+

जेनजी आन्दोलनको असर खेलकुदमा : काभा नेसन्स लिग स्थगित, फ्रेन्चाइज भलिबल बिचमै रोकियो

२०८२ भदौ  २९ गते २२:३९ २०८२ भदौ २९ गते २२:३९

गत साताको जेनजी आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितीका कारण अहिले समग्र देशमा नै असर गर्दा नेपाली खेलकुद क्षेत्र पनि यसबाट प्रभावित बनेको छ ।

जेनजी आन्दोलनको असर खेलकुदमा : काभा नेसन्स लिग स्थगित, फ्रेन्चाइज भलिबल बिचमै रोकियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनका कारण पोखरामा भइरहेको एभरेष्ट महिला भलिबल लिग दोस्रो संस्करण स्थगित भएको छ ।
  • नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ र बंगलादेशी टोली चार्टर विमानमार्फत स्वदेश फर्कियो ।
  • नोभेम्बरमा काठमाडौंमा तय भएको काभा महिला नेसन्स लिग पनि स्थगित भएको छ ।

२९ भदौ, काठमाडौं । यदि सबै अवस्था सामान्य हुन्थ्यो भने एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण सम्पन्न भइसकेको हुने थियो । नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल पनि हुने थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि तयारी पनि चलिरहेको हुन्थ्यो ।

तर गत साताको जेनजी आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितीका कारण अहिले समग्र देशमा नै असर गर्दा नेपाली खेलकुद क्षेत्र पनि यसबाट प्रभावित बनेको छ ।

पोखरामा सञ्चालन भइरहेको एभरेष्ट महिला भलिबल लिग बिचमै रोकिँदा आसन्न केही प्रतियोगिताहरु पनि स्थगित भएका छन् । यसले तत्कालका लागि मात्र नभएर नेपाली खेलकुदमा दुरगामी रुपमै असर पार्ने देखिन्छ । भविष्यमा यसको असर कति पर्छ भन्ने कुरा समयले नै देखाउनेछ ।

फुटबल खेल रद्द

जेनजी पुस्ताले भदौ २३ गते भ्रष्टाचार विरुद्ध गरेको आन्दोलनका लागि भदौ २४ गते तय भएको नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल रद्द भयो । अखिल नेपाल फुटबल संघले विषम परिस्थितका कारण उक्त खेल रद्द गरेको थियो । भदौ २१ गते भएको नेपाल र बंगलदेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो मैत्रीपूर्ण खेल रद्भ भएपछि बंगलादेशी टोली पनि समयमै स्वदेश फर्कन पाएन । अन्तिममा विशेष विमानमार्फट चार्टर गरेर टोलीलाई बंगलादेश लगियो ।

एएफसी यू-२३ एसियन कप छनोट खेल्न ताजिकिस्तान पुगेको नेपाली यू-२३ फुटबल टोली पनि समयमा घर फर्कन पाएन । आन्दोलनका कारण निर्धारित समयमा नेपाल आउने उडान नपाउँदा नेपाली टोली दुई दिनपछि मात्र नेपाल आइपुगेको थियो ।

एभरेष्ट महिला भलिबल लिग स्थगित

इन्फिनिटी ड्रिम्सको आयोजनामा भदौ २० गतेदेखि पोखरामा वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण सुरु भएको थियो । ६ टोली सहभागी लिगको भदौ २८ गते फाइनल हुने तय थियो ।

तर आन्दोलन सुरु भएको दिन भदौ २३ गतेसम्म खेल सञ्चालन भएपनि २४ गतेदेखिको खेल भने प्रभावित बन्यो । जसले गर्दा लिगको खेलहरु अघि बढ्न सकेन । आयोजकले पाँचौ दिन देखि नै प्रतियोगिता तत्कालका लागि स्थगित गर्‍यो । तर आन्दोलनको प्रभाव बढ्दै जाँदा थप खेल हुन सकेन ।

चार दिनमा लिग चरणको ९ खेल सम्पन्न भयो । फाइनलसहित बाँकी ७ खेल हुन सकेन । केही टिम बसेको होटलमा आन्दोलनकारीले आगो लगाउँदा खेलाडीहरु नै असुरक्षित महसुस गरेका थिए ।

त्यस्तो अवस्थामा आयोजकले फ्रेन्चाइज टिम लगायत यसमा संलग्न सबैलाई बिहीबार काठमाडौं फर्काएर लिग खेल्न आएका विदेशी खेलाडीहरुलाई समेत आफ्नो देश फर्काइसकेको छ । लिग खेल्न थाइल्याण्ड देखि ब्राजिलसम्मका १८ विदेशी पोखरा जम्मा भएका थिए ।

इन्फिनिटी ड्रिम्सले आइतबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै सबै विदेशी, स्वदेशी खेलाडीहरु घर फर्किसकेको जनाएको छ । साथै आयोजकले सुरक्षा र उपलब्धतालाई प्राथमिकतामा राखेर लिगको बाँकी खेलहरु रोकिएकै अवस्थाबाट फेरि सुरु गरिने पनि जनाएको छ । सहभागि फ्रेन्चाइज, नेपाल भलिबल संघ, स्पोनसरहरुसँग छलफल गरेर नयाँ मिति सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

काभा महिला नेसन्स लिग पनि स्थगित

जेनजी आन्दोलनका कारण अहिले सबैभन्दा बढी प्रभाव भलिबलमै परेको छ । भलिबल नेपालको राष्ट्रिय खेल हो र फ्रेन्चाइज लिगसँगै नेपालले विभिन्न अन्तर्राष्ट्रिय भलबिल प्रतियोगितामा सहभागि जनाउने तालिका थियो । त्यसमा पनि नेपालले आगामी नोभेम्बरमा आफैँ काभाको एक प्रतियोगिता समेत आयोजना गर्ने तय थियो ।

आगामी नोभेम्बर १५ देखि २२ सम्म काठमाडौंको टुडिँखेलमा आउटडोरमा गर्ने भनिएको काभा महिला नेसन्स लिग पनि स्थगित भएको छ ।

शनिवार भर्चुअल रुपमा बसेको काभाको बोर्ड अफ एडमिनेस्ट्रेसन बैठकले नेपालको वर्षमान अवस्थाका कारण काभा महिला नेसन्स लिग स्थगित गर्ने निर्णय गरेको जनाएको छ । यस्तै अवस्था सामान्य भएपछि प्रतियोगिताको नयाँ मिति तोकिने पनि काभाले जनाएको छ ।

नेपाल भलिबल संघले पनि काभा महिला नेसन्स लिग स्थगित भएको जनाएको छ । यस्तै नेपालको पुरुष टोलीले खेल्ने काभा पुरुष नेसन्स लिग र काभा यू१९ महिला च्याम्पियनसिपमा भने सहभागिता जनाउने नेपाल भलिबल संघले जनाएको छ ।

पुरुष राष्ट्रिय टोली र यू१९ महिला भलिबल टोलीको प्रशिक्षण छिटै सुरु गर्ने पनि भलिबल संघले जनाएको छ ।

अन्य खेल गतिविधिमा पनि असर

आन्दोलनकै असरका कारण आउँदै गरेका र भइरहेका विभिन्न खेल गतिविधिहरु पनि प्रभावित बनेका छन् ।

संविधान दिवसका दिन असोज ३ गते हुँदै आएको नेपालगन्ज १० नाइट रन स्थगित गरिएको छ । नाइट रन आयोजक समितिले आइतबार विज्ञप्ती जारी गर्दे देशको विषम परस्थितिका कारण अर्को सुचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको जनाएको छ ।

भदौ २७ गते पोखरामा तय भएको नेपाल भलिबल संघको १२औं वार्षिक साधारण सभा पनि आन्दोलकै कारण स्थगित भयो । नेपाल भलिबल संघले विज्ञप्ती जारी गर्दै अर्को सुचना जारी नहुन्जेलसम्मको लागि साधारण सभा स्थगित गरिएको जनाएको छ ।

यस्तै नेपाल क्रिकेट संघ (क्यान) ले सुरु गरेको नेपाल प्रिमियर लिगको ट्रफी टुर कार्यक्रम पनि स्थगित भएको छ । क्यानले विराटनगरदेखि ट्रफी टुरको सुरुवात गरेको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको नेपाली खेल क्षेत्रकै प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करण पनि जेनजी आन्दोलनले गर्दा प्रभावित बन्यो ।

पहिलो पटक काठमाडौं बाहिर स्पोर्ट्स अवार्ड आयोजना गर्ने तयारी गरेको मञ्चले भदौ २९ गते पोखरामा अवार्ड गर्ने तय गरेको थियो ।

तर जेनजी पुस्ताको आन्दोलन र देशमा सिर्जित पछिल्लो घटनाक्रमका कारण अवस्था सामान्य नभएकोले स्पोर्ट्स अवार्ड आयोजना गर्नु सान्दर्भिक नहुने भन्दै मञ्चले प्रेस विज्ञप्ती जारी गर्दै अवार्ड स्थगित भएको जानकारी दिएको छ । स्थिती सहज भएपछि अवार्ड आयोजनाको नयाँ मिति तय गरिने मञ्चले जनाएको छ ।

स्पोर्ट्स कमेन्टेटर हेमराज हमाल अहिलेको आन्दोलनले नेपाली खेलकुद क्षेत्रमा ठूलो असर पारेको बताउँछन् । ‘नेपाली खेलकुदमा यो ठूलो धक्का हो । यसले खेलाडी देखि सम्पूर्ण खेलकर्मीलाई असर पुर्‍याएको छ’ हमालले भने, ‘हामी जस्तो फ्रिलान्सिङ काम गर्ने खेलकुदसँग जोडिएका युवा हरुका लागि अब के गर्ने ? कसरी अघि बढ्ने? भन्ने डर छ । भविष्य असुरक्षित बनेको छ।’

यसको असर लामो समयसम्म पर्ने भन्दै आउने दिनमा नेपाली खेलकुदलाई सहज अवस्थामा फर्काउनका लागि खेलकुदका सरोकारवाला निकायहरुले विशेष जोड दिनुपर्ने हमालले बताए ।

‘अब आउने दिनमा यसलाई कसरी न्युनिकरण गरेर सहजतापूर्वक अघि बढाउने भन्नेमा ध्यानदिनुपर्छ, जसले स्पोर्ट्स ईकोनोमीलाई पनि केही राहत पुर्‍याओस्’ उनले भने ।

खेलकुदमा आन्दोलनको असर
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय