+

जेन जीको आन्दोलनले जेन अल्फालाई कस्तो प्रभाव पार्छ ?

२०८२ भदौ  ३१ गते १२:३२ २०८२ भदौ ३१ गते १२:३२
जेन जीको आन्दोलनले जेन अल्फालाई कस्तो प्रभाव पार्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा भएको जेनजी आन्दोलनले जेन अल्फा बालबालिकामा तनाव र जिज्ञासा उत्पन्न गरेको छ, जसलाई अभिभावकले सम्बोधन गर्न आवश्यक छ।
  • बाल मनोचिकित्सकहरूले बालबालिकालाई आन्दोलनका घटनाहरू सरल भाषामा बुझाउन र हिंसात्मक सामग्रीबाट टाढा राख्न सुझाव दिएका छन्।

नेपालमा हालै भएको जेन जी आन्दोलन र सामाजिक अशान्तिका घटनाहरूले समाजका सबै तहलाई प्रभावित पारेको छ । विशेष गरी जेन अल्फा भनेर चिनिने १२ वर्ष र त्यो भन्दा कम उमेरका बालबालिकाहरू, जो स्मार्टफोन, इन्टरनेट र सोसल मिडियासँग जोडिएका छन्, उनीहरू पनि यस्ता घटनाहरूबाट प्रभावित भएका छन् ।

जेन अल्फा, सबैभन्दा पछिल्लो पुस्ता हो । सन् २०१२ पछि जन्मिएका जेन अल्फाका बालबालिका पूर्णरूपमा डिजिटल संसारमा जन्मिएका छन् । उनीहरूलाई जेन जी भन्दा पनि बढी प्रविधिमैत्री र अन्तर्राष्ट्रिय सोच राख्ने मानिन्छ ।

उनीहरूले सोसल मिडियामा हिंसात्मक सामग्री देखिरहेका छन्, परिवारका सदस्यहरू आन्दोलनमा सहभागी भएको देखिरहेका छन् वा सुनेका छन् । यसबाट उनीहरूको मनमा विभिन्न प्रश्नहरू उब्जिएका हुन्छन् ।

यस अवस्थामा उनीहरूको जिज्ञासा कसरी सम्बोधन गर्ने ? उनीहरूलाई कसरी सुरक्षित राख्ने र उनीहरूमा देखिने तनावका लक्षणहरू कसरी पहिचान गर्ने भन्नेबारेमा अभिभावकले जान्नु आवश्यक छ ।

जेन अल्फा बालबालिकाको अहिलेका चुनौतीहरू

जेन अल्फा बालबालिकाहरू अहिले स्कुलको आधारभूत तहमा अध्ययनरत छन् । उनीहरू स्मार्टफोन, ट्याब्लेट र इन्टरनेटसँगै हुर्किरहेका पुस्ता हुन् । सानै उमेरमा प्रविधिहरूको उपयोग गर्ने उनीहरू खप्पीस भइसकेका हुन्छन् । यही कारणले पनि हिंसात्मक सामग्री, आन्दोलनका भिडियोहरू र अप्रिय घटनाहरू उनीहरूले देखेका छन्।
यसले उनीहरूको बाल मस्तिष्कमा गहिरो प्रभाव पार्ने बाल मनोचिकित्सक डा. गुञ्जन धुजु बताउँछन् ।

‘अहिले ठूला व्यक्तिहरूलाई नै यस्ता सामग्री प्रोसेस गर्न गाह्रो भइरहेको छ, साना बालबालिकालाई त झन् असर पर्छ’ डा. धुजु भन्छन् ‘यसले उनीहरूमा तनाव सिर्जना गर्छ, जसलाई उनीहरूले राम्ररी सामना गर्न सक्दैनन् ।’

उनीहरूका दाजुदिदी आन्दोलनमा गएका छन् । घरमा आमाबुबा यसबारे कुरा गरिरहेका छन् । उनीहरूले गोली चलेका, रगताम्य दृश्यहरू सामाजिक सञ्जालमा देखिरहेका छन् । यसबाट उनीहरूको मनमा स्वभाविक रुपमा विभिन्न प्रश्नहरू उब्जिने बाल तथा किशोर मनोचिकित्सक डा.उत्कर्ष कार्की बताउँछन् ।

