+
+
Shares

भग्नावशेषमा परिणत काठमाडौंमा आज जे देखियो…

दीपक अधिकारी कृष्ण ज्ञवाली दीपक अधिकारी, कृष्ण ज्ञवाली
२०८२ भदौ २५ गते ९:०५

२५ भदौ, काठमाडौं । प्रदर्शनकारीहरुको तोडफोड र आगजनीबाट काठमाडौंका प्रमुख सरकारी निकायहरु ध्वस्त भएपछि मंगलबार रातिदेखि सेना परिचालन भएको छ।

सैनिक टोलीले काठमाडौंका प्रमुख र सहायक सडकमा गस्ती गर्नुका साथै सर्वसाधारणहरुको आवतजावतमा निगरानी गर्न थालेका छन् । हिँड्डुल गर्नेहरुलाई उनीहरुले सोधपुछ र केरकारपछि मात्रै हिँड्न दिएका छन् ।

हामी बिहानै पुग्दा पुतली सडकको पद्मोदय चोकदेखि सिंहदरबार गेट रणमैदान जस्तो देखिन्थ्यो ।

बग्गीखानास्थित ट्राफिक प्रहरी कार्यालय अगाडि महानगरपालिकाको सडक सफा गर्ने ब्रुमरसहितको गाडी पुगेको थियो । तर, ब्रुमरले सफा गरिसाध्य छैन सहर।

ट्राफिक प्रहरी परिसरको हाताभित्र रहेको भवनको भुईंतलाका केही कोठा दन्दनी बलिरहेका थिए।

सिंहदरबार मूलगेट अगाडिका सडकमा गाडी र जलेका मोटरसाइकल यत्रतत्र थिए । महान्यायाधिवक्ता कार्यालयको भुईंतलातिर धुवाँ उडिरहेको थियो।

सर्वोच्च अदालतभित्रका सबै कागजात जलेर खरानी भएका छन्। बिहानसम्म पनि सर्वोच्च अदालतको आगो निभिसकेको छैन।

महान्यायाधिवक्ता कार्यालयतिरको भागबाट आगोको मुस्लो निस्किरहेको थियो ।

खण्डहर बनेको भवन भित्र केही पनि बाँकी नरहेको, सर्वोच्च अदालतमा कार्यरत एक सुरक्षाकर्मीले बताए ।

मंगलबार अबेरसम्म सर्वोच्चमै बसेका उनी केही उपाय नलाग्ने देखेपछि निस्किएका रहेछन् । बिहान पुग्दा सर्वोच्च अदालत परिसरमा कुनै सुरक्षाकर्मी थिएनन् ।

सञ्चारकर्मीहरुको टोली सिंहदरवार छिर्न खोज्दा त्यहाँ बाहिर तैनाथ सैनिकहरुले अनुमति नभएको भन्दै प्रवेश गर्न दिएनन् । पश्चिमतर्फको भाग बाहिरबाट हेर्दा सिंहदरबारको मूल भवनसहित अरु ठाँउबाट धुवा निस्किरहेको थियो ।

जिल्ला प्रशासन कार्यालय पूरै भग्नावशेसमा परिणत भइसकेको छ। आगोको ताप अझै बाँकी छ। तर, कुनै कागजात बाँकी छैन।

माइतीघर मण्डल वरपरको सडकमा इँटा, ढुंगा र सिसाका टुक्राहरु यत्रतत्र थिए ।

ढुंगा प्रहारका कारण दुई वर्षअघि एकै ठाँउमा निर्मित विशेष सरकारी वकिलको कार्यालय र काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयको सिसा फुटेको थियो। माइतीघरमा रहेका सैनिकहरुले पैदलयात्रु र सवारीसाधनलाई रोकेर केरकारपछि मात्रै गन्तव्यमा जान दिएका थिए ।

गाडीहरुको शोरुम रहेको माइतीघरदेखि थापाथली सडकका कैयौ अटो-शो-रुमहरु जलाइएका छन् । सोरुमको सिसा फुटाइएको थियो भने भित्रका गाडी जलेका देखिन्थे ।

महेन्द्रा, हुण्डाई लगायत अरु ब्राण्डका सोरुम क्षतविक्षत थिए । कान्तिपुर परिसर अगाडि रहेको र केही महिनादेखि सञ्चालनमा आएको सोरुममा क्षति पुर्‍याइएको थियो ।

प्रदर्शनकारीहरुले मंगलबार अपरान्ह नै कान्तिपुर दैनिकको कार्यालय रहेको थापाथलीस्थित भवनमा आगजनी गरेर क्षति पुर्‍याएका थिए । उक्त भवनको विभिन्न तलामा आगजनीबाट क्षति पुगेको थियो । बुधबार विहान उक्त भवनको पहिलो तलाको गेटपट्टीको भागमा दन्दनी आगो बलिरहेको थियो ।

थापाथली चोक र पुलमा सुरक्षाकर्मीहरुको टुकडीले सर्वसाधारणहरुलाई रोकेर केरकारपछि मात्रै गन्तव्यमा जान दिएका छन् ।

फिल्डमा खटिएका एक सैनिकले केही बेरपछि फेरि कर्फ्यु लाग्ने भन्दै त्यसअघि मात्रै अलपत्र परेका सर्वसाधारणलाई गन्तव्यमा जान दिइएको बताए । उनले भने, ‘तपाईंहरु अलपत्र परेको भए आ–आफ्नो घर जाने हो, पटकपटक ओहोरदोहोर गर्न मिल्दैन है ।’

थापाथली प्रसूतिगृहको सडकबाट रमिता हेर्न आउने सर्वसाधारणहरुलाई सैनिकहरुले रोक लगाएका थिए । अनावश्यक भिडभाड नगरिदिन भन्दै उनीहरुले अति जरुरी भएमा मात्रै गन्तव्यमा जान छाडिदिएका थिए ।

 

 

लेखक
दीपक अधिकारी

अधिकारी अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।  

कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?