धित रोगहरूबाट मर्ने जोखिम निकै बढेको थियो ।

यो अध्ययनले यसको कारण र प्रभावलाई प्रमाणित गर्दैन, तर यो संकेत यस्तो फास्टिङलाई पूर्ण रूपमा सुरक्षित र स्वास्थ्यका लागि राम्रो मान्ने सोचलाई चुनौती दिन महत्त्वपूर्ण छ।

धूम्रपान गर्ने र मधुमेह भएकाहरूलाई बढी जोखिम

अनुसन्धानकर्ताहरूले यसका लागि ८ वर्षसम्म अमेरिकी वयस्कहरूको रेकर्ड राखे । उनीहरूको खाने बानी थाहा पाउन अध्ययनमा सहभागीहरूलाई दुई फरक–फरक दिन लगभग दुई हप्ताको अन्तरालमा उनीहरूले के–के खाए–पिए भनेर सम्झन भनियो ।

यी ‘डाइटरी रिकल्स’ को आधारमा वैज्ञानिकहरूले प्रत्येक व्यक्तिको औसत खाना खाने समय–अन्तराल निकाले । अनि, यसलाई उनीहरूको लामो समयको रुटिनको रूपमा माने

यो अध्ययनका अनुसार १०–१२ घण्टाभित्र खाना खानेहरूको तुलनामा दैनिक ८ घण्टाभित्र खाना खानेहरूमा मुटु र त्यससँग सम्बन्धित रोगहरूबाट मृत्यु हुने जोखिम बढी थियो।

सबै सामाजिक र आर्थिक वर्गका समूहहरूमा कार्डियोभास्कुलर जोखिम बढेको अनुसन्धानकर्ताहरूले पाए । यो जोखिम धूम्रपान गर्नेहरू र मधुमेह वा पहिलेदेखि नै मुटुको रोगबाट ग्रसित व्यक्तिहरूमा सबैभन्दा धेरै थियो ।

यसको मतलब यस्ता व्यक्तिहरूले लामो समयसम्म छोटो समय सीमामा खानाका लागि विशेष सावधानी अपनाउनुपर्छ ।

‘डायबिटिज एन्ड मेटाबोलिक सिन्ड्रोमः क्लिनिकल रिसर्च एन्ड रिभ्यूज’ जर्नलमा प्रकाशित पियर–रिभ्यूड अध्ययनका प्रमुख लेखक भिक्टर वेन्जे झोङलेका अनुसार मधुमेह र हृदय रोगको सबैभन्दा ठूलो कारणमध्ये एक खानपान हो, त्यसैले हृदय रोगबाट धेरै मृत्युको सम्बन्ध आश्चर्य जनक होइन ।

सामान्य धारणा विपरीत अध्ययनका निष्कर्ष

प्रोफेसर झोङ चीनको साङ्घाई जियाओ तोङ युनिभर्सिटी स्कूल अफ मेडिसिनमा महामारी विज्ञानका विशेषज्ञ हुन् । उनी भन्छन्, ‘हामीलाई अपेक्षा नभएको कुरा यो हो धेरै वर्षसम्म ८ घण्टाको अन्तरालमा खाना खाने बानीको सम्बन्ध हृदय रोगबाट मृत्युको बढेको जोखिमसँग जोडियो ।’

यो निष्कर्ष त्यस सामान्य धारणा विपरीत छ, जसलाई हालसम्म केही साना अध्ययनहरूले समर्थन गरेका थिए यस्तो खानपानको बानीले मुटुको स्वास्थ्य र मेटाबोलिज्ममा सुधार गर्छ ।

सोही जर्नलमा प्रकाशित एक सम्पादकीयमा प्रमुख एन्डोक्राइनोलोजिस्ट डा. अनुप मिश्राले इन्टरमिटेन्ट फास्टिङका फाइदा र बेफाइदाहरूबारे चर्चा गरे । उनको भनाइ अनुसार धेरै ट्रायल र विश्लेषणहरूले यसको सकारात्मक पक्ष देखाउँछन् । यसले तौल घटाउन, इन्सुलिन संवेदनशीलता सुधार गर्न, रक्तचाप कम गर्न र लिपिड प्रोफाइल सुधार गर्न मद्दत गर्न सक्छ । यसले एन्टि–इन्फ्लेमेटरी फाइदाहरूको पनि केही प्रमाण देखाएको छ ।

यसले कडा क्यालोरी गणनाबिना पनि ब्लड सुगर नियन्त्रण गर्न मद्दत गर्न सक्छ । फास्टिङका धार्मिक वा सांस्कृतिक परम्पराहरूसँग यो सजिलै मेल खान सक्छ र पालना गर्न पनि सजिलो छ ।

यसका सम्भावित हानिहरूमा शरीरमा पोषक तत्वको कमी, धेरै भोक लाग्ने, चिडचिडापन, टाउको दुख्ने र यस्तो डाइटलाई लामो समयसम्म अपनाउन कठिनाइहरू हुनसक्छ।’

उनका अनुसार, ‘मधुमेहका बिरामीहरूको निगरानी नगरेमा उपवासको कारणले उनीहरूको ब्लड सुगरको ह्वात्तै तल झर्न सक्छ, जुन हानिकारक हो । यसले अस्वस्थ खानेकुरा खान प्रोत्साहन गर्न सक्छ । वृद्धहरू वा लामो समयदेखि बिरामी व्यक्तिहरूमा कमजोरी आउन सक्छ र मांसपेशीहरूमा असर पर्न सक्छ ।

के–के कुरामा ध्यान दिनुपर्छ ?

इन्टरमिटेन्ट फास्टिङको आलोचना भएको यो पहिलो पटक होइन । सन् २०२० मा जेएएमए इन्टरनल मेडिसिनमा प्रकाशित एक तीन महिनाको अध्ययनमा भनिएको थियो यसले अध्ययनमा सहभागी भएकाहरूको तौल धेरै कम घटायो, जसमा अधिकांश हिस्सा मांसपेशीको थियो ।

इन्टरमिटेन्ट फास्टिङले कमजोरी, भोक, पानीको कमी, टाउको दुख्ने र ध्यान केन्द्रित गर्न कठिनाइजस्ता नराम्रा प्रभावहरू उत्पन्न गर्न सक्छ भन्ने कुरा अध्यननहरूले देखाएका थिए ।

खानपानसम्बन्धी सल्लाह व्यक्तिको अवस्था हेरेर मात्रै दिनुपर्ने विज्ञहरूको भनाइ छ ।

‘हालसम्मका प्रमाणहरूको आधारमा, मानिसहरूले के खान्छन् भन्ने कुरा, कहिले खान्छन् भन्दा बढी महत्त्वपूर्ण हुने विज्ञहरू बताउँछन्।

यो अध्ययनको सन्देश यही हो उपवासलाई पूर्णरूपमा छोड्नु जरूरी छैन, तर यसलाई व्यक्तिको स्वास्थ्यअनुसार ढाल्नु जरूरी छ । सबैभन्दा सुरक्षित विकल्प यही हो मानिसहरूले घडीमा कम र आफ्नो थालमा बढी ध्यान दिनुपर्छ ।

खाना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय