News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका आशिष भारतीले एसिया प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिप २०२५ मा अटो जिमखाना (पुरुष एकल) विधामा ऐतिहासिक स्वर्ण पदक जितेका हुन् ।
- दशैँको समयमा श्रीलंकाको कोलम्बोमा भएको च्याम्पियनसिपमा १८ राष्ट्रका २०४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । समग्रमा अष्ट्रेलिया र जापानसँगै नेपाल संयुक्त रुपमा सातौं भयो ।
- नेपालको झण्डा बोकेर अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्दा आफूलाई भाग्यमानी महसुस गरेको च्याम्पियन आशिष भारतीले बताए ।
१९ असोज, काठमाडौं । दशैँको समयमा आशिष भारतीले (रोनी) नेपाली मोटरस्पोर्ट्सको इतिहासमा अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक स्वर्ण जितेर नेपालीहरुलाई उपहार दिए ।
श्रीलंकाको कोलोम्बोमा भएको एसिया पेसिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा रोनी उपनामले चिनिने आशिषले मोटर स्पोर्टसको अटोजिमखना विधामा स्वर्ण जितेका हुन् ।
अन्तर्राष्ट्रिय मोटरस्पोर्टस्को अफिसियल इभेन्टमा कुनै पनि नेपाली खेलाडीले स्वर्ण जितेको यो पहिलो पटक हो । त्यसैले पनि एसिया प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिप२०२५ नेपालका लागि उपलब्धीमुलक बन्यो ।
सेप्टेम्बर २६–२८ मा श्रीलंकाको कोलम्बोस्थित श्रीलंका कार्टिङ सर्किटमा भएको च्याम्पियनसिपमा १८ राष्ट्रका २०४ खेलाडीहरु सहभागि थिए । नेपाल आशिष भारती ‘रोनी’ले अटो जिमखाना (पुरुष एकल) विधामा स्वर्ण पदक जितेर नेपालको नाम अन्तर्राष्ट्रिय मोटरस्पोर्टस्मा सुनौलो अक्षरमा लेखेका छन् । नेपालबाट विभिन्न इभेन्टमा गरी कूल ६ खेलाडी सहभागि भएकोमा आशिषले स्वर्ण जितेर उपहार दिएका हुन् ।
दशैँको समयमा नेपालको झण्डा बोकेर स्वर्ण जित्न पाउँदा भाग्यमानी महसुस गरेको आशिषले बताए । ‘नेपालको झण्डा बोकेर हरेक पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा खुशी लाग्छ । त्यसमा पनि स्वर्ण जित्दा भाग्यमानी महसुस भएको छ ।’ आशिषले अनलाइनखबरसँग भने,’यसमा मेरो मात्र नभएर मेरो टिमको पनि ठूलो हात छ । मेरो इभेन्ट हुँदा टिममेटले धेरै मोटिभेट गरेका थिए । सबैको मिहिनेतले यो उपलब्धी हासिल भएको हो ।’
अन्तिम दिन स्वर्ण
ललितपुरका ३१ वर्षिय आशिषको यस सफतलाको यात्रा थप प्रेरणादायी पनि रह्यो । उनले एसिया अटो जिमखाना च्याम्पियनसिप (एएजीसी) र एसिया प्यासिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिप (एपीएमसी) मा प्रतिस्पर्धा गरेका थिए ।
पहिलो दिन एपीएमसीको अभ्यासमा आशिष १६औं स्थानमा थिए । तर त्यसपछि भने आशिषले प्रदर्शन सुधार गर्दै गए । दोस्रो दिन भएको अर्को इभेन्ट एसिया अटो जिमखाना च्याम्पियनसिपमा पाँचौँ स्थानमा पुगे र त्यसपछि आत्मविश्वाससहित मुख्य प्रतियोगितामा प्रवेश गरे । अन्तिम दिनको मुख्य प्रतिस्पर्धाको छनोट चरणमा उनी दोस्रो स्थानमा रहे र अन्ततः शीर्ष आठको फाइनलमा सबै प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जित्न सफल भए ।
आशिषले जितेको स्वर्णले नेपाल पदक तालिकामा पनि पदक सहित उपस्थिती जनायो । च्याम्पियनसिपमा फिलिपिन्स शीर्ष स्थानमा रहँदा नेपालले अष्ट्रेलिया र जापान सँगै समान एक स्वर्ण जितेर संयुक्त रुपमा सातौं स्थानमा रह्यो । च्याम्पियन बनेको फिलिपिन्सले दुई स्वर्ण, दुई रजत र दुई कास्य जितेको थियो ।
श्रीलंका र हङकङले पनि दुई-दुई स्वर्ण जित्यो । दुवैले कूल ५ पदक जित्दा श्रीलंका दोस्रो र हङकङ तेस्रोमा रह्यो । मलेसिया, भारत र किर्गिस्तानले एक स्वर्ण सहित क्रसशः चौथो, पाचौं र छैटौं रहे । चाइनिज ताइपेइ, पाकिस्तान, उज्बेकिस्तान र दक्षिण कोरियाले भने रजत र कास्यमै चित्त बुझाए । चीन, सिङ्गापुर, माल्दिभ्स र बंगलादेश भने कुनै पदक जित्न सकेनन् ।
प्रत्येक दुई-दुई वर्षमा एसिया प्यासिफिक क्षेत्रका देशहरुको बिचमा हुने एसिया प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिपको यस दोस्रो संस्करण हो । च्याम्पियनसिपमा कार्टिङ स्प्रिन्ट, कार्टिङ एन्डुरेन्स, कार्टिङ स्लालम, अटो जिमखाना, क्रस-कार अटोक्स र ई-स्पोर्टस् गरी ६ इभेन्ट र १२ विधागत वर्गमा प्रतिस्पर्धा भएको थियो ।
नेपालले अटो जिमखानामा तीन, क्रसकार-अटोक्रसमा दुई र ई-स्पोर्टस्मा एक गरी कुल ६ खेलाडी सहभागी गराएको थियो । तीमध्ये आशिष भारतीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जिते भने अन्य खेलाडीहरुले पनि आफ्नो पहिलो अन्तर्राष्ट्रिय अनुभवमा सशक्त उपस्थिति जनाए । ऐतिहासिक उपलब्धि हात पारेको नेपाली टिम मोटरस्पोर्ट्समा एक गर्विलो ट्रयाक बनाउँदै र उज्जल भविष्यको मार्ग कोर्दै मध्यदशैंमा स्वदेश फर्किसकेको छ ।
‘नेपालले पनि जित्न सक्छ’
आशिष भारतीले कोलोम्बो जानुअघि ट्रेनिङ गर्ने अवसर पनि पाएका थिएनन् । जागिरे समेत रहेका उनी सिधै च्याम्पियनसिप खेल्न गएका थिए । तर उनको मिहिनेत, टिमको साथ र सहयोगले गर्दाले उनले यो ऐतिहासिक उपलब्धी हात पार्न सफल भए ।
स्वर्ण विजेता आशिषले यस जित आफ्नो मात्र नभएर समग्र नेपालको भएको बताए। ‘यो जित मेरो मात्र होइन, सम्पूर्ण टिम र नेपाली मोटरस्पोर्टस्को सामूहिक संघर्षको परिणाम हो । म दशकभन्दा बढी समयदेखि यसकै लागि मेहनत गरिरहेको थिएँ, उनले भने, ‘अब नेपालमा मोटरस्पोर्टस्लाई अझै व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने बेला आएको छ, किनकि अब नेपाली मोटरस्पोर्टस् खेल्न–हेर्न मात्र होइन जित्न पनि हो ।’
आशिषले पाँचौ अन्तर्राष्ट्रिय सहभागितामा पहिलो पटक स्वर्ण जितेका हुन् । यसका लागि उनको मिहिनेत, टिमको साथ र परिवारको सहयोग पनि उत्तिकै महत्वपूर्ण भएको बताए ।