अहिलेका चार-पाँच वर्षका बच्चाहरू पनि धेरै बुझ्ने भएकाले आन्दोलनबारे उनीहरूको मनमा धेरै प्रश्न हुनसक्ने क्लिनिकल मनोविद् तृष्णा विष्ट बताउँछिन् । ‘आजका बालबालिकाहरू हाम्रो पुस्ताभन्दा बढी स्मार्ट छन्’ विष्ट भन्छिन्, ‘त्यसैले अहिले भएको अन्दोलनको बारेमा उनीहरूको मनमा विभिन्न प्रश्नहरू हुन सक्छ ।’

बालबालिकाको जिज्ञासामा जवाफ दिनु पर्छ कि पर्दैन ?

बालबालिकाको प्रश्नमा उत्तर दिइरहनु आवश्यक छैन भनेर बेवास्ता गर्न नहुने बाल मनोचिकित्सक डा.धुजु बताउँछन् ।

बालबालिकाका प्रश्नहरूलाई ‘यो तिम्रो चासोको विषय होइन’ वा ‘यो तिमीले बुझ्नु पर्ने जरुरी छैन’ भनेर टारिदिन्छन्, जुन गलत हो’ डा.धुजु भन्छन्, ‘उनीहरूको मनमा जुन खालको जिज्ञासा उब्जेको छ, त्यो मेटाउनुपर्छ ।’

के भइरहेको छ भन्ने कुरा उनीहरूलाई प्रष्ट बताउँन जरुरी रहेको डा.धुजुको भनाइ छ । ‘यो आन्दोलन हो, जहाँ मानिसहरूले आफ्नो असन्तुष्टि व्यक्त गर्छन्, तर कहिलेकाहीं अप्रिय घटनाहरू पनि हुन्छन्’ भनेर बुझाउन सकिन्छ’ उनी भन्छन्, ‘यसो गर्दा उनीहरूको स्तरको समझलाई ध्यान दिनुपर्छ ।’

जिज्ञासाको जवाफ नदिँदा उनीहरू सोसल मिडियाबाट गलत जानकारी लिएर अलमलमा पर्ने मनोविद् विष्ट बताउँछिन् । ‘उनीहरूले बुझ्ने तरिकाले कथा वा थिमेटिक स्टोरीबाट बुझाउन सकिन्छ’ विष्ट भन्छिन्, ‘जस्तै अन्यायविरुद्ध लड्दा विजय हुन्छ भनेर फेस्टिभलसँग जोडेर सही र गलतको मोरल दिन सकिन्छ।’

बालबालिकाहरूले आन्दोलनबारे सोधे भने सरल भाषामा, आवश्यक कुरा मात्र बताउनुपर्ने मनोचिकित्सक डा. कार्कीको बुझाइ छ । सकारात्मक तरिकाले ठिक्क मात्रमा बुझाउनुपर्छ विस्तृतरूपमा राजनीतिक कुरा भनी रहनु जरुरी हुँदैन’ डा. कार्की भन्छन् ।

जवाफ नदिँदा के हुन्छ ?

यदि बालबालिकाको प्रश्नको जवाफ दिइएन वा जिज्ञासा मेटाइएन भने उनीहरूले गलत माध्यमबाट जानकारी लिने र त्यसले गलत धारणा बनाइ सही र गलत छुट्याउन नसक्ने मनोविद् विष्ट बताउँछिन् ।

यस्तो अवस्थामा उचित जानकारी नपाए बालबालिकामा ‘एक्युट स्ट्रेस रियाक्सन’ को समस्या देखिन सक्ने डा. कार्की बताउँछन् । ‘यदि जेन अल्फाले आफ्नो प्रश्नको जवाफ पाएनन् भने उनीहरू अलमलिन सक्छन् जसले तनाव बढ्छ’ डा. कार्की भन्छन्, ‘यसले बालबालिका डराउने, आत्तिने, ननिदाउने लगायतको समस्या देखिन सक्छ ।’

