News Summary
Generated by OK AI. Editorially reviewed.- ओमानमा सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको रिजनल फाइनलमा नेपालसहित ९ टोली सहभागी छन्।
- नेपालले पहिलो खेलमा आज बेलुका कुवेतसँग प्रतिस्पर्धा गर्दै विजयी सुरुवात गर्ने लक्ष्य राखेको छ।
- नेपालको टोलीमा सन् २०२२ को छनोटमा खेलेका ८ खेलाडी छन् ।
२२ असोज, काठमाडौं । ओमानमा आजदेखि आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको रिजनल फाइनल सुरु भइसकेको छ ।
नेपालसहित ९ टोली सहभागी रहने यस प्रतियोगिताबाट ३ टोलीले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी-२० विश्वकपको टिकट काट्ने छन् ।
आफ्नो पहिलो खेलमा नेपालले आजै बेलुका कुवेतको सामना गर्दैछ । नेपाल विजयी सुरुवात गर्दै अघिल्लो चरणमा स्थान पक्का गर्न चाहन्छ ।
नेपालको टोलीमा सन् २०२२ मा भएको विश्वकप छनोटमा खेलेका र अघिल्लोपटक सन् २०२३ को छनोटमा पनि खेलेर नेपाली टोलीलाई विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका खेलाडीहरू अहिले पनि छन् ।
यस्तै सन् २०२२ को छनोटमा खेलेका ज्ञानेन्द्र मल्ल हाल नेपाली टोलीको सहायक प्रशिक्षकका रूपमा छन् । नेपाल सन् २०२२ को छनोटमा यूएईसँग पराजित भएर विश्वकपमा छनोट हुन सकेको थिएन ।
त्यसपछि सन् २०२३ मा भने घरेलु मैदानमै भएको छनोटमा नेपालले यूएईलाई नै हराएर विश्वकपको टिकट काटेको थियो ।
लगातार तीनपटक छनोटमा खेल्ने खेलाडीहरू
नेपालका लागि हाल विश्वकप छनोटमा खेल्दै गरेका ८ जना खेलाडीहरू सन् २०२२ को छनोटमा पनि खेलेका थिए ।
त्यसमा तत्कालीन कप्तान सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा र लोकेश बम छन् ।
यस्तै सन् २०२४ को टी-२० विश्वकपका लागि २०२३ मा भएको छनोटमा खेलेका यी ८ जनाबाट लोकेश बम र आरिफ शेख बाहिरिँदा करण केसी, सोमपाल कामी, रोहित पौडेल, ललित राजवंशी, सन्दीप जोरा समावेश भए ।
सन् २०२३ मा खेलेका यी ११ खेलाडी हालको टिममा पनि छन् । सन् २०२२ र २०२३ का दुवै छनोटमा खेलेका ६ खेलाडीहरू यसपटक लगातार तेस्रोपटक विश्वकप छनोट खेल्दै छन् । त्यसमा कुशल भुर्तेल, सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्शन झा र दीपेन्द्रसिंह ऐरी छन् ।
सोमपालबाहेक सबै खेलाडीहरूले सन् २०२४ मा पहिलोपटक विश्वकप पनि खेल्ने मौका पाए । सोमपाल कामी भने नेपालका लागि दुवै विश्वकप खेल्ने एकमात्र खेलाडी हुन् ।
पहिलोपटक खेल्नेहरू
नेपालको टोलीमा यसपालि पहिलोपटक विश्वकप छनोट खेल्ने मौका पाएका दुई खेलाडीहरू छन् । मोहम्मद आदिल आलम र नन्दन यादवले पहिलोपटक नेपालका लागि विश्वकप छनोटमा खेल्दै छन् ।
अघिल्ला वर्षहरूमा आदिल आलम प्रतिबन्धमा थिए भने नन्दन अस्ट्रेलियामा बसोबास गर्दै आएका थिए । उनीहरू दुवैका लागि पहिलोपटक विश्वकप खेल्ने मौका पनि अब छ । दुवै खेलाडीहरू विश्वकपमा छनोट हुनेमा विश्वस्त पनि छन् ।
२०२३ को छनोट खेल्ने टोलीमा समावेश नभएका लोकेश यसपटक फेरि टोलीमा फर्किएका छन् ।
प्रतिक्रिया 4