
News Summary
Generated by OK AI. Editorially reviewed.- ब्रिटेनको लेबर पार्टीका सांसद ग्यारथ थोमसले लन्डन–काठमाडौंबीच सिधा हवाइ उडान सुरु गर्न पिटिशन सुरु गरेका छन्।
- पिटिशनमा ब्रिटिश–नेपाली समुदायले ब्रिटिश सरकार र विमानस्थलसँग सिधा उडानका लागि पहल गर्न आग्रह गरेका छन्।
- ब्रिटिश एयरवेजले बजार व्यवहारिक नभएको कारण सिधा उडान अघि नबढाएको र नेपाल एयरलाइन्सले साप्ताहिक दुई दिन उडान सुरु गर्न सक्ने सुझाव दिइएको छ।
२२ असोज, लन्डन । ब्रिटेनको सत्तारुढ लेबर पार्टीका सांसद ग्यारथ थोमसले लन्डन–काठमाडौंबीच सिधा हवाइ उडान सुरु गर्न माग गर्दै एक हस्ताक्षर अभियान (पिटिशन) सुरु गरेका छन् ।
लन्डनको ह्यारो वेष्टबाट चौंथो पटक निर्वाचित सांसद ग्यारथले नेपाली समुदायको माग बमोजिम उक्त अभियान सुरु गरेका हुन्।
‘युनाइटेड किङ्डममा रहेको नेपाली समुदाय बेलायतका सबैभन्दा छिटो बढ्दै गरेका र जीवन्त प्रवासी समूहहरूमध्ये एक हो’ ग्यारथले आफ्नो पिटिशनमा भनेका छन्, ‘ऐतिहासिक रूपमा बेलायत र नेपालबीचको सम्बन्ध गोर्खा सैनिकहरूको योगदानले गहिरो र अविच्छिन्न बनेको छ।’
पेटिसनमा थपिएको छ, ‘आज पनि यो समुदायले नेपालसँग बलियो पारिवारिक, सांस्कृतिक र आर्थिक सम्बन्ध कायम राख्दै आएको छ ।’
हाल लन्डन र काठमाडौंबीच कुनै पनि नियमित सिधा व्यावसायिक हवाई उडान सञ्चालनमा छैन्।
‘यसकारण नेपाली तथा बेलायती यात्रुहरू (जसमा परिवार, विद्यार्थी, सहयोगी संस्थाका कर्मचारी, व्यवसायी र पर्यटकहरू समेत समावेश छन्) लाई लामो र खर्चिलो यात्रामा निस्कनुपर्छ। धेरैजसो यात्रामा दुई वा तीन ट्रान्जिट गर्नुपर्दा कुल यात्राको समय १४ घण्टाभन्दा बढी पुग्ने गरेको छ, जसले विशेषगरी ज्येष्ठ नागरिक र कमजोर यात्रुहरूका लागि थप कठिनाइ सिर्जना गरेको छ,’ पिटिशनमा भनिएको छ।
यस सन्दर्भमा ब्रिटिश–नेपाली समुदायले ब्रिटिश सरकार, यातायात मन्त्रालय र सिभिल एभिएसन अथरिटीसँग ब्रिटिश एयरलाइन्स तथा लन्डनका प्रमुख विमानस्थलहरू जस्तै हिथ्रो, ग्याटविक र स्टानस्टेडको सहकार्यमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान विकल्पहरू खोजी र सुनिश्चित गर्न तत्काल पहल गर्न आग्रह गरिएको छ।
सिधा हवाई उडान स्थापना गर्न सकेको खण्डमा बेलायत र नेपालबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्ध अझ सुदृढ हुने, दुवै देशका लागि पर्यटन र व्यापारिक अवसरहरू विस्तार हुने अपेक्षा गरिएको छ ।
यसबाट हजारौँ ब्रिटिश–नेपाली परिवारका लागि पहुँच सहज हुने, ज्येष्ठ नागरिक तथा यात्रुहरूको कठिनाइ घट्ने साथै धेरै ट्रान्जिट भएका उडानहरूको सट्टा सिधा उडानले वातावरणीय प्रभाव घटाउने पिटिशनमा उल्लेख छ।
‘सिधा उडानको सुरुवातले बेलायतको वैश्विक सम्पर्क, समावेशीता र साझेदारीप्रतिको प्रतिबद्धतालाई झल्काउनेछ भने बेलायत र नेपाल दुवै देशका समुदायहरूका लागि सार्थक र दीर्घकालीन लाभ पुर्याउनेछ’, पिटिशनमा भनिएको छ।
यो लिंकमा क्लिक गरेर पिटिशनमा हस्ताक्षर गर्न बेलायतस्थित नेपाली अगुवाहरूले आग्रह गरेका छन्।
ट्राभल क्षेत्रमा ३० वर्ष बढीको अनुभव संगालेका लन्डनस्थित ट्राभल कन्सोलका निर्देशक विराज भट्ट सिधा हवाइ उडानको पहल हुनु सकारात्मक भएपनि व्यवहारिक रूपमा सजिलो नभएको बताउँछन् ।
‘सिधा उडान हुँदा ग्राहकलाई पनि सस्तो पर्न जान्छ । हामी सबैजना नेपालमा कनेक्ट होस् भन्ने चाहन्छौं’, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष समेत रहेका भट्ट भन्छन्, ‘हरेक एयरलाइन्सको कमर्सियल इन्ट्रेष्ट हुन्छ । तर, नेपालको मार्केट भोलाटायल (अस्थिर) छ । उडान शुरु गरेर टिकाउन सकिन्छ कि सकिन्न एयरलाइन्सले मुख्य रूपमा त्यो हेर्छन् ।’
ब्रिटिश एयरवेजले यसअघि मार्केट रिसर्च गरेको तर भायबल (व्यवहारिक) नभएपछि अगाडि नबढेको उनले बताए । बरु नेपाल एयरलाइन्सले बजार विस्तारका क्रममा सातामा दुई दिनमात्र भएपनि शुरु गर्न सके त्यो राम्रो हुने भट्टको सुझाव छ ।
प्रतिक्रिया 4