
२२ असोज, काठमाडौं । कतारमा रहेका नेपालीहरूलाई कतारको नियम कानूनको पालना गर्न अनुरोध गरेको छ । दोहास्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै कतारको नियम, कानून तथा सांस्कृति मूल्य मान्यताको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको हो ।
सार्वजनिक स्थलमा मादक पदार्थको सेवन तथा झैझगडा, लागू पदार्थको ओसारपसार, मादक पदार्थको उत्पादन तथा बिक्री, अश्लील भिडियोको कारोबार, चेक बाउन्स, सामाजिक सञ्जालमा मिथ्था आरोप, गाली गलौज र चरित्रहत्या गर्ने गरिएको भन्दै दूतावासले नेपाली समुदायलाई सचेत गराएको हो ।
तेस्रो मुलुक खासगरी पूर्वी यूरोप पठाईदिने भनी ठगी गर्ने, अध्यागमन तथा ट्राफिक नियमको उल्लंघन गर्ने जस्ता कार्य भएको भन्दै दूतावासले त्यस्ता कार्यमा संलग्न नहुन अनुरोध गरेको हो ।
दूतावासले कतारको कानून, नियम र सांस्कृतिक मूल्य–मान्यताको पूर्ण पालना गर्न अनुरोध गरेको छ । त्यस्तै कतारको कानूनले निषेध गरेका कुनै पनि कार्यहरू नगर्न, सार्वजनिक स्थलमा मादक पदार्थ र धुम्रपान सेवन नगर्न समेत अनुरोध गरेको छ ।
कुनै पनि व्यक्तिले दिएको सामान चेकजाँच नगरी नबुझ्न, अध्यागमन र ट्राफिक नियमको सधैं पालना गर्न, जहाँसुकै र जहिलेसुकै शिष्ट, मर्यादित र अनुशासित व्यवहार गर्न समेत दूतावासले अनुरोध गरेको छ ।
त्यस्तै कसैसँग कुनै किसिमको नगद कारोबार वा लेनदेन नगर्न, प्रलोभनमा परेर वा नबुझिकन कुनै कागजातमा सही नगर्न, आफ्नो राहदानी , कतार परिचय पत्र, बैंक अकाउण्ट नम्बर, फोनको सीम कार्ड कसैलाई पनि नदिन र कतार आईडी बुझाई कुनै किसिमको बैंक ऋण नलिन, एउटा कम्पनीको आईडी लिएर अर्को कम्पनीमा काम नगर्नु समेत दूतावासले अनुरोध गरेको हो ।
भाङ्गको अचार, मर्चा जस्ता कुराहरू ल्याउन र लेनदेन नगर्न, सामाजिक संजालहरूमा व्यक्तिगत चरित्रहत्या गर्ने तथा सामाजिक सद्भाव खलबल्याउने किसिमले जथाभावी पोस्ट नगर्न, नेपाली चाडपर्वहरू मनाउँदा स्थानीय धार्मिक र सांस्कृतिक संवेदनशीलता तथा मूल्य–मान्यतालाई गम्भीरताका साथ ध्यान दिन समेत अनुरोध गरेको छ । चाडपर्व तथा अन्य समय, कुनैपनि बेला जुवातास नखेल्न, सार्वजनिक स्थलमा फोटो खिच्दा र टिकटक लगायतका भिडियो बनाउदा अपरिचित व्यक्तिहरूलाई फ्रेममा नलिन समेत अनुरोध गरिएको छ ।
सार्वजनिक स्थलमा अमर्यादित, उच्छृङ्खल र भड्किलो पोशाक लगाएर नहिड्न, कतार सरकारको सम्बन्धित निकायबाट पूर्व स्वीकृति नलिई कुनै पनि कार्यक्रम नगर्न अनुरोध गरेको छ । नेपाली समुदायबीच एकता कायम गर्न सबै संघसंस्था र समाजहरूबीच आपसी सद्भाव र सहयोग अभिवृद्धि गर्न समेत दूतावासले अनुरोध गरेको छ ।
प्रतिक्रिया 4