
२८ भदौ, नेपालगञ्ज । काठमाडौंमा नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेको बेला शुक्रबार साँझ नेपालगञ्जको दृश्य अलि फरक थियो । बुद्ध एयरको विमान काठमाडौंबाट नेपालगञ्जका लागि उडेको खबरसँगै नेपालगञ्ज विमानस्थलमा चहलपहल बढिरहेको थियो ।
नेपालगञ्ज धम्बोझीका श्रेष्ठ परिवारका सदस्यहरूका साथै नेपालगञ्जका अगुवाहरूको जमघट नेपालगन्ज विमानस्थल परिसरमा बाक्लो बनिरहेको थियो ।
विमान नेपालगञ्ज विमानस्थलमा अवतरण नहुँदै राष्ट्रिय झन्डा बाँधिएका दुई वटा मिनी ट्रक विमानस्थल भित्रको धावनमार्ग छिर्ने ढोका नजिकै पुगिसकेका थिए ।
विमानमा ल्याइएका दुईवटा रातो बन्द बाकस एम्बुलेन्समा राखियो । एम्बुलेन्स धावन मार्गबाट निस्कनासाथ ती बाकसलाई पालैपालो राष्ट्रिय झन्डा बाँधिएका मिनी ट्रकमा हालियो ।
ती राता बाकसमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएका नेपालगञ्जको धम्बोझीका दुई युवा शुलभ श्रेष्ठ र आयुष थापा मगरका पार्थिव शरीर थिए ।
उच्च शिक्षाका लागि काठमाडौं पुगेका छोराका शव राखिएको रातो बाकससँगै अर्धचेत अवस्थामा नेपालगञ्ज फर्किएका आयुषका बुवा नरेन्द्र र शुलभका आफन्तहरूलाई परिवारका सदस्य, छिमेकी र साथी भाइले सम्हालेर गाडीमा राखे । सम्झाउँदै, बुझाउँदै, समानुभूति राख्दै घरतर्फ लगे ।
शुलभका आफन्तहरू नेपालगञ्ज आइनसकेका कारण शवगृहमा लगियो । आयुषको शवलाई उनको घर नेपालगन्जको धम्बोझीमा लगियो । आयुषको शव बाकेको मिनी ट्रक धम्बोझी पुग्दा सिङ्गो धम्बोझी गाउँ र नेपालगन्जका नागरिक समाजका अगुवाहरूको भिड बढ्दै गएको थियो ।
भिडलाई पन्छाउँदै आयुषको शवलाई श्रद्धान्जलीका लागि घर नजिकैको भेरी स्कुल परिसरमा राखियो । श्रद्धाञ्जली पछि सयौँका संख्यामा मलामीसहित सिधनिया घाटमा पुराएर अन्तिम दाह संस्कार गरियो ।
श्रेष्ठ परिवारका एउटा छोरा आयुष उच्च शिक्षाका लागि काठमाडौं गएका थिए । मुलकमा व्याप्त भ्रष्टाचार नियन्त्रण र सामाजिक प्लेट फर्म बन्द गर्ने निर्णय फिर्ताको माग गर्दै जेन-जीहरूको आयोजना भएको प्रदर्शनका क्रममा गोली लागेर गम्भीर घाइते भएका शुलभ र आयुषको उपचारको क्रममा मृत्यु भएको थियो ।
मृत्यु भएको पाँचौ दिन दुवै जनाको शव नेपालगन्ज ल्याइएको हो । आयुष र शुलभको शव नेपालगन्जमा आइपुग्दा नेपालगञ्जवासीमा पीडा र आक्रोश थियो । जेन-जीको आन्दोलनका क्रममा नेपालगञ्जका दुई होनहार युवाहरूले बलिदान दिए पनि उनीहरुको चाहना अनुसार भ्रष्टाचारीलाई जेल सजाय र जनमुखी काम हुनेमा भावविह्वल आफन्तहरूमा एकप्रकारको आशंका देखिन्थ्यो ।
जने-जीको माग पूरा नभए शोकलाई आक्रोशमा बदलेर थप आन्दोलन गर्नुपर्ने चेतावनी नागरिक समाजका अगुवाहरूले दिइरहेका थिए । आयुषको शव नगरपरिक्रमा पछि दाहसंस्कारका लागि सिधनियमा घाट पुराएर चितामा राख्दै गर्दा काठमाडौंमा नयाँ प्रधानमन्त्री सुशीला कार्कीको सपथग्रहण चलिरहेको थियो ।
जेन-जीहरुको माग बमोजिम नै नयाँ सरकार र संसद विघटनको खबर सुन्दै आयुषलाई अन्तिम श्रद्धाञ्जली दिएर नेपालगञ्जवासी अबेर घर फर्किएका थिए । उनीहरूको कामना छ- देशमा व्याप्त भ्रष्टाचारको अन्त्यसँगै विकास र समृद्धिका लागि शुलभ जस्तै युवाहरूले ज्यान गुमाउन नपरोस् ।
प्रतिक्रिया 4