News Summary
Generated by OK AI. Editorially reviewed.- ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा नेपाल र जापान आज अपराह्न ४:१५ बजे खेल्दै छन्।
- नेपाल र जापान दुवैले आफ्नो पहिलो खेल जितेर सुपर सिक्समा स्थान बनाइसकेका छन् र आजको खेलको विजेताले सुपर सिक्समा २ अंक लिएर जानेछ।
- नेपाल र जापानबीचको खेल पहिलोपटक हुँदैछ र दुवै टोली विश्वकप खेल्ने लक्ष्यमा छन्।
२४ असोज, काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ ।
नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर सिक्समा स्थान बनाइसकेका छन् ।
नेपाल र जापानबीचको खेल अब अघोषित रूपमा ‘सुपर सिक्स’को खेलजस्तै बनेको छ । यस खेलको विजेता टोलीले सुपर सिक्स चरण सुरु गर्दा २ अंक समेत लिएर जानेछ । सुपर सिक्समा २ अंकबाट सुरु गर्नु निकै महत्वपुर्ण हुन्छ ।
समूह चरणमा आफूले हराएको टिम पनि सुपर सिक्समा पुगेको अवस्थामा विजेता टोलीले उक्त खेल जितेको २ अंक लिएर जानेछ र सुपर सिक्समा फेरि खेल्नु पर्ने छैन ।
नेपाल र जापान पहिलोपटक आमनेसामने हुन लागेका हुन् । उदीयमान क्रिकेटिङ राष्ट्रका रूपमा रहेको जापान ऐतिहासिक विश्वकप खेल्ने धुनमा छ । नेपाल पनि लगातार दोस्रो अनि समग्रमा तेस्रोपटक विश्वकप खेल्ने लक्ष्यमा छ ।
अन्य समूहबाट पनि सुपर सिक्स खेल्ने टोलीको टुंगो आज लाग्नेछ । यूएई र मलेसियाको खेलमा यूएई विजयी भएमा यूएईसँगै कतार अगाडि बढ्नेछ भने ओमान र पीएनजीको खेलपछि समूह सी बाट सुपर सिक्स खेल्ने टोलीको पनि टुंगो लाग्नेछ ।
नेपालको टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी
प्रतिक्रिया 4