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) मार्सल एण्ड ट्रेनिङ कमिसनका सचिव तथा च्याम्पियनसिपमा नेपाली टिम म्यानेजर रहेका आशिष रौनियारले यस उपलब्धि सबैको मेहनतको परिणाम भएको बताए । साथै नेपालले पनि अन्तर्राष्ट्रिय स्तरमा जित्न सक्छ भनेर सन्देश दिएको बताए । ‘यो हाम्रो सपना साकार भएको क्षण हो । रोनीको स्वर्णले प्रमाणित गर्यो कि नेपाल अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न मात्र होइन जित्न पनि सक्छ । खेलाडीलाई उचित तालिम, पूर्वाधार र स्रोत उपलब्ध गराउन सकियो भने आगामी दिनमा एसियामा मात्रै नभई वर्ल्ड च्याम्पियनसिपमै पदक ल्याउन सकिन्छ ।’
नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले नेपाली आशिषले जितेको स्वर्ण नेपाली मोटर स्पोर्ट्समा ऐतिहासिक उपलब्धी भएको भएको बताए ।
‘यो नेपाली मोटर स्पोर्ट्स सबैभन्दा ठूलो सफलता हो। नासाँ नेपालको १६ वर्षको इतिहासमा यो तहको सफलता पहिलो पटक प्राप्त हो।’ भट्टराईले भने, ‘रोनी नेपालको उत्कृष्ट खेलाडी भएकोले पोडियममा पुग्छ भन्ने विश्वास गरेका थियौँ ।’
यस्तै मोटरसाइकल रेसिङका नेसनल च्यापियन राजकुमार कार्कीले पहिलोपटक चारपाङ्ग्रे प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय डेब्यू गरे । यद्यपि उनी शीर्ष १६ मा प्रवेश गर्न सकेनन् । महिला अटो जिमखाना एकलमा बिपास्ना तामाङले दशौँ स्थान सुरक्षित गरिन् । शीर्ष आठमा पुग्न असफल भएपनि उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय सहभागिता नै नेपाली महिला मोटरस्पोर्टस्का लागि प्रेरणा बनेको छ ।
यसैगरी जय प्रताप मास्के र रबिन सुनवारका लागी पनि क्रसकार-अटोक्रस पहिलो अन्तर्राष्ट्रिय अनुभव रह्यो । जहाँ उनीहरूले व्यावसायिक र्याली चालकहरूसँग प्रतिस्पर्धा गर्दै सम्मानजनक प्रदर्शन गरे । अन्तर्राष्ट्रिय क्रसकार विधामा पहिलो नेपाली सहभागिता रहेकोमा जयले सेमिफाइनल राउण्डमा पुग्नु नै उपलब्धिको क्षण बनेको नासा नेपालले जनाएको छ । जहाँ उनी १२ औं स्थानमा रहे । त्यस्तै, सेमिफाइनल पुग्न नसके पनि रबिनको पनि पहिलो अन्तर्राष्ट्रिय अनुभव सिक्ने माध्यम बन्यो र उनको लागि पनि अन्तर्राष्ट्रिय ट्रयाकको ढोका खुलेको छ ।
प्रतियोगिताका अर्का सहभागी रोशन अधिकारीले ई-स्पोर्टस्मा नेपालको प्रतिनिधित्व गरे । रोजगारका लागि हाल अष्ट्रेलियामा रहेका उन सहभागिताले समर्पण र लगावलाई प्रष्ट पारेको छ । मोटरस्पोर्टस् भित्रको सिम-रेसिङ लोकप्रिय र सहज विधा हो, जहाँ नेपाली खेलाडीहरुबाट आगामी दिनमा पदकको समेत आशा गर्न सकिन्छ ।
विश्वकै व्यावसायिक खेल मोटरस्पोर्टस
मोटरस्पोर्टस् विश्वकै सबैभन्दा लोकप्रिय र व्यवसायिक खेलमध्ये एक हो । फुटबल र क्रिकेट जस्ता खेल विश्वमा धेरैले सहजै बुझ्ने कारण चर्चामा छ । तर मोटरस्पोर्ट्स पनि यसका समर्थकहरुमाझ उत्तिकै लोकप्रिय छ । त्यसैले पनि नेपालको यो सफलता अझ महत्वपूर्ण बनेको छ ।
अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआईए) र अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ (एफआईएम) अन्तर्गत सञ्चालन हुने यस्ता खेलमा नेपाल करिब डेढ दशकअघि मात्रै संस्थागत रूपमा प्रवेश गरेको हो ।
सन् २००८ मा स्थापना भएको नासा नेपालले यस अवधिमा विभिन्न राष्ट्रिय प्रतियोगिता, तालिम, पूर्वाधार विकास र युवा आकर्षणका कार्यक्रममार्फत मोटरस्पोर्टस्लाई देशमा स्थापित गर्न निरन्तर प्रयास गरिरहेको नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले जानकारी दिए । मोटरस्पोर्ट्स खेल विश्वमा लोकप्रिय भएपनि नेपालमा अझै त्यो स्तरमा बुझ्न बाँकी रहेको बताए ।
अझै पनि नेपालमा अत्याधुनिक मोटरस्पोर्टस् ट्रयाक वा विश्वस्तरको सुविधा नभएको अवस्थामा यो सफलता प्राप्त हुनु अझै उल्लेखनीय भएको भट्टराईले बताए ।
नेपाल साहसिक खेलकुदका लागि ‘हब’ बन्न सकिने स्थान भएपनि अझै पनि सरकारदेखि सरोकारवाला निकायको ध्यान पुग्न नसकेको भट्टराईको भनाई छ ।
यस्तै स्वर्ण विजेता आशिषले पनि नेपालमा अझै पनि ट्रेनिङका लागि उपयुक्त स्थानहरु नभएको र मोटरस्पोर्ट्समा गर्नुपर्ने काम धेरै रहेको बताए । ‘कन्सिस्टेन्सी हुनुपर्छ । अब मैले जितेँ तर ह्वाट नेक्स्ट भन्ने कुरा सधैँ आउँछ । एफआईएबाट आउने सहयोग र सरकारले गर्ने सहयोगले नयाँ युवा खेलाडीहरु उत्पादन गर्नुपर्छ । धेरै कार्यक्रमहरु हुनुपर्यो । कार्यक्रमहरु मात्र भएर मात्र पनि भएन । हाम्रोमा ट्रेनिङ कोर्सहरु पनि छैन । त्यसैले उपयुक्त पूर्वाधार बनाउनुपर्छ ।’ उनले भने, ‘म अब ३२ वर्ष भइसकेँ । अहिले आइरहेका १६ वर्षका खेलाडीहरुलाई ट्रेन गरेर अगाडि बढाउने हो भने राम्रो सम्भावना छ ।’
नेपाली मोटरस्पोर्टस्को यो उपलब्धिले नेपाली खेलकुदमा नयाँ सम्भावनाको ढोका खोल्दै एक नयाँ आशाको संचार गरेको छ । हालै दुबईमा सम्पन्न क्रिकेट प्रतियोगिता, स्पेनमा भएको ट्रेल रनिङ र श्रीलंकामा सम्पन्न मोटरस्पोर्टस्मा नेपालको उपलब्धिले देखाएको विविधता र साहसले नेपाली खेलकुदको स्तर र दिशा दुवै परिवर्तन भइरहेको सन्देश दिएको छ ।
नेपालले खेलकुदलाई साहसिक पर्यटनसँग जोड्न सकेमा यसले खेलाडीलगायत देशकै पहिचान र पर्यटन उद्यमलाई नयाँ उचाइमा पुर्याउनेछ । मोटरस्पोर्टस्सँगै नेपाललाई अन्तर्राष्ट्रिय साहसिक खेलगन्तव्यको रूपमा प्रवद्र्धन गर्ने अवसर पनि यही सफलताले उजागर गरेको छ ।
नासा नेपालले एसिया प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिप २०२५ मा नेपालले जितेको यो स्वर्ण केवल पदक मात्र नभई नेपाली मोटरस्पोर्टसमा नयाँ युगको सुरुवातको प्रतीक पनि भएको जनाएको छ । यसले नेपाललाई अन्तर्राष्ट्रिय मोटरस्पोर्टस् परिवारमा सम्मानजनक स्थान दिलाएको र आगामी दिनमा साहसी नयाँ पुस्ताका लागि थप अवसरहरू सिर्जना गर्ने नासा नेपालको विश्वास छ ।
प्रतिक्रिया 4