यस अवस्थामा बालबालिकालाई सकेसम्म यस खालका सामग्रीको पहुँचबाट टाढा राख्नु पर्ने धारणा डा.धुजुको छ ।

‘बच्चाले सोसल मिडियामा के हेर्छ भन्ने कुरा अभिभावकले ध्यान दिनुपर्छ र उमेर–अनुकूल सामग्री मात्र देखाउनु पर्छ’ डा. कार्की भन्छन् ‘मोनिटरिङ गर्नुपर्छ वा युट्युब फर किड्स वा पासवर्ड राख्न सकिन्छ ।’

आजभोलि सामाजिक सञ्जालमा भ्रामक सूचनाहरू धेरै हुन्छन् । त्यसकारण पनि अभिभावकले ध्यान दिएर बालबालिकालाई मार्गदर्शन गर्नु जरुरी हुने विष्ट बताउँछिन् ।

बालबालिकामा हुने तनावको पहिचान र सामना

आन्दोलनले बालबालिकाको रुटिन बिगारेको हुन्छ । स्कुल बन्द, बाहिर खेल्न नपाउने वा कतै जान नपाउने समस्या हुन्छ । यस्तो बेला उनीहरूको दैनिक रुटिनको व्यवस्थापन अभिभावकले गर्नुपर्ने डा.धुजु बताउँछन् ।

पढाइ, खेल, क्रिएटिभ एक्टिभिटीहरूमा उनीहरूलाई समावेस गराउनु पर्छ । यसले तनाव कम गर्छ र उनीहरूलाई सामान्य अवस्थामा फर्कन सजिलो हुन्छ ।

यस्तो घटनामा तनावका कारण बालबालिकामा भावनात्मक जस्तै डराउने, रुने, चिन्तित हुने, झगडालु हुने, परिवारसँग टाँस्सिने लक्षण देखिन सक्छ । साथै शारीरिक समस्या पेट, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, निद्रा/खानपिन गडबड हुने जस्ता लक्षण पनि देखिन सक्ने डा.धुजु बताउँछन् ।

यस्तो अवस्थामा बालबालिकालाई सकारात्मक सम्भावनाको बारेमा बताउनु पर्ने डा. कार्कीको सुझाव छ । ‘यो सधैं रहँदैन, चाँडै राम्रो हुन्छ भनेर सम्झाउनु पर्छ ’उनी भन्छन्।

शोक र मनोपरामर्श

जेन जी आन्दोलनमा केही बालबालिकाले आफन्त गुमाएका छन् । यस्तोमा उनीहरूलाई रुनु हुँदैन भनेर रोक्नुको साटो छेउमा बसिदिने, उनीहरूको कुरा सुनिदिने र सहानुभूति देखाउनु पर्ने मनोचिकित्सक डा. कार्कीको सुझाव छ ।

अभिभावकको भूमिका

यो अवस्थामा अभिभावकहरू आफैँ तनावमा हुन्छन्, तर बालबालिकालाई अझै प्राथमिकतामा राखेर सुरक्षित छौँ भन्ने अनुभूति गराउनुपर्ने डा. धुजु सुझाउँछन् । ‘उनीहरूलाई सुरक्षित छौँ भनेर अनुभूति गराउनुपर्छ’ उनी भन्छन्, ‘अनावश्यक विवरण दिइराख्नु पर्दैन तर उनीहरूको प्रश्नहरूलाई बेवास्ता पनि गर्नु हुँदैन ।’

यस्तो बेला अभिभावक आफैँ स्पष्ट हुनुपर्ने मनोविद् विष्टको भनाइ छ । सूचनाहरू सही स्रोतबाट लिनुपर्छ र उनीहरूको बुझ्ने क्षमता अनुसार सरल भाषमा बताउनुपर्छ’ मनोविद् विष्ट भन्छिन् ।

जेन जी आनेदोलन
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय