+
+
Shares

असामान्य इलाम : डिजेल, पेट्रोल र एलपी ग्याँसको चरम अभाव

सडक भत्किएका कारण सामग्री ढुवानी हुन सकेको छैन । विद्युत आपूर्ति ठप्प छ । डिजेल, पेट्रोल र एलपी ग्याँस जस्ता अत्यावश्यक वस्तुको चरम अभाव भएको छ ।

सुदीप श्रेष्ठ सुदीप श्रेष्ठ
२०८२ असोज २३ गते २२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलाममा १८ असोज रातिको अविरल वर्षापछि गएको पहिरोमा ३९ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन्।
  • मेची राजमार्गको इलाम सदरमुकामतर्फको खण्ड वर्षाका कारण अवरुद्ध भएको छ र यातायात सेवा प्रभावित छ।
  • प्रदेश विपद् व्यवस्थापन परिषद्ले सबै प्रभावित परिवारका घर बनाइदिने र तत्काल राहत वितरण गर्ने निर्णय गरेको छ।

२३ असोज, इलाम । १८ असोज रातिको अविरल वर्षापछि गएको पहिरोमा परी इलाममा ३९ जनाले ज्यान गुमाए । एक जना अझै बेपत्ता छन् भने घाइते ८ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

विपत्तिका कारण ठूलो जन-धनको क्षति बेहोरेको इलामको जनजीवन अझै सामान्य हुन सकेको छैन । पहिरोमा परी क्षतिग्रस्त घर छाड्नेहरू आफन्तको शरणमा छन् । विस्थपितहरूको यकिन तथ्यांक अझै संकलन हुन सकेको छैन ।

विस्थापितहरूले आफूहरूलाई सान्त्वना दिन र घाउमा मल्हम लगाउन कोही नआएको गुनासो गरेका छन् ।

वर्षाका कारण अवरुद्ध मेची राजमार्ग अझै खुलेको छैन । मेची राजमार्गको इलाम सदरमुकामतर्फको खण्ड वर्षाका कारण केही स्थान पहिरो गएको र केही स्थान दबिएका कारण मेचीको लाइफलाइन मानिने सडक अवरुद्ध भएको ६ दिन बितिसकेको छ ।

इलाम नगरपालिका भएर जाने सन्दकपुर गाउँपालिकाको मुख्य सडकको सैयौं स्थानमा पहिरो गएका कारण अवरुद्ध छ । सामग्री ढुवानीमा अवरोध छ । क्षतिको विवरण संकलन तथा मुचुल्का गर्न ३० किलोमिटरसम्म प्रहरी पैदल हिँडेर काम गर्नुपर्ने बाध्यता छ । बिरामीलाई स्ट्रेचरमै बोकेर इलाम अस्पतालसम्म ल्याउनु परेको छ ।

पहिरोले माईजोगमाई गाउँपालिका- ६ मा मात्र दुई परिवारका ८ जनाको ज्यान लिएको थियो । सडक सञ्जालबाट त्यहाँ पुग्न नै कठिन छ भने ६ दिनदेखि सो भेगमा विद्युत आपूर्तिसमेत हुन सकेको छैन ।

सन्दकपुर र माईजोगमाई गाउँपालिका नै विद्युत र सडक सञ्जालबाट विच्छेद छ । इलाम नगरपालिका, माईजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकामा खाना पकाउने एलपी ग्याँस र इन्धनको चरम अभाव भएको छ ।

इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले डिजेल र पेट्रोलको मौज्दात इलाममा रहे पनि अत्यावश्यक अवस्थामा मात्र वितरण गर्न निर्देशन दिएको बताएका छन् ।

देउमाई नगरपालिका र इलाम नगरपालिका जोड्ने तोरीबारी पुवाखोला मार्ग भने सञ्चालनमा आइसकेको छ भने देउमाईको मंगलबारेबाट माइखोलाको बेलासेसम्म मोटर सञ्चालनमा छन् । माङ्सेबुङ दमक सडकखण्ड पनि सञ्चालनमा आएको छ ।

कोशी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले यो बखत इलामले जटिल परिस्थितिको सामना गरिरहेको बताएका छन् । यस जटिल घडीमा केन्द्र सरकारबाट राहत र पुनर्स्थापनाको खासै पहल नभएको मन्त्री रानाले गुनासो गरे ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै प्रभावित परिवारका घर बनाइदिने निर्णय गरेको र पीडितलाई प्रदेश सरकारले तत्कालको राहतसमेत वितरण गरिसकेको उनले बताए ।

विस्थापितको पुनर्स्थापनामा आफ्नो प्राथमिकता रहने बताउँदै उनले भने, ‘मेरो अनुमानमा १०० घर जति विस्थापित भएको हुनुपर्छ । पालिकाका साथीहरू क्षति अझ धेरै भएको आशंका गर्छन् । २०० नै घर भए पनि हामी बनाइदिने योजनामा छौं ।’

मन्त्री रानाले सन्दकपुर र माईजोगमाई गाउँपलिकालाई सडक सञ्जालले जोड्ने आफ्नो प्रमुख प्राथमिकता रहने बताए । मैयु खोलामा डाइभर्सन बनाएर तिहार अगावै सो क्षेत्रमा गाडी सञ्चालन गर्ने प्रयास गरेको उनले दाबी गरे ।

इलाम नगरपालिका र माईजोगमाई गाउँपालिका जोड्ने मोटरेवल २ वटा पुल तथा माईजोगमाई र सूर्योदय जोड्ने मैयु खोलाको पुलसमेत क्षतिग्रस्त भएका कारण माईजोगमाईमा सडक सम्पर्क टुटेको छ ।

मेची राजमार्गको दबेको नेपालटार सडकखण्डमा मर्मत सम्पन्न भई गाडी सञ्चालनमा आए पनि माईखोला खण्ड बन्न भोलि साँझसम्म समय लाग्ने डिभिजन सडक कार्यालय इलामका सूचना अधिकारी अर्जुन घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।

इलाम दशैं-तिहार पर्यटकले खचाखच हुने सिजन हो । बाढीपहिरोका कारण कारण सिर्जित सडक सञ्जालको अभावमा इलामका होटल र पर्यटकीयस्थलहरू मुख्य पर्यटकीय सिजनमा खालीखाली छन् ।

किसानले उत्पादन गरेका कृषिउपज बजार लैजान पाएका छैनन् । उत्तरी इलाममा मुख्यतया यस सिजनमा उत्पादन हुने नगदेबाली मटरकोशा बारीमै छ । मटरकोशाको सबैभन्दा ठूलो बजार भारतको कोलकाता हो । छठपर्वका लागि मटरकोशाको धेरै माग हुन्छ । छठभन्दा पाँच दिनअघि नै कोकातासम्म पुर्‍याइसक्नुपर्ने मटरकोशा अब टिप्न सुरु गर्ने कि नगर्ने भनेर किसानहरू दोधारमा परेका छन् ।

यसैबीच नेपाल सरकारले तीन महिनाका लागि इलाम जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । इलाम क्षेत्र नम्बर २ का पूर्व प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले इलामलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्दै गृहमन्त्रीलाई भेटेका थिए ।

उनी हाल मेची राजमार्गको माइखोला सडकखण्डमा आफैं खटिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेद्वार बनेका मिलन लिम्बु पनि राहत र पुनर्स्थापनामा जुटेका छन् । पालिका र वडास्तरीय नेताहरू, स्थानीय संघसंस्था, युवा क्लबहरू, जेनजी समूह र वैदेशिक रोजगारीमा रहेका युवाहरूले आर्थिक संकलन गरी राहत र पीडितको पुनर्स्थापनाका लागि विभिन्न स्थानमा खटिएका छन् । राज्यको उपस्थिति नभएका स्थानमा स्थानीयवासी बाटो र अस्थायी पुल निर्माणमा जुटेका छन् ।

लेखक
सुदीप श्रेष्ठ

श्रेष्ठ अनलाइनखबरका इलाम संